अध्याय पाँच
जुनेली रातमा तबेलाको ठीक बीचमा टाटेपाङरे घोडाको अग्लो आकृति देखिन्थ्यो । उसको पिठ्यूँमा काँठी थियो । अरु सबै घोडाहरू उसको वरिपरि चुपचाप उभिइरहेका थिए, मानौं उसको नौलो र अनौठो कुरा सुनेर छक्क परेका होऊन् ! हुन पनि उसबाट उनीहरूले नयाँ र आश्चर्यजनक कुरा थाहा पाएका थिए ।
उसले त्यहाँ जे जति भनेको थियो सो यस प्रकार थियो ।
पहिलो रात
“हो, म लुबेज्नी प्रथम र बाबाको पुत्र हुँ । वंशावली अनुसार मेरो नाउँ मुजिक प्रथम हो । जन्मकुण्डलीको नाम मुजिक प्रथम भए तापनि मानिसहरू मलाई खोल्स्तोमेर (कपडा नाप्ने गज अर्थात् मापडण्ड ।- अनु.) भनेर बोलाउँछन् । म लामो लामो पाइला सारेर हिंड्थेँ । रूसभरिमा अरु कोही पनि यस्तो लामो डग सारेर हिंड्दैनथ्यो होला । त्यसैले त मेरो नाम खोल्ल्तोमेर राखियो । संसारभरिमा कुनै पनि घोडाको नसामा मेरो जस्तो खानदानी रगत बग्दैन । तिमीहरूको सामन्ने पनि म कदापि यसको चर्चा गर्नेथिइनँ । किन गर्ने र? तिमीहरूले मलाई चिनेका नै कहाँ छौ र? अरुकोत के कुरा, जब कि भ्याजोपुरिखाले समेत मलाई चिन्न सकिन ! उ खेनोभोमा पहिले मसँगै बस्थी, तर भर्खरै मात्र मलाई उसले चिनी । अहिले यो भ्याजोपुरिखा यहाँ नहुँदी हो त तिमीहरूले मेरो भनाइमा विश्वासै समेत गर्नेथिएनौ । म पनि तिमीहरूलाई यो कुरा बताउने नै थिइनँ । घोडाको बथानको दयामाया पनि मलाई चाहिएको छैन । परन्तु तिमीहरूले मलाई बाध्य गरिदियौ । हो, म त्यही खोल्स्तोमेर हुँ जसलाई पारखीहरू चारैतिर खोजेर हिँड्छन् तर भेट्टाउन सक्दैनन् । म त्यही खोल्स्तोमेर नै हुँ, जसलाई स्वयं ग्राफ समेत चिन्दथे । उनैले त मलाई अश्वशालाबाट निकाल्न लगाएका थिए, किनभने मैले उनको अति प्यारो घोडी लेबेदालाई एउटा घोडदौडमा उछिनेको थिएँ ।”
“जतिखेर म जन्मेको थिएँ त्यसताका टाटेपाङरे भनेको के हो भन्ने मलाई थाहा नै थिएन । म त आफूलाई घोडा मात्रै सम्झन्थेँ । मलाई अझै सम्झना छ, पहिलोपल्ट मेरो रङ्गको विषयमा टीकाटिप्पणी गरिएको बेला मलाई र मेरी आमालाई खूब दु:ख लागेको थियो । हुन सक्छ, राति मैले जन्म लिएँ हुलाँ । बिहानसम्म त मेरी आमाले चाटीचाटीकन मेरो जिउ सफा गरिसकेकी थिइन् र म आफ्नो टाँगको बलमा उभिएको थिएँ । मलाई सम्झना छ, मेरो मनमा त्यतिखेर कुन्नि के हो एउटा इच्छा जागेको थियो । प्रत्येक कुरा अति नै आश्चर्यजनक तर यसको साथसाथै अत्यन्त सरल पनि लागिरहेको थियो । हाम्रो अस्तबल एउटा लामो बरण्डामा थियो । अश्वशालाका कोठाहरूमा पस्ने ढोकाहरूमा जाली लगाइएको थियो र त्यसबाट बाहिरको सबै कुरा देख्न सकिन्थ्यो । आमाले मलाई दुध चुसाउने कोशिश गरिन्, तर म त्यतिखेर कतिसम्म सूधो थिएँ भने कहिले त आफ्नो थुतुनो आमाको अगिल्ला टाँगभित्र घुसाथेँं त कहिले उनको छातीमा मुन्टोले धकेल्थें । एक्कासी आमाले जालीबाट बाहिर चियाएर हेरिन्, आफ्नो टाँग उचालेर मलाई नाघ्दै पछिल्तिर हटिन् । त्यस दिन जुन सईसको पालो परेको थियो उसले जालीबाट चियाएर भित्रतर्फ हेरिरहेको थियो ।
“अहो ! बाबाले त बच्चा पनि पाइसकिछ !”- साङ्लो खोल्दै उसले भन्यो । अस्तबलमा बिछ्याइएको ताजा सोतरमाथि पाइला सार्दै आएर उसले मलाई आफ्नो हातले अँगालो हाल्यो । “ए, तारास ! यता आइज त ! हेर, ल !”- उसले कराउँदै भन्यो । – “यस बछेडोभन्दा बढ्ता टाटेपाङरे त च्याखुरा पनि हुँदैन होला !”
मैले उफ्रेर भाग्ने प्रयत्न गरें, तर घुँडा टेकेर उधमुन्टिन पुगें ।
“ईस । शैतानको छाउरो !”-उसले भन्यो ।
आमा हढ्बडाइरहेकी थिइन, तर मलाई बचाउने उनले कोशिश गरिनन् । केवल लामा लामो सास फेर्दै एकातिर पन्छिइन् । यत्तिकैमा अरु सईसहरू पनि आइपुगे र आँखा गाडेर मैलाई हेर्न लागे । एक जना सईस अश्वशालाको नाइकेलाई खबर गर्न गयो । सबै नै मेरो रङ्गीबिरङ्गी जिउ देखेर हाँस्न थाले र अनौठा-अनौठा नाउँ दिएर मलाई बोलाउन लागे । यस्ता नाउँहरूको अर्थ मैले त के मेरी आमाले समेत बुझ्न सकिरहेकी थिइनन् । त्यतिञ्जेलसम्म हाम्रो कुलमा र हाम्रा नातेदारहरूको कुलमा समेत कुनै टाटेपाङरे घोडाले जन्म लिएको थिएन । घोडाको रङ्गमा कुनै नराम्रो कुरा हुन सक्छ भन्ने त हामीलाई थाहा पनि थिएन । तर त्यतिखेर पनि मेरो तारीफ नै गरिरहेका थिए ।
“हेर न हेर, कति स्फूर्तिलो छ यो भर्खरै ब्याएको बछेडो !”-सईस भन्दैथियो ।- “समात्न नै सकिदैन ए गाँठे !”
केही बेरपछि नाइके पनि त्यहाँ आइपुग्यो । मेरो रङ्ग देखेर ऊ छक्क परिरहेको थियो र अलि व्याकुल र दिक्क पनि देखिन्थ्यो ।
“यो रङ्गीबिरङ्गी भूत कहाँबाट आइपुग्यो हँ “-उसले भन्यो ।-“जर्सापबाट त यसलाई अस्तबलमा राख्न समेत अनुमति पाइनेछैन । अरे, बाबा ! तैँले मेरो आशा चकनाचूर पारिदिइस् !”-मेरी आमातर्फ फर्केर उसले भन्यो ।-“यस टाटेपाङरे लावरपाँडेलाई जन्माउनुसट्टा त बरु खवाल्ट बछेडो नै ब्याइदिएकी भए बेस हुन्थ्यो !”
मेरी आमाले केही पनि जवाफ दिइनन्, न त चलमल नै गरिन् ।यस्तो बेलामौकामा लामो सुस्केरा लिनु सिवाय अरु गर्न नै के सकिन्छ र ? त्यस बेला उनले पनि त्यसै गरिन् ।
“यो शैतान जन्मेकै पनि किन होला ? हृबहू मुजिक (साधारण किसान ।-अनु.) जस्तै देखिन्छ मोरो ! यसलाई अस्तबलमा त राख्नै पनि मिल्दैन । यसले त हाम्रो नाक नै काटिदिने भयो बा ! तर बछेडो त राम्रै देखिन्छ, ज्यादै उम्दा लाग्छ !”-नाइकेले र अरु सईसहरूले पनि मलाई जाँच्दै भने । केही दिनपछि स्वयं जर्साप मलाई हेर्न आए । उनी पनि मलाई देखेर जंगिए । मेरो जिउमा उम्रेको रौंको रङ्गको कारणले गर्दा मलाई र मेरी आमालाई भन्नु नभन्नु के के भने के के । तैपनि ज-जसले मलाई देखेका थिए उनीहरू सबै नै भन्नेगर्थे-“बछ्लेडो त राम्रै छ, उम्दा नै होला
जस्तो छ !” घोडीहरूको अस्तबलमा हामी वसन्तसम्म नै रहर्यौं । प्रत्येक बछेडो आफ्नो कोठामा आफ्नी आमाको साथमा नै राखिएको थियो । परन्तु घामको रापले गर्दा छानाको हिउँ पग्लिन थालेपछि त हामीलाई आफ्नी आमाको साथमा कहिलेकाहीं बाहिर खुला बरण्डामा पनि लग्नेगरियो । त्यहाँ ताजा सोतर बिछ्ल्याइएको हुन्थ्यो । त्यहीँ नै पहिलोपल्ट आफ्ना नजिकका र टाढाका नातेदारहरूसँग मेरो भेटपरिचय भएको थियो । त्यहीँ नै मैले त्यस जमानाका नामूद घोडीहरूलाई पनि आ-आफ्ना बछेडाहरूको साथमा बेग्लाबेग्लै ढोकाहरूबाट बाहिर निस्कनेगरेको देखेको थिएँ । उनीहरूमध्ये नै बूढी गोलान्का, स्मेतान्काकी छोरी मूश्का, क्रास्नुखा र सवारीकी घोडी दोब्रोखोतिका पनि थिए । आ-आफ्ना बछेडाहरूको साथमा उनीहरू पारिलो घाममा डुलफिर गर्नेगर्थे, सोतरमा लडीबुडी खेल्थे र बिल्कुलै साधारण घोडीहरूले झैँ एक अर्कालाई सुँघ्ने गर्थे । त्यस जमानाका एकसेएक सुन्दरी घोडीहरूद्वारा भरिएको त्यस घोडागोठको दृश्य आजसम्म पनि झल्झली सम्झनेगर्छु । तिमीहरूलाई पत्यार नपर्न सक्छ र आश्चर्य समेत लाग्न सक्छ, तर कुनै जमाना यस्तो पनि थियो जतिखेर म पनि नौजवान नै थिएँर म पनि उफ्री-उफ्री खेल्नेगर्थे । त्यसैताका नै मेरो परिचय यही भ्याजोपुरिखासँग भएको थियो । त्यस बेला उसको उमेर एक आलको मात्रै हुँदो हो-बडो मिलनसार, हँसिली र दिलदार पनि थिई । म अहिले उसको चित्त दुखाउने चाहन्नँ, तर यति त मैले भनैपर्ली कि आज जुन घोडीलाई तिमीहरू बडो घरानियाँ ठान्दैछौ उसलाई त्यसताका सबभन्दा तल्लो जातको सम्झन्थे । भ्याजोपुरिखाले स्वयं नै मेरो भनाइको पुष्टि गर्ली । वा टाटेपाङरे मेरो रङ्ग मानिसहरूलाई त एक फुट्ठी पनि राम्रो लाग्दैनथ्यो, तर घोडाहरूलाई भने निकै मन परेको थियो । सबै घोडाहरू मेरो वरिपरि झुम्मिन्थे, मेरो सराहगा तो टाटेपाङरे रङ्गबारे मानिसहरूका टीकाटिप्पणीमा पनि गर्थे र मसँग खेल्दथे । समय बित्दैगयो र मेरो रि नै मलाई आफ्नो जीवन मैले ध्यान दिन छोडेँ र म अपार सुखको अनुभव गर्न लागें । तर छिटै नै मलार्इ आफ्नो जीवनको पहिलो दुःखको अनुभव भयो । मेरी आमा नै यसको कारण बन्न पुगेथिर्इन । हिउँ पग्लीन लागिरहेको थियो, छतको मुन्तिर भँगेराहरू चिरबिर गर्न थालेका थिए र सारा वातावरणमा नै वसन्तको छटा छाइरहेको थियो । मेरी आमाले मसँग अर्कै प्रकारको व्यवहार गन शुरु गरिन् । उनको स्वभावमा नै एकदमै फरक आइरहेको थियो । कहिलेकाहीं उनी अस्तबलमा दगुर्ने र उफ्रने गर्थिन् जुन उनको उमेरकी घोडीहरूलाई पटक्कै सुहाउँदैनथ्यो । अनि कहिले उनी उभिएको उभियै बिचारमग्न हुन्थिन् र हिनहिनाउन लागिथन् त कहिले चाहिं अरु घोडीहरूलाई टोक्न र जिस्क्याउन लाग्थिन् । कहिले मलाई सुँघ्थिन् र बडो घृणाभावले घुर्न थाल्थिन् भने कहिले चाहिं आफ्नी झटकेली बहिनी कुप्चिखाको बगलमा घाम ताप्न जान्थिन् र आफ्नो टाउको उसको काँधमा अड्याएर सारा कुरा बिर्से झैँ गरी निकै बेरसम्म उसको पीठमा कन्याइदिन्थिन्, तर मलाई चाहिँ थुन चुस्न समेत दिदैनथिन् र कतै म नजिक गएँ भने बडो रुखो तवरले धकेलिदिन्थिन् । एकपल्ट अस्तबलको नाइके टुप्लुक्क आइपुग्यो र आमालाई लगामले बाँधेर कता हो कुन्नि लिएर गयो । आमा हिनहिनाइन् । मैले पनि हिनहिनाएर यसको जवाफ दिएँ र उनको पछि पछि दौडें । परन्तु उनले भने मतर्फ हेर्दा पनि हेरिनन् । सईस तारासले मलाई आफ्नो अँगालोमा अँठयाइहाल्यो र ढोकामा ताल्चा नलगाउन्जेल छोड्दै छोडेन । मैले दौडेर भागिहाल्ने जमर्को गरेँ र सईसलाई सोतरमा पछारिदिएँ । किन्तु ढोका बन्द भैसकेको थियो र आमाको हिनहिनाहटमा मलाई आहवान गरिएको होइन, बरु अर्कै पुकार पो सुनिन्थ्यो । त्यो पुकार कस प्रति थियो भन्ने त पछि मात्र मलाई थाहा भयो । मेरी आमा कुनै अर्को घोडाको तिक्खर र सुरिलो आहवानको जवाफ दिइरहेकी थिइन् । त्यो आवाज दोव्री प्रमको थियो । दुई जना सईसहरू उनलाई डोर्याएर मेरी आमासँग भेटघाटगराउन ल्याउँदैथिए । मेरो हृदयमा यसले गर्दा सारै ठूलो चोट पर्न गयो । तारास कुन्ति कुन बेला अस्तबलबाट बाहिर निस्कियो त्यसको समेत मलाई होश भएन । मलाई त के लाग्यो भने मैले सदासर्वदाको लागि नै आफ्नी आमाको ममता गुमाइसकेको छु र त्यो पनि यसै कारणले गर्दा किमेरो रङ्ग नै टाटेपाङरे छ । म त यस्तै कुरा सोच्दैरहेँ । यस सम्बन्धमा मानिसहरूले भन्ने गरेका नाना थरीका कुराहरूको सम्झना हुँदा मलाई कस्तो जङ चल्थ्यो भने म अस्तबलको भित्तामा टाउको जोत्न र घुँडाले ठोक्न पुग्थेँ । त्यतिञ्जेलसम्म म यसरी भिड्थेँ जबसम्म मेरो जिउबाट खलखली पसिना बग्दैनथ्यो र म लस्त भएर गलेको अनुभव गर्दिनथें ।
केही समयपछि आमा मकहाँ नै फर्केर आइन् । मैले बरण्डामा उनले कदमको आवाज सुनें । त्यस दिन उनको दुलकी चाल अरु बेलाको जस्तो सामान्य थिएन । जव खोलियो र उनी भित्र दाखिल भइन् त मैले बडो मुश्किलले मात्रै उनलाई चिन्न सकेँ । उनी अति र तरुनी देखिएकी थिइन् । उनले मलाई सुँघिन्, लामो सास तानिन् र हिनहिनाउन हरेक चालढालबाट के थाहा पाइन्थ्यो भने मप्रति अब उनमा कुनै ममता बाँकी छैन । उनी त मलार्इ दोब्रीकै सौन्दर्थको बयान गर्दै थिइन् र उसप्रति आफ्नो प्रेमबारे बताउँदै थिइन् । उनीहरूको भेटघाट त्यसपछि पनि कैयौपल्ट भएको थियो र मप्रति मेरी आमाको व्यवहार पनि झन झन् रुखो हुँदैगयो ।
केही दिनपछि हामीलाई घाँसमा चराउन पनि लग्न थालियो । त्यस समयदेखि मलाई पनि एक नौलो किसिमको खुशीको अनुभव हुन थाल्यो र आमाको ममताको जुन अभाव थियो त्यो पनि केही हदसम्म पूर्ति हुन लाग्यो । मैले नयाँ साथीहरू र संगिनीहरू भेटेँ । हामीले सँगसँगै घाँस चर्न, उमेरदार घोडाहरू झैँ हिनहिनाउन र आफ्ना आमाहरूको अगलबगलमा दगुर्न र उफ्रन सिक्यौं । त्यो समय ज्यादै सुखमय थियो । मेरा सबै भूलचूकहरूको माफी दिइन्थ्यो । जो पनि मलाई प्रेम गर्थ्यो, मेरो मानमर्यादा गर्थ्यो र मेरा त्रुटिहरूतर्फ कत्ति पनि ध्यान दिँदैनथ्यो । तर यस्तो सुख धेरै दिनसम्म रहेन । छिटै नै एउटा भयानक घटना घट्यो ।”-टाटेपाङरे घोडाले लामो सुस्केरा हाल्यो र घोडाहरूको माझबाट निकै पर हटेर गयो ।
मिर्मिरे उज्यालो भैसकेको थियो । दैलो ख्यार्र गर्यो र नेस्तेर भित्र पस्यो । घोडाहरू पनि यताउता छरिए । घोडा-गोठालाले टाटेपाङ्गरे घोडामा काँठी कस्यो र घोडाको बथानलाई चरनतर्फ धपाएर लग्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।