हामी २०७८ सालको अन्तिम महिनामा छौँ । वर्ष सकिनलाग्दा अघिल्ला वर्षहरूमा झैँ पुस्तक बजार चलायमान बनेको छ । देश र विदेशबाट नेपाली किताबहरूले दिन नबिराइ प्रकाशनमा आइरहेका छन् । केन्द्र तथा मोफसलमा लोकार्पण कार्यक्रमहरू भइरहेका छन् ।
हामी यस स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।
यसैक्रममा साताका पुस्तकमा योपटक सात पुस्तक । ‘अतिक्रमण’देखि ‘बौलाको डायरी’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।
१. बन्दीकाल र फुच्चे – वीरभद्र कार्कीढोली
सिक्किमका स्रष्टा वीरभद्र कार्कीढोलीको कथासङ्ग्रह हो, “बन्दीकाल र फुच्चे” । यस सङ्ग्रहमा वीरभद्रले आफूले बन्दीकालमा लेखेका मेरो ईश्वर, सत्य, अर्को मोड, कमाने जीवन, बन्द्र भ्रम, बन्दीकाल र फुच्चे, ड्राइभर र धनराज गरी आठवटा कथाहरु सङ्ग्रहित छन् ।
“यो बन्दीकालभरि मैले धेरैथोक सम्झेँ, बुझेँ, बुझ्दैगएँ र म बिस्तारै आत्तिन, डराउन छोडेछु । खतराको डरमा बाँच्दा-बाँच्दा खतरा नियमितताजस्तो बन्दो रहेछ, सामान्यताजस्तो हुँदो रहेछ ।”, लेखक वीरभद्रले कथाका कुरामा लेखेका छन्, “लाग्यो, लकडाउन पनि अति आवश्यम रहेछ जीवनमा । आजको वास्तविकतामा सोसल डिस्टेन्सिङ पनि उत्ति नै आवश्यक रहेछ मान्छेमा मान्छे बाँच्नका लागि, अस्तित्वका लागि । …. जे होस्, महामारीकाल, सङ्क्रमितकालभित्रै ती पाठकका हातमा आइपुग्न पाएका छन् । केही आनन्दबोध भइरहेको छ । यो कुनै योजना होइन । कुनै संजोग होइन । हुनुपुगेको ।”
कृतिलाई लक्ष्मीप्रसाद शर्माले प्रकाशनमा ल्याएका हुन् । १ सय २० पृष्ठमा फैलिएको कृतिको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
२. अतिक्रमण – खगेन्द्र थापा
निजामती सेवाको क्षेत्रमा कार्यरत् खगेन्द्र थापाको कथासङ्ग्रह हो, “अतिक्रमण” । यो कथासङ्ग्रहमा मेरो न्वारान, जागिर लिलामको सूचना, वान साइडेड लभ, अम्रिकाने ज्वाइँ, मैले नबुझेको कुरा, अनिदा आँखाहरु, ब्ल्याक ब्युटी, छापामारको डायरी, नयाँ नेपालको पुरानो घाउ, स्ट्रिट गर्ल, नेपाली टुरिस्ट, मौनताको चिसो काराबास, सिमा-ना, कालो अङ्गुर, प्रतिबन्धित आँसु, भिसा गर्ल, गाडी नः १२-२७, लुकेको व्यथा र बुर्काभित्रको मुस्कान गरी १९ वटा कथासहरु सङ्ग्रहित छन् ।
“कथाकार खगेन्द्र थापाका कथा पढेर हामीलाई प्रकाशक हुन पाएकोमा हर्ष अनुभव भएको छ ।” प्रकाशकीयमा लेखिएको छ, “वर्तमान परिवेश, विदेश मोहको पीडा, भाषाको विद्रुपता, संस्कृतिको कुरुपता, मानवीयताको स्खलन आज कसरी भइरहेको छ, सबै कुरालाई कथाकारले देखे, भोगेझैँ गरेर आकर्षक रुपमा राख्नुभएको छ । भाषा सरल छ । प्रस्तुति आकर्षक छ । कुनै पनि कथा पट्यारलाग्दा छैनन् ।”
पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले प्रकाशनमा ल्याएको हो । २ सय २६ पृष्ठमा फैलिएको कृतिको मूल्य २ सय ९० रुपियाँ रहेको छ ।
३. म उभिएको धरती – शिबु छेत्री
पत्रकार शिबु छेत्रीको संस्मरणहरुको सँगालो हो, “म उभिएको धरती” । यो सङ्ग्रहमा सेफाली, मृत्युर भय ना की ?, आमा, सुवास र विमाल, बुबा, बाल्यकाल र सङ्घर्ष, चन्द्रमान हाँसेको दिन, रातकी रानी, पत्रकारिता एक अवसर, मैँ जी भर जिया, मैं मन से मरुंः अटल, सपनालाई मर्न नदिने ओम पुरी, गोलरोटी र भाइटीका, कानु सन्याल, गोर्खाहरुको समस्याप्रति चिन्तित सौमेन दा र गाईसाला गरी १४ वटा संस्मरणात्मक निबन्धहरु सङ्ग्रहित छन् ।
“म उभिएको धरती शिबु छेत्रीद्वारा लिखित एका सशक्त निबन्धहरुको सङ्कलन हो ।”, पुस्तकको भूमिकामा विन्द्या सुब्बा लेख्छिन्, “शिबु उभिएको धरती उनीद्वारा नै निर्मित एउटा स्वप्नभूमि हो, कर्मभूमि हो जहाँ सम्बन्धहरुमा घेरिएका एक संवेदनशील मानिस छन्, उनको अभीष्ट पत्रकारिता छ जसका माध्यमद्वारा ती मानिस एक सुशृङ्खल नेपाली समाज, भारत देश र सुशृङ्खल एउटा पृथिवी हेर्ने चाहना राख्छन् । वस्तुतः शिबुको धरती युगसम्मत, मानवतावादी, बलियो र भरोसायोग्य छ ।”
कृतिलाई सशि प्रकाशन, सिलगढीले प्रकाशनमा ल्याएको हो । १ सय ९२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय रुपियाँ रहेको छ ।
४. बौलाको डायरी – महेश्वर पन्त
महेश्वर पन्तको नवीनतम् उपन्यास हो, “बौलाको डायरी” । मोओवादी जनयुद्धलाई उपन्यासले पृष्ठभूमि बनाएको छ । मुख्य पात्र जनयुद्धकै विद्रुप वास्तविकताले बौलाउन बाध्य भएको छ । तेजबहादुर घर्तीको आत्मकथा जस्तो बनेर बगेको उपन्यास नेपाली समाजले झेलेर एक कठिन कालखण्डको एक दृष्टान्त बन्न पुगेको छ ।
पन्तको अनुभवी कलमको नमूना “बौलाको डायरी” भएको ध्रुवचन्द्र गौतमले बताउएका छन् । गौतमले भनेका छन्, “प्रेम, आशा, निराशा, युद्ध र त्यसपछिको पात्र-जीवनले विविध सन्देश दिएको छ । पात्रको बाल्यकाल अर्थात् गाउँले जीवन अत्यन्त सजीव र मार्मिक छ । भावुकता र करुणाले पाठकलाई कतै न कतै भिजाउँछ ।” त्यस्तै, समीक्षक राजकुमार बानियाँले “बौलाको डायरी” नेपाली राजनीतिको डार्क कमेडी भएको बताउएका छन् । उनले भनेका छन्, “उपन्यासमा विद्रुप हास्य अनि करुण व्यङ्ग्य तिख्खर छ । एक स्वप्निल तरुणको दुःखान्तले पाठक हृदयमा अनन्त हाहाकार ल्याइदिन्छ । आञ्चलिकताका दृष्टिले पनि उपन्यास अब्बल बनेको छ ।”
उपन्यासलाई कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठान, नेपालले प्रकाशनमा ल्याएको हो । यो प्रतिष्ठान उपन्यासकार पन्तकै बुबा-आमाको स्मृतिमा स्थापित संस्था हो । उपन्यासकारका बुबा प्रशिद्ध संस्कृतिविद् हुनुहुन्थ्यो । सरल भाषा र सरस लेखन शील्प पन्तका विशेषता हुन् । बौलाको डायरी पन्तको दोस्रो उपन्यास हो । यसअघि उहाँका उपन्यास “फुर्लुङ” र कथासङ्ग्रह “नबोल्नेहरु” प्रकाशित छ ।
२ यस २७ पृष्ठमा फैलिएको यो उपन्यासको मूल्य ४ सय ५० नेपाली रुपियाँ रहेको छ ।
५. बिन्दुको वृत्त – विष्णु पादुका
“बिन्दुको वृत्त” कवि विष्णु पादुकाको नवीनतम् कवितासङ्ग्रह हो । सङ्ग्रहमा आमा, ढुङ्गाको मुटु, तिमी कलम, बा, श्वेत क्रान्ति, छोरीसँग, साथी, स्मार्ट, मेरो ईश्वर, पाठ, अगुवा, ऊ, दोसाँध, व्यवस्था, मृत्यु पत्र, परिचय पत्र, शंकाको देउराली, निद्रा युद्ध, सिउँडी, निरुत्त्तर म, बौलाही, सुख्ख, कारण, विश्वासको बोट, बिन्दुको वृत्त, वृत्त बाहिरदेखि, आँसुको महोत्सव, मौनता, यार्चा, शक्तिहिन कविता, कवि र कविता, कतै म पो गलत छु कि, यादहरुको गन्तव्य, कृतिम कविता, अरुको कवितिा लेख्न सकिनँ, आगो, आगोसँग आउँदै जाँदै, म तपाईँको फ्यान हुन चाहन्छु, न्यूटन, हितको हिमाल, पुल, केही वृत्तहरु, समय, सियो र धागो र धन्यवाद गरी ४४ वटा कविताहरु सङ्ग्रहित छन् ।
“घामलाई घाम हुन र पानीलाई पानी हुन के चाहिन्छ ? अनि कवितालाई कविता हुन ?”, पुस्तकको संक्षिप्त परिचयमा नवीन अभिलाषी लेख्छन्, “समाजिक मनोविज्ञान, सङ्घर्ष र अस्तित्ववादी चेतनालाई दर्शनको जलप लगाएर भनिएका यी कविताले त्यसको जवाफ दिन्छन् । शब्दको शिल्प-सौन्दर्य, प्रयोग र विषयगत विविधतासहितको यो काव्यकृतिले नेपाली समकालीन साहित्यको फाँटमा मचक्क टेकेको छ ।”
१ सय ६ पृष्ठमा फैलिएको कवितासङ्ग्रहको मूल्य २ सय ५५ रुपियाँ रहेको छ ।
६. म उभिएको ठाउँ – कुन्ता शर्मा
कुन्ता शर्माको चर्चित कवितासङ्ग्र हो, “म उभिएको ठाउँ” । कृतिको दोस्रो संस्करणलाई आयाम अन्वेषण एन्ड प्रकाशन केन्द्रले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा नामर्दकी स्वास्नीको गनगन, हामी सहँदै जाउँला, मध्यरातको परिवेशमा, पोथी बास्नुहुँदैन लगायत २५ वटा कविताहरु सङ्ग्रहित छन् ।
“कुन्ता शर्माको कविताको मुहान् आफ्नै देश र आफ्नै माटो हो । उनी कविता जन्माउनका लागि गरिबीको, विवशता र बाध्यताको, चेतनाको, इच्छा र चाहनाको गर्भधारण गर्छिन् ।”, पुस्तकको संक्षिप्त परिचयमा साहित्यकार राजेन्द्र पराजुली लेख्छन्, “फलतः उनका सबलाङ्ग कविताहरु जन्मन्छन् । अनि जहाँ उनले टेकेकी छन्, दुःख-पीडाहरु सहेकी छन् त्यस भूमिलाई उनी छाड्न सक्तिनन्, एउटा मानवी असक्यता हुर्काउँछिन्, बढाउँछिन् र फैलाउँछिन् । उनी आफ्नो धार नबदल्ने अठोट गर्छिन् किनकि उनको धार मजबुत छ, त्यस धारे उनको जीवनगति, विचारगति र दर्शनगतिलाई प्रगति-उन्मुख गराएको छ । त्यसैले उनका कविताहरु आशावादी छन् र जिउँदा छन् ।”
६६ पृष्ठमा फैलिएको कवितासङ्ग्रहको मूल्य व्यक्तिगततर्फ २ सय र संस्थागततर्फ ३ सय रुपियाँ रहेको छ ।
७. वर्ण-विन्यास-विज्ञानभित्र नेपाली भाषा – डा. बलदेव शर्मा अधिकारी
डा. बलदेव शर्मा अधिकारीको भाषा-विज्ञानसम्बन्धी पुस्तक हो, “वर्ण-विन्यास-विज्ञानभित्र नेपाली भाषा” । अधिकारीकक पुस्तकलाई “नेपाली वर्णविन्यासको वैज्ञानिक परम्परा” र “स्थापित र वैज्ञानिक नेपाली वर्णविन्यास-परम्परा भत्काउने भूमिकामा त्रिविका केही प्राध्यापकहरु” दुई अध्यायमा प्रस्तुत गरेका छन् ।
पहिलो अध्यायमा “वर्णविन्यास-विज्ञानमा वणर्माला अथवा अक्षरमालाको अध्ययन”, “वर्णविन्यास-विज्ञानमा बाह्रखरी तथा संयुक्त अक्षर”, “वर्णविन्यास-विज्ञानमा वर्णोच्चारण”, “आधुनिक नियामकहरुबाट हटाइएका वर्णहरुको संक्षिप्त चर्चा”, “वर्णविन्यास-विज्ञानमा लिपि”, “देवनागरी लिपिचिह्नका विविध विशेषता तथा शास्त्रीय आधार”, “नेपाली वर्णमालाको महिमा”, “नेपाली वर्णमालामा भाष-विज्ञान”, “वर्णविन्यास-विज्ञानको महत्वपूर्ण आधारमा सन्धि”, “वर्णविन्यास-विज्ञानमा शब्दमूलको सुरक्षा”, “वर्णविन्यास-विज्ञानमा शब्दार्थ”, “वर्णविन्यास-विज्ञानमा पदयोग-पदवियोग”, “वर्णविन्यास-विज्ञानमा विकल्प”, “वर्णविन्यास-विज्ञानमा चिह्न, तिर्यक् कारक तथा अनुच्छेद”, “वर्णविन्यास-विज्ञानमा अध्ययन गरिने विविध क्षेत्र” र “वर्णविन्यास-विज्ञानको परिभाषा” समावेश छन् । त्यस्तै, दोस्रो अध्यायमा “नेपाली भाषा र संस्कृत भाषाको सम्बन्ध”, “नेपाली वणर्माला, वर्णोच्चारण तथा वर्णविन्यासको वैज्ञानिक परम्परा र त्यसमा ल्याइएको विचलन”, “सरकारी संस्था अथवा निकायभित्रै नेपाली वर्णविन्यासमा अनेकरुपता”, “वर्णविन्यास-विज्ञानमा विभिन्न भाषाहरुको अध्ययन”, “नेपाली भाषा बचाऔँ, अभियान ः २०७२ को पृष्ठभूमि र औचित्य” र “नेपाली भाषा बचाऔँ, अभियान, २०७२ को आंशिक उपलब्धि” समावेश छन् ।
२ सय ८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय २५ रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।