चेतनाथ आचार्य
साहित्यलाई समाजको ऐना भनिन्छ। तत्कालीन अवस्थाको समाजका यावत गतिबिधिलाई टपक्क टिपेर विभिन्न पात्रमात्र व्यक्त गराउने कला निख्खर हुन्छ त्यो साहित्य त्यति नै सफल हुन्छ। काल, परिस्थिति, पात्रको चरित्रचित्रण, भूगोलको वर्णनसँगै पात्रभित्र छिरेर उनीहरुको अन्तरकुन्तरका भावनालाई व्यक्त गर्न सक्दा आख्यान तथा गैरआख्यान जे भए पनि त्यस्तो सिर्जना सजीव हुने गर्छ।
सन् १९६६ देखि २००५ सम्मको लगभग चार दशकमा चीनमा आएको हलचल, आर्थिक विकास, राजनीतिक उतारचडाव, समाज, मानवीय संवेदना, बजारीकरण, अन्तर्राष्ट्रिय चासो आदि विषयलाई टिपेर लेखिएको उपन्यास हो ‘ब्रदर्श’ अर्थात् ‘दाजुभाइ’।
यु ह्वाको पहिलो उपन्यास ‘ब्रदर्श’लाई चिनियाँ समाजको गति देखाउने एउटा दस्तावेज मानिन्छ। यु ह्वाको जन्म सन् १९६० अप्रिल १३ मा चीनको हाङचौ सहरमा भएको हो। दन्त चिकित्सा पढेका उनी चिकित्सककै पुत्र थिए। उनका बुबालाई यु ह्वालाई आफूजस्तै चिकित्सक बनाउने सपना बुनेका थिए। दन्त चिकित्सक भएर केही समय अभ्यास गरेपछि यु ह्वाले सन् १९८३ मा पेशा परिवर्तन गरे। अथवा भनौँ उनी दन्त चिकित्सकबाट लेखक बने। सुरुमा उनी कथा लेख्थे। पछि उनको मुख्य लेखन उपन्यासतिर मोडियो।
चीनमा उनलाई उत्तरआधुनिक लेखक पनि भन्ने गरिन्छ। मूलतः चिनियाँ समाजलाई यथार्थ चित्रण गर्ने क्रममा उनले यौन अश्लिलतालाई भर्‍याङ बनाएका छन्। यसैले चिनियाँ साहित्यकारहरु उनको कडा आलोचनामा पनि उत्रिने गर्छन्। चीन कम्युनिष्ट सत्ता भएको मुलुक हो। तसर्थ शरीर राजनीति र मानवलाई बस्तु व्यापार गर्ने कुरा चिनियाँ समाजमा पूर्णतः बन्देज छ। यद्यपि आधुनिक दलाल पूँजीवादी प्रवृत्तिले चीनमा पनि यौन व्यवसाय फस्टाउँदै गएको पाइन्छ। राजनीतिमा व्याप्त भ्रष्टाचार र यौन व्यवसायलाई चोटिलो व्यङ्ग्यका रुपमा यु ह्वाले ‘ब्रदर्श’ उपन्यासमा उठान गरेका छन्।
यु ह्वाले पाँचवटा उपन्यास, छवटा कथा सङ्ग्रह र तीनवटा निबन्ध सङ्ग्रह प्रकाशन गरिसकेका छन्। उनका कृतिहरुलाई चिनियाँ भाषाबाट अंग्रेजी, स्पेनिस, पोर्चुगिज, फ्रेन्च, जर्मन, रसियन, इटली, डच, चेक, पोलिस, रुमेनियन, स्विडिस, हङ्गेरियन, सर्बियन, तुर्किस, पर्सियन, हिब्रु, कोरियन, मंगोलियन, मलेसियन र डेनिस भाषामा अनुवाद भइसकेका छन्।
‘ब्रदर्श’ अर्थात् दाजुभाइ यु ह्वाको वहुचर्चित उपन्यास हो। यो उपन्यासको पहिलो भाग सन् २००५ मा र दोस्रो भाग सन् २००६ मा प्रकाशन भए पनि अंग्रेजी भाषामा अनुवाद हुँदा एउटै पुस्तकका रुपमा आएको छ। दुई भागलाई एकै ठाउँमा गाभेका कारण अंग्रेजी अनुवाद ६५० पृष्ठभन्दा बढी छ।
यो यु ह्वाको पहिलो उपन्यास हो। यो उपन्यासलाई चिनियाँ भाषामा ‘सिओङती’ भनिन्छ। ‘सिओङती’ शब्दले दाजुभाइ बुझाउने गर्छ। जम्मा ७६ च्याप्टर रहेको उपन्यासको पहिलो भागमा २६ च्याप्टर छन् भने दोस्रो भागमा ५० च्याप्टर। चिनियाँ उपन्यासमा एक लाख ८० हजार क्यारेक्टर रहेका छन्। अनुमान गर्न सकिन्छ कि अंग्रेजी भाषाको यस उपन्यासमा साढे ३ लाखभन्दा बढी शब्दहरु छन्। चिनियाँ भाषाका क्यारेक्टरलाई अंग्रेजीमा अनुवाद गर्दा सरदर डबल हुने गर्छ।
यो उपन्यास चीनमा मात्र दस लाखभन्दा बढी बिक्री भएको मानिन्छ। उपन्यास सन् २००९ मा अंग्रेजी भाषामा अनुवाद भएको हो।
उपन्यासमा बाल्डी ली र सोङ काङ दुई पात्र हुन्छन्। उनीहरुलाई नै दाजुभाइ मानेर उपन्यास सिर्जना गरिएको छ। वास्तवमा यी दुई पात्रका बाबुआमा दुवै अलग हुन्। बाल्डी लीका बुबाको मृत्यु भएपछि उनकी आमा ली लानले सोङ काङका बुबा सोङ फानफिङसँग बिहे गरेकी हुन्छन्। सोङ फानफिङकी पहिलेकी श्रीमती अर्थात् सोङ काङकी आमाको पनि मृत्यु भइसकेकाले बिधवा र विधुरबीचमा बिहे भएको हुन्छ। बाल्डी लीकी आमा सोङ काङकी सौतेनी आमा हुन् भने सोङ काङका बुबा बाल्डी लीका सौनेला बुबा। आमा र बुबा दुवै फरक भए पनि कालान्तरमा उनीहरु एकै घरका एउटै आमाबुबाबाट हुर्काइएकाले दाजुभाइ बन्न पुगेका हुन्।

यु ह्वा

उपन्यासको पहिलो खण्डमा दाजु सोङ काङ र भाइ बाल्डी लीको बाल्य अवस्था कहाली लाग्दो दारुण अवस्थाको चित्रण गरिएको छ। सन् १९६६ देखि १९७६ सम्म चीनमा चलेको सांस्कृतिक क्रान्तिका दौरान उनीहरुका बुबा सोङ फानफिङको हत्या हुन्छ। ली लानका काँधमा दुवै बालक हुर्काउनुपर्ने अभिभारा आउँछ। उनीहरुको आर्थिक अवस्था अत्यन्त कमजोर हुन्छ। कयौँ दिनसम्म खान नपाइकन बस्नुपर्ने अवस्थाको चित्रणले पाठकलाई निकै भावुक बनाउँछ।
त्रासदीपूर्ण अवस्था भोग्दा भोग्दै ली लानको मृत्यु भएपछि सोङ काङ र बाल्डी ली टुहुरा बन्छन्। यहाँनेर उपन्यासको पहिलो भाग टुङ्गिन्छ।
उपन्यासको दोस्रो भागमा सांस्कृतिक क्रान्तिको अवसानसँगै चीनमा सुधार र खुलापन सुरु भएपछि सोङकाङ र बाल्डी लीको किशोरावास्थाको वर्णन छ। अनि उनीहरुका बीचमा नयाँ पात्रको प्रवेश हुन्छ। ती नयाँ पात्र किशोरी लिन होङ हुन्। लिन होङलाई बाल्डी लीले असाध्य मन पराउँथे। उनी सधैँ उनलाई पाउने सपना देख्थे। अत्यन्त सजग र आदर्श नारीका रुपमा रहेकी लिन होङ बाल्डी लीलाई पटक्कै मन पराउँदिनन्। अथवा भनौँ उनी सधैँ घृणा गर्छिन्। सधैँ उट्पट्याङ गर्ने बाल्डी र गम्भीर स्वाभाव भएका सोङमध्ये लिन होङले सोङ काङलाई मन पराउँछिन् र बिहे पनि गर्छिन्।
अब उपन्यासको मोड फेरिन्छ। बाल्डी लीलाई लिन होङले पटक्कै मन नपाए पनि भाइ भएकाले सोङ काङले चाहिँ बाल्डीलाई सहयोग गर्छन्। व्यापार गर्ने भनेर छँदाखाँदाको जागिर छोडेपछि व्यापार पनि चौपट हुन्छ र बाल्डी सडकको बासमा पुग्छन्।
निकै कठिन जीवन जो बाल्य अवस्थामा थियो उस्तै दोहोरिन्छ बाल्डीको जीवनमा। यही कठिन घडीमै पुराना सामान भेला गरेर त्यसलाई बिक्री गर्ने र रिसाइकल गर्ने व्यवसाय सुरु गर्छन् उनी। उनले उक्त व्यापारमा ठूलो सफलता प्राप्त गर्दै जान्छन् र काउन्टीकै सबैभन्दा धनी व्यक्ति बन्छन्।
धनी बनेपछि चर्चित बन्नुपर्छ भन्दै महिलाको कौमार्य प्रतियोगिता आयोजना गर्न थाल्छन्। यहाँनेर के ख्याल गर्नुपर्छ भने चीनमा सन् २००३ मा पहिलोपटक सुन्दरी प्रतियोगिता भएको थियो। त्यसभन्दा अगाडि कम्युनिष्ट मुलुक चीनमा सुन्दरी प्रतियोगितालाई बहिस्करण गरिन्थ्यो। महिलालाई बस्तु बजारमा बिक्री गर्ने साधनका रुपमा दलाल पूँजीवादीले मात्र सौन्दर्य प्रतियोगिता गर्छन् भन्ने भाष्य चीनमा त्यस अगाडि व्याप्त थियो। फलतः यस्ता कुरामा चीन सहभागी हुनुहुँदैन भन्ने सरकारी मान्यता थियो।
सुधार र खुलापनसँगै चीनका धारणा फेरिँदै गए। चीनले सुन्दरी प्रतियोगितामा भाग लिन मात्र होइन आयोजना नै गर्न थाल्यो। यो कार्यले चीन पूँजीवादी बजारमा प्रवेश गरेको जनाउ उपन्यासकार यु ह्वाले दिएका छन्। यसलाई बिम्ब र व्यङ्ग्यका रुपमा उनले कौमार्य प्रतियोगिता भनेर उठान गरेका हुन्।
दाजुभाइमध्ये बाल्डी लीले आर्थिक छलाङ मारिरहेका बेला सोङ काङको अवस्था खस्कदै जान्छ। उनको मृगौलामा समस्या देखिन्छ। त्यही बेला बाल्डी लीसँग सहयोगको हात थाप्न पुग्छिन लिन होङ।
सोङ काङले थाहा नपाउने गरी बाल्डी लीले लिन होङलाई पैसा दिन्छन् र सोङ काङको उपचार सम्भव हुन्छ। स्वास्थ्य ठीक भएपछि सोङ काङ विभिन्न झुटा तथा नक्कली बस्तु बेच्ने बजारीकरणको काममा लाग्छन्। त्यस्ता बस्तुको बिक्री जहाँ महिलाको कौमार्य फर्काउनका लागि कृत्रिम हाइमिन प्रत्यारोपण र स्तन बढाउने मलम भन्दै झुटको प्रचार गराउने चटके बजार ‘चार्लाटन’ अँगालेका हुन्छन्।
झुटको पुलिन्दामा फस्दै व्यापार गर्दै यो सहर र ऊ सहर गर्दा गर्दै सोङ काङ लामो समय घर फर्कदैनन्। त्यही समयमा बाल्डी ली र सोङ काङकी श्रीमती लिन होङबीचमा शारीरिक सम्बन्ध हुन थाल्छ।
एक दिन थकित अवस्थामा सोङ काङ घर फर्कदा आफ्नी श्रीमती लिन होङ भाइ बाल्डी लीसँग सल्किएको थाहा पाउँछन्। उनको स्वाभिमानमा चोट पर्छ र रेलको लिखमा सुतेर आत्महत्या गर्छन्।
सोङ काङको आत्महत्याले लिन होङ र बाल्डी ली पनि विछिप्त हुन्छन्। उनीहरुको शारीरिक आकर्षणको पनि अन्त्य हुन्छ। अन्ततः लिन होङ वेश्यालय चलाउन थाल्छिन् भने बाल्डी ली आफ्नो प्यारो दाजुको खरानी लिएर अन्तरिक्षमा निस्कन्छन्।
ब्रदर्श उपन्यासको छोटकरी कथा यति हो। यो उपन्यासले सन् १९६० को दसकपछिको चिनियाँ समाज र चिनियाँ विकासलाई छर्लङ्ग देखाएको छ। सांस्कृतिक क्रान्तिसँगै बाल्यकाल बिताएका उपन्यासकार यु ह्वाले आफूले देखेभोगेका कुरालाई आख्यानीकरण गरेर किताबमा उतारेको अन्तर्वार्ताहरुमा बताएका छन्।
सोङ फानफिङको हत्या र ली लानले पाएको दुःख सांस्कृतिक क्रान्तिताकाको चीनको कुरुप चित्र हो भने बाल्डी ली र सोङ काङको अभावग्रस्त किशोर अवस्थाले सन् ७० र ८० को दसकको चीनको पीडा दर्शाउने दस्तावेज।
बाल्डी लीको व्यापार फस्टाएको कुरालाई आधुनिक चीनको विकास र सोङ काङले अँगालेको झुटको चटकपूर्ण व्यापारले चीनमा फस्टाउन थालेको नक्कली सामानको बिगबिगीलाई व्यङ्ग्य कसेका छन्। चीनमा व्याप्त भ्रष्टाचारलाई पनि उपन्यासमा बेजोडसँग प्रस्तुत गरिएको छ।
सौन्दर्य प्रतियोगिता हुन थालेपछि महिलालाई हेर्ने दृष्टिकोणसँगै चीनमा अवैध रुपमा फस्टाएको वेश्यालय जस्ता पूँजीवादी संस्कृतिको प्रवेशलाई उपन्यासमा अत्यन्त स्वाभाविक र सहज रुपमा पढ्न सकिन्छ। यो उपन्यास प्रकाशन भएको डेढ दसक बितिसकेको छ। उपन्यासले वर्णन गरेको कुराहरु चीनकै भूमिमा बसेर अनुभव गर्दा अत्यन्त सजीव लाग्छ।
चिनियाँ महिलाहरुले स्तन ठूलो बनाउने शल्यक्रियादेखि विभिन्न कस्मेटिक सर्जरी अहिले झनै व्यापक बनेको छ। योसँगै बिबाहेत्तर सम्बन्ध र यौन बजारका कुरालाई पूरै खुलाएर लेखिएकाले उपन्यासलाई धेरैले यौन साहित्य भनेर आलोचना पनि गरेका छन्।
शरीर राजनीति र महिलालाई बस्तु बजारका रुपमा प्रयोग गर्दै चिनियाँ समाजमा भएका सबै गोप्य कुरालाई पनि खुल्ला रुपमा उतारिएकाले यो उपन्यासलाई उत्तरआधुनिकको उत्कृष्ट नमूना भनिएको हो।

यही उपन्यासका लागि यु ह्वाले सन् २००८ मा फ्रान्सबाट प्रदान गरिने उत्कृष्ट विदेशी किताबका लागि कुरियर अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो। फ्रान्सेली भाषामा अनुदित यो उपन्यासलाई उक्त पुरस्कार दिइएको थियो।