साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

म्याक्सिम गोर्कीको “आमा” शृङ्खला ५८

Chovar Blues Mobile Size

फेरि चारैतिर निस्तब्धता फैलियो । घोडाले दुईपल्ट नरम जमीनमा आफ्नो खुरले हिर्कायो । करिब बाह्र, तेह्र वर्षकी एउटी केटी कोठाभित्र पसिन् । उनको सानो चुल्ठो सुनौलो थियो र उनको गोलो अनुहारमा दुई कोमल आँखा निकै सुन्दर देखिन्थे । उनी प्लेटहरुले भरिएको एउटा फुटेको ट्रे लिएर जाँदै थिइन् र बराबर टाउको हल्लाउँदै ओठ टोक्थिन् ।

“के हालखबर छ, नानी ?” – आमाले बडो प्रेमपूर्वक भनिन् ।
“सबै ठीक छ, काकी !” – केटीले जवाफ दिइन् ।
चियाको सामान टेबुलमा राखिसकेपछि केटीले एक्कासि उत्तेजित हुँदै भनिन् –
“भर्खरै एक जना डाँकूलाई समाते, यतै ल्याउँदैछन् !”
“कस्तो रहेछ त त्यो डाँकू ?”
“खोइ, थाहा छैन … ।”
“किन समातिए छ ?”

“थाहा छैन !” – केटीले भनी – “समातियो भनेको मात्र सुनेँ, पहरेदार हाकिमलाई डाक्न गएको छ !”
आमाले झ्यालबाट हेरिन् । बाहिर मौदानमा किसानहरु जम्मा हुँदै थिए । केही मान्छेहरु बिस्तारै, मन्द चालले भने केही मान्छेहरु दौड्दै घटनास्थलतिर जाँदै थिए र बाटैमा आफ्नो भेडाको छालाले बनेको कोटको टाँक लाउँदै थिए । सबै अड्डाको ढोकानेर जम्मा भएर देब्रेतिर कुनै कुरा हेर्दै थिए ।

केटीले पनि झ्यालबाट हेरिन् र ढ्याम्म ढोका लाएर दौड्दै सडकमा निस्किन् । आमा झसङ्ग भइन् र आफ्नो सुटकेस बेन्चमुनि घुसारिन् अनि सल ओढेर हतारिँदै ढोकातिर लागिन् । आमालाई त्यहाँबाट सकेसम्म छिटो निस्कने, भाग्ने इच्छा भयो । आफ्नो यो भावना नियन्त्रण गर्दै उनी कोठाबाट निस्किन् … ।

बरन्डामा पुगेपछि हिउँजस्तो चिसो बतासको एक झोक्काले उनका आँखा र छातीमा हिर्कायो । उनी निस्सासिन थालिन् । उनका खुट्टाहरु काँप्न थाले । मैदानपारिबाट रिबिन आउँदै थियो । उसका दुवै हात पिठ्यूँपछाडि फर्काएर बाँधिएका थिए । उसको दुवैतिर एकएक जना चौकीदार लाठो बजार्दै आइरहेका थिए । मान्छेहरु चुपचाप बरण्डाअगाडि उभिएर प्रतीक्षा गर्दै थिए ।

आमा त्यहीँ किंकर्तव्यविमुढ भएर उभिइरहिन् । रीबिन केही बोल्दै थियो, उनी उसको स्वर सुन्दै थिइन्, तर हृदयको अन्धकारमय शून्यतामा उसका शब्दहरु विना कुनै प्रतिध्वनि बिलाउँदै थिए ।

आमाले लामो सुस्केरा हाल्दै आफूलाई सम्हालिन् । बरन्डा अघिल्तिरै उभिएको नीला अाँखा र बाक्लो सुनौलो रङको दाह्री भएको एक जना किसान बडो ध्यानपूर्वक उनलाई हेर्दै थियो । आमाले खोकिन् र त्रासले काँप्दै आफ्नो घाँटी सुम्सुम्याउन थालिन् ।

“के भयो ?” – आमाले साहस बटल्दै सोधिन् ।
“अहिले आफैं देख्छ्यौ !” – उसले जवाफ दियो र अर्कातिर टाउको फर्कायो । अर्को एक जना किसान आएर ऊसँग उभियो ।
रिबिनलाई लिएर आएका पुलिसहरु भीडअगाडि पुगेर थामिए । भीड बढ्दै थियो, तर मान्छेहरु शान्त थिए । एक्कासि रिबिनको चर्को स्वर सुनियो ।

“हे ईसाका भक्तहरु हो ! के तपाईहरुले पर्चाहरुबारे केही सुन्नुभएको छ, जसमा हामी किसानहरुको वास्तविक अवस्था चित्रण गरिएको छ ? म उनै पर्चाहरुका लागि सजाय भोग्दैछु, मैले नै ती पर्चाहरु बाँड्ने गरेको हुँ !”

भीड रिबिनको अझ नजिक स¥यो । उसको स्वर शान्त थियो । उसको आवाज सुनेर आमाको होस फक्र्यो ।

“सुनिस् ?” – अर्को किसानले नीला आँखा भएको त्यस किसानसित कानेखुसी ग¥यो । उसले टाउको उठायो र केही जवाफ नदिई फेरि आमातिर हे¥यो । अर्को किसानले पनि आमातिर हे¥यो । ऊ पहिलो किसानभन्दा कम उमेरको देखिन्थ्यो । उसले पातलो बोकेदाह्री पालेको थियो र उसको मुखभरि चायाँका कालाकाला दागहरु थिए । केहीबेरपछि दुवै जना बरन्डाबाट हिँडे ।

“सायद तर्से होलान् ।” – आमाले मनमनै सोचिन् ।
उनी झन् सतर्क भइन् । बरन्डामा उनी उभिएकी ठाउँबाट रिबिनको घाउ लागेको कालो अनुहार स्पष्ट देखिन्थ्यो । उसका आँखामा एक उत्तेजनापूर्ण चमक थियो । उनी चाहन्थिन्, रिबिनले पनि उनलाई देखोस्, त्यसैले उनी खुट्टाको औंलामा उभिएर घाँटी तन्काउँदै उतातिर हेर्न थालिन् ।

मान्छेहरु एक गम्भीर अविश्वासको भावनासहित रिबिनलाई हेर्दै थिए, तर कसैको मुखबाट एक शब्द निस्केन । खालि भीडको पछिल्तिरबाट मान्छेहरुले खस्याकखुसुक गरेको आवाज सुनिँदै थियो ।

“दाजुभाइ हो !” किसानहरु हो !” – रीबिन बडो जोडजोडले चर्को स्वरमा बोलदै थियो – “ती पर्चाहरुमा लेखिएका कुराहरुमाथि विश्वास गनुृहोला । हुन सक्छ, ती पर्चाहरुका लागि मैले आफ्नो ज्यानसमेत गुमाउनुपर्नेछ । मैले कहाँबाट ती पर्चाहरु ल्याएँ भन्ने कुरा थाहा पाउन उनीहरुले मलाई खुब पिटे, यातना दिए । उनीहरुले मलाई फेरि पिट्नेछन् । तर म सबै कुरा सहन तयार छु किनभने ती पर्चाहरुमा साँचो कुरा भनिएको छ र सच्चाइ हामीलाई दालभातभन्दा पनि प्यारो हुनुपर्छ । यही हो वास्तविकता !”

“ऊ किन यी सबै कुरा बताउँदै छ ?” – बरन्डामा उभिएको एक जना किसानले बिस्तारै भन्यो ।

नीला आँखा भएको किसानले जवाफ दियो –

“अब उसलाई के फरक पर्छ र ! मान्छे एकैपटक मात्रै त मर्छ नि !”

मान्छेहरु त्यहीँ चुपचाप उभिएर दुःखित दृष्टिले रिबिनलाई हेर्दै थिए । यस्तो भान हुन्थ्यो, मानौं कुनै अदृश्यबोझले उनीहरुलाई दबाउँदै छ ।
पुलिस सर्जेन्ट लड्खडाउँदै बरन्डामा निस्क्यो ।

“को हो बोल्ने मान्छे ?” – उसले रक्सी लागेको आवाजमा सोध्यो ।

ऊ एक्कासि फुर्तिसाथ भ¥याङ्बाट ओल्र्यो र रिबिनको कपाल समातेर बेस्सरी उसको टाउको हल्लाउँदै चिच्याउन थाल्यो –
“तँ होइनस् बोल्ने, सुँगुरको बच्चा, तँ होइनस् ?”

भीड चलमलायो र हललाखल्ला मच्चिन थाल्यो । आमाले व्यथित हुँदै लाचारीपूर्वक आफ्नो टाउको झुकाइन् । फेरि एकपल्ट रिबिनको आवाज गुञ्जियो – “देख्नुभो, तपाईहरुले !”

“चुप लाग् !” – पुलिस सर्जेन्टले उसको कन्चटमा एक मुक्का हिर्काउँदै भन्यो । रिबिन लडखडायो, उसको शरीर काँप्यो ।
“मान्छेको हात बाँधेर ऊसँग मनपरी व्यवहार गर्छन् … ।”

“सिपाहीहरु, लैजाऊ यसलाई यहाँबाट ! अनि तिमीहरु पनि सबै आ–आफ्नो घर लाग !” – पुलिस सर्जेन्ट यसरी रिबिनको अगाडि उफ्रँदै थियो, मानौं कुनै कुकुरले हाडको टुक्रा भेट्टाएको छ । ऊ रिबिनको मुखमा, छातीमा र पेटमा घुस्सामाथि घुस्सा हिर्काउँदै थियो ।
“नपिट उसलाई !” – कसैको भीडबाट चिच्यायो ।

“किन कुटेको त्यसरी ?” – कसैले समर्थन ग¥यो ।

“लौ हिँडौ अब !” – नीला आँखा भएको किसानले टाउको हल्लाउँदै आफ्नो साथीलाई भन्यो । दुवै जना बिस्तारै त्यहाँबाट हिँडे र आमा सहानुभूतिपूर्ण दृष्टिले उनीहरुलाई हेरिरहिन् । पुलिस सर्जेन्ट दौड्दै भ¥याङ चढेको देखेपछि मात्र आमाले सन्तोषको सास फेरिन् ।
“यता ल्या त्यसलाई ! म भन्छु, यता ल्या … ।” – ऊ मुक्का हल्लाउँदै चिच्यायो ।

“पाइन्न उसलाई त्यहाँ लान !” – भीडमा कसैको चर्को स्वर सुनियो । आमाले बुझिन्, भीडको बीचबाट त्यही नीला आँखा भएको किसान चिच्याउँदै छ – “किसानहरु, उसलाई भित्र लान नदिनोस् । उसलाई त्यहाँ पु¥याए भने पिटी पिटीकन उसको ज्यान लिनेछन् । फेरि पछि भन्नेछन्, हामीले उसलाई मा¥यौं । भित्र लान नदिनुहोला ।”

“दाजुभाइ हो !” – रिबिनले गर्जदै भन्यो – “के तपाईहरु देख्नुहुन्न, कस्तो जिन्दगी गुजार्दै हुनुहुन्छ ? के तपाईहरु देख्नुहुन्न, कसरी उनीहरु हामीलाई लुट्दैछन्, धोका दिँदैछन् र हाम्रो रगत चुस्दैछन् ? सबै कुरा तपाईहरुमा नै भर पर्छ । तपाईहरु नै यस संसारको सबैभन्दा ठूलो शक्ति हुनुहुन्छ – तर तपाईहरुले के अधिकार पाउनुभएको छ ? खालि भोकै मर्नेसिवाय अरु के अधिकार पाउनुभएको छ … !”

अकस्मात् किसानहरु एक–दोस्राको कुरा काट्दै चिच्याउन थाले –
“ऊ साँचो कुरा गर्दै छ !”
“हाकिम कहाँ छ ? हाकिमलाई डाक … !”
“पुलिस सर्जेन्टले उसलाई डाक्न गएको छ … ।”
“को, त्यो रक्सीबाज … ?”
“हाकिमहरुलाई डाक्दै हिँड्ने हाम्रो काम होइन ।” – हल्ला बढ्दै गयो ।
“तिमी बोल ! हामी तिमीलाई छुनसम्म दिन्नौं … ।”
“उसको हात फुकालिदेऊ … !”
“हेर्नु कहीँ आफैं फेला नपर्नु … ।”

“डोरीले मेरो हात दुखाउँदै छ !” – रिबिनले आफ्नो धोत्रे सुरिलो आवाजमा भन्यो र उसको आवाजले अरु सबै आवाज डुबाइदियो – “किसानहरु, म भाग्दिनँ ! सच्चाइबाट भागेर म कहाँ जान सक्छु र ! त्यो त मेरो नशानशामा छ … ।”

केही मानिसहरु भीडबाट हटेर एकातिर अलग्ग उभिए र टाउको हल्लाउँदै टीकाटिप्पणी गर्न थाले । तर फाटेका पुराना लुगा लगाएका मान्छेहरुको सङ्ख्या झन्झन् बढ्दै थियो । उनीहरु सबै रिबिनलाई चारैतिरबाट घेरेर उभिएका थिए । रिबिन उनीहरुको बीचमा कुनै वनदेवताजस्तो उभिएको थियो र हात हल्लाउँदै चर्को स्वरमा भन्दै थियो –

“साथीहरु धन्यवाद छ, तपाईहरुलाई ! यदि हामीले एक–दोस्राको हात फुकालेनौं भने अरु कसले फुकालिदिन्छ ?”
उसले आफ्नो दाह्री सुमसुम्यायो र रगतमा मुछिएको आफ्नो हात उठायो ।

“यो मेरो रगत हो, जुन मैले सच्चाइका लागि बगाएको छु !”
आमा बरन्डाको भ¥याङबाट तल ओर्लिन्, तर भीडले गर्दा उनले मिखाइलको अनुहार देखिनन्, त्यसैले फेरि माथि चढिन् । उनको हृदयमा हर्षको एक अस्पष्ट भावना उर्लदै थियो ।

“किसान भाइहरु हो ! ती पर्चाहरु खोजेर पढ्नुहोला ! यदि पादरीले अथवा सरकारी हाकिमले सच्चाइको प्रचार गर्ने यी मानिसहरु नास्तिक अथवा विद्रोही हुन् भन्छन् भने तपाईहरु विश्वास नगर्नुहोला । सच्चाइ लुकीलुकी पृथ्वीमा घुम्दै छ र ऊ जनताको बीचमा बास बस्न ठाउँ खोज्दै छ । यी हाकिमहरुका लागि त सच्चाइ एउटा आगाको झर्झराउँदो ज्वाला हो, तरबारको धार हो । उनीहरु सच्चाइलाई स्वीकार गर्न सक्दैनन् । … सच्चाइले उनीहरुलाई रेट्नेछ, जलाएर खरानी बनाइदिनेछ ! तर तपाईहरुका लागि सच्चाइ एक मित्र हो, उनीहरुका लागि चाहिँ एक कट्टर शत्रु ! त्यसैले सच्चाइ पृथ्वीमा लुकीलुकी हिँड्दै छ … !”

भीडमा फेरि नानाथरिका आवाज सुनिन थालियो ।
“ईसाका भक्तहरु हो ! सुन … !”
“भाइ खत्तम हुन्छौा तिमी … ।”
“कसले तिमीलाई पुलिसको हातमा सुम्पेको हो ?”
“पादरीले !” एक जना पुलिसले जवाफ दियो ।
दुई जना किसानले एक भद्दा गाली गरे ।
“केटा हो, हेर्नु है होशियार हुनू !” – कसैले चेतावनी दियो ।

लेखक परिचय

राजेन्द्र मास्केले कयौँ रूसी उपन्यासहरू नेपाली भाषामा अनुवाद गर्नु भएको छ । उहाँले म्याक्सिम गोर्कीको आमा तथा इभान तुर्गनेभको पिता र पुत्र उपन्यास नेपालीजनले खुब रूचाएका छन् ।

प्रतिक्रिया
Loading...