“ए भाते ! किरा हो !! सुन ! कान खोलेर सुन ! भातका किराको काम बिहानदेखि बेलुकासम्मै एकपेट भातका निम्ति लडन्त–भिडन्त गर्ने हो । बल्लतल्ल बडामुस्किलले पेटमा भात घुसारेपछि मरिभन्द भाते निन्द्रामा घुर्ने हो । पेटको मेसिनले बाह्रपन्ध्र घण्टामै त्यसलाई गुहु बनाइदिन्छ बगरमा गएर हग्ने हो, पेट खाली भएपछि भातकै लुते धन्दामा कुदाकुद गर्ने हो, उछिनपाछिन गर्ने हो, भातकै निम्ति होपापापी गर्ने हो, कठै !! भातभन्दा माथि उठ्न सकेन हाम्रो चेतना !!! पेटको गेटबाट बाहिर हामफाल्न सकेन हाम्रो चिन्तन र चरित्र !!”

चोकको निश्तरङ्ग शान्ति बिथोल्दै एउटा तीखो आवाज सहरको एकान्त कुइनेटोमा गुन्जियो । उसको साइरन जस्तै चर्को शब्द–ध्वनि मानिसका कानकानमा तिखो सुइरो जस्तो भएर पसेपछि अलिक चनाखो भएर ऊतिर आँखा सोझ्याएँ । एउटा अर्धनग्न मान्छे सडकको चौबाटोमा गोल–चोकको सालिकमुनिको पेटीमा उभ्भिएर चोर औँलो ठड्याउँदै जोसिलो भाषण दिँदैछ । काला दाह्रीजुगाँले उसको गाला च्युँडो, ओठ झप्प छोपेको छ । उसको आँखामा आगोका लप्का जस्तो तेज–प्रचुर ज्योति टिल्ल बलेको कुरा टाढैबाट देखिन्छ ।

देब्रे हातमा पानीको बोतल झुण्डिएको छ । दाहिने हातमा आधी बलेर निभेको पुल्ठो छ । कम्मरदेखि मुनि मयलले काती जमेको पुरानो पाइजामा भिरेको छ । कम्मरदेखि माथि ठाउँठाउँमा फाटेको एउटा नाम मात्रको सेन्ड्रोगन्जी छ । त्यो पनि कालै रङको छ । प्रचण्ड गर्मीले सारा वातावरण हपहपी पाकेको छ । त्यही भएर होला गन्जी फुकालेर काँधमा झुण्डयाएको छ ।

बोतलबाट एक घुट्की पानी उदस्सत गरेपछि फेरि घाँटीका नशा फुलाउँदै गर्जना गर्न थाल्यो– “ए ! आफ्नो लाद्रो भर्नमात्र लुखुरलुखुर कुदिरहेका लुठाहरू हो ! तिमर्ले भित्रको आगो निभाइसक्यौ हगी ! मुटुलाई सर्वाङ्ग चिसो र जड बनाइसक्यौ हगी !! आगाको यात्रामा पानी ढोलिसक्यौ हगी !! थुइक्क !! बेवकुफहरू हो !! आफूभित्रको आगो निभाएपछि मान्छे निर्जीव मूर्दा हुँदैन ? तिमीलाई थाहा छैन, शरीरमा तातो नरहे पनि त ऊ लाश बन्छ त लाश !!”

सामान्य जनका लागि उसका कुरा एक विसङ्गत चिच्याहटभन्दा बढी केही लाग्दैन । तिनले अर्थको कुनै पोयो फुकाउन पनि सक्तैनन् । तर, ऊ हमेसा एक सार्थक अर्थ सङ्गीत मै बर्बराइरहेको हुन्छ ।  उसका शब्दको अर्थ पगेल्न हृदयको गहन तलमा नै ओर्लिनु पर्छ ।

“यो अर्ध सिल्लीलाई फेरि पुलिसले छाडेछ । तीन महिना भएको थियो यो यहाँबाट अलप भएको फेरि आएछ !” चोकको दाहिने कुनोमा जुत्ता टाल्ने सदमा मोचीले जुत्ता टाल्दाटाल्दै ऊतिर नजर लाउँदै प्रतिक्रिया जनायो ।

सदमा मोचीको अगाडि थोत्रे मुढामा एक भलादमी जस्तो लाग्ने नौलो मान्छे बसेको छ । उसलाई आफ्नो जुत्ताको प्वाल टाल्नु छ । ऊ यस सरहदभित्र बस्ने यहाँको स्थायीबासी भने होइन । ऊ जिल्ला सदरमुकाममा अड्डाको कामले केही दिनको लागि आएको मानिस हो । सदमाको मुखबाट अर्धसिल्लीको बारेमा केही कुरा चुहेपछि उसले थप जिज्ञासा पोख्यो, “हेर्दा बौलाहा जस्तो छ !! किन पुलिसले थुनेछ यसलाई ? कहाँको मान्छे हो यो ?”

“बौलाहा होइन हजुर ! यसलाई जबर्जस्त बहुला बनाइएको हो । कहाँको को मान्छे हो ? त्यो त डिटेलमा मलाई था छैन ? तर यो मान्छे यतै घुमिबस्छ । अण्टसण्ट भाषण गरिहिँड्छ । तर यसको कुरामा दम छ हजुर । खाट्टी कुरा गर्छ । अत्याचारीको उछित्तो काढ्छ । अन्याय गर्ने उपर सिधै झम्टा मार्छ ।”

मोचीको मुखबाट उसको यति चारित्रिक हुलिया पाएपछि त्यो अजनवी मनुवा आफ्नो विस्फारित लोचनले अर्धसिल्लीलाई एक डिठ लाएर पछ्याउन थाल्छ । अर्धसिल्ली गोलचोकको वृत्ताकार घेरामा घुमीघुमी भाषण छाँटिरहेको छ ।

“……………. धैत !! कस्तो कठिन समयमा जन्मेछु म । चारैतिर मुर्दैमुर्दाको भीडले घेरिएको ठाउँमा बाँच्न कति गाह्रो छ । शुद्ध प्राणवायु सेवन गर्न कति गाह्रो छ । आफ्नो आँतको आगोमा पानी ढोलेर बाँच्ने मनुवासित डर छ मलाई । कतै मभित्रको झिल्को पनि यिनले निभाइदिने हुन् कि ? त्यो तातो झिल्को मेटाइदिने हुन् कि पीर छ मलाई …………….” कुराको चुरो अर्थ केही बुझ्दैन सदमा । तर त्यो अजनवी जुत्तावाला मान्छे पठित जस्तो लाग्छ । उसको कुराले घत परेको भाउ लाएर बोल्यो–“यो मान्छे त कवितामा पो बोलिराखेको छ । यसको बोलीमै विम्ब छ ……………।” उसको कुराले सदमा ट्वाँ पर्यो । उसलाई कविता के हो ? विम्ब के हो ? कालो अक्षर कमिलो बराबरको निरक्षरी थियो ।

सदमा मोचीलाई विगत तीन महिनादेखि यो चोक शून्य शून्य लागिरहेको थियो । ऊ अलप भएपछि एक रिक्तताबोधले पिछा गर्न छाडेको थिएन । कुनै प्रिय वस्तु अलप भएजस्तो अथवा यसो भनुँ कुनै जीवन्त चिज बेपत्ता भएजस्तो निर्जीव सन्नाटाले उसलाई गाँजिरहेको थियो । कता कता निस्तब्ध अँध्यारो चिरेर बास्ने भाले हराएपछि चोकचोकमा जुन चकमन्नता छाउँछ, त्यस्तै रिक्तताबोध उसको हृदयमा छाइरहेको थियो ।

पुण्य कार्की

त्यो अर्धनग्न मानिस अचानक सहरको यस कुइनेटोमा झुल्केपछि उसको आङमा उज्यालो घाम लाग्यो । मानौँ हराएको एक आवाज फिर्ता आएको छ । उसको शब्द कम्पनले आल्हादित कानका जालीहरू फेरि जीवन्त र तरङ्गित बनेका छन् ।

निशाको निर्जन सन्नाटा बिथोल्दै एउटा फेरि चिर्बिर चीत्कार छर्न थाल्छ ।

सदमा मोची पिर्लिक्क आँखा तेर्स्याएर घरी त्यो अर्धनग्न मनुवाको चर्तिकला हेर्छ । घरी जुत्ता सिउनुमा धान केन्द्रित गर्छ । त्यो अजनवी मान्छे एक डिठ लाएर त्यै अर्धसिल्लीतिर एकोहोरिएको छ । उसका शब्दले ऊ विमोहित बनिरहेको छ । उसका शब्दमा शब्द– चमत्कार त छँदैछ; त्यसमाथि उसमा गहिरो अर्थ–चमत्कारको ध्वनि पनि अनुगुञ्जित भएको पाउँछ ।

“ए ऽऽ भाइ !! यस्तो अर्धसिल्लीलाई किन पो पुलिसले थुनेछ हँ ?”

“भो कुरा नगरूँ हजुर !! यो मान्छे झुक्किएर यो धर्तीमा जन्मिएको हो । यसलाई बुझ्न सक्ने गिदी दिमाग कसैसित पनि छैन हजुर ! यो मानिस अर्कै खालको मानिस हो ।” ऊ पूरै ध्यानदृष्टिले जुत्ता तुनिरहेको छ । आँखा उसका सिलाइमा केन्द्रित छन् । तर संवादमा पनि आफ्नो निष्णात कला देखाइरहेछ । उसले अजनवीको लागि प्रष्ट हुने गरी चैँ केही बोलेको छैन । घुमाउरो रूपमा अमूर्त कुरा गरिरहेको छ । सोधेको कुरा सिधासिधी ठ्याक्कै नभनेर कुरा लम्ब्याएपछि अजनवीलाई झर्को लाग्यो ।

“तिमीले बुझेका छौ भने सिधै भनन, यो अर्धपागललाई किन थुन्यो हँ पुलिसले ?” उसको कुराले मोची दवावमा पर्यो ।

मोची जुँगामा ताउ दिँदै बोल्यो– “यो मानिस कहिलेकाहीँ अलिक उट्पट्याङ्ग पनि गरिहाल्छ । तीन महिना अघि के भो भने जाडो महिना थियो । पुसको ठण्डी तपाईँलाई थाहा छँदैछ कस्तो हुन्छ तराईमा । शीतलहरले मान्छे भकाभक मरिरहेको थियो । एकदिन के भो कि गणपति साहुको कपडा दोकान अगाडि विचित्रको घटना घटिहाल्यो । सोमबारे हटियाको दिन थियो । एउटा बूढो मानिस लठ्ठी टेक्दै थरथर कामेर सडकमा हिँडिरहेको थियो । एउटा कमेज र पातलो धोती लगाएको थियो । जाडोले ठगठगी कामेको कताबाट यस मानिसले देखेछ । गणपति साहुको दोकान अगाडि न्याना न्याना कम्बलको खात लगाएको थियो । उसको पालो विजुलीवेगमा दौडिँदै आएर एउटा कम्बल थुतेर लग्यो । अनि गोलपार्क माथि चढेर एक राउण्ड भाषण हान्यो– “ओई बहिरा हो सुन !! कसैलाई भने खातमाथि खात ! कसैलाई छैन केराको पात !! गरीबले चैँ जाडोले ठगठगी कामेर मर्नु भनेर कहाँ लेखेको छ हँ नामर्द हो !! बोल न बोल !! कति जिब्रो चपाएर बस्छौ ? जिब्रो चेप्ताचेप्तै तिम्रा जिब्रो मुखमै कुहिन पो आँटिसक्यो त !! अब अदना गरीब नाङ्गाहरूले सेठका दोकानको न्याना ताता लुगा झिकेर लाउने दिन आए । कपडा र कम्बलले सडकमा घाम ताप्ने बूढाबूढी चैँ ठण्डीले ठाडै मर्नुपर्ने यो कस्तो विधान हो ? उठाऊ तिम्रा हातहरू त्यो अत्याचारी विधान च्यात्नलाई ………….।” यति भनेर ऊ दगुर्दै जाडोले ठगठगी कामेको बूढो मान्छे नजिक पुग्यो र त्यो कम्बल ओढायो । त्यो घडी गणपति साहु अक्क न बक्क भएर त्यो सबै दृश्य हेरिरह्यो । केही गर्न सकेन ।

“अनि त्यसपछि के भयो नि ?” अजनवीका आँखामा मात्रै कुतुहलता पोखिएको थिएन; सबै इन्द्रिय सदमा मोचीका कुरा सुन्न आतुर बनिरहेका थिए ।

सदमा बोल्दै गयो–“साहु डराउनुको कारण छ । यो मानिससित यो सहरका सबै साहुमहाजन डराएर छुलछुली हुन्छन् । यसलाई बोलायो, चलायो भने जाई लागिहाल्छ । ढुङ्गा टिपेर हानिहाल्छ । त्यस डरले पनि कम्बल खोस्न गएन । पोहोर साल पनि सोनाइ दासको चामल गोदामबाट दसबोरा जति चामल झिकेर भोकभोकै मर्न लागेका मुसहरलाई हाक्काहाक्की चामल लुटेर बाँड्यो । बाँड्दा बाँड्दै पुलिसले समात्नलाई घेरा हाल्यो । कसो कसो गर्दा उम्क्यो । एक महिनासम्म लापत्ता भयो । त्यतिखेर पनि यो मानिसले शानदार भाषण गरेको थियो ।

“त्यो बेला चैँ कस्तो भाषण गर्यो ? अलिकति सुनौँ न त !” अजनवीले उकेरा लायो । “आ के कुरा गर्नु । ऊ रिस उठेपछि आमाचकारी गाली गरेर भाषण दिन्छ । उसले सोनाइ दासको गोदामका चामल लुट्नु अघि भन्यो – ओ ! भोका कङ्गालीहरू हो । अब त उठ न उठ ! कति घुर्छौ । कति सुत्छौ । कुकुर स्याल गिद्धले पनि भुँडी भरी खान पाएको छ । मुसा परेवा कुखुरा कमिलाले पनि मनचित्य चारो खाएकै छन् । मान्छे चैँ भोकभोकै हिँड्नुपर्ने ! पेटमा पटुका कसेर भुँडी भने भोकले नाम्ली पर्नुपर्ने यो कस्तो अन्याय हो ! भोक र अनिकालमा उसिन्न नपाइने अन्न के अन्न ! बरु यस्ता गोदाममा आगो लाएर त्यसको न्यानो ताप्नु पर्छ ! यस्तै यस्तै केके कुरा बोलेर दनादन मनका मन चामलका बोरा अनिकाल पीडित मुसहरलाई दिन भ्याइहाल्यो । यस्तो काम त यो मान्छे विजुली वेगमा सम्पन्न गर्छ । फेरि अन्यायमा परेको, दुःख पाएको मान्छेहरूलाई छानी छानी कल्याण गरिहिँड्छ । सहरका सेठ, महाजन र धनीमानीले यो मानिसलाई फुटेको आँखाले देख्न सक्तैनन् । तर यो मानिस उनीहरूको सामु एकरत्ती दब्दैन । उनीहरूले गरेको एक एक अन्याय अत्याचारको पोल खोलिदिन्छ । हाक्काहाक्की उनीहरूको विरोधमा भाषण घन्काउँछ । यिनका कामधाम र कुराले यो मानिस पागल भएकै होइन, तर ठूलाबडा सामन्ती तत्त्वले यसलाई अर्धपागलको विल्ला भिराइदिएका छन् ।”

उसको कुराले अजनवी चकित बन्यो । उसले मनमनै सोच्यो– एउटा सद्दे सारसौँदो मान्छेलाई कसरी पागल बनाइँदो रहेछ । एउटा सत्यको बाटोमा हिँड्ने मनुवालाई समाजले कसरी अर्धसिल्ली बनाउँदो रहेछ । देवकोटा र रिमालहरूलाई बहुला बनाइएको देश हो, अरूको त के कुरा गर्नु र ?

उसको जुत्ता सिउने काम पूरा भएपछि सदमालाई दाम चढाएर त्यहाँबाट हिँड्यो ऊ ।

         +++++                 +++++                 +++++

         उसको आवाजमा एक चुम्बकीय आकर्षण छ । शब्दमा केही न केही दम नभै कहाँ त्यति सजिलै मान्छे झुम्मिन्छन् र ! उसले बोल्न थालेपछि मान्छे कान चनाखा पारेर ऊतिर झुम्मिन्छन् ।

उसलाई केही मान्छेले पागलको विल्ला भिराए पनि आम मान्छेहरूको बुझाइ छ; उसलाई परिस्थितिले यस अवस्था पुर्या एपनि ऊ एक निसन्देह प्रतिभाशाली मानिस हो । हक्की र साहसी मान्छे हो । सत्यवादी र गरीबको हित चिताउने मान्छे हो । आफ्नो वैयक्तिक स्वार्थलाई तिलाञ्जली दिएर समाज जगाउन हिँडेको जाग्रत पुरुष हो ।

अनेकौँ रात बादलले ढाकिएको चन्द्रमा कुनै साँझ मेघको घुम्टो च्यातेर फुत्त बाहिर निस्के जस्तो, धेरै दिनपछि उसको आगमनलाई आल्हादकारी चित्तदशामा स्वागत गरेका छन् मान्छेले । यो स्वागत मौन सदासयता र स्वीकार भावमा हृदयको केन्द्र भागमा थिर छ । ऊप्रतिको आकर्षण र आस्था जारी नै छ । तर खुल्ला रूपमा मुखर ढङ्गले कसैले प्रकट गर्न भने सक्तैनन् । यो वडा विरोधाभासको कुरा छ । समाज यो विडम्बनाबाट फुत्त माथि निस्कनै सकेन ।

समाजको अन्तरगर्भमा सत् वृत्ति मात्रै छैन । असत् वृत्तिको उरुङ्गो चाङ पनि उठेको छ । अर्थात् काला र धमिला मन हुने प्राणीले उसलाई देख्न होइन सिध्याउन चाहन्छन् । उसलाई एक उपद्रव प्राणीको रूपमा हेर्छन् । उसलाई डाकुदलको एक लुटेराभन्दा माथिको कोटिमा राख्न चाहँदैनन् ।

समाजको नीरव शान्ति सन्नाटा बिथोल्ने एक आङ्तकको पर्यायमा हेर्छन् । उसलाई तिनले जतिजति नकार विम्बमा हेर्छन्, चित्रण गर्छन्, लखेट्छन् । त्यति त्यति ऊ मुखर बन्दै मुखाग्नि सल्काउँछ र मसाल बाल्छ ।

सदमाको थोत्रे मुढामा अर्को अजनवी आएर टुसुक्क बसेको छ । उसले आफ्ना पयरमा फित्तावाला चप्पल सिउरेको छ । दुवै खुट्टाका फिता चुडिन लागेका छन् । एउटामा पिन ठोकेर काम चलाउ बनाएको छ भने अर्कोमा आगोले जोडेर लाउन योग्य बनाएको छ ।

दुइटै खुट्टाको चप्पल खोलेर मोची सामु तेर्स्याइदियो उसले । ओल्टाइपल्टाइ गरी गहिरो निरीक्षण गरी दामको कुरा काट्न खोज्यो । केहीबेर उनीहरूको बीचमा दलाली चल्यो । एउटा घटाउन खोज्ने, अर्को बढाउन खोज्ने । यो प्रक्रिया धेरै मिनेट गएन । केही मिनेटमा दुवैको बीचमा मध्यस्थता भयो । अर्थात् दुवै भेट हुने एउटा मिलन विन्दु फेला पारे र सदमा चप्पल तुन्न थाल्यो ।

“ए ! लुम्रा हो !! के टालेका चप्पल पड्काई हिँड्छौ । ए कायर हुतिहारा हो !! दुईखुट्टामा सुरुवाल भिरी हिडँछौँ !! तिमीहरूलाई लाज हुन्छ र ? सुरुवाल भिर्छौ । टालेका चप्पल लाउनुभन्दा हजार गुना सुन्दर हुन्छ पैतलाले माटो टेकेर हिँड्नुमा । कसैका जडाउरी जुत्ता भिर्नुभन्दा हजार गुना असल हुन्छ, मातृभूमिको माटो स्पर्श गरेर हिँड्नुमा ।”

चप्पल सिलाउने अजनवी उसका भाषणले झसङ्ग भयो । साक्षात् आफैँ उपर अर्धसिल्ली खनिएको भान भयो । उसले चप्पल टाल्न लाएको दृश्य देखेरै बोलेको हो कि भन्ने भयो । अलिअलि सक्पकाउन थाल्यो । उसको आँखा भयातुर बने । त्यो कुरा मोचीले बुझिहाल्यो ।

“तपाईँले केही डर मान्नु पर्दैन । यो मान्छे सदावहार भाषणवाज हो । ऊ क–कसलाई केके भन्छ भन्छ । म त उसका कुरा आधी पनि बुझ्दिनँ । उसले जे भने पनि हामी बेकम्मा मान्छेलाई नै गाली गरिरहेको हुन्छ । अत्यचारीलाई हिर्काइरहेको हुन्छ । गरीब गुरुवाको पक्षमै आवाज बुलन्द गरिरहेको हुन्छ ।” आँखा र मन चप्पल सिउनुमै केन्द्रित गरेर दोस्रो अजनवीलाई सान्त्वना दियो ।

गोलपार्कमा घुमी घुमी भाषण गरिरहेको अर्धसिल्ली फुत्त डिल नाघेर भुइँमा उत्रियो । बोतलबाट दुई घुट्की पानी पियो । अनि आफू वरिपरि कुँडुलो लागेका पच्चीस तीस जना मान्छे उपर कटाक्ष गर्दै शब्दवाण प्रहार गर्न थाल्यो–“ए भाते किरा हो !! भातभन्दा माथि कहिले उठ्छौ हँ तिमीहरू !! जातभन्दा माथि कहिले सोच्छौँ हँ तिमीहरू !! तिमीहरूलाई कालो रात प्यारो छ !! आकाश हेर्न सकेनौ तिमीहरूले !! जूनतारा नदेखे पनि जुनकिरी त देख्न सक्नुपर्थ्यो । आफ्नै घर आँगनमा बल्ने जुनकिरी पनि देख्न सकेनौँ । तिमीहरूलाई जुनकिरीभन्दा कर्कस झ्याउँकिरी प्यारो छ हैन !! मरिराख अँध्यारोमा !! सडिराख दुर्गन्धमा !! घाँटीमुनिको पेटलाई नै मुसारिराख !! घाँटीमाथिको चैतन्यपुरी कहिले रमण गर्छौ हँ !!”

उसको नजिकै झुम्मिएर भाषण सुनेका मनुवाहरूले आधाउधी कुरा बुझे जस्तो गरे । आधाउधीले अण्टसण्ट बौलाहाले बर्बराउने कुरा जस्तो ठाने ।

सदमा मोची र चप्पल टाल्ने दोस्रो अजनजीले पनि ध्यानपूर्वक सुनिरहेका थिए । अझ दोस्रो अजनवीलाई त यो मान्छे नै अनौठो लागिरहेको थियो । उसका एकएक हाउभाउ नियालिरहेको थियो । एक एक मुखमुद्रा ठम्याइरहेको थियो । उसका नयनमुद्रा हस्तमुद्रालाई चकित भावले डिठ्याइरहेको थियो ।

गोलपार्कको पश्चिमोत्तर कुनामा आन्तरिक राजस्व कार्यालयको हरियो भवन चारैसुरको सडकबाट छ्याङ्ग देखिने गरी उभिएको छ । उसले बोल्दा बोल्दै उसको नजर त्यही सरकारी भवनमा ठोक्किए । आलिशान महलको माथिल्लो तलामा राजस्व कार्यालय छ भने तल्लो तलामा अनेकौँ सटरवाला पसल छन् ।

माथिलो तलाको झ्याल र ढोकामा रङ्गिन मखमली पर्दा झुण्डिएका छन् । लाग्दो वसन्तको सिरसिर पवन पखेरुमा पर्दाको तल्लो छेउ फिरफिर चलिरहेको छ ।

“नालीमै मुन्टो गाड्ने भयौ होगी नालीका किरा हो । नालीबाट व्योमको अनन्त क्षितिजतिर तिमर्का आँखा उठ्नै सकेनन् । शिरलाई ठाडो पारेर बाँच्ने कला आएन । मनुवाको सिर त ठडयाएरै बाँच्न बनेको थियो । तर भैँसीको शिरजस्तो जमिनतिरै लत्रिने भयो । नालीबाट आलीसम्म उठेको शिर, हदैउठे अटालीसम्म उठ्यो । तर आकाशतिर उठ्नै सकेन । अब कहिले खुल्छ तिम्रो चेतन–द्वार !! अरू जेटमा उडिसके तिमी पेटभन्दा माथि उठेनौ !! तिम्रा पतन धर्तीले कति हेर्नु !! सीमाहीन लज्जाले आँखा छोपी सकिन्…………।”

आकाश ताकेर भाषण गर्दागर्दैको अर्घसिल्ली हानेको वाण सरह विजुली वेगमा कुन्नि कतिखेर कर कार्यालयको माथ्लो तलामा उक्लेछ । तल भाषण गरिरहेको मान्छे आँखा झिमिक्क पार्दा नपार्दै धडाधड झ्याल र ढोकाको मखमली पर्दा एकै झड्कामा तानेर लुगाको पोको छातीमा गुट्मुटयाएर गोलपार्कमा ओर्लिसकेको थियो ।

यति भाषण गरेर गोलपार्क राजस्व कार्यालयतिर धारे हात लाउँदै पड्किन थाल्यो –“ए ! भनी देओ न लाटा मनुवा हो !! निर्जीव झ्याल ढोकालाई जाडो हुन्छ र ? तिनलाई चीसो सर्दीले भेट्छ र ? मान्छे सडकमा नाङ्गै छ !! झ्याल ढोकालाई न्याना न्याना बाक्ला बाक्ला कपडा लाइदिएको छ । कस्तो उल्टो विप्ल्याँटो बुद्धिले देश चलाएका छन् हँ । सरकारी अड्डाका झ्यालढोका र टेवुलमा टाँस्ने कपडा गरीबलाई बुस्कोट जामा किनेर पहिर्याइदिने हो भने नाङ्गाहरूको सङ्ख्या कम हुने थियो । गरीबलाई आँटो पिठो छैन । कुकुरलाई घिउ भात छ यहाँ । हैट !! कालो विडम्बनामै सकिने भो देश……………………….।”

दक्षिणपश्चिम कुनामा भीख मागेरहेको दृष्टिविहीन बूढाबूढीसामु कुदेर पुग्यो । कपडाको पोको फुत्त उनीहरूको काखमा हुर्याइदियो ।

“यसका मजा मजाका कपडा सिलाएर लाओ !! हरामी लुटेराहरूले हाम्रो धन झ्यालढोकामा दुरूपयोय गरेका रहेछन् । यसलाई तिमीहरूले आङमा टाँसेर सदुपयोग गर ।”

नेत्रहीन जोडीले लुगा छामछुम गरे । एक अपरिचित खुशीले उनीहरूका चेहेरामा पूर्णेको जुन छायो । कलेटी परेको ओठमा अचम्मको मुस्कान फुट्यो । त्यो मुस्कान देखेर अर्धपागल खुशीले दशमिनेट जति कित्कित् कित्कित् कित्कित् कित्कित् हाँसेको हाँस्यै भयो । उसको क्रिडा नियाली रहेका मनुवा चकित चकित बने । विभोर विभोर विभोर बने ।

भोलिपल्ट सदमा मोचीले एक अपुष्ट खवर सुन्यो–“कार्यालय तोडफोड गरी पर्दापात लुटेको अभियोगमा अर्धसिल्लीलाई पुलिसले पक्राउ गरी साङ्लाले बाँधेर अनिश्चित कालको लागि थुनामा पठाइ सक्यो अरे ।”