साहित्यपोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको तेत्तीसौँ अङ्कमा दीप मङ्ग्रातीकाे पूजा, राम्जी रानाभाटकाे बाआमाको बिहे र डिल्लीप्रसाद अधिकारीकाे मूल खाँबो शीर्षकका लघुकथाहरू विजयी भएका छन् । यस प्रतियोगिताकाे अघिल्लाे साता रामप्रसाद धिताल, मन्जु थापा आन्नद र कृष्ण ढुङ्गेल  विजयी हुनुभएकाे थियो ।

विजयी तीन लघुकथाहरू विषयवस्तु, कथा चेत, नवीनता र सामाजिक सबै किसिमले उत्कृष्ट भएकाले वरिष्ठ साहित्यकार त्रिपुरा खरेल, श्रीओम श्रेष्ठ रोदन र दीपक लोहनीको संयुक्त निर्णयमा सर्वोत्कृष्ट घोषित गरिएको हो ।

“प्रतियोगितामा प्रतियोगीका रूपमा १५ वटामात्र लघुकथा प्राप्त भए पनि प्राप्त लघुकथाहरू उत्कृष्ट थिए । ”, निर्णायकमध्येका श्रीओम श्रेष्ठ राेदनले भन्नुभयाे, “निर्णायकहरूकाे व्यक्तिगत मूल्याङ्कनपश्चात् सामूहिक छलफलबाट रहेक किसिमले उत्कृष्ट ठहरिएका दीप मङ्ग्राती, राम्जी रानाभाट र डिल्लीप्रसाद अधिकारी लघुकथाहरूलाई वियजी घाेषित गरिएकाे छ ।”

त्यस्तै एकपटक विजयी भइसकेपछि पुनः कथा पठाउँदा “अप्रतियोगी” लेखेर पठाउन पनि श्रेष्ठले अनुराेध गर्नुभएकाे छ । उहाँले भन्नुभयो, “एकपटक विजयी भइसक्नुभएका केही कथाकारहरूले पुनः प्रतियोगीकै रूपमा कथा पठाउनु भएकाे छ । जसका कारण अघिल्लाे साता निर्णायकमा समस्या पर्न गएकाे थियाे ।”

प्रतियोगिताका लागि जम्मा २० वटा लघुकथाहरु प्रतियोगीका रूपमा प्राप्त भएका थिए । आफ्नो क्षेत्रमा स्थापित साहित्यकारहरुले पनि रचना पठाएकोमा आयोजक घोस्ट राइटिङ् नेपाल तथा संयोजक साहित्यपोस्ट दुवैले स्रष्टाहरूमा धन्यवाद ज्ञापन गरेका छन् ।

यसपटक छानिएका तीन लघुकथाका सर्जकहरुलाई कम्तिमा एक हजारबारबरका लघुकथाका सिद्धान्त एवं उत्कृष्ट लघुकथाका पुस्तकहरु पुरस्कार एवं सम्मानस्वरुप प्रदान गरिनेछ । पुरस्कृत स्रष्टालाई साहित्यपोस्टले सम्पर्क गरेर पुरस्कार हात लगाउने प्रयास गर्नेछ ।

हरेक साता छानिँदै गएका तीन तीनवटा लघुकथाहरुलाई ५० सातापछि पुस्तकका रुपमा प्रकाशन गर्ने तयारी घोस्ट राइटिङ् नेपालको रहेकाे छ । यसरी छानिएका लघुकथाहरुमध्ये पनि सर्वोकृष्ट तीनवटा लघुकथालाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार एवं केही थान आख्यानका पुस्तक उपहारस्वरुप प्रदान गरिनेछ ।

लघुकथा प्रतियोगिताकाे चौतीसौँ चरण भाेलिबाट सुरू हुनेछ ।

पढ्नुहाेस् तेतीसौँ चरणका विजयी लघुकथाहरूः