सन् २०१३ मा एक जना बेलायती वैज्ञानिक इयान गिब्सनले आत्महत्या गरे । उनी एउटा कम्पनीमा प्रडक्ट डिजाइनरका रूपमा काम गर्थे । उनलाई भर्खरैकी फुच्ची केटीको सपनामाथि विश्वास थियो । केटीले भनिरहेकी थिई, हामीले यस्तो मेडिकल डिभाइस बनाउन सक्छौँ, जसमा केही थोपा रगत राखेपछि त्यो डिभाइसले रगतमा भएका अनेकन् तत्त्वहरूको विश्लेषण गरेर कुन रोग लागेको छ, तत्कालै बताइदिनेछ ।

यस्तो डिभाइस बनाउन पाए कति जाति हुन्थ्यो ! कयौँको समय र पैसा वचत हुने थियो । मानिसहरूले घरघरमा यो डिभाइस राख्ने थिए र जबजब आफूलाई असहज महसुस गर्थे, उनीहरूले रगतका केही सिर्का त्यो भाँडोमा हालेर जाँच गर्ने थिए र आफूमाथि आइलाग्न लागेको रोगको भारी पहिल्यै थाहा पाउने थिए ।

यदि त्यो फुच्ची केटीको यो सपना पूरा भएमा, हरेकको घरमा एउटा कम्प्युटर भएजस्तै यो रगत जाँच्ने भाँडो पनि सर्वसाधारणका लागि एउटा अनिवार्य आवश्यकता बन्ने थियो । त्यसलाई चाहिने सफ्टवेयर, विश्लेषण, र उपचारविधि कम्पनीले उपलब्ध गराउने थियो र त्यसबापत थोरै रकम शुल्क लिँदा पनि संसारभरिबाट रकम ओइरिँदा कम्पनी केही वर्षमै खर्ब डलर आम्दानी गर्ने थियो ।

यो महान् उद्देश्यमा आफू पनि सहभागी हुन पाएकामा इयान निकै खुसी थिए । तर केही वर्षमै उनलाई थाहा भयो, उनको सोचलाई कार्यान्वयन गर्नसक्ने ल्याकत ती युवतीमा थिएन । उनले पत्ता लगाएको भनिएको मेडिकल डिभाइस गफमा आधारित थियो, वैज्ञानिक पद्धतिमा आधारित थिएन ।

यसबाट उनी यति दुःखी भए कि कम्पनीको हाइहाइ हुँदै गइरहेका बेला पनि उनी खुसी हुन सकेनन् । अन्ततः उनले व्यवस्थापकहरूसँग यस विषयमा आफ्नो राय दिन थाले । उनको राय स्वाभाविक रूपमा मन पराइएन । यसअघि पनि गतिलो काम गर्न नसकेको भनेर कम्पनीबाट शुरूवाती संघर्षका केही हस्तीहरू कामबाट निकालिएका थिए । उनलाई लाग्न थाल्यो, हामीले लगानीकर्ता र केही बिरामीलाई धोका दिएका छौँ । वास्तवमा दाबी गरिएजस्तो डिभाइस बनेको छैन । अहिलेलाई बन्न असम्भव छ ।

यही कुरा उनले व्यवस्थापकीय टोलीसँग राख्दा उनले खप्की खानु त पर्यो नै, कामबाट समेत निकालिनु पर्यो । यसबाट आहत उनले कम्पनीले सर्वसाधारणलाई ठग्दैछ भन्ने जानकारी गराउन खोजे तर कम्पनीका वकिलहरूले उनलाई मुद्दा हाल्ने र कम्पनीको इज्जत दाउमा लगाएकोमा ठूलो रकम जरिवाना तिराइने धम्की दिन थाले । धम्की यति बढ्यो कि उनले आत्महत्या नै गरे ।

यो घटना हो, एक समयको चर्चित मेडिकल डिभाइस बनाउने कम्पनी थेरानोज् को । यो कथा हो, १९ वर्षकै उमेरमा कम्पनी स्थापित गर्छु भनेर स्टानफोर्ड विश्वविद्यालयको शिक्षा त्यागेर कम्पनी खडा गर्न निस्किएकी युवती, एलिजाबेथ होम्सको ।

एलिजाबेथ होम्सका बुवा एक समयको चर्चित कम्पनी एनरोनका उपाध्यक्ष थिए । कम्पनी पछि तासको घर ढलेजस्तै गर्ल्यामगुर्लुम ढल्यो । उनी बेरोजगार भए । कम्पनी र यसमा काम गर्ने कामदारको यति बेइज्जती भयो कि धेरै वर्ष होम्सका बा बेरोजगार हुनुपर्यो ।

होम्स सानैदेखि महत्त्वाकांक्षी बालिका थिइन् । उनी जीवनमा ठूलो मानिस बन्छु भन्थिन् । उनका अभिभावकलाई उनीमाथि विश्वास थियो । उनी उनको बुवाको गुमेको नाम, शान र सौकत फिर्ता गराउन चाहन्थिन् । यस्तो काम गर्न सकियोस्, जसले उनलाई संसारभर चिनाओस् भन्नेमा उनी सचेत थिइन् ।

त्यसैले पनि उनका अभिभावकले उनलाई सधैँ राम्रो स्कुल कलेजमा पढाए । स्टानफोर्ड पढ्दै गर्दा उनलाई अचानक यस्तो मेडिकल डिभाइसको सोच पलाएको थियो ।

शुरूमा त कसैले पनि उनलाई पत्याएन । उनले आफ्नो सपना पछ्याउन सकेसम्म सबैलाई भेटेर लगानी जुटाइन् । तीमध्ये केहीले उनलाई पत्याए । र, कम्पनी खडा भयो थेरानोज् ।

लामो कथा छोटो गरी सुनाउँदा, थेरानोज् अहिलेको महत्त्वाकांक्षी पुस्ताको कथा हो । जो रातारात अर्बपति हुन चाहन्छ । त्यसका लागि दिनरात लगाएर एउटा सोचमा काम गर्न चाहन्छ । कोही यसमा भाग्यमानी ठहरिन्छन् र महान् कम्पनी उभ्याउँछन् पनि, कोही अभागी बन्न पुग्छन् होम्सजस्तै, जो कालान्तरमा कानुनी झमेलामा परी जीवन नै नरक बनाउन पुग्छन् ।

यिनै एलिजाबेथ होम्सलाई लिएर बनाइएको द ड्रपआउट वेब सिरिजको कुरा यहाँ सुनाइएको हो । यो एउटा सुन्दर महत्त्वाकांक्षाको कथा हो । जसमा जीवनका उतारचढाव यति रोचक तरिकाले पस्किएको छ कि अति आत्मविश्वासमा चिप्लिदा अरूलाई कंगाल बनाउन पुग्छन् ।

सानै उमेरमा यस्तो महत्त्वाकांक्षाको अर्को उदाहरण एना डेल्भी पनि हुन् ।

आफू जर्मनीको कुल घरानकी युवती भएको र आफूलाई परिवारले घर निकाला गरेकाले यतिबेला आफू आफ्नै दममा केही बन्न निस्केको कथा सुनाउँदै हिँड्ने एना डेल्भीमा आधारित नेटफ्लिक्सको सिरिज इन्भेन्टिङ एना यतिबेला चर्चामा छ ।

एनालाई कलाका बारेमा के थाहा छैन ? कुन कलाकृति महँगो हो, कुन कृतिको मोल अब छोइसक्नु हुँदैन, कस्ता वाइन राम्रा हुन्छन्, बिजनेस कसरी गर्ने भन्ने आइडिया उसलाई जति कसैलाई थाहा छैन ।

जम्माजम्मी २५ वर्षको उमेरमा उसले न्युयोर्क शहरका धनाढ्यहरूसँग संगत गरी । तिनकै पैसामा ऐश गरी । त्यसपछि महँगा होटलमा बसेर ठूला बैठक डाक्ने, तिनलाई प्रभावित पारी लाखौँ डलर ऋण लिएर एउटा भव्य रिक्रिएसन सेन्टर खोल्ने उसको सपना अन्ततः धराशायी हुन्छ । झूटको खेतीमा उभिएको एनाको बिजनेस प्लानमा ठूला बैंकर, धनाढ्य व्यक्तिहरू, अर्बपतिका सन्तानहरू कसरी चिप्लिन्छन् भन्ने कथामा इन्भेन्टिङ एना बनाइएको छ । एउटी पत्रकारमार्फत कथालाई खुलासा गरिएको छ । यद्यपि, यस शृङ्खलाका सारा घटना सत्य भए पनि पत्रकार र उसको कोणबाट कथा भनिएकाले त्यो पाटो भने अलिअलि रोचक बनाउन थपिएको यो शृङ्खलाकी सर्जक सान्डा रोनले शृङ्खला शुरू हुनुअघि नै बताइदिएकी छन् ।

तात्तातो पैसा कमाउने क्षेत्रमा कसरी युवापुस्ता यतिबेला अगाडि आउँदै चिप्लँदै, अरूको समय र पैसा बर्बाद गरिरहेका छन् भन्ने बारेमा अन्य दुई शृङ्खला पनि बनाइएका छन् । द टिन्डर स्विन्डलर र वि क्र्यास्ड पनि यही हाराहारीमा छन् ।

समग्रमा यतिबेला ओटिटी प्लेटफर्म युवापुस्ताको महत्त्वाकांक्षा र तिनको पटाक्षेप पछार्दै दर्शकहरूलाई मनोरञ्जन दिलाउने प्रतिस्पर्धामा छन् ।

यी शृङ्खलाहरू हेर्दै गर्दा हामीले अल्पज्ञानं भयङ्करम् भन्ने ज्ञान मात्र पाउँदैनौँ, अति महत्त्वाकांक्षा कसरी हाम्रालागि खतरनाक हुनसक्छन् भन्ने पनि बुझ्न सक्छौँ ।