सन्नी लियोनीको आत्मकथात्मक वेबशृङ्खला करनजीत कौर हेर्नुभयो ? हेर्नु भएको छैन भने हेर्नुहोला किनभने त्यस शृङ्खलामा जिन्दगीमा कहिल्यै अश्लील फिल्म नहेरेकी युवती कसरी त्यस्ता फिल्मकी अभिनेत्री मात्र होइन, नम्बर एक अभिनेत्री बनेर उदाइन् भनी देखाइएको छ ।

उनले केही मूलधारका हिन्दी फिल्ममा समेत अभिनय गरेकी सन्नी केही समय चुपचाप बसेकी थिइन् । यतिबेला नयाँ वेब शृङ्खला अनामिका मा देखापरेकी छन् ।

रोचक त के छ भने पोर्न उद्योग छाडेपछि उनले अश्लील फिल्ममा अभिनय गर्न छाडेकी छन् । उनलाई मूलधारले पत्याउन खोजे पनि अझै पूरै पत्याइसकेको छैन तर उनले हार मानेकी छैनन् । त्यो कुरा पछिल्लो पटक निस्केको अनामिकाले प्रमाणित गरेको छ ।

उनीसँग इन्डिया टुडे म्यागेजिनले गरेको कुराकानीः

जुन बेला तपाईंको जीवनीमा आधारित वेब शृङ्खला आएको थियो, त्यो बेला ओटिटी अर्थात् वेब सिरिज के हो भन्ने अधिकांशलाई थाहा थिएन । ओटिटी भविष्य हो भन्ने जान्नेमध्येका सीमित कलाकारमध्ये तपाईं हुनुहुन्थ्यो । त्यो बेला तपाईंलाई स्ट्रिमिङले यति फड्को मार्ला भन्ने लागेको थियो ?
खासमा मनोरञ्जन उद्योगले त्यो बेला नै बाटो समातिसक्नु पर्ने थियो । पहिले टेलिभिजनका कलाकारलाई कलाकार नै ठानिदैनथ्यो । र, जब ओटिटी प्लेटफर्म आउन थाले, त्यो बेला पनि त्यस्तै ठानियो । ओटिटीका शृङ्खलालाई सिर्जना नै नमान्नेहरूको जमात ठूलो थियो । त्यस्तै कलाकारलाई तल्लो दर्जाका ठानिन्थ्यो । तर कोभिड १९ ले ल्याएको महामारीले ओटिटीको नक्सा नै परिवर्तन गरिदियो । अहिले त ठूलो पर्दाका ठूला कलाकार पनि काम खोज्ने सबैभन्दा राम्रो ठाउँ नै ओटिटी हुन थालेको छ । अभिनयको चस्का रहुञ्जेल अभिनय गर्ने थलोका रूपमा ओटिटी हुन थालेका छन् । यो कलाकारका लागि निकै ठूलो उपलब्धि हो ।
पहिले कलाकारहरू ठूलो पर्दामा नै सीमित हुन्थे, अब त्यस्तो समय रहेन ।

अनामिकामा तपाईं मुख्य भूमिकामा हुनुहुन्छ । ओटिटीमा अभिनेत्रीहरूले अलि बढी वजनदार भूमिका पाइरहेका छन् भन्ने लागिरहेको छ कि छैन ?
हेर्नुस्, भूमिका वजनदार र वजनहीन भन्ने हुँदैन । यहाँ त सबैले आफूलाई मन पर्ने शो हेरिरहेका छन् । गर्नेले पनि बेग्लाबेग्लै ढंगले आफ्नो प्रतिभा देखाइरहेका छन् । पहिले यस्तो गर्न पाइँदैन थियो । पहिले लोकप्रिय हुन सिनेमा घरमा देखिनु जरूरी छ भनिरहेका थिए तर ओटिटीहरूले त्यो मान्यता पूरै बदलिदिए ।

तपाईं पोर्न स्टारको छवि बोकेर आउनु भएको थियो । यस्तो छवि बदल्न तपाईंका लागि कति गाह्रो थियो ?
निकै उतारचढावपूर्ण अनुभव रह्यो । तर मलाई यो उद्योगमा रहिरहनु थियो । यहीँ काम गरिरहनु थियो । म फर्किऊँ भन्ने चाहना राख्नेहरू पनि थिए र छन् । तर म टिकिरहन चाहन्थेँ । अरे यो अझै यहीँ छे ! भन्ने बनाउनु थियो । यसका लागि म टिकिरहेँ । त्यसैले म कुनै फिल्ममा काम गरिरहेँ, कुनै गानामा अभिनय गर्न पाएँ भने पनि त्यो एउटै गीतका लागि भए पनि हुन्छ भनिरहेँ । कुनै विज्ञापन आयो भने पनि मैले त्यसलाई नाइँ भनिनँ ।
मेरो सिधासिधा मन्त्र छः काम गरिरहू । बढीभन्दा बढी अनुभव हासिल गर । बढीभन्दा बढी सम्बन्धहरू गाँस । कहिलेकाहीँ राम्रो परफमेन्सका लागि मेरो चरित्रले यौन दृश्यको माग गर्थ्यो । मलाई सेक्स दृश्यसँग कुनै समस्या थिएन । त्यसैले म यहाँ टिकेँ ।

अहिले त तपाईं आमा बन्नु भएको छ । आमा बन्नु भएपछि चरित्र छनोट गर्ने कुरामा केही फरक आएको छ ?
त्यति धेरै त छैन । मेरो चार वर्षे सन्तानसँग यो फिल्म खेलूँ कि नखेलूँ भनेर त पक्कै सोध्दिनँ नि, हैन ? म आफ्नो जीवन कसरी बाँचूँ भन्ने कुरा मेरा सन्तानले तय गर्ने कुरा होइन । उनीहरूलाई बरू म के सिकाउन रूचाउँछु भने, तपाईंले आफ्नो जीवनको निर्णय आफैँ गर्नुस् । स्वतन्त्र बन्नुस् । उनीहरूको रूचि अरूचिजस्ता कुरामा म भलै सहमत नहुँली तर जबसम्म तिनले कसैलाई शारीरिक र मानसिक रूपमा पीडा दिँदैनन् भने उनीहरूले आफ्नो जिन्दगीमा आफ्नै तरिकाले छनोट गर्ने स्वतन्त्रता पाउनु पर्छ ।