साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

रोस्ट्रम

 


किन बजिरहन्छ यो रोस्ट्रममा ?
गाईको शोकगीत
चुच्चे नक्साको विज्ञापन
मान्छेका लासहरूमाथिको पाश्र्व संगीत
बहुराष्ट्रिय कम्पनीको दस्तावेज
आँसुहरूको निषेधाज्ञा ।

रोस्ट्रमको हरेक वक्तव्यको अन्त्यमा
ताली बजाउँछन कुर्सीहरू ।
यी कुर्सीहरूको किनारामा
एउटा कुर्सी मेरो पनि छ ।
कुर्सीहरूको नेता रोस्ट्रम किन कहिल्यै मेरो कथा भन्दैन ?

सम्बन्धित पोस्टहरु
bahulako diary small and inside post

मसँग पनि छन
सडकको छातीमा
मेरो काँचो रगतले कोरेका सपनाका दस्ता ।
त्यही रोस्ट्रममा पाइतालाबाट
घिस्रदै घिस्रदै आउँदा मैले नापेको भूगोलको नक्सा ।
थाकेका पाठेघर सुम्सुम्याउँदै
हिमपहिरो थामेको काँध ।
त्यही रोस्ट्रमले कापीकलम खोसेर
कहिल्यै अक्षर घुमाउन नपाएको उपेक्षित बूढी औंलो ।

सधैँ रोस्ट्रमको एकोहोरो कर्कश आवाजले तर्सिरहेको
यो सदनको एउटा किनाराकृत कुर्सी
पहिलोपटक आफैं रोस्ट्रम उभिएको छु ।
थर्थर काँपेको छ यो व्यवस्थाको जड्यौरी रोस्ट्रम
यहि थरथराहटले बिउँझिएका छन्
हजारौं बर्षदेखि उँघिरहेका कुर्सीहरू ।

 

प्रतिक्रिया
Loading...