
नेपालको साहित्यिक माहोल र व्यवसायिक प्रकाशन गृहहरू काठमाडाैँ केन्द्रित छन् । प्रायः स्थापित लेखकहरू पनि काठमाडाैँमै भेटिन्छन्, भलै माेफसलमा बसेर पनि केन्द्रसँग सशक्त संवाद गर्ने स्रष्टाहरू नभएका हाेइनन् । तर नेपाली साहित्यको बजार केन्द्रबाट माेफसल हुँदै प्रवाससम्म फैलिएको छ । र, उल्लेख्य मात्रामा माेफसल र प्रवासबाट पनि पुस्तकहरू प्रकाशित हुँदै आएका छन् । के कति साहित्यकारहरू पुस्तक प्रकाशनकै लागि माेफसल र प्रवासबाट काठमाडाैँ आउने पनि गरेका छन् ।
यसै सन्दर्भमा यस स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।
यसैक्रममा साताका पुस्तकमा योपटक पाँच पुस्तक । सम्राट अशोककी छाेरी ‘चारूमती‘देखि पूर्वका ‘माैलिक लाेकभाकाहरू‘सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।
१. चारुमती – सत्यमोहन जोशी
संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको पूणर्ङ्की नाटक हो चारुमती । तत्कालीन मगधको पाटलीपुत्र राजदरबारदेखि नेपालका गोकणर् राजदरबार, तेङखु (बागमती र विष्णुमती दोभान, स्वयम्भू (सिंगुँ) र पाटनको तेता चौरलाई पृष्ठभूमि बनाएर रचना गरिएको यस नाटकको नामाकरण सम्राट् अशोककी छोरीको नामबाट गरिएको हो ।
“… भारतवर्षमा स्रम्राट् अशोकको राज्य बडो विस्तारमा फैलिएको थियो । पाटलीपुत्र त्यस विशाल साम्राज्यको राजधानी थियो । सम्राट् अशोक बुद्ध धर्मका अनुयायी थिए ।”, प्रसङ्ग चारुमतीमा प्रो. ढुण्डिराज भण्डारी लेख्छन्, “प्राचीनकालदेखि नै नेपाल बौद्ध तीर्थस्थल भएकाले आफ्ना गुरु बौद्धभिक्षु उपगुप्तसित आज्ञा लिई सम्राट् अशोक आफ्ना परिवार र प्रजाहरुलाई साथमा लिई नेपाल आएका थिए । यहाँ आएर उनले प्रत्येक पवित्र स्थानको दर्शन गरे । आफ्नी पुत्री चारुमतीले नेपालमा रहने अभिलाषा प्रकट गरेकाले सम्राट् अशोकले आफ्नी पुत्रीको विवाह देवपाल नामक एक क्षत्रियसित गरिदिए ।”
पुस्तकलाई वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी जन्मशताब्दी महोत्सव समिति (ललितपुर महानगरपालिका) ले प्रकाशनमा ल्याएको हो । जोशीले नेपाल भाषामा रचना गरेको यो कृतिलाई भिक्षु जुतिमले नेपाली भाषामा अनुवाद गरेका हुन् ।
२. पूर्वी नेपालका मौलिक लोकभाकाहरू – दिलेन्द्र मुकारुङ राई
नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशन ‘पूर्वी नेपालका लोकभाकाहरू’लोकसाहित्य र संस्कृतिका अन्वेषक दिलेन्द्र मुकारुङ राईको सङ्कलन, लेखन तथा सम्पादनमा तयार भएको कृति हो । यस कृतिमा नेपालको प्रदेश नम्बर एकमा पर्ने १४ ओटा जिल्लामा रहेका सम्पूर्ण जातजातिहरूमा प्रचलित १५५ ओटा मौलिक लोकभाकाहरूलाई एकै ठाउँमा समेटिएको छ । समग्र नेपालको लोकजीवनमा लुकेर बसेका अपार सम्पदाहरूको खोजी गरी कृतिका रूपमा प्रकाशन गर्ने उद्देश्यस्वरूप तयार भएको प्रस्तुत कृतिमा प्रदेश नम्बर एकका हिमाल, पहाड र मधेस तीनओटै क्षेत्रका सम्पूर्ण जातजातिहरूका मौलिक लोकभाकाहरू समेटिएका छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको अनुसन्धान तथा प्रकाशन परियोजनाअन्तर्गत तयार गरिएको यस कृतिले लोकगीत, लोकसङ्गीत वा लोकभाकाहरूप्रति चासो राख्ने जोकोहीलाई बौद्धिक खुराक प्रदान गरेको छ । पाँच भागमा विभाजित प्रस्तुत कृतिको पहिलो भागमा पूर्वी नेपालको भौगोलिक तथा सामाजिक परिचय दिइएको छ भने दोस्रो भागमा पूर्वी नेपालका मौलिक लोकभाकाहरूका सम्बन्धमा भएका पूर्वकार्यहरूका बारेमा विस्तृत खोज तथा अनुसन्धानात्मक सामग्री प्रस्तुत गरिएको छ । तेस्रो भागमा पूर्वी नेपालका मौलिक लोकभाकाहरूको उदाहरणसहित प्रवृत्तिगत विश्लेषणसमेत गरिएको छ । यस क्रममा राई, लिम्बू, सुनुवार, तामाङ, शेर्पा, लाप्चा, मगर, गुरुङ, नेवार, धिमाल, थारू, दर्जी, खसआर्यलगायतका जाति तथा लोकसंस्कृति र जीवनपद्धतिसँग जोडिएका मौलिक लोकभाकाहरूका साथै अरुण उपत्यकाले उत्पादन गरेका लोकभाकाहरू र देशभक्ति तथा सामाजिक जागरणमा आधारित लोकभाकाहरू पनि सन्दर्भ र स्रोतसहित प्रस्तुत गरिएका छन् । चौथो भागमा पूर्वी नेपालका मौलिक लोकभाकाहरूमा समेटिएका विशेषताहरूको समालोचनात्मक चर्चा गरिएको छ भने पाँचौँ भागमा सम्बन्धित अध्ययनको निष्कर्ष प्रस्तुत गरिएको छ ।
१ सय ९६ पृष्ठमा फैलिएको कृतिको मूल्य २ सय ३० रूपियाँ रहेको छ । कृति नेपाल प्रज्ञा–प्रतिष्ठानको विक्रीकक्षमा र अधिकृत विक्रेतामार्फत् देशभरका पुस्तक पसलहरूमा प्राप्त गर्न सकिने छ ।
३. डेभिड र गोलाएथ
स्याली अल्स्चुलरको लेखन र स्भेन नोर्कि्वस्टको चित्राङ्कन रहेको चित्रकथा ‘डेभिड र गोलायथ’ कथालय इन्कले नेपाली भाषामा प्रकाशनमा ल्याएको छ । नेपाली अनुवाद भिक्टर प्रधानले गरेका हुन् ।
स्याली अल्स्चुलर बिस वर्षभन्दा बढी शिक्षण पेशामा आबद्ध थिए । उनी बालसाहित्यको श्रीवृद्धि र प्रशिक्षणको क्षेत्रमा विगत लामो समयदेखि कार्य गर्दै आइरहेका छन् । उनी रचनात्मक लेखकका रुपमा चिनिन्छन् । त्यस्तै स्भेन नोर्कि्वस्ट विश्व प्रसिद्ध चित्राङ्कनकर्ताको रुपमा चिनिन्छन् ।
कथामा हुँडारका झुण्डले भेडाहरुमाथि आक्रमण गर्न खोज्दा रातटाउके भेडागोठालो केटो डेभिड बाँसुरी बजाउँदै आराम गरिरहेको हुन्छ । डेभिड निकै सानै भएपनि उसले आफ्नो घुयेँत्रो घुमाई ती जनावरहरुलाई तर्साएर भगाउने प्रयास गर्छ । डेभिड आफ्नो प्रयासमा सफल पनि हुन्छ तर उसलाई विश्वास गर्ने कोही हुँदैन । चित्रकथामा गोलाएथलाई बडेमानको मानिसको रुपमा चित्रित गरिएको छ । गोलाएथ, जो राक्तपिपाशु राक्षसहरुको समुहमा सामेल हुन्छ तर घृणित तुच्छ कुराबाट मुक्त हुन कुहिरो लागेको बेला ऊ सुटुक्क निस्कन्छ। तुच्छ कुराबाट मुक्त हुन निस्केको गोलाएथको भेट अकस्मात डेभिडसँग हुन्छ । सानो डेभिड र भिमकाय गोलाएथ दुई बिच संयोगवस भेट भएपछि कथाले नयाँ मोड लिन्छ ।
चित्रकथा ‘डेभिड र गोलाएथ’ पाँच वर्ष वा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा आठ वर्ष माथिका बालबालिकाले आफैँ अध्ययन गर्न उपयुक्त छ ।
४. कुलपूजा संस्कृति र परम्परा – बद्रीप्रसाद ढकाल
साहित्यकार बद्रीप्रसाद ढकालको नवीनतम् कृति हो, “कुलपूजा संस्कृति र परम्परा” । यो कृतिमा विभिन्न अनुसन्धान, लोकवार्ता, लोकसाहित्य, मिथक तथा दर्शनका अध्येता ढकालले कुलपूजा र परम्पराबारे अध्ययन र अनुसन्धान प्रस्तुत गरेका छन् ।
“मानव समाजको मूलाधार भनेकै कुल हो । कुल अर्थात् पुर्खा । नेपालका प्रायः सबै जातजातिमा कुल मान्ने, कुल पुज्ने परम्परा छ ।”, पुस्तकको भूमिकामा डा. तुलसी भट्टराई लेख्छन्, “कुल पुर्खा शब्दबाटै गुरुङ, चेपाङ, तामाङ, नेवार, थारु, मैथिल आदि समुदायले आफ्नो कुल मान्ने गरेको पाइन्छ । लिम्बू समुदायमा मूइदाङ र राईहरु डिवापा नामबाट कुल मान्दै आएका छन् । विशेषगरी हाम्रो पूर्वीय सनातनी परम्परामा कुलको ज्यादै महत्त्व रही आएको छ । कुलअनुसार मानिसको विकास हुने कुराको व्याख्या पाइन्छ, जस्तो कुल त्यस्तै मानिसको सभ्याता, कुल र मूलको कुरा । पुर्खाको राम्रो काम गरे मात्र पछिका पुस्ता राम्रो बन्दै जान्छन् ।”
पुस्तकलाई ओरिएन्टल पब्लिकेसन हाउसले प्रकाशनमा ल्याएको हो । १ सय ३२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।
५. उमङ्ग – सत्या अधिकारी
सत्या अधिकारीको पहिलो कृतिको रुपमा प्रकाशनमा आएको लघुकथासङ्ग्रह हो, “उमङ्ग” । यो लघुकथासङ्ग्रहरमा विभिन्न विषयलाई कथानक बनाई देखिएका ५५ वटा लघुकथाहरु सङ्ग्रहित छन् ।
“लघुकथा पाठशालाको उत्पादन भएकाले सत्या अधिकारीका रचनामा त्यसको प्रभाव यथेष्ट छ । यहाँ प्रस्तुत उनका अधिकांश रचनामा त्यसको प्रभाव देख्न सकिन्छ ।” लघुकथासङ्ग्रहबारे लघुकथा स्रष्टा समाजका उपाध्यक्ष ध्रुव मधिकर्मी लेख्छन्, “वास्तवमा पाठशालाले बेलाबेलामा लघुकथाबारे विभिन्न अवधारणा तथा टिप्पणीहरुमार्फत् नवोदित स्रष्टाहरुलाई सचेत तुल्याउने कार्य गर्दै आएको छ । त्यही कारण सत्याका प्रायः लघुकथा आकार र विषयका दृष्टिले सचेतताका साथ लेखन भएको छ ।”
यो लघुकथा कृतिलाई अक्षरधाम प्रकाशन गृहले बजारमा ल्याएको हो । १ सय २८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५० नेपाली रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

साताका पुस्तक : ‘मणि’थापाको ‘मेयर’देखि काफ्लेको ‘जाहिरा’सम्म

साताका पुस्तक : ‘मायाका मसिना अक्षर’देखि ‘नचिनेको मान्छेसँग जाँदिनँ’सम्म
