पाटन संग्रहालय विश्व सम्पदा स्थान हुनुका साथै १४ औं शताब्दी देखि १८औं शताब्दी सम्म मल्ल राजवंशको दरबार थियो। जहाँ आज काठमाडौं ट्रिएनाले कलात्मक व्याकरणका फरक फरक परम्पराहरूबीच हुने लय र संघर्षलाई प्रस्तुत गरेको छ। यिनै संघर्षको कथामा धेरै कमलाई थाहा भएको इतिहास खोतल्ने प्रयास गरेको छ। काठमाडौं ट्रिएनालेमा मिथिला क्षेत्रका सहभागी कलाकारहरु वाची देवी, पलाती देवी, मन्जुला देवी ठाकुर, सुधिरा कर्ण, रेवती मण्डल, विजय मणि दत्त, मिरा दत्त र प्रियंका कर्ण हुन्। तिनका मिथिला कलाको विभिन्न विधा चित्र कला, भित्तिचित्र, माटोको मूर्ति सामा-चकेवा समावेश गरिएको छ। पाटन संग्रहालयमा लहरै भित्तामा प्रदर्शित तीन वटा चित्रले हामीलाई विगतमा डोर्‍याउँ छ। सन् १९८९ को दशकमा पानी रङ्गमा आधारित चित्र जसका कलाकार काली शीर्षकका दुई चित्रका कलाकार वाची देवी र मन्जुला देवी ठाकुर हुनुहुन्छ भने माछा समावेशका महिला शीर्षक चित्रका कलाकार पलाती देवी हुनुहुन्छ। यहाँ प्रदर्शित चित्र कलाकार र क्लेयर बर्कर्टको सौजन्यबाट प्राप्त भएको छ भनी उल्लेख गरिएको छ।

मिथिला कला मुख्यतयाः गाउँका महिलाद्वारा अभ्यास गरिने र आमाबाट छोरीलाई सिकाइने मातृवंशीय भितेचित्र आधारित परम्परागत कला हो। माटो, गोबर र भुस मिसाएर माटोको भित्तामा विभिन्न ढाँचा, जनावर र पौराणिक पात्र चित्रित गर्नको लागि प्रयोग गरिन्थ्यो। जनकपुरको सन्दर्भमा यो कलाकृति सन् १९८९ मा परिवर्तन भयो। प्रतिमा र छविहरू भित्तामा बनाउने कामबाट कागजमा बनाउने अभ्यास थालियो। परम्परागत भित्तामा रहेका चित्र कागजमा उतार्दा रेखाको लयबद्ध भाव र प्रभावको निरन्तरता कायम राख्नु चित्रकारका लागि चुनौती थियो। त्यसरी नै अंगचित्रलाई (गोदना) कागजमा लेख्नु पनि कम चुनौतीपूर्ण थिएन। ब्रस बनाउन करचीको टुप्पामा आवश्यकता अनुसारको कपास वा पातलो पुरानो सुतीको नरम कपडा बेरी ‘पिहुआ’ को रूप दिइन्थ्यो । लिखियामा करचीको कलम र पिहुआको प्रयोग भित्तामा र बसहा कागत ( नेपाली लोक्ता कागत) दुवैमा गरिन्थ्यो । सवर्ण परिवारका खासगरेर ‘कैथिन’ ( कायस्थ) कलाकारको अभ्यास कागज, कलम र पिहुआसँग कुनै न कुनै रूपमा भएकोले आफ्नो कलाकर्मको अभ्यास नेपाली लोक्ता कागजमा गर्दा सहज हुँदै गयो। त्यतिखेर मैथिल जनसमुदायमा शिक्षाको अभाव थियो। त्यसमा पनि महिला साक्षरता न्यून नै भन्नुपर्छ। तथापि यहाँका लोक कलाकारहरूको कलम र कागजको प्रयोग कठिन कार्य थियो। लोक चित्रकारले प्रविधिको प्रयोगमा रूपान्तरण गरे। गोदना खोप्दा एकभन्दा धेरै सियोको समूहको प्रयोगको ठाउँमा कलम र शरीरको ठाउँमा कागजको प्रयोग गर्न थाले। मिथिला कला जस्तै र त्यो भन्दा नि पहिले विहारमा मधुवनी चित्रकला पनि प्रचलनमा आएको देखियो। मिथिला कला अहिलेको विकसित रुपमा रुपान्तरण भयो।

अमेरिकी महिला क्लेयर वर्कर्ट आख्यान लेखनमा स्नातकोत्तर उपधि प्राप्त गरी शैक्षिक जीवन बिताइरहेका थिए। वर्केट सन् १९८५ मा पहिलो चोटि नेपाल आगमनको बसाई ६ महिनाको भयो। नेपाल आवासको क्रममा नेपालको राजनैतिक अवस्थाका बारे लेखहरू लेख्न थालिन। तत् पश्चात सन १९८७ मा दोस्रो पटक नेपाल आई परिवार नियोजन (सानोठिमी) रेडियो कार्यक्रममा संलग्न भई, परिवार नियोजनको चलचित्र लिई जनकपुर भ्रमणको क्रममा उनको ध्यान यहाँको लोक कलातिर आकृष्ट भयो। मेैथिल महिलाहरूको दयनीय अवस्था, गरिबी तथा शिक्षाको अभावसँगै उनीहरूसँग सिध्दहस्त कलाकोैशलले आकर्षित गर्यो। क्लेयर वर्कर्टका अनुसार, बाल्यकालमा उनलाई चित्रकला हेर्ने अवसर प्राप्त भएको थियो। यिनकी आमाले बालबालिकाका लागि चित्र बनाउँथिन् र बुबा बालबालिकालाई चित्रकला सिकाउने शिक्षक भएकाले चित्र र कला तिरको आकर्षण त थियो। चित्रकला र चित्रकारको पारिवारिक परिवेश भएकाले यतातिरको आकर्षण बढ्दै गयो। यसैक्रममा भारतीय मिथिला क्षेत्रको भ्रमण गरी, त्यहाँको लौकिक चित्रकलाको विकास र संवर्ध्र्दनका लागि गरिएको प्रयास र कलाको माध्यमले मैथिल महिलाको बढदै गरेको आत्मनिर्भरता, राष्ट्रिय- अन्तर्राष्ट्रिय पहुँच र बदल्दै गरेको सामाजिक परिवेशको अवलोकन पश्चात्, अवसर भेट्दा मधुवनी पेन्टिङ जस्तै जनकपुर क्षेत्रका महिलाहरू पनि मिथिला कलाको विकास गर्न सक्छ्न् भनी, मनसायसँग अमेरिका फर्किन्। अमेरिकाबाट आर्थिक सहायता जुटाई सन् १९८९ पुनः तेस्रो पटक नेपाल फर्की जनकपुर चित्रकला परियोजना संचालन गरी जनकपुरलाई आफ्नो कार्य क्षेत्र बनाउनु भयो।

वाची देवी, मधुमाला देवी मण्डल र पलाती देवी जनकपुर महिला विकास केन्द्रमा काम गर्ने शुरूवाती कलाकार हुनुहुन्छ। उहाँहरू जनकपुरको छेउछाउका गाउँ र विभिन्न जातका सदस्य हुनुहुन्छ। यी कृतिहरूको शृङ्खलाले मिथिला कला र मिथिला चित्रकलाको एउटा नयाँ मोडको चित्रण गर्छन्। शुरुको वर्षमा कलाकारले डिजाइन र आधारभूत सिद्धांतको प्रयोग गर्नु भयो। उहाँहरू उज्यालो तर सीमित रङ प्यालेट र एउटा स्पष्ट आकृतिहरुमा केन्द्रित हुनु भयो। उहाँहरूको अभ्यास मिथिला क्षेत्रमा आधारित अनौठो छविको कुरामा केन्द्रित हुनुहुन्छ।

काल्पनिकताले परिपूर्ण र कला सिध्दान्तको दबाबले मुक्त भएकाले लोककलामा सौन्दर्य र सहजानुभूति हुने गर्छ। मिथिला लोक कलामा आफ्नो देशको माटोको सुगन्ध र परम्परासँग जोडिएको अनुभूति हुने गर्दछ। मिथिला संस्कृतिको प्रतीक मिथिला कला देशमा मात्रै न भै अपितु विश्वकला परिदृश्यमा चर्चित कलामध्ये एक हो। नेपाल ई. स्न १९९० यानी वि.स.२०४६ मा परिवर्तनको संघारमा थियो। पञ्चायत व्यवस्थाको समाप्ति र प्रजातन्त्रको पुनर्स्थापनासँगै मिथिला कला पनि नवयुगमा प्रवेश गर्‍यो। एकल र समूह कला प्रदर्शनीको क्रम शुरु भयो। अमेरिकी महिला क्लेयर वर्कर्टको प्रयासले काठमाण्डौंस्थित संयुक्त राष्ट्र अमेरिकाको साँस्कृतिक केन्द्रको कक्षमा सप्ताहव्यापि जनकपुरी महिलाहरूको मिथिला लोकचित्र कलाको पहिलो समूह प्रदर्शनी आयोजना गरियो। उक्त प्रदर्शनी अति व्यवस्थित थियो, प्रदर्शनी अत्यन्त सफल रह्यो। जसले नेपालको मैथिल समुदायको लोक सँस्कृति राष्ट्र तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारिकताबारे परिचय गराउने काम गर्यो । सहभागी मिथिला लोक महिला चित्रकारमध्ये चित्रकार फुलिया देवी कर्ण (नगरैन), मिथिलेश्वरी देवी कर्ण (जनकपुर) विवाह महोत्सवको चित्र (बिशेष गरेर कायस्थहरुले गर्ने ) चित्रणममा सिध्दहस्त कलाकार हुन्। यसरी अन्नपूर्णा देवी मिश्र, बच्ची देवी मिश्र र मंजुला देवी ठाकुर (सबै कुम्हरौरा गाउँ ), काशी देवी झा, मुन्द्रिका देवी चौधरी, (जटही) व्दारा देवी-देउता, विवाह महोत्सवको र मुण्डनको चित्र बनाउने अभ्यास मूल रुपमा गरे। डनोगी गाउँका मुसलमान चित्रकार निशा कमरुन गोदना चित्रकार हुन्, उनको चित्र सुकुमार गोदना शैलीको रुपान्तरित ढाँचामा छ। गालो देवी मंण्डल (थेरा) आ राजकुमारी तेली (सहोर्बी)को चित्र दिपावली पर्वको चित्र, जनावरको सजीव बिम्व चित्रण उल्लेखनीय छ। (तत्कालीन मधुपर्क र पत्रपत्रिका) यसरी पहिलो पटक आफ्नो लोक कलाको प्रदर्शनी गरी जनकपुरी महिला चित्रकारहरू आफ्नो लोक सांस्कृतिक परिचय अरु जनसमुदायलाई दिए। सम्भ्रान्त व्यक्तिको निवास स्थानको आधुनिक भित्तामा आफ्नो लोक कलाको चित्रण गरी तथ्य प्रकाशमा ल्याई आजको आधुनिक युग र घरमा प्राचीन संस्कृतिको गौरवको संरक्षण गर्न सकिन्छ,भनी स्पष्ट रुपले उजागर भयो। तत्कालिन मधुर्पक पत्रिकामा भिक्टर प्रधानद्वारा लिखित लेखमा केही कलाकृतिक (पेन्टिंगको) फोटो छापिएको छ, जसमा कलाकार मात्र मन्जुला देवीको नाम छापिएको भेटिन्छ। लेखभित्र छापिएका अन्य पेन्टिङमा कलाकारको नाउँ लेखिएको छैन। पाटन संग्रहालयमा प्रदर्शित पेन्टिङमा पनि कलाकारको नाउँ लेखिएको छैन। तर नेपाल कला परिषद र तारा गाउँ संग्रहालयमा प्रदर्शित पेन्टिङमा कलाकारको नाउँ लेखिएको छ।

समयको सँगै कलामा पनि परिवर्तन हुँदै आएको छ। कहिले अनायास त कहिले सप्रयास। आधुनिकताको विषय हो वा प्रस्तुतीकरणमा समकालीन सन्दर्भको नवीनता वा नवमाध्यमको प्रयोग किन नहुन्, पारम्परिक बन्धन तोडिने सम्भावना बनी रहन्छ। कला मानव जातिको उत्कृष्ट सृजना हो। कलालाई चेतनाको विशिष्ट रुप भन्ने गरिन्छ। सभ्य समाजको निर्माणमा कलाको भूमिका महत्त्वपूर्ण रहन्छ। समाजको सकरात्मक र नकारात्मक विषय कलाको माध्यमको विषय हुने कारण यसको महत्त्व सशक्त हुने गर्छ। ग्रामीण परिवेश संयुक्त परिवारको लालनपालन, प्राथमिक पारिवारिक शिक्षा, बाल्यकालदेखि नै कला प्रतिको लगाव र मिथिला कलाको जीवन्त परम्पराको अनुरुप आफ्नो हजुरआमा कला संस्कारको छाप, पढाईमा सामान्य तर कलामा अग्रसरता, विभिन्न प्रतियोगितामा पुरस्कृत र प्रोत्साहित हुदै आफ्नो एस.एल.सी. पश्चात डाक्टर बन्ने उद्देश्य बोकेर दरभंगामा विज्ञान विषयको बि.एससी सम्मको पढाई सकी, स्वदेश फर्की सन् १९९० को दशकमा पंत्तिकार स्वयं म एससी सुमन मिथिला कलाको पहिलो एकल प्रदर्शनीको आयोजना विराटनगरको वीरेन्द्र सभागृहमा आयोजना गरें। जसको उद्घाटन गणेशमान सिंहले गर्नु भएको थियो। विभिन्न आरोह अवरोह पार गर्दै कलाको विकासको यो निरन्तर यात्रा आज पनि जारी छ। सन् १९९० को दशक नेपालीय मिथिला कलाको इतिहासमा एउटा कोशे ढुङ्गा भयो। जहाँ प्रथम समूह प्रदर्शनी र प्रथम एकल प्रदर्शनीको दुइटैको श्रीगणेश भयो, जो एउटा ऐतिहासिक कालखण्ड हो। मिथिला चित्रकला नेपालमा संस्थागत विकासको लागि क्लेयर बुर्कर्ट , युएनडीपी, दक्ष महिला कलाकार, स्थानीय अभियन्ताहरुको प्रयासले जनकपुरममा सन् १९८० पछि मिथिला हस्तकलाको सुवास दुनियाँभर फैलन थाल्यो। सन् १९९२ मा जनकपुरमा जनकपुर नारी विकास केन्द्र स्थापना भयो। यसले मिथिला लोककलाको आयु त थप्यो नै, चित्रकारले पारिश्रमिक पाउन थाले। जसले महिलालाई आर्थिक रूपले सबल बनायो। पुरुषप्रधान मिथिला समाजमा, महिला कला कौशलले परिपूर्ण हुँदा, परम्परागत धारणाले गर्दा मैथिल नारी पूर्णरुपेण पुरुषमा आश्रित रहिआएको हुँदाहुँदै, समाजिक चेतना तथा केही संघसंस्थाहरूको प्रयास र सयोगले करिब एक दर्जन पेन्टिङ र क्राफ्टलाई आधार बनाई साना उध्योग सञ्चालन हुँदै गए।

प्रवाहलाई केहिबेरका लागि रोकेर राख्न सकिन्छ, सधैँको लागि सकिन्न। यस्तो प्रयास भएमा प्रवाह बाँध भत्काएर बाढीको रुपमा अनियन्त्रित वेग धारण गर्छ। मिथिला लोककलाको इतिहासमा यही घटित भयो। यसै क्रममा केही निजी संघ- संस्था संचालनमा आएको देखिन्छ। जसले महिला समूह निर्माण गरी स्थानिय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन निरन्तर लागिरहेका छन् । जसले मैथिल महिलाहरूको पहिचान, स्वावलम्वन तथा स्वआय आर्जनमा प्रमुख भूमिका निर्वाह गरिरहेको छ। हरेक तीन वर्षमा काठमाडौं ट्रिएनाले आयोजना गरिँदै आएको छ। कलाको कुम्भमेलाको स्वरूपमा एकमहिने अन्तर्राष्ट्रिय कला महोत्सव ‘काठमाडौं ट्रिएनाले २०७७’ प्रदर्शनी राजधानीमा चलेको दुई सप्ताह बितिसकेको छ। सिध्दार्थ आर्ट फाउन्डेसनकी निर्देशक संगीता थापाको परिकल्पना र चुस्त दुरुस्त व्यवस्थापनले आज अंतर्देशीय कला इतिहास मात्र होइन, अन्तर्राष्ट्रिय कला इतिहास लेखिएको छ। जसको आज सर्वाधिक खाँचो छ। सिद्धार्थ आर्ट फाउन्डेसनको आयोजना र संस्कृति मन्त्रालयको सहयोगमा राजधानीका विभिन्न पाँच स्थानमा भइरहेको कला प्रदर्शनी यस पटक १७ फागुनबाट प्रारम्भ भएर १७ चैतसम्म चल्नेछ।

 

artistsuman.scd@gmail.com