
काव्यको लघुतम् उपविधा ‘बाछिटा’को तेस्रो शृङ्खलाको प्रतियोगिता आजबाट सुरू भएको छ । बाछिटाका प्रवर्तक एवं वरिष्ठ साहित्यकार अमर त्यागी र नेपाली भाषा-साहित्यकोसर्वाधिक चर्चित (इ) दैनिक पत्रिका साहित्यपोस्ट मिलेर गरिएको यो प्रतियोगिता ५० शृङ्खलासम्म लगातार रूपमा सञ्चालन हुनेछ ।
बाछिटा सर्जकहरूले आफ्ना उत्कृष्ट १० वटा बाछिटा यस आव्हानको अन्तिममा (साहित्यपोस्टको कमेन्ट बक्स) मा पोस्ट गर्नुपर्ने नियम बनाइएको छ । कमेन्ट बक्समा प्रकाशित बाछिटाहरुमध्येबाट हरेक साता तीन जना उत्कृष्ट बाछिटाका स्रष्टालाई नगद १-१ हजार रूपैयाँ पुरस्कारसहित विभिन्न पुस्तकहरू स-सम्मानस्वरूप प्रदान गरिनेछ ।
५० साता पुगेपछि पुरस्कृत बाछिटाहरूको संयुक्त सङ्ग्रह “सर्वोत्कृष्ट बाछिटा” नामको कृति प्रकाशन हुनेछ, र त्यसबाट पनि मूल्याङ्कन कमिटीको मूल्याङ्कनबाट छानिएका सर्वोत्कृष्ट तीन बाछिटाकारहरूलाई जनही १०-१० हजारका दरले “सर्वोत्कृष्ट बाछिटा स्रष्टा पुरस्कार”सहित सार्वजनिक रूपमा सम्मान गरिनेछ ।
बाछिटाको उन्नयनमा लागि पर्नुभएका त्यागी प्रतियोगिताका मुख्य निणर्यकर्ता एवं सम्पूर्ण कार्यक्रमको प्रायोजक रहनुभएको छ । बाछिटाको तेस्रो शृङ्खलामा बाछिटा प्रवर्तक अमर त्यागीका साथमा सह-प्रवर्तक खगेन्द्र बस्याल निर्णायक रहनुभएकाे छ । प्रतियोगिताको व्यवस्थापन भने साहित्यपोस्टले गरेको छ ।
साहित्यपोस्ट व्यवस्थापन विभागले स्थापनाकालदेखि नै विभिन्न प्रतियोगिताहरू गरिरहेको छ ।अन्य प्रतियोगिताजस्तै बाछिटा प्रतियोगिता पनि सफल रूपमा सञ्चालन हुने विश्वास साहित्यपोस्ट व्यवस्थापन विभागले लिएकाे छ ।
जीवन, जगत् र भोगाइका अनन्त चेतना, चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप, दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ । बाछिटा रचना तीन पाँच तीन अक्षरयुक्त तीन पङ्क्तिमा हुन्छ । बाछिटाको पहिलो पङ्क्तिमा विषयवस्तुको उठान गरिन्छ ।
बाछिटाको दोस्रो पङ्क्तिमा विषयवस्तुलाई विस्तार गर्दै उत्कर्षमा पऱ्याइन्छ । बाछिटाको तेस्रो पङ्क्तिमा विषयवस्तुको पुष्टि गर्दै मूल मर्म वा भावलाई व्यक्त गरिन्छ । बाछिटाको तीन पङ्क्तिबीच भाव र अर्थगत सामन्जस्यता रहनुपर्छ । बाछिटाको अक्षर संरचना वा गणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्छ ।
बाछिटाको प्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्छ । बाछिटाको अभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्छ । बाछिटा रचना गर्दा निपात र संयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिन्छ । बाछिटाकारले समाजमा परम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडि पछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य मानिन्छ ।
बाछिटा लेखनका उल्लिखित सैद्धान्तिक मान्यताको सर्वोपरि महत्त्व रहेको छ । तीन, पाँच, तीन अक्षर मिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति बिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ । मानव जीवनका सम्पूर्ण क्रियाकलापहरूलाई प्रकृतिकरण गरेर वा प्रकृतिजन्य सम्पूर्ण क्रियाकलापहरूलाई मानवीकरण गरेर अर्थात् प्रकृतिका विविध स्वरूपलाई जीवन भोगाइका विभिन्न पक्षसँग वा जीवन भोगाइका विभिन्न पक्षलाई प्रकृतिका विविध स्वरूपसँग दाँजेर वा तुलना गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको उपस्थिति पनि रहन्छ र प्रतीकात्मक पनि बन्छ ।
बाछिटा प्रतियोगिता हरेक १०-१० दिनमा सञ्चालन हुनेछ र प्रतियोगिता सुरू भएदेखि दसौँ दिनसम्म्म कमेन्ट बक्समा बाछिटा पोस्ट गर्नुपर्ने छ । प्रतियोगिताका लागि पठाइने बाछिटाहरुले बाछिटा लेखनका न्यूनतम नियम र मान्यताहरूलाई पालना गरेको हुनुपर्ने छ ।
प्रतियोगिताका लागि पठाइने बाछिटाहरू फेसबुकलगायत अन्यतिर प्रकाशित भैसकेको भए पनि फरक पर्दैन । तर उक्त बाछिटा लेखकको मौलिक रचना हुनुपर्नेछ । कसैले उक्त बाछिटामाथि दावीविरोध गरेर प्रमाणित गरेमा उक्त बाछिटालाई प्रतियोगितामा स्वतः अस्वीकृत गरिनेछ ।
रचना पोस्ट गर्दा आफ्नो पूरा नाम, ठेगाना र फोन नम्बर पनि राख्नुपर्ने छ । एक जना बाछिटाकारले एक शृङ्खलामा एकपटकमा १० वटामात्र बाछिटा पोस्ट गर्नुपर्नेछ । एकजना बाछिटाकारले आफू पुरस्कृत नभएसम्म हरेक शृङ्खलामा आफ्ना अन्य बाछिटा पोष्ट गरिरहन पाउने छ ।
यो प्रतियोगिता बाछिटा लेखन र प्रकाशनको थलो पनि हो, त्यसैले यसमा एकपटक पुरस्कृत भइसक्नुभएका स्रष्टाहरू अप्रतियोगीका रूपमा हरेक शृङ्खलामा सहभागी हुन सक्नुहुनेछ, तर एकपटक पुरस्कृत भइसक्नुभएका स्रष्टाले पुनः बाछिटा पोस्ट गर्दा प्रस्ट रूपमा बाछिटाको मास्तिर वा मुन्तिर ’अप्रतियोगी’ भनेर उल्लेख गर्नुपर्नेछ ।
हरेक साता पुरस्कृत स्रष्टाहरूलाई साहित्यपोस्टले सम्पर्क राखेर पुरस्कार पुऱ्याउने प्रयास गर्नेछ । कुनै कारणले साहित्यपोस्टले पुरस्कृत स्रष्टालाई सम्पर्क गर्न नसकेमा पुरस्कृत स्रष्टाहरुले प्राविधिक समस्या हो भन्ने बुझेर नेपालभित्रका बाछिटाकारहरूले ९८४९०७०५७१ मा सम्पर्क गर्न हुन पनि अनुरोध गरिन्छ । त्यसैगरी विदेशमा रहनुभएका स्रष्टाहरूले ह्वाट्सएप नम्बर ९८५१०९७८८८ मा सम्पर्क गरेर पुरस्कार र थप विवरण सम्बन्धमा जानकारी लिन अनुरोध गरिन्छ ।
तेस्रो शृङ्खलाको प्रतियोगिता आजैबाट सुरू भई नेपाली समयानुसार चैत १३ गते (आइतबार) रातको ११ बजेर ५९ मिनेटसम्म रहनेछ । त्यसपछि प्राप्त बाछिछाहरूलाई प्रतियोगितामा समावेश गराइने छैन ।
बाछिटा प्रतियोगितामा सहभागी हुन सम्पूर्ण बाछिटाकारहरूमा हार्दिकता साथ अपिल गर्दछौँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

बाछिटा प्रतियोगिताको उन्नाइसौँ शृङ्खला : रश्मी, मन्दा र जानुका सर्वोत्कृष्ट

बाछिटा प्रतियोगिताको नवौँ शृङ्खला : जिज्ञासु, खनाल र लेकाली सर्वोत्कृष्ट

बाछिटा प्रतियोगिताको तेइसौँ शृङ्खला : सावित्री, उर्मिला र वन्दना सर्वोत्कृष्ट

बाछिटा प्रतियोगिताकाे तेस्रो शृङ्खला : आर्त, चेतनाथ र शोभाराम सर्वोत्कृष्ट
