कवि परिचय

सुदन खुसः (ने. सं. १०७७) सटिक र चोटिला कविता लेखनको लागि जानिन्छ । त्यसैले थोरै लेखेर पनि उनले कवितामा आफ्नो छुट्टै स्थान बनाएका छन् । उनको एक मात्र कविता–सङ्ग्रह ‘तनावंगु लागा’ (हराउँदै गएको ठाउँ, ने. सं. ११०५) प्रकाशित छ ।

पैंतिस वर्षअघि प्रकाशित ती कविता आज झनै सान्दर्भिक देखिएकोले यहाँ अनुवाद प्रस्तुत गरिएको हो । आधा शताब्दी साहित्य साधनामा बिताएका खुसः ‘झी प्रधान सिरपाः’ (ने. सं. ११००) र राष्ट्रिय प्रतिभा पुरस्कार (२०५८) बाट सम्मानित कवि व्यक्तित्व हुन् ।

काठमाडौं

सुदन खुसः

आफ्नै विश्वासले
आफैंलाई क्याच्च किचिसकेको छु, अनि
आफैंलाई छामछुम गर्दै खोज्नुपर्ने गरी
म आज कतै हराइसकेको छु ।

अभावको कुनै हूलमा च्यापिएर
सबैको तिरस्कृत पात्र भई
भोक र प्यासको तमाशा देखाउँदै
करङका हाडहरू प्रष्ट देखिने
शरीरभरि घृणा र अपमान पोतेर
ठिङ्ग उभिएको बेला
मैले आफूलाई भेट्टाएको हो ।

यसरी आफैंले आफैंलाई चिन्न नसकिँदै गएको—
जिन्दगी
भाँचिएको लौरो टेकेर
खै म आफूलाई कसरी प्रस्तुत गरूँ
विश्वासको यस संकटपूर्ण घडीमा ।

मात्र हैरान हुँदै,
छटपट छटपट छटपटाउँदै
कतिन्जेल सकिन्छ र आफूलाई डो¥याइरहन ?—
यो निस्सासिने गरी थुनिएको
काठमाडौंको क्यालेन्डरभित्र
यो गतिरुद्ध
क्यालेन्डरको काठमाडौंभित्र ।

मूल नेपालभाषामा