कृष्ण बाउसे

पल्लाघरेको बारीमा पसेर
सुन्तला चोरी खान्थेँ म
गाली पाउँथ्यौ तिमी ।

पुतलीको पछिपछि कुदेर
माथ्लाघरेको तोरीबारी सखाप पार्थेँ म
सजाय भोग्थौ तिमी / जरिवाना तिर्थ्यौ तिमी ।

तिमीले
सधैँ छातीमै टाँसेर जतनसाथ जोगाई राखेका
अमृतका दुवै पोकामा रजाइँ गर्थेँ म
माहुरीलेझैँ चारचौरास गरेर
त्यहाँ फेरि अमृत भर्थ्यौ तिमी ।

जानेरै / नजानेरै
तिम्रा नानाहरूमा फोहोर पार्थेँ म
रिसाएर चड्कन-चिउरा दिनुसाटो
मेरा गालामा चुप्प गर्थ्यौ तिमी
मेरो अनुहारमा मुस्कान छर्थ्यौ तिमी ।

आफू लुटिएर मेरो ढुकुटी भर्थ्यौ तिमी
आफू चुटिएर मेरो रक्षा गर्थ्यौ तिमी
तिम्रो अरू कुनै उद्देश्य थिएन
मरेपछि पिण्ड दिने छोरो भनेर
सधैँ मेरै भाग्यलाई मलजल गर्थ्यौ तिमी ।

कुनैबेला त्यस्तो पनि थियो –
तिम्रो तल्लोपेटलाई ब्रह्माण्ड बनाएर
तिमीलाई हुFडुल्याउँदै
अन्तरीक्षको यात्रा गर्थेँ म
धर्ती भएर मेरो प्रहार थेगिरहन्थ्यौ तिमी ।

यसरी तिमीले
सधैँ
आफैँलाईभन्दा बढ्ता मलाई माया गरिरह्यौ
मेरा चाहनाहरूलाई तिमीले
आफ्नो रगत-पसिना अर्पेर
तोरी फुलाएझैँ फुलाइरह्यौ
अन्न तुल्याएझैँ तुल्याइरह्यौ ।

तर मभने
आफ्नो बाल्यकालभरि
तिम्रा हरेक रातको निद्रा बिथोल्ने दुस्वप्न मात्र बनिरहेँ
आफू जुँगामुठे हुनासाथ
कर्तव्यबिनै अधिकार जमाउने शाशक मात्र बनिरहेँ
र बाको चोला उठेपछि त झन्
म तिम्रा अधुरा सपनाहरूसमेत बढार्ने हुरी मात्र बनिरहेँ ।

नत्र त
तिमी पक्षाघातले थलिएर ओछ्यान पर्दा
तिम्रो उपचारमा लाग्नुसाटो
धनसारको साँचो बोकेर बसेकी तिम्री बुहारीको स्वरमा स्वर मिलाएर
“मर्ने बेलामा यस्तै त हो” भन्दै
तिम्रो जिजिविषामा घातक प्रहार कसरी गर्न सक्थेँ र मैले ?
नत्र त
आङ खसेर तिमी झोक्राइबसेको देख्दा
त्यो त यो जुनीमा पदार्पण गर्ने क्रममा
आफूले नौ महीना बास गरेको घर हो भन्नेसमेत भुलेर
तिम्रो छेउ पर्नै छीःछीः दुर्दुर कसरी गर्न सक्थेँ र मैले ?
नत्र त
खोजेरै पनि मीठोमसिनो खुवाउनुपर्ने उमेरकी तिमीलाई
आफ्नै करेसाबारीमा पाकेको केराको कोसोसमेत
तिम्रो हातमै नपार्ने अपराध कसरी गर्न सक्थेँ र मैले ?
नत्र त
आफ्नै घरको घारबाट काढेको मौरीको महको एक पित्कोसमेत
तिम्रो मुखमा नझार्नेसम्मको कृतघ्नता कसरी गर्न सक्थेँ र मैले ?
नत्र त
सरकारले तिमीलाई दिएको वृद्धभत्तासमेत मुठ्याएर
मात्ने झोल र खोक्ने धुँवामा रमाउने
निकृष्ट अपराध कसरी गर्न सक्थेँ र मैले ?

मेरी आमा !
तिम्रो मृत्युपछि आज
कर्मकाण्डको निरर्थक नाटक देखाइरहेको मैले
झुक्याएर फेरि
बास गर्नसक्छु तिम्रो गर्भमा
त्ससैले
आफ्नो पाठेघरमा बास दिनुअघि
परलोकमा भेट्नासाथ
बालाई अवश्य नै पढ्न दिनू
पश्चातापको ध्वाँसोले ल्याप्चे लगाउँदै
मैले गरिदिएको यो कपुतनामा !