यकिना अगाध

यकिना अगाध

मानिसहरू
मन्दिर
गुम्बा
गिर्जाघर
मस्जिदमा छन् ।

उनीहरू भनिरहेका छन्–
हे ईश्वर !
हे प्रभु !
हे अल्लाह !
हाम्रो रक्षा गर ।
हाम्रो रक्षा गर ।

लाम लाग्नेहरूमा छन्–
काखमा बच्चा चेपेकी दुःखी आइमाईहरू
आँखा, कान, हात, खुट्टा नभएकाहरू
गरीबीले निचोरिएका साह्रै अभागी पुरुषहरू ।

धन्न !
मन्दिर, गुम्बा, गिर्जाघर र मस्जिदहरू छन्
दुःखको डढेलोले डढेका छातीहरू पिटेर रुन पाएका छन् ।

देशमा सरकार भइदिएको भए
देशमा भएको सरकारसँग विश्वास भएको भए
दुःखी, अभागीहरू
मन्दिरको ढोकामा उभिएर ईश्वर भाक्नुभन्दा
सरकारसँग भन्थे होलान्–
हे सरकार हाम्रो रक्षा गर ।
हे सरकार हाम्रो रक्षा गर ।

सरकार जो छ
ढुङ्गाको मूर्ति जति पनि दयावान् हुन सकेनन्
सरकारमाथि
ढुङ्गालाई जति पनि विश्वास गर्न सकेनन्
कस्तो लाजमर्दो कुरो त !
तर सरकारलाई केही लाज छैन
ऊ भन्छ–
यो देशमा सरकार छ ।