
चीनको जियाङ्सु प्रान्तको नानजिङ शहरमा हालै खुलेको एउटा पुस्तक पसल आन्तरिक पर्यटकहरूका लागि घुम्नै पर्ने ठाउँका रूपमा चर्चा बटुल्न थालेको छ ।
चीनको सरकारी टेलिभिजन सिजिटिएनका अनुसार पहिले यो पुस्तक पसल भएको ठाउँमा एउटा सुपर मार्केट थियो । सुपर मार्केटलाई हटाएर अहिले यो बहुतल्ले भवनमा पुस्तक मात्र बेचिने ठाउँका रूपमा विकसित गरिएको छ ।
केएएम बुक सिटी नाम राखिएको यो भवनको डिजाइन निकै आकर्षक भएकाले यहाँ बालबालिका लिएर आउने अभिभावकहरूको घुइँचो लाग्न थालेको छ ।
चार तल्ले भवनको १६ हजार स्क्वायर फिटमा किताबै मात्र छैनन्, त्यहाँ क्याफे पनि छ र आरामसँग किनिएका किताब बसेर पढ्न सकिन्छ ।
पछिल्लो समय चीनमा पुस्तक पसलको संख्या निकै बढ्न थालेको छ । सन् २०२० मा मात्र चीनभरि ४ हजार ६१ वटा ठूला पुस्तक पसलहरू खुलेका छन् । राजधानी बेइजिङमा मात्र ६३९ वटा पसलहरू कोभिडको महामारीका बीच खुलेका थिए ।
सन् २०१८ मा गरिएको एउटा सर्भेमा चीनमा हरेक वर्ष ४ लाख ७० हजारको हाराहारीमा पुस्तकहरू प्रकाशन हुन्छन् । त्यति धेरै शीर्षकको पुस्तक छापिने चीन भएको धेरै वर्ष भएको छैन । यसअघि अमेरिकाले सबैभन्दा बढी शीर्षकका पुस्तकहरू प्रकाशन गर्ने गर्थ्यो । दोस्रो नम्बरमा अमेरिका छ । उसले साढे तीन लाख हाराहारी पुस्तक प्रकाशन गर्ने गर्छ ।
तेस्रो नम्बरमा बेलायत, चौथोमा फ्रान्स, पाँचौँमा जर्मनी पर्छन् ।
ब्राजिल, जापान, स्पेन, इटाली र दसौँ नम्बरमा दक्षिण कोरिया सबैभन्दा बढी शीर्षकका पुस्तक छाप्ने मुलुकहरू पर्छन् । कोरियाले ४५ हजारभन्दा बढी शीर्षकका पुस्तक सन् २०१८ मा प्रकाशन गरेको थियो ।
कोभिड १९ को महामारीयता भने पुस्तक प्रकाशन घटेको थियो । यही अवधिमा मानिसहरूको पुस्तक अध्ययन गर्ने बानीमा निकै सुधार भएका कारण चीनमा आकर्षक पुस्तक पसलहरूमा लगानी गरिएको केहीको धारणा छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

