परिच्छिद -१३

त्यही रात रोस्तोभ आफ्नो घोडसेनाको दलसँग बग्रातिओनको सेनाको अग्रिम सैनिक चौकीहरूमा ड्युटी दिइरहेको थियो । उसका हुस्सार सैनिक जोडाजोडामा बाँडिएर यिनै चौकीहरूका बीचमा नियुक्त थिए । घोडा चढेर ऊ स्वयम्‌ यी चौकीहरूको एक छेउबाट अर्को छेउसम्म ओहोरदोहोर गर्दै निद्रादेवीमाथि विजय प्राप्त गर्ने प्रयास गरिरहेको थियो । उसको पछाडिपट्टि कुहिरोमा मधुरो किसिमले बलिरहेको हाम्रो सेनाको आगोको धुनिको विशाल थलो देखिन्थ्यो । उसको अगाडितिर भने धुँधी लागेर निष्पट्ट अँध्यारो थियो । कृहिरोमा ढाकिएको त्यो दूरीलाई रोस्तोभले अलिकति पनि ठम्याउन सक्तैनथ्यो । घरी अलिअलि उज्यालो देखिन्थ्यो । घरी पूरै अँध्यारो हुन्थ्यो । घरी हल्काहल्का प्रकाश झल्केको देखिन्थ्यो, जुन ठाउँमा दुस्मन बसेको हुनु पर्थ्यो र घरि उसलाई यस्तो लाग्थ्यो कि उसका आँखामा नै केही चम्किरहेको छ । जसै उसका आँखा बन्द हुन्थे, उसका कल्पनामा घरी सम्राट्‌, घरी देनिसोभ र घरी मास्कोका स्मृतिचित्रहरू नाच्थे । अनि
हत्तपत्त, जब आँखा खोल्थ्यो, उसले आफ्नोनजिकै आफूले चढेको घोडाको टाउको र कान देख्थ्यो । घरी जब ऊ छ पाइला जति उनीहरूको नजिक पुग्थ्यो, उसले काला हुस्सारहरूको अनुहार देख्थ्यो तर टाढातिर भने कूहिरोले ढाकिएको उही निष्पट्ट अँध्यारो यथावत्‌ थियो । आखिर यस्तो हुन नसक्ने कुरा के छ र ? यस्तो हुन सम्भव छ,” रोस्तोभ सोचिरहेको थियो, “सम्राट्ले मलाई भेट्ने छन्‌ र अन्य अफिसरलाई जस्तै मलाई पनि आदेश दिने छन्‌, उनले भन्ने छन्‌- “जार, र त्यहाँ के छ पत्ता लगाएर आऊ ।” यस्ता धेरै कथा सुनिएको छ- कि उनले संयोगवस कुनै अफिसरलाई भेटे अनि उसलाई आफ्नो नजिकका मान्छेहरूको नामावलीमा समावेश गरे । हरे, उनले मलाई पनि आफ्नो नजिकको मान्छेको हैसियतमा ठाउँ दिए कस्तो हुन्थ्यो ? अहो, म उनको सुरक्षामा कसरी तल्लीन भएर खट्ने थिएँ, मैले उनीसँग साँचो कुरा कसरी बयान गर्थे ? उनलाई धोका दिनेहरूको मैले, कसरी भण्डाफोर गरिदिने थिएँ ?” र सम्राट्प्रति आफ्नो प्रेम र निष्ठालाई अरू स्पष्टरूप दिनका लागि उसले सम्राट्को एउटा शत्रु वा एउटा धोकेवाज जर्मनेलीको कल्पना गर्यो, जसलाई उसले खुसीसाथ मारिदिने मात्र होइन- सम्राट्कै आँखाअगाडि उसको मुखमा बलियो मुक्का पनि हान्ने थियो । अचानक कतै टाढाबाट आएको एउटा आवाजले उसलाई जगाइदियो । ऊ झसङ्ग भयो र आँखा खोल्यो ।

“म चौकीमा हामीलाई चिन्ने गोप्य शब्द- ओल्मुज ! असाध्यै दुःखको कुरा यो छ कि भोलि हाम्रो स्क्वाड्रन जगेडामा रहने छ,” उसले सोच्यो । म लडाइँमा भाग लिन जान पाउँ भनेर अनुरोध गर्छु । सम्राट्लाई प्रत्यक्ष भेट्न पाउने यही नै मेरो लागि एक मात्र अवसर हो । अब यहाँको ड्युटी पनि चाँडै नै सकिने छ । “म एक पटक फेरि चौकीहरूको निरीक्षण गरेर आउँछु र आउनेबित्तिकै भोलि लडाइँमा सामेल हुन पाऊँ भनेर जर्नेलसँग गएर निवेदन गर्छु,” ऊ काठी कसेको घोडामाथि चढ्यो । र पक पटक फेरि हुस्सारहरूको निरीक्षण गरेर आउने विचारले घोडा दगुरायो । उसलाई अलि उज्यालो भएजस्तो लाग्यो । बायाँतिरको ओरालोमा उसले प्रकाश देख्यो र त्यसको अगाडि पर्खालजस्तो एउटा ठाडो र कालो ढिस्को देख्यो । त्यस ढिस्कोमा एउटा सेतो टाटो थियो, जसलाई रोस्तोभले किमार्थ बुझ्न सकेन । यो चन्द्रमाको हल्का प्रकाशले टल्किएको बनमार्ग हो वा नपग्लेको हिउँको डल्लो हो वा केही सेता घर हुन्‌ ? उसलाई यस्तो पनि लाग्यो कि त्यस टाटोमा केही चिज चलफिर गरिरहेछ । यो पक्कै पनि हिउँ नै हुनुपर्छ,” रोस्तोभले सोच्यो । “त्यो टाटो…. यो पनि रमाइलै कुरा भयो ।”

“मेरी प्यारी बहिनी, नताशा, तिमी कालाकाला आँखाकी धनी छौँ, मैले सम्राट्लाई भेटेँ भनेको सुन्यौ भने तिमी कति खुसी हौली ! प्रिय बहिनी नताशा….!” ए हजूर, घोडालाई दाहिनेतिर घुमाउनु पर्यो, यतातिर वनजङ्गल छ,” निद्रामा नै घोडा चढेर अगाडि बढिरहेको रोस्तोभलाई बाटोमा एउटा हुस्सारले भन्यो । रोस्तोभले घोडाको जग्गरसम्म झुकेको आफ्नो टाउको उठायो र उक्त हुस्सारनजिक पुगेपछि घोडा रोक्यो ऊ यस बखत आफ्नो वाल्यकालका साथै तन्नेरी अवस्थाको जस्तो निद्रामा परेर कायल थियो । “होइन, मैले के सोचिरहेको थिएँ हँ ?- मैले त्यो कुरा बिर्सनु हुँदैन । ए, मैले सम्राट्सँग कसरी कुराको उठान गर्ने भनेर,… त्यही होइन ? होइन, त्यो होइन, यो त भोलि हुने कुरा हो । बल्ल सम्झेँ… नताशा होइन, तमासा – नताशा – तमासा । कस्तो तमासा ? हुस्सारहरूको ? तर ओहो, त्यो जुँगे-मुठे हुस्सार त त्वर्सकाया सडकमा हिँडिरहेको थियो । मैले त उसलाई गुर्येभको घरअगाडि उभिइरहेको होला भन्ने पो ठानेको थिएँ । विचरा बुढा गुर्येभ । तर भने साह्रै असल मान्छे हो है । छोडौँ । यी सब बेकारका कुरा हुन्‌ । मुख्य कुरो त के छ भने- अहिले सम्राट् यहाँ’छन्‌ । उनले मतर्फ कसरी हेरिरहेका थिए र मसँग उनले के भन्न खोजिरहेका थिए, त्यो नै मुख्य कुरो हो । तर उनले यस्तो गर्ने साहस नै गर्न सकेनन्‌ । त्यस्तो होइन, त्यस्तो गर्ने मेरो नै साहस भएन । यी सबै कुरालाई पनि फाल्तु कुरा मानेर कुरा गर्दै नगरौँ । तर सबभन्दा पहिलो कुरा त यो हो कि जुन विषयलाई महत्त्वपूर्ण ठानेर म सोचिरहेछु- म त्यो बिर्सन नसकूँ । हो… नताशा । ने… ता…शा… त… मा…शा… । हो, र हो नै ।” त्यसपछि फेरि उसको टाउको घोडाको जग्गरमाथि घोप्ट्यो । उसलाई अचानक आफूमाथि कतैबाट गोली वर्षजस्तो लाग्यो । “के भयो हो? के भयो !? यो के भएको हो? काटेर टुक्राटुक्रा पारिदेउ सबैलाई । यो के भएको हो ?” निद्रा खुलेपछि पनि रोस्तोभले भन्यो । उसले आँखा खोल्नासाथ जहाँनिर दुस्मन थियो, रोस्तोभले आफ्नोअगाडि धेरैबेरसम्म हजारौँ मान्छेहरूको ठूल्ठूलो स्वर गुन्जिरहेको सुन्यो । यो कोलाहल सुनेर
ऊ र उनिरका हुस्सारहरू चढेका घ्रोडाहरूले पनि कान ठाडाठाडा पारे । त्यो आवाज आइरहेको ठाउँमा आगोको एउटा लप्को बल्यो र फेरि निभ्यो । त्यसपछि फेरि अर्को आगो बल्यो र पहाडमा अवस्थित फ्रान्सेली सेनाको पूरा रेखामा आगो बल्यो र त्यो हल्लाखल्ला पनि झन्‌भन्दा झन्‌ ठूलो हुँदै गयो । रोस्तोभले फ्रान्सेली भाषाका शब्दहरू सुनिरहेको थियो तर बुझ्न सकिरहेको थिएन । धेरै मान्छेहरूले निकालेको आवाजको कोलाहल ज्यादै ठूलो थियो । उसले खाली “अहहहह” र “रररर” को ध्वनि मात्र सुन्थ्यो ।

“के हो यस्तो स्वर ? तिमीले यसको अर्थ बुझ्न सक्छौ ? आफ्नोछेउमा उभिएको हुस्सारसँग रोस्तोभले सोध्यो । यो त पक्कै पनि दुस्मनको क्याम्पबाट आएको हुनुपर्छ ?” हुस्सारले कुनै जवाफ दिएन ।

“तिमीले यो आवाज सुनेकै छैनौ कि क्या हो ?” धेरै बेरसम्म जवाफ पर्खेपछि रोस्तोभले फेरि सोध्यो ।

“के भन्न सकिन्छ र हजूर,” मन नलागी नलागी हुस्सारले जवाफ दियो ।

“जुन दिशाबाट आवाज आइरहेको छ, त्यो त दुस्मनकै इलाका हुनु पर्छ,” रोस्तोभले फेरि दोहोर्यायो ।

“त्यो हुन पनि सक्छ र त्यो नहुन पनि सक्छ,” हुस्सारले भन्यो । “रातीको करो पर्यो । कत्ति पनि नचल्मलाइकन उभिराख्‌,” हुस्सारले घोडालाई हप्कायो ।

रोस्तोभको घोडा पनि छटपटाइरहेको थियो । त्यो आवाज सुनेर र उज्यालो देखेर घोडा टापले भुइँ उधिन्ने र कान फटफटाउँदै नाकका फोद्रा फुलाएर फ्वाँफ्वाँ गर्न लाग्यो । आवाज भन्‌ चर्को हुँदै गयो र यस्तो भयानक गर्जनको रूप लियो कि कैयौँ हजार मान्छेहरूले मात्र त्यस्तो कोलाहल मचाउन सम्भव हुन्थ्यो । उज्यालो प्रकाशको घनत्त्व झन्‌ टाढाटाढासम्म फैलिएर गयो । र अब यसमा कुनै सन्देह थिएन कि त्यो प्रकाश फ्रान्सेली सेना रेखाको साथसाथै फैलिरहेको थियो । रोस्तोभको निद्रा अब उडेर गयो । दुस्मनका सेनाको खुसीयाली र उल्लासित आवाजले उसलाई उत्तेजित गराएको थियो ।
“सम्राट्‌ जिन्दावाद, सम्राट्‌ जिन्दावाद ” अब उसले राम्रैसँग सुनिरहेको थियो ।

“यो आवाज त धेरै टाढाबाट आएको छैन, दुस्मन नदीको पारिपट्टि नै हुनुपर्छ,” रोस्तोभले आफ्नानजिक उभिएको हुस्सारसँग परामर्श गर्यो ।

हुस्सारले कुनै जवाफ दिएन, लामो सास काढ्यो र रिसाउँदै खोक्यो । हुस्मारहरूतिरबाट डुल्की चालमा आइरहेको घोडाको टापको आवाज सुनियो र त्यत्तिकैमा कुहिरो लागेको रातको त्यो अँध्यारोमा अचानक ठूलो हात्तीको जस्तो हुस्सार सार्जेन्टको आकृति देखियो ।

“हजुर जर्नेलहरू आइरहनु भा’छ,” सार्जेन्टले रोस्तोभसँग आएर भन्यो । रोस्तोभले अझसम्म पनि आगो र हल्ला भएतिर ध्यान केन्द्रित गर्दै सार्जेन्टसँग अग्रिम रेखातिरबाट आइरहेका केही घोडसवार भएतर्फ आफ्नो घोडा बढाएर लग्यो । उनीहरूमध्ये एक जना सेतो घोडामा चढेको थियो । आफ्ना-आफ्ना सहायक अफिसरहरूसँग राजकुमार बग्रातिओन र राजकुमार दोल्गोरुकोभ शत्रुको शिविरमा अचम्मसँग बलेको आगो र हल्लाखल्लाको घटना निरीक्षण गर्न आएका थिए । रोस्तोभ बग्रातिओननिर गयो र उसको सामु प्रतिवेदन पेश गर्यो, त्यसपछि सहायक अफिसरहरूसँग सामेल भयो र जर्नेलहरूको कुरा सुन्न लाग्यो ।

“विश्वास गर्नुस्‌, राजकुमार ! दोल्गोरूकोभ, राजकुमार बग्रातिओनसँग कुरा गर्दै थियो, “यो सब दुस्मनको चलाखीबाहेक अरू केही होइन- दुस्मन पछाडि हटिसकेको छ र हामीहरूलाई धोका दिनको लागि मात्र उसले आफ्नो पृष्ठरक्षणस्थलमा आगो बाल्न र ठूल्ठूलो स्वरमा हल्ला गर्न आदेश दिएको छ ।”

“यस्तो नहुन पनि सक्छ,” बग्रातिओनले जवाफ दियो, “आज साँझतिर मैले तिनीहरूलाई उ त्यो ढिस्कोतिर देखेको थिएँ । तिनीहरू त्यहाँबाट पछाडि हटेको भए त त्यहाँबाट पनि हिँडिसकेको हुनु पर्थ्यो, अफिसरज्यू,” बग्रातिओनले रोस्तोभलाई भन्यो, “भिडन्तेहरूको चौकी के अझ पनि कायमै छन्‌ ?”

“साँझसम्म त कायमै थिए हजूर, तर अहिलेको अवस्थाबारे म यसै भन्न सक्तिनँ । म केही हुस्सारहरू साथमा लिएर हेर्न जाउँ त ?” रोस्तोभले जवाफ दियो ।

बग्रातिओन अन्कनायो र जवाफस्वरूप केही भन्नुभन्दा कृहिरोमा रोस्तोभको अनुहार एकदम ध्यानपूर्वक हेर्ने प्रयास गर्यो ।

एकछिन चुप्‌ लागेर उसले भन्यो, “हुन्छ, हेरेर आऊ ।” “जो हुकुम, हजूर ।”

रोस्तोभले घोडालाई एडी हान्यो, सार्जेन्ट फेदचेन्को र अरू दुई जना अफिसरलाई बोलाएर आफूसँग जाने आदेश दियो र हल्लाखल्ला भइरहेको ठाउँतिर डुल्की चालमा घोडा बढायो । रोस्तोभलाई तीन जना हुस्सारहरूका साथ त्यो रहस्यपूर्ण र कुहिरोले ढाकेको खतरनाक स्थलतिर, जहाँ अहिलेसम्म कोही गएको थिएन, एक्लै जानु उत्तेजनापूर्ण काम लागिरहेको थियो । बग्रातिओनले पहाडको टुप्पाबाट चिच्याउँदै नदीभन्दा अगाडि बढेर नजानू भन्यो तर उसका कुरा नसुनेजस्तो गर्दै रोस्तोभ एकछिन पनि नरोकिएर लगातार अगाडि बढ्दै गयो । ऊ झाडीहरूलाई, रुख र खोल्सा कन्दराहरूलाई मानिस ठान्दै र आफ्नो गल्ती महसुस गर्दै अगाडि बढिरहेको थियो । डुल्की चालमा, जब ऊ पहाडको फेदीमा पुग्यो, उसले आगोसागो केही देखेन, न हाम्रो न दुस्मनको । तर उसले फ्रान्सेलीहरू ठूल्ठूलो स्वरमा कराएका हल्ला भने स्पष्ट रूपमा सुन्यो । उपत्यकामा उसले आफ्ना आँखाअगाडि नदी बगेजस्तो कुनै चिज देख्यो र नजिकै पुग्दा त्यो त एउटा सडक रहेछ । ऊ बाटैबाटो अगाडि बढ्ने वा बाटो नाघेर अँध्यारोमा लपेटिएको समथल हुँदै पहाडतिर लाग्ने भनी असमन्जसमा पर्यो र केहीछिन घोडालाई रोकिरह्यो । कुहिरोमा कमसेकम सेतो-सेतो देखिने बाटोमा हिँडनु सुरक्षाका दृष्टिले धेरै राम्रो थियो किनभने त्यहाँ कुनै मानिस आयो भने सजिलैसँग देख्न सकिन्थ्यो । “मेरो पछिपछि आओ” उसले सडक काट्दै घोडा त्यतातिर दौडायो, जतातिर केही पहिले फ्रान्सेलीहरूका चौकी थिए ।

“हजूर, हेर्नुस्‌, ऊ त्यहाँ छ,” ऊपछाडिको एउटा हुस्सार चिच्यायो । र कुहिरोमा प्रकट भएको त्यो कालो वस्तु के हो भनेर ठम्याउन नभ्याउँदै, एउटा झिल्को झिलिक्क झल्कियो, बन्दुकहरू पडकेको आवाज सुनियो र कानै चिरेर कुहिरोको माझबाट एउटा गोली सुइँय गर्दै करूण आवाजका साथ माथिसम्म पुग्यो । अर्को बन्दुक पढ्किन सकेन तर त्यो बन्दुक चलाइसकेको हुँदा आगोका झिल्का भने निस्किए । रोस्तोभले घोडा फर्काएर दगुराउँदै पछाडि लग्यो । त्यही बीच अरू चार गोली चले र विभिन्न किसिमको आवाज निकाल्दै कुहिरोमा कतै बिलाए । रोस्तोभले घोडाको चाल सुस्त गराउँदै एक-एक कदम अगाडि बढायो । उसको घोडा पनि गोलीको आवाजले उत्तेजित भएको थियो । “अरू चलाऊ, गोली अरू चलाक,” उसको आत्माले उल्लासपूर्ण आवाजमा भनिरहेको थियो तर अरू गोली चलेन ।

बग्रातिओनको नजिक पुग्ने बेला मात्र रोस्तोभले घोडा फेरि दौडायो र हातले सलामी दिँदै जर्नेलसमक्ष पुग्यो ।

दोल्गोरुकोभ, फ्रान्सेलीहरू पछाडि हटिसकेका छन्‌ र हामीलाई झुक्याउन मात्र आगो बालिरहेका छन्‌ भन्दै अझ पनि जिद्दी गरिरहेको थियो ।

“यसबाट के प्रमाणित हुन्छ ?” रोस्तोभ आफूसँग आइपुग्दा दोल्गोरुकोभ भन्दै थियो ।

“उनीहरू पछाडि हटिसकेका छन्‌ र चौकीहरू मात्र छोडेका छन्‌ ।”

“राजकुमार, उनीहरू पूर्ण सङ्ख्यामा गएका छैनन्‌ भन्ने कुरा स्पष्ट छ,” बग्रातिओनले भन्यो । “भोलि बिहानसम्म पर्खेर हेरौँ, त्यतिन्जेलसम्म सबै कुरा राम्ररी थाहा हुन्छ ।”

पहाडमा दुस्मनको चौकी अझ पनि त्यही ठाउँमा छ, जहाँ हिजो थियो, हजूर, हातले सलाम मार्दै र अगाडि झुक्दै रोस्तोभले प्रतिवेदन पेश गर्यो । उ खास गरी गोलीहरूको आवाजद्वारा र आफ्नो घोडा यात्राबाट उत्पन्न भएको खुसीको मुस्कान दबाउन असमर्थ भएको थियो ।

“ठीक, असाध्यै राम्रो,” बग्रातिओनले भन्यो । “तिमीलाई धन्यवाद छ, अफिसर ।”

“हजूर,” रोस्तोभले भन्यो, “एउटा अनुरोध गर्ने अनुमति पाउँछु कि?”

“के हो र ?”

“भोलि हाम्रो स्क्वाड्रन जगेडामा रहने छ । त्यसैले म पहिलो स्क्वाड्नमा सामेल हुन पाउँ भनी हजूरसँग प्रार्थना गर्दछु ।”

“तिम्रो नाम के हो ?”

“काउन्ट रोस्तोभ ।”

“धेरै राम्रो, मसँग ड्युटीमा बस ।”

“काउन्ट इल्या रोस्तोभका छोरा हौ ?” दोल्गोरूकोभले सोध्यो । तर रोस्तोभले जवाफ दिएन ।

“त हजूर, म ढुक्क भएर बसूँ ?”

“हुन्छ, मैले आदेश दिन्छु ।”

“हुन सक्छ भोलि कुनै सन्देश दिनको लागि मलाई सम्राट्सँग पठाइन्छ कि ?” रोस्तोभले सोध्यो । “भगवान्‌को जो कृपा ।”

दुस्मनको सेनामा यसकारण हल्ला भइरहेको थियो र आगो बलिरहेथ्यो, जुनबेला फौजका सामु नेपोलियनको सन्देश पढेर सुनाइँदै थियो, त्यही बेला ऊ स्वयम्‌ घोडा चढेर आफ्नो सेनाबासको वरिपरि घुमिरहेको थियो । सम्राट्लाई देखेर सिपाहीहरूले परालका मुठा बालेर “सम्राट् जिन्दावाद” भन्दै उनको पछिपछि दगुर्न लागे । नेपोलियनको सन्देश निम्नबमोजिम थियो :

“सिपाहीहरू हो ! रसियाली सेना उल्ममा नष्ट भएका अष्ट्रियाको सेनाको बदला लिन तिमीहरूका विरुद्ध भिड्न अगाडि बढिरहेको छ । त्यो त्यही बटालियन हो, जसको तिमीहरूले होलाबुननजिक ढाड्‌ सेकेका थियौ र लगातार यहाँसम्म पछि लागिरहेका छौ । हामीले ओगटेको ठाउँ धेरै राम्रो छ । दायाँतिरबाट मलाई घेर्न अगाडि बढ्दा उनीहरूले आफ्नो पार्श्वस्थान असुरक्षित छोड्ने छन्‌ । सिपाहीहरू हो ! म आफैले तिमीहरूको बटालियन सञ्चालन गर्ने छु । तिमीहरूले आफ्नो सामान्य वीरता प्रदर्शन गरेर दुस्मनको पंक्तिमा अन्यौल र भाँडभैलो मच्चाइदियौ भने म गोलावारी भइरहेको ठाउँको सीमाबाट फुत्कने छु । तर हाम्रो विजय हुने विषयमा अलिकति पनि शङ्का उब्ज्यो भने तिमीहरूले आफ्नो सम्राट्लाई सबभन्दा अगाडि डटेर, दुस्मनको सामना गरिरहेको पाउने छौ किनभने त्यस दिन हामीले विजय प्राप्त गर्ने विषयमा कुनै शङ्का रहने छैन, खास गरेर त्यस दिन, जुन दिन फ्रान्सेली पैदल सेनाको सम्मानको प्रश्न उपस्थित हुन्छ, जो हाम्रो राष्ट्रिय गौरवको लागि अति आवश्यक छ ।

घाइतेहरूलाई लैजाने बहानामा आफ्नो लस्करमा कुनै किसिमको अवरोध उत्पन्न नगर्नू । तिमीहरू सबै हाम्रो राष्ट्रप्रति यति धेरै घृणा गर्ने डइङ्गलैण्डका यी भाडाका टट्टुहरूमाथि अवश्य पनि विजय प्राप्त गर्ने छौँ भन्ने भावनाले ओतप्रोत हुनु पर्दछ । यही विजयका साथ हाम्रो सम्पूर्ण युद्वअभियान समाप्त हुनेछ र हामी जाडो याममा बस्ने आफ्नो क्वाटरमा फर्कन सक्ने छौँ, जहाँ यस बखत फ्रान्समा तयार नयाँ फ्रान्सेली सेना हामीसँग मिल्नेछन्‌ र त्यति बेला मैले जुन सन्धि गर्नेछु, त्यो मेरा जनताको, तिमीहरूको र मेरो प्रतिष्ठाअनुरूप हुनेछ ।