शशि शेखर

‘के साहित्य मर्दैछ ?’

शशि शेखर

यो प्रश्न म वर्षौंदेखि सुन्दै आइरहेको छु र हरेक पटक उल्टै प्रतिप्रश्न गरेको छु, ‘लौ ! साहित्य कसरी मर्न सक्छ ? जे मर्छ, त्यो साहित्य होइन ।’

एउटा उदाहरण दिन्छु । भारतीय पद्य परम्परामा राम यस्त अजर–अमर–अविनाशी चरित्र हो कि, उनीमाथि नलेखीकन कसैले महाकविको दर्जा पाउँदैन थियो । त्यसैले सदियौँसम्म कयौँ भाषामा कविहरुले राममाथि लेख्दै आए ।

उनीमाथि यति धेरै लेखियो कि, यति विविध किसिमले लेखियो कि, उनको व्यक्तित्व नै स्वयंमा महाकाव्य बन्न पुग्यो।

भारतीय प्रख्यात साहित्यकार मैथिलीशरण गुप्तले यत्तिकै भनेका होइनन्, ‘राम तिम्रो चरित्र स्वयं काव्य हो । तिमीबारे लेख्दै गर्दा कोही कवि बन्न पुग्यो, त्यो सहज सम्भाव्य नै हो ।’

विश्व इतिहासमा राम मात्रै एक्ला चामत्कारिक व्यक्तित्व भने होइनन् । कृष्ण, जिसस, मरियम, शिव र अन्य कयौँ यस्ता मिथकीय चरित्र छन्, तिनलाई फेला पारेर आख्यान नै अमर भए ।

प्रश्न उठ्छ, धार्मिक चरित्रमा मात्र यति धेरै लेखिनु र लेखिरहन सकिन्छ ? बाहिरी रुपमा हेर्दा त त्यस्तै लाग्छ । तर गहिराईमा जाने हो भने थाहा हुन्छ, ती चरित्रहरूलाई त्यो मुकामसम्म पु¥याउने श्रेय साहित्यलाई मात्र जान्छ । ती चरित्र कुनै बेला जन्मिए होलान् । तिनले अरुभन्दा पृथक् काम गरेर आफूलाई स्थापित गरे होलान्, पुरुषार्थ गरे होलान् । तिनको कृतित्वमा कुनै आदिकविको दृष्टि पुग्यो होला र त्यहीँबाट पुरुषार्थ थप्ने काम भइरह्यो होला । यस्तो नहुँदो हो त, वाल्मीकि रामायणका चरित्रहरूले ‘श्रीरामचरितमानस’सम्म आउँदाआउँदै धरोदात्तताको चोला धारण गर्दैनथ्यो होला !

यदि तपार्इं ‘श्रीरामचरितमानस’ र आजका अमीश त्रिपाठीको ‘इक्ष्वाकुका राजवंश’का पाना पल्टाएर हेर्नुभयो भने प्रस्टै हुन्छ ।
राम राजपुत्रबाट जननायकसम्म यात्रा हरेक पटक तय गर्छन् तर प्रत्येक पटक उनको चाल, चरित्र र अनुहार केहीकेही बदलिन्छ ।

समय, काल र समाजको असर तिनमा पनि पर्छ, त्यसले छाप छोड्छ । त्यस्तो नहुँदो हो त, हिन्दी भाषी क्षेत्रमा जन्मिएका दुई कथाकारले एउटै पिँढीको अन्तरालमा रघुवंशलाई दुई बेग्लाबेग्लै दृष्टिले हेर्दैनथे होला ।

मैले यहाँ नरेन्द्र कोहली रअमीश त्रिपाठीको चर्चा गर्दैछु । दुवैले रामायणमा आधारित रहेर प्रख्यात उपन्यास शृङ्खला बेग्लाबेग्लै भावभूमिमा तयार पारे ।

यो पनि ध्यान दिनुहोला, साहित्य सर्जकहरूको घरानाले केही नायकहरूमाथि लेखिएकै भरमा प्रख्याति हासिल गरेका होइनन् । प्रतिनायकहरूले पनि लेखक तथा पाठकको ध्यान आकृष्ट गरेका छन् ।

पछिल्लो समय आन्द नीलकण्ठनको ‘असुर’ पढ्दै गर्दा म कयौँ पटक रोएँ । रामलाई नायक मान्ने मजस्तो व्यक्तिले आफ्नो जीवनको साढे पाँच दशक बाँचेपछि त्यो रावणका लागि आँशु पुछ्दै थियो, जुन रावणलाई हरेक दसैँमा दहन गर्दा हर्षनाद गर्नु संस्कारमै थियो ।

यही नै त हो साहित्य !

सधैँ बगिरहनु, कयौँ नदीनालालाई आफूमा जोड्नु र अन्ततः आफैँ मानवताको अनश्वर सागरप्रति समर्पित हुनु !

यही हो साहित्य ।

के उसो भए, साहित्यकार अमर हुन्छन् ? साहित्य चाहिँ हुँदैनन् ? म कहिल्यै तर्कशास्त्रको विद्यार्थी रहिनँ तर यति त जान्दछु, जुन कुराले मानिसको हृदय झङ्कृत पार्न सक्यो, तिनले जागृत गर्न सक्यो, हौसला दिन सक्यो, त्यही नै साहित्य हो । त्यही साहित्य अमर बन्यो ।

एक पटक तपाईं रामको धीरोदात्तताप्रति भावुक हुनुहुन्छ र अर्को पटक रावणको चरित्रले तपाईंको परेला भिजाउँछ र हरेक पटक तपाईंलाई त्यो चरित्रले उद्वेलित पार्छ भने पनि त्यसले केही फरक पार्दैन ।

जर्ज बर्नार्ड शअले यो अवस्था देख्दा हुन् त, शायद यसैलाई ‘साहित्यको विरोधाभाष’ भनेर बिदा माग्दा हुन् ।

यहाँ सोच्नुपर्ने कुरा के छ भने, वाल्मीकि अथवा होमरको नजरमा कुनै ‘टार्गेट रिडर’ अथवा ‘अडियन्स’ थिएनन् । यतिबेला भने साहित्य लेख्दै गर्दा नयाँ पिँढीले त्यो ख्याल गर्न थालेको छ ।
त्यो बेलाका कविलाई रचनाकर्म जीविकोपार्जन थिएन शायद । अब त लाखौँको जागिर छाडेर मानिसहरू लेखक हुन थाल्दैछन् । उनीहरूले ‘जनता’को रुचिको चासो लिएनन् भने सम्भवतः बर्बाद हुनेछन् । यही कुरा मलाई केही डरलाग्दो लाग्छ तर साहित्य र मानवताको कालातीत सम्बन्धमा विश्वास चाहिँ छ ।

(शशि शेखर भारतको हिन्दी अखबार ‘हिन्दुस्तान’का प्रधान सम्पादक हुन् । ‘कादम्बिनी’ मासिकको सन् २०१५ को डिसेम्बर अङ्कमा प्रकाशित उनको सम्पादकीय प्रथम वचनमा प्रकाशित ‘जो मर जाए, साहित्य नहीं’को भावानुवाद ।)