१.
पाटीमा लेख्दै सिकेका ती अक्षर साउँ कहाँ भुल्न सक्छु
बाबा आमाले बोलाउने सुन्दर नाउँ कहाँ भुल्न सक्छु
सुख सयलले भरिपूर्ण स्वर्गकै टुक्रामा लगेर राखे पनि
आफू जन्मेको हुर्केको त्यो मेरो ठाउँ कहाँ भुल्न सक्छु।

२.
मेची-काली, सगरमाथा दुई नजरमा बसेका छन्
तराई, पहाड,हिमाल सबले यही मुटु कसेका छन्
देशभक्ति छ, छैन ? के परीक्षा लिन्छौ तिमी मेरो
देशलाई दुख्दा हरेक पल्ट मेरा आँशु झरेका छन्।

३.
वैँश लुट्दा फकाई फकाई नोट दिने हजुर
पछि फेरि समाज अघि खोट दिने हजुर
भुलुँ भन्दा पनि त कसरी भुल्न सक्छु
जानी जानी चोट माथि चोट दिने हजुर।

४.
कोसिस गर्दैछु जोगाउन शाख बिर्सनै सक्दिनँ
सम्झना आउँछ लाखौँ लाख बिर्सनै सक्दिनँ
मायाँ गर्ने नाताहरू त यहाँ कति भेटियो कति
तर पनि त्यो आमाको काख बिर्सनै सक्दिनँ।

५.
अमिलो छ कि गुलियो दानो कसरी छुट्याउने
मान्छे उही त हो ठूलो, सानो कसरी छुट्याउने
सधैँभरि जिउनका लागि घरभित्रै लड्नु पर्छ
यहाँ को आफ्नो को बिरानो कसरी छुट्याउने?

६.
क्षितिजको समतल पनि डाँडो हुन सक्छ
नजर बसेकै फूल छेउमा काँडो हुन सक्छ
प्रेम दिवस त हरेक साल आउँछ ए हजुर
बिना सुझबुझ हतार गरे घाँडो हुन सक्छ।

७.
के गर्नु सबैको यस्तै छ रीति सुरु भै हाल्छ
बनाएकै छन् चारैतिर बेथिति सुरु भै हाल्छ
चियापसल, चोकमा दुई, चार जम्मा भयो कि
नबुझे पनि टुप्पोफेद राजनीति सुरु भै हाल्छ।

८.
न त हाँस्न सक्छु न त रुन सक्छु तिमीसँगै
नदेखेका तिम्रा सपना छुन सक्छु तिमीसँगै
हिँड्ने बाटाहरू अलग भएर होला जिन्दगीको
चाहेर पनि कहाँ म अब हुन सक्छु तिमीसँगै।

९.
कते जान नपर्ने रहेछ यहाँ तिर्न गुनका लागि
चिने त सामुन्ने नै छन् भगवान छुनका लागि
हेर्नुस् आफू मेटिएर सन्तानको मुख हेर्ने आमा
सानै कुरा नै काफी हुन्छ खुसी हुनका लागि।

१०.
कस्तो रहेछ कुन्नी नियति मुग्लानमै बित्छ
पोले पनि छाती भत्भती मुग्लानमै बित्छ
विदेसिदाको पीडा युवाको बुझिदिने कसले
जसको रमाउने समय जति मुग्लानमै बित्छ

 

बिराटनगर-५