साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

ठूलो खसीको मासु

कथा

कमलाको घर वरिपरि जेजति थिए सबै मत्वालीका घरहरू थिए । वरिपरि भने पनि एउटा घरबाट अर्को घरसम्म पुग्न दसपन्ध्र मिनट वा त्योभन्दा बढी पनि लाग्थ्यो । त्यति हुँदाहुँदै पनि आइजाइ प्रसस्तै थियो । दुरी निकै भए पनि एक घरले अर्कोलाई गरेको सरसहयोगले नै जीवनस्तर चलिरहेको थियो ।
उनीहरूका बीचमा अन्न, पैसा र श्रम चले पनि भान्सा नचल्ने भएकोले भुराहरू पनि त्यति जाँदैनथे । कमलाहरू कहिलेकाहीँ आमाबाबुका आँखा छलेर छिमेकमा रहेका साथीहरूसँग खेल्न पुग्थे । पुग्न त पुग्थे तर आमाबाबुका डरले फर्कन हतार हुन्थ्यो । फर्किन हतारिएपछि साथीका आमाहरूले उनीहरूले खाइरहेको खाजा जामाका फेरमा पनि हाली दिन्थे ।
एक दिन कमला एक्लै तारासँग खेल्न पुगेको बेला उसकी आमाले एक कटौरो मासु दिइन्,‘लौ खाऊ ठूलो खसीको मासु’भन्दै । मासु चाम्रो तर स्वादिलो थियो । फारु गर्दै खाई । खाँदाखाँदै यति मीठो लाग्यो कि चाँडै नसकियोस् झैँ लाग्यो । नभन्दै त्यहीँ बसेर खाइरहँदा पनि सकिएन । घर जाने बेला भइसकेको थियो, मासु सकिएको थिएन । फ्याँक्न पनि लोभ लाग्यो । फुर्किदै बुरुक बुरुक उफ्रिदै, खुट्टा ठटाउँदै, भुटेका मासुका टुक्रा जामाका फेरमै च्यापेर चपाउँदै लागी घरतिर ।
घरमा उसकी ठूली दिदी आँगनमा बसेर टोपी बुनिरहेकी थिइन् । बहिनीले समातिरहेको जामाका फेरमा आँखा पुगे उनका । सोधिन्,‘के छ त्यहाँ ?’ उसले पनि लाडिएको स्वरमा भनी,‘यी थुलो खचीको माचु अरे, पल्ला घल भाउजूले देको ।’
दिदीले यसो आफूतिर तानेर नजर लगाइन् । अनि मासु खोसेर तल बारीको पाटामा पुग्ने गरी हुत्याई दिइन् । बेस्सरी झपारिन्, ‘तँलाई त्यो मासु खानु भनेर कसले भन्यो ?’ छुलुक्क मुत्ने गरी तीनचार चोटी बाँसका सिर्कनाले सोड्क्याइन् पिँडौलामा । कमला पिँडौला सुम्सुम्याँउदै थुचुक्क बस्तै, भाग्दै गरी । मासुको सट्टा किन सिर्कनो खानु पर्‍यो भन्ने कुरा उसले बुझ्न सकिन ।
फेरि अर्को एक दिन पनि उनका छोरीहरूसँगै उसै गरी जामाका फेरमा मासु हालिदिँदै ठूल्ठूला सिता भएको आभानो भात पनि दिइन् उनै भाउजूले । मासुको चाहिँ लोभ गरी । भात चाहिँ खान्न भनी । जामाको फेरको मासु देख्ना साथ दिदी र उनको हातको सिर्कनो झलझली आयो आँखामा । आँत्तिदै भनी, ‘म त लान्न यो माचु, दिदीले माल्छिन् । अत्ति पनि कत्तो सोल्क्याई ।’
भाउज्यूले भनिन्, ‘उसो भए यहीं बसेर खाइसकेर जोऊ न त । भुँडी भित्राको कस्ले देख्छा र ? डाल्ली गाईको यो मुइ चाहिँ नाखाऊ । गान्हाउँछ र था पाउँछा फेरि । मात्छ पनि । ’ यस्सो तन्किएर तलको गोठमा हेरिन् डल्ली गाईलाई । घाँस चपाउँदै थियो । हाँसिन् बिस्तारै । कमलाले भाउजू हाँसेको कारण बुझिन ।
उसले गम्भीर भएर सोची, ‘यो डल्ली गाईको मोइ भनेको के होला ? यिनर्की डल्ली गाई त थाकेको छ । दूध दिँदैन ।’ अर्को आश्चर्य थपिएको थियो उसको मनमा । जिज्ञासा भरिएको थियो मनमा । कस्तो हुन्छ होला यो मोइ ?
सोधेकी थिई, ‘किन ल भाउजु यो माचु हामीले खानु हुँदैन ल ? के को माचु हो ल ? ’ हाँस्दै तिनका लोग्नेले थपे, ‘त्यो त ठूलो खसीको मासु हो ।’ कमलाले निधारमा गाँठो पार्दै चिउँडोमा चोर औलोले थिच्दै भनी, ‘हाम्मोमा पनि त खची थुलो छ नि, सबैले त्यही त खान्चन् दशैँमा । कात्ने बेलामा हामीलाई नहेर है भन्दै भित्ल लुक्न पथाउँछन् । मैले त कौछीको बाहामा लुकेल हेलेँ । कत्तो लोएको थियो खची ।’
‘हाम्रा बुबाआमा पनि खानु हुन्त । बुबा त झन् पोलेका, पकाएका फलमासुका चोक्टा चुलेसीले काट्तै कुटुकुटु खाइरहनु हुन्त । जिब्रो, गिदी, राजकाने पनि छुट्टै भुटेर खानु हुन्त । त्यो चाहिँ भुराले खानु हुँदैन अले । रक्ती, भित्र्याँस त्यही दिन पकाउनु हुन्च । दिदीले धोएर थिक्क पारेको आन्द्रा र खस्रो रुमाल जस्तै भूँडी पर्परी भुटेर सबै चिउरासँग खान्चन् मीतो मानेल । मलाई त मन पल्दैन, गनाउँत । आमा पक्कु लाउनु हुन्त, ठूलो ड्याक्चीमा माचुको । पाहुना आउँदा दिनु हुन्त । त्यस्तो माचु त कत्तो मीठो हुन्त । आमाको बाकसमा राखेको हुन्त । सख्खरको धार्नी पनि त्यहीँ हुन्त, म त चोर्दै खान्छु दुइटै । दशैँभरि तलामाथि निदालमा खसीका साँप्रा झुण्डिरहेका हुन्तन् । बोसो पगालेर हर्पेमा राख्नु हुन्छ । आमाले सेल रोती पकाउनु हुन्छ त्यारमा ।’
रमिला बोली रहन्थी । सुनिरहन्थे उनीहरू ।
मासु खाँदाखाँदै हातमा तौलियाको सानो टुक्राजस्तो के हो आयो उसले भाउजूलाई देखाउँदै भनी, ‘हाम्मो खचीको पनि त यत्तै तौलिया जत्तै हुन्छ नि । अत्ति त दिदीले त्यो भूँदी धुँदै गल्दा देखेकी मैले ।’
–‘तिम्रो र हाम्रो खसी फरक छ । हाम्रो त व्वाँइँ व्वाँईँ गर्ने अनि चुँईचुँई गर्ने खसी पो हो त ! हामी बाख्राको छोरा त कहाँ खान्छुङ्ग र आन्द्रा नि भरिन्दैन । बाहुनले त ठूलो खसी खान्दैन होला भनो उत्ता कुनातिर पसेर बजाइहाल्छ । केको ठूलो जात नि ? हाम्रै भागको नि खाएर हामीलाई नि नपुग्ने पो बनाई जान्छ त । ’ सुर्ती माड्नै छाडेर मज्जाले हाँसे । ‘त्यही भ’र त तिम्रो दिदीले फेकि देओ नि । किन बोकेर गाको त ?’ हाँसी रहे ।
एकछिन पछि फेरि भने–‘यी हेर न तिम्रो त्यति लामो सुलुक्क परेको नाक छ हाम्रो यस्तो थ्याप्चो । आँखा पनि बल्ढ्यांग्रे ।’
साँच्चै उसले आफ्नो नाक छामी । अनि उनीहरूको नाक हेरी । एकछिन् अलमल्ल पर्दै सोची–‘मेरो नाक चाहिँ किन यति चुच्चो भको होला ? अनि फेरि उसले हेरी उनीहरूको अनुहार । आँखा पनि कापीमा पत्तिले काटेर दुलो पारेजस्ता चिम्सा ।’
निधार खुम्च्याउदै सोचिरही कमला । उसले त्यो फरक पटक्क बुझ्न सकिन । अनि फेरि सोची,‘के उनीहरू यो ठूलो खचीको माछु खाने भएल नै यत्ता भएका हुन त ! कि छाना आँखा भएल यत्तो माछु खाका हुन् ?’
झन मनमा खैलाबैला भयो–‘ला ! यो माचु खायो भने मेला पनि आँखा, नाक यत्तै पो हुने हुन् कि !’ डरले चिसो भयो जिउ । उसले विचार गरी –हाम्ला गाईबत्तु कत्ति धेलै थन् । उनेलले कुखुला, सुंदुर पालेका थन् । घल भित्ल अद्लो चुलो पनि थैन हाम्लो जत्तो । हामीले पानी लाख्ने जत्ता दाग्लीमा उनीहरूले भात हालेका हुदा लैछन् ।’ अनि फेरि सोची–‘किन हामीलाइइ बाउन भनेतो होला त ।’
त्यहाँदेखि कमलालाई जहाँसुकै होस्, मासु देख्नेबित्तिकै दिदीले सुम्ल्याएको याद आई हाल्दथ्यो । त्यो सबै ठूलो खसीको मासु हो झैँ लाग्थ्यो । धेरैपछि कुखुराको मासु पनि दिदीकै अनुमतिले मात्र खाएकी थिई ।
००००००
उसलाई अर्को दिनको कुरा पनि याद आउँछ । ऊ केही दिन दिदीको घरमा बस्न पुगेकी थिई । ऊ चुलाकै छेउमा रहेको भाँडा माझ्ने ठाउँमा बसेर भाँडा पखाल्दै थिई । भिनाजूले चलाइरहेको कराईबाट उच्छिट्टिएको मासुको झोलको तातो थोप्पो उसको हातमा पर्‍यो । भेनाका आँखा छलेर हत्तपत्त जिब्रोले चाटी । तातो भए पनि निक्कै स्वादिलो थियो । उसलाई त्यो खाँदैमा नमरिने पक्का भो । मन भने लोभिइरहेको थियो । कहिल्यै नखाएको कुरा आफैँले म पनि खान्छु भन्न अफ्ठेरो लागिरहेको थियो ।
अर्को दिन–‘खान्छेस् कुखुराको मासु ?’ दिदीले सोधिन् ।
उनीहरूले सधैँ खाइरहेको देखेकी र अस्ति आफ्नो जिब्रामा परेको छिट्टाको स्वाद सम्झदै चुपचाप लजाई मात्र । उसको मनले मागे पनि मुखले खान्छु भन्न त सकेन ।
–‘ला, ला, खा । हामी भन्दैनौ कसैलाई पनि ।’ दिदीभिनाजू दुवैले उक्साए । कराईमा उब्रेको रहलपहल सोरसार पारेर भागमा हालिदिए । दिदी भेनाको अनुमति पाएर मीठो मान्दै ढुक्कले खाई उसले त्यो नयाँ कुरा । खाइसकेर हात सेकाउँदै थिई । उसको मुखमा हेर्दै–
–‘हेर ! बाहुनकी छोरी भएर कुखुरो खाकी ! अब बुबाआमालाई भन्दिन्छौँ । हामीलाई त केही फरक पर्दैन ।’
फेरि थपे–‘बुबाले पूजापाठ गरेको बेला छेउमा बसेर घण्टी बजाउने छोरीको चाला यस्तो छ ।’
कमलाको सात्तो गयो । त्यसरी कुखुरो खाएको बाआमाले अघि नै देखिसकेझैँ लाग्यो । खङ्रङ्ग भई ऊ, ‘आमौँ ! कस्ता बाठा त ! पहिलाचाहिँ मख्ख पार्दै खा खा भन्ने अनि अहिले उल्याउने ! ऊ छाँगाबाट खसे झैँ भो । साँच्चै उनीहरूले भनिदिए भने बुबाआमाले मार्नुहुन्छ । मुटु नै काम्यो ।
–‘उनीहरूले नै खा भनेर खाको त हो नि !’ डरलाई लुकाउन खोजी ।
अनि फेरि सोची–‘दिदी पनि त उनै बुबाकै छोरी हुन् त । उनले चाहिँ किन खाइन् त ?’ तर मुख लाग्न भने सकिन । अघि खाँदा भएको मिठो स्वादले अहिले सियोले झैँ घोच्न थालेको थियो शरीरभरी । दिगमिग लागेर मुखमा पानी भरिन थाल्यो । पेट पनि गडबडाए जस्तो गर्न लाग्यो । निदाउन खोजी निद्रै लागेन । आफूलाई रोक्दा रोक्दै पनि अनायासै आँखाबाट आँसु र नाकबाट पानी बग्न थालेको थियो । उसलाई कुखुराको मासु खाएकोमा भन्दा दिदी भिनाजुले दिएको धोखाले बढी चित्त दुखेको थियो । नाक बजेको सुक्क सुक्क आवाजलाई रोक्न पनि गाह्रो परिरहेको थियो ।
दिदीले बत्ती बाल्दै के भो भन्दा पो उसलाई भक्कानिएर रुन मन लाग्यो । अनि रुन्चे स्वरमै भनी–
–‘अघि चाहिँ खा कि खा भन्ने ! अहिलेचाहिँ बाको डर देखाउने?’
–‘ए ! यो त सुतेकै पो रहिनछे त ! सुत् अब । भन्दैनौँ हामी कसैलाई पनि । ढुक्क हुनु । अब सधैँ खानु ।’ हाँसे दुबैजना ।
आज पनि कुखुराको मासु भागमा आएको बेला उही दृश्य आँखाअघि नाचिरहन्छ । अलिक ठूल्ठूला चोक्टा भागमा देखी भने ठूलो खसीको मासु भनेको वाक्यको याद आउँछ । मानिसलाई मात्र जातहरूमा छुट्याइएको छैन । मानिसले खाने कुरा पनि जातसँग जोडेको देख्दा आज पनि ऊ अचम्मित हुन्छे । जातकै नाममा मानिसको हत्या भइरहेको सुन्दा ऊ कहिल्यै कुरा बुझ्दिन–‘किन मानिस, मानिसकै नजरमा विभेदित छ ? जस्तो कि पशु पनि पशुकै बीचमा विभेदित बनाइएको छ ।’

प्रतिक्रिया
Loading...