सबै सबै छन् अखबारमा !
कपालमा साङ्लीले बाँधिएको विधवा शब्द
छातीमा त्रिशूल गाडिएकी देवीका भिजेका आँखा
सिमानामा बध गरिएको सपनाको शिरफूल
एयरपोर्टमा चुँडिएको चप्पलको नागरिकता
नाइट बसको झ्यालमा बसेर
राजधानी छिरिरहेको सुनौलो सर्प
सबै सबै छन् अखबारमा !

तर अखबार चाहिँ यति अबेला
बालुवाको ओछ्यानबाट आँखा मिच्दै उठेको छ
र हाई काढ्दै हेरिरहेको छ फुटेको ऐना !

ए ! चिसो भुइँमा अझै पनि
किन चुहिरहेको छ रगतको अक्षर
र किन काँडेतारले बाँधिएको छ घामको आँखा ?
किन आमाको सपनामा पहिरो झरेको छ
र त्यही पहिरोको फोटो खिचिरहेका छन् उनीहरू ?
बहिनीको वस्त्रभित्र
किन हात घुसारिरहेको छ बहुराष्ट्रिय कम्पनी ?
र छेउमै कङ्गनको बल्छी थापेर
किन उभिएका छन् माइती राजा ?

भरखर त उघ्रेको छ आस्थाको आकाश
भरखर त खसेको छ सपनाको उज्यालो
भरखर त उठेको छ ऐनाको देश !

फेरि अदृश्य पर्खालमा लुकेर
कसले हानिरहेको छ यसरी ढुङ्गा ?
ए रोक ! रोक !!
अनाथ नानीहरू निदाएका छन् कोक्रोमा !
सिन्दूर गुमाएका विधवा दिदीहरू
हात गुमाएका बाबुहरू
र दृष्टि गुमाएका इतिहासहरू
सँगैसँगै निदाएका छन् समयको स्ट्रेचरमा !
आफ्नै आँसुको नदीमा
निर्वस्त्र नुहाइरहेकी छिन् आमा !
गणतन्त्रको रूखमा चढेर
बाँसुरी फुकिरहेको छ कृष्ण
र त्यही रूखको हाँगामा
फरफराइरहेको छ आमाको फरिया !

ए रोक ! रोक !!
यो ऐनाको देशमा
को हान्दै छ यसरी ढुङ्गा ?