रामजी प्रसाद आचार्य
बेथितिलाई थितिले बाँध्ने डोरो नपाएर
रन्थनिएको छ यो समय
अपराधीलाई सजाय दिने दण्ड हराएर
निरीह बनेको छ यो कालखण्ड
गरिखानेका गाँस कसले खोस्यो ?
निर्धाको बास कसले मिच्यो ?
सवाल छन् मात्र सवाल
जवाफ दिने कुनै ओठ छैन ।
भय छ
भोक छ
तर भरोसा छैन ।
पीडा छ
प्रलाप छ
कुनै प्रयास छैन ।
तिमीले भिरेको हसियाँमा न धार छ
तिमीले बोकेको हथौडामा न दम छ ।
के छ कमरेड
कसरी भन्छौ
अचेल सब ठिकठाक छ ।
को दलाल हो ?
को हो बुर्जुवा शासक ?
को पीडक हो ?
को हो पूँजीको पिपासु ?
को सामन्त हो ?
को हो श्रमको शोसक ?
जो जो यी हुन् भनी हिजो तिमीले घोकाएका थियौ
ती ती आज तिम्रा वरपर किन घुम्छन् ।
विचार हो भनेका थियौ हिजो तिमीले नै
तर आज
आफैँ किन भयौ विचरा
कमरेड
खै त तिम्रो अनुहार
खै कहाँ छ हथौडाको दम
अनि कहाँ छ हसियाँको धार ?
कि हुन् यी सबथोक बेकार ?
पोखरा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला