यकिना अगाध

यकिना अगाध

म त
बतास न हुँ
ढुक्कसँग उपभोग गर्नसक्छौ
तिमीले आफूखुशी ।

तिमीले
बन्द कोठामा कैद गर्नसक्छौ
साह्रै रिस उठ्यो भने
एकछिन
आफ्नै मुटुलाई पनि रोकेर
धड्कनलाई नचलाई राख्नसक्छौ
या
मनखुशी भएको बेला
खुल्लमखुल्ला चौरमा छाड्न सक्छौ
आनन्दले स्वास लिएर
हाँस्न सक्छौ
नाच्न सक्छौ
बाँच्न सक्छौ ।

म त
बतास न हुँ
ढुक्कसँग उपभोग गर्नसक्छौ
तिमीले आफूखुशी ।

जब सीमा नाघ्नेछ तिम्रो अत्याचारले
र आँधी बन्ने छु म
त्यस दिन भने
सतहमुनि लुकेको समुद्रलाई पनि
सजिलै पछार्न सक्छु सतहमा ल्याएर
सगरमाथालाई नै कुल्चेर
दम्भले फुलेको हिउँलाई पनि
कुचोले जसरी नै
सजिलै बढार्न सक्छु फू गरेर
आकाशलाई नै छेकेर
बिजुली चम्काउँदै
चट्याङ बर्साउन तयार बादललाई पनि
सजिलै धपाउन सकिन्छ माइलौँ टाढा ।

म त
बतास न हुँ
ढुक्कसँग उपभोग गर्नसक्छौ
तिमीले आफूखुशी
आँधी नबनेसम्म…. ।