पुरुषभन्दा महिला कम हुँदैनन् सर
बालबालिकाको निमित्त गैर सरकारी संस्थाहरू, महासंघले स्थानीयस्तरमा बालअधिकारको क्षेत्रमा काम गर्ने स्वयंसेवीहरूको समूह बनाउँदै थियो । म आफू पनि महासंघको अध्यक्षको रूपमा कार्यरत् । सप्तरीकी सलिता कुमारी सदा समाजिक सञ्जाल मार्फत हामीसँग जोडिइन् ।
सलिता आफैँ मुसहर जातीकी महिला भएको कारण पनि मुसहर महिला र बालबालिकाको अवस्थाको बारेमा धेरै संवादहरू भए ।
मेरो प्रश्नै प्रश्नको खातले होला ‘तपाईं बस्तीमै आउनुहोस् आफ्नै आँखाले देख्नु हुनेछ, प्रत्यक्ष भेटेर कुरा गर्दा झन बढी यथार्थ सुचनाहरू पाउनु हुनेछ र नयाँ अनुभव पनि गर्न सक्नुहुनेछ’ सलिताको भनाइ थियो ।
माघी नजिकिंदै थियो । कुरैकुरामा ‘मुसहरजातीले माघीलाई कति महत्त्वका साथ मनाउछन्’ सलितालाई सोधें । उनले एक महत्त्वपूर्ण चाँड भएको बताइन् ।
यही मौकामा माघीमा सहभागी हुने मेरो इच्छा सुनाएँ । ‘हामी कहाँ आउनुस् न सर’ उनले दिएको निमन्त्रणालाई स्वीकार्दै पौष ३० शुक्रबार बिहान सप्तरीको अमाहा स्थित मुसहर बस्ती तिर हिडेँ ।
वीपी राजमार्गको नागबेली सडक, सडक किनाराका सुनौलो तोरी बारी अनि कोशी किनाराको रमणीय दृश्यहरू आँखामा कैद गर्दै ड्राइभ गर्दा एक्लो महसुस भएन । म सात घन्टाको ड्राइभमा अमाहा पुगेँ जहाँ सलिता बाटोमा कुरी रहेकी थिइन् ।
‘समाजिक सञ्जालमा चिनेको, प्रत्यक्ष भेट नभएको, शहरमा बस्ने व्यक्ति झुपडी बस्ती त्यसमा पनि दलितहरूसँग बस्न आउनेछन् भन्ने विश्वास नै थिएन तर पनि एक दुई प्रतिशत विश्वासकोसाथ बाटोमा कुरेकी थिएँ’ आश्चर्य मान्दै पहिलो भेटमै निर्धक्क सुनाइन् सलिताले ।
उनको अनुहार हेरे, मुसुक्क हाँस्दै गाडी बस्न र घर जाने बाटो देखाउन अनुरोध गरेँ । उनी लाजले मुस्कुराइन् । उनी मुस्कुराउँदा हिस्सी परेको कालो अनुहारमा सेतो दाँत हिम श्रृखला जस्तो मनमोहक देखिन्थ्यो ।
समाजिक सञ्जाल मार्फत चिनेको मानिससँगको पहिलो भेट भएकोले होला कारको अगाडि बस्न उनलाई असहज लागेको महसुस गरेँ । झण्डै १० मिनेटमा हामी उनको घरमा पुग्यौं ।
मैले गाडी रोकेँ, बस्तीका ६/७ जना मानिसहरू मेरो कार घरसम्म पुर्याउन बाटो बनाइरहेका रहेछन् । ‘मैले कार बाटोमा राख्छु, जम्मा एक रात न हो’ आग्रह गरेँ तर मेरो सुनवाइ भएन । कारले उहाँहरूको घरको आँगनमा बास बस्यो ।
मलाई सलिताको साहास, त्यो खुल्ला व्यवहार देखेर अति श्रद्धा लाग्यो । केटी मान्छेले समाजिक सञ्जालबाट चिनेको व्यक्तिलाई निमन्त्रणा दिनु र घरमा लिएर जानु आफैँमा सजिलो थिएन । उनी मात्र होइन उनको परिवार पनि सहज रहेछन ।
सलिताको अनुरोध थियो ‘माटाको झुप्रो, झुप्रो भित्र गाई, सुंगुरहरूको गोठ, यता उता छरिएको गाई भैँसीको मल र गुइँठाहरूको बीचमा हामी सुत्छौं । तपाईँलाई सौचालय असहज हुनसक्छ । त्यसकारण बेलुका होटेलमै सुत्नुहोला ।’
तीन बर्ष भएछ यो बस्तीमा शौचालय घरघरमा बनाएको तर शौचालय न सफा थियो न उचित प्रयोग । शौचालय नै रोग सर्ने माध्यम हुने हो की भन्ने डर देखिन्थ्यो । तर शौच खुल्ला चौरबाट शौचालयसम्म आउनु आफैंमा उदाहरणी थियो ।
मैले सलितालाई समुदायमै रात बिताउन पाउने भए मात्र आउछु भनेको थिए । उनको उनीहरूसँग बस्न त कुनै आपत्ति थिएन तर हामी शहरीया भनाउदाहरू बस्न सक्दैनन भन्ने बुझाइरहेछ ।
सलिताले उनको परिवारसँग परिचय गराइन् । उनको बुबा भने माघीको लागी सामान जुटाउन बिहानै निस्केका रहेछन् । उनको घरमा परिवारकै जेठी सन्तान उनी, बुबा, मुमा, चार बहिनीहरु, माइली बहिनीको सानो छोरा र एक भाइ रहेछन् ।
सलिताले मेरो सुत्ने कोठा देखाइन् । उनको बुबा र म त्यही कोठामा सुत्ने जानकारी दिइन् । रातको झण्डै ८ बजेको थियो । सलिताको बहिनी शर्मिलाले ‘भन्सा बैनगेलई खाईला आबू’ मैथलिमा खानाको लागि डाकिन् ।
जाडोबाट बाच्नको लागि प्रत्येक घरमा बिहान बेलुका आँगनको बीचमा घुर बालेर ताप्ने दैनिकी । पराल र दाउरा बालेर घुर ताप्दा धुवाँको मुस्लो निस्किएको हुन्थ्यो । मलाई धुवाँको मुस्लाको गन्ध र धुवाँले असहज भएको थियो । यो धुवाँले वातावरण पनि अति प्रदुषित बनाएको थियो ।
सलिताको आमा बोल्न लजाउनु भयो सायद म मैथिली बोल्न नसक्ने र नयाँ भएर होला । मैले उहाँहरुसँगै खाना खाने अनुरोध गरेँ र अगेनाको छउमा सबै परिवारसँगै खाना खाएँ ।
भोलिपल्ट माघी थियो । माघीको लागि स्पेसल विभिन्न प्रकारको लड्डुको तयारी हुँदै थियो । म पनि लड्डु बनाउन सहभागी भएँ । लड्डु बनाएको टिकटक बनाउन सहयोग गरेँ र सलिताको आमालाई देखाएँ । भिडियो हेर्दा उनको मुहारमा देखिएको त्यो हाँसो र खुशी अद्भुत थियो जुन कहिल्ये बिर्सन सकिंदैन ।
सलिता, शर्मिला र आमासँगको त्यो एक घन्टाको बसाइले मेरो जीवनप्रतिको सुख र दुखको सोचाइ नै परिवर्तन भएको थियो । कुनै पनि भौतिक वस्तुले भन्दा कयौं गुणा सुख मनको शान्तीले दिनेरहेछ ।
सलिताको भान्सासँग जोडिएको अर्को घरबाट झगडाको आवाज आइरहेको थियो । ‘सर यस्तै हो पुरुषहरु रक्सी धोकेर आउने अनि घरमा श्रीमतीसँग झगडा गर्ने, दुख दिने आजसम्म पनि निरन्तर छ ।’ सलिताले दुख मनाउ गरिन् ।
सलिताले उनीहरुलाई मैथिलीमा ‘हमरा घर पुगैको छै यहाँ सब झगडा नैकरु न’ झगडा नगर्न अनुरोध गरिन् । उनीहरूबीच केहीबेर चर्काचर्की पनि पर्यो । मैले छोडिदिनुहोस भनेँ, बिस्तारै झगडाको आवाज कम हुँदै गयो ।
घरपरिवारको पुरै जिम्मेदारी बोकेर होला सलिता गम्भिर, परिपक्व साहासी, कामकाजी रहिछन् ।
उनको आँगनमा मोटरसाइकल राखेको थियो । मैले उत्ता मोटरसाइकलको बारेमा सोधेँ । ‘मेरो हो नी सर, भोलि म तपाईंलाई राखेर कुदाउँला नि हुन्छ ?’ एक सासमा हाँस्दै भनिन् ।
‘सबै केटीहरुले स्कुटी चलाउछन् तर तपाईंको त बाइक रहेछ ?’ मेरो यो प्रश्नमा ‘पुरुष भन्दा महिला केही कुरामा कम हुँदैनन् सर । मलाई महिला र पुरुषको समाजिक विभेदसँग लड्नुछ ।’ तुरुन्तै जवाफ दिइन् ।
साच्चै नै महिला र पुरुषको विभेद त समाजले बनाएको हो । महिलाले गर्न नसक्ने त केही छैन बरु प्रकृतिले नै पुरुषलाई सन्तान कोखमा राख्न नसक्ने गरी विभेद गरेको छ । उनको यो विचार गहिरो र परिवर्तनकामी थियो ।
हुन पनि उनी सर्ट पाइन्ट लगाउने, मोटरसाइकल कुदाउने, २६ वर्षसम्म पनि विवाह नगरि परिवारको जिम्मेदारी बोकेकी केटा जस्तो देखिने साहासिक महिला ।
३५ घरधुरी रहेको अमाह बस्तीमा कुल १८२ मुसहरहरु बस्दा रहेछन त्यसमा महिला ८०, पुरुष ४९ जना र बालबालिकाहरु ५३ जना रहेछन् । मलाई दुखी त्यो बेला भएँ जब सलिताले त्यो बस्तीमा ६० नाघेका बूढाबूढी नभएको बताइन् ।
चरम गरिबीले रोग लाग्दा समयमा उपचार गर्न नसक्नु, कुपोषण, सरसफाइको लापरबाही, छिटो विवाह गरी सन्तान जन्माउने र पुरुषहरुले अत्यधिक रक्सी सेवनले अकालमै मृत्यु हुदाँ बूढाबढी हुँदैन रहेछन् ।
पुरुषहरु नागकिता बनाए पछि र पढाइबीचमै छाडेर पैसा कमाउन ऋण काढ्न सक्नेहरु खाडी मुलुक जाने र पैसाको जोहो गर्न नसक्नेहरु भने भारतमा श्रमको लागि जाने रहेछन् । त्यहाको औसत महिलाको विबाहको उमेर १६ र पुरुषको २० बर्ष रहेछ ।
१८ वर्षसम्म पनि विवाह नगरी बस्ने केटीहरू एकाध मात्र भेटिनेरहेछन् । ‘जम्मा ३ जना केटीहरू मात्र छन सर यहाँ १८ वर्ष काटेका तर विवाह नगरी बसेका ।’ सलिताको जवाफ थियो ।
मुख्यतः उमेर ढिला भएपछि विवाह गर्ने केटा नपाउने र दाइजो झन् बढिलाग्ने हुनाले १६/१७ वर्ष भित्रै परिवारले विवाह गरिदिने रहेछन् ।
सामजिक सञ्जालबाट १४/१५ वर्षमै प्रेम गरी स्कूल नै छोडेर विवाह गर्ने घटना अत्यधिक बढेको रहेछ । समाजिक सञ्जालले झन् कम उमेरमा विवाह गर्ने चलनलाई बढाएको रहेछ ।
रातको १० बज्दासम्म सलिताको बुबा आउनुभएको थिएन । ‘यस्तै हो सर, बुबा ढिला नै आउनु हुन्छ र पिएर पनि ।’ सलिताको जवाफ थियो । परिवारसँग बिदा लिए र सुत्ने कोठातिर गएँ । दिनभरिको ड्राइभले होला थाकेको थिएँ ।
भोलि माघी मनाउने, मुसहरको अन्तराष्ट्रिय भुइया दिवसमा सहभागी हुने योजना सलिताले सुनाएकी थिइन् । म उत्साहित थिएँ नयाँ अनुभवको लागि । मलाई त्यो माटाको झुप्रो दरबार महसुस भएको थिए । कति खेर निदाएँ पत्तो नै पाइनँ ।
सबैले गिद्धेदृष्टिले हेर्छन्, डर पो लाग्छ सर
मलाई बिहानको निन्द्रा प्यारो लाग्ने । बिहान ८ बजे ब्यूँझिएँ । सलिताको बुबा नजिकै सुत्नु भएको रहेछ । हिजो कुन बेला कामबाट फर्केर सुत्नु भयो थाहा पाइन् । मुसहर बस्तीको त्यो झुप्रोमा मेरो निन्द्रा अद्भुत रह्यो ।
भान्साबाट आएको बास्नाले घरमा माघीको स्पेसल परिकारहरु तयार भएको महसुस भइरहेको थियो ।
पहिलो दिनमै सलिता कुन छिमेकीको घरको शौचालय सफा होला भनेर दगुर्दै थिइन् । मैले उनलाई जे जस्तो छ घरको नै शौचालय प्रयोग गर्छु भने यो सुनेपछि उनमा केही भने पनि राहत भएको पाएँ । मेरो कारणले शौचालयको विशेष सरसफाइ भयो ।
सलिताले समाजिक र राजनितिक रुपमा सक्रिय केही व्यक्तीहरुलाई बोलाउनु भएकोरहेछ मसँग परिचय गराउनको लागी । दोश्रो दिनको शुरुवात समुदायका तिनै व्यक्तीहरुसँगको भलाकुसारीबाट भयो ।
चिया पिउँदै मुसहर समुदायको बारे छलफल भयो । अशिक्षा समस्याको जड भएको उहाँहरुको एक मत थियो । मुसहर समुदायका पुराना पुस्तामात्र होइन नयाँ पुस्ताहरुको पनि चेतानस्तर उठाउन गाह्रो भएको उनीहरुको निष्कर्ष थियो ।
चेतना स्कूलको शिक्षाले मात्र पनि विकास हुने होइन । पक्कै स्कूल शिक्षाले चेतनास्तरको विकासमा भूमिका हुन्छ नै तर शिक्षाको पहिलो पाठशाला घर, समुदाय र संस्कृति हो ।
यो समुदायमा न त स्कूल शिक्षा राम्रो न समाजिक शिक्षा । त्यसकारण पनि नयाँ हुन् या पुराना दुवै पुस्तामा चेतनास्तर उकास्न गाह्रो । झन् आधुनिकताले ल्याएको नयाँ प्रविधि र विचारहरुको सही प्रयोग नहुँदा समाजमा झन् विकृति, विभाजन र असहिष्णुता बढेको देखिन्छ ।
प्रदेश नम्बर १ र २ को समथर जिल्लाहरूमा बढी बसोबास गर्ने मुसहर जातिहरू झण्डै बारलाख रहेको नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाले बताउनु भयो ।
मैले उहालाई ‘पछिल्लो राष्ट्रिय जनगणनाले त मुसहरहरुको जनसंख्या दुई लाख पचास हजार भन्दा कम देखाउछ त’ प्रश्न गरेको थिएँ । उहाँले त्यो तथ्याङ्कलाई अस्वीकार गर्नु भयो र नेपालभरी १२ लाख भन्दा बढी मुसहर भएको जानकारी दिनु भयो ।
मुसहर जातिभित्र पनि थुप्रै थरहरू हुने हुनाले जनगणनामा सही तथ्याङ्क नआएको उहाँको दावी थियो । चन्देश्वर सदाले मलाई नेपाल राष्ट्रिय मुसहर संघको अवधारणा तथा धोषणापत्र दिनु भयो र जोड दिँदै भन्नु भयो ‘सर, मुसहर जाति १२ लाख भन्दा बढिछौं ।’
मुसहरहरू झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, नवलपरासी ,कपिलवस्तु जिल्लामा सबभन्दा बढी बसोबास भएको र जम्माजम्मी २४ जिल्लामा छरिएर रहेको तथ्याङ्कले देखाउँदछ ।
मुसहर जाति भित्र सदा, माझी, सदाय, भुइया, क्रषि, क्रषिदेब, मुसहर थरहरु रहेछन । चन्देश्वर सदाको यी तथ्याङ्कलाई गहन रुपमा हेर्दा पुरानो जनगणनाले देखाएको तथ्याङ्क विश्वास गर्ने आधार भेटिँदैन ।
सलिता माघी भन्दा पनि मलाई भुइया उत्सवमा लान र मुसहर जातिबारे बढीभन्दा बढी ज्ञान दिने प्रायासमा थिइन् । उनले ११ बजेबाट भुइया उत्सव शुरु हुने हुँदा छिट्टै हिडनु पर्ने जानकारी दिइन् ।
माघीको मिठा परिकारहरु तयार हुँदै थियो । झण्डै पचास किलोमिटर टाढा थियो अमाहाबाट सकरदही जहाँ कार्यक्रम स्थल । महिलाहरुबाट कलस यात्राबाट शुरुहुने भनिएको त्यो भुइया उत्सवमा कलस यात्रा नछुटोस भन्ने उनको चाहान थियो र मलाई पनि छुटाउन मन थिएन ।
हामी झण्डै १० बजे सलिताको आमा र बहिनीले बनाएको स्वादिष्ट खानालाई थाती राखेर उत्सवतिर अगाडि बढ्यौँ ।
झण्डै आधा घन्टाको ड्राइभकै बीचमा सलिताले फोनमा कुरा गरिन् । फोन राख्दै ‘विशेषकारणले उत्सव१ बजेमात्र शुरु हुने भएछ । अब हामी फर्किने हो की सर खानाको लागी ?’
‘फर्कने भन्दा यहाँको घुम्नेस्थलहरुमा घुमौं न त, हुन्छ ?’ मैले प्रस्ताव राखेँ ।
उनले मुस्कुराउँदै भनिन् ‘ अँ सर, तपाईं भोकै पनि हुनुहुन्छ, आज शनिबार पनि हो । यहाँको प्रख्यात शनिको मन्दिर छ । तपाईं देवदेवताप्रति विश्वास गर्नुहुन्छ भने म लान्छु ।
म धार्मिक भन्दा बढी आध्यात्मिक हुँ । तर पनि शनिको पुजा दर्शन त्यो पनि शनिबार मैले सहर्ष स्वीकार गरेँ । हाम्रो यात्रा शनिको मन्दिर तर्फ मोडियो ।
भोलि कसलाई थाहा छ र ? समय र परिस्थितिले दिएको मोडले नै जीवनलाई पूर्णता दिने रहेछ । यात्राको क्रममा सलिताले भनिन ‘सर, तपाईंले खाजा नखाएको पनि राम्रो भयो नि ।’
‘किन र सलिताजी ?’
‘यो शनिको मन्दिर धेरै प्रख्यात छ नि सर । धेरै टाढाटाढाबाट दर्शनको लागि आउछन् । तपाई भाग्यमानी हुनु हुदो रहेछ नी । कुनै योजना विना नै तपाईलाई खालीपेटमा शनिले डाक्नु भयो नि, सोच्नुहोस त ।’
‘साच्चै सलिता जि त्यस्तै भयो । तिमीलाई धन्यबाद ।’
मुस्कुराउँदै उनले हस् मात्र भनिन् ।
‘सलिता जी तपाईको बारेमा अलि भन्नुहोस न । जागिरबाहेक अरु के गर्नु हुन्छ ? के गर्न तपाईलाई मन पर्छ ?’ बाटो काट्नु पनि थियो र ममा उत्सुक्ता पनि थियो उनको बारेमा जान्ने ।
अलि बढी नै लजाउदै ‘म नि सर, सानो तिनो राजनीति गर्दछु नि ।’ प्रत्येक संवादबीच उनको मुस्कुराहट अद्भुत थियो ।
‘सर तपाई किन हाँस्नु हुन्न ? हाँस्नुहोस् न हाँस्दा तपाई झन राम्रो देखिनु हुन्छ ।’ पहिलोचोटि उनले यसरी जिस्क्याइन् ।
‘खै सलिताजी म मनले बढी हाँसीरहेको हुन्छु तर किन हो मनको हाँसोलाई म बाहिर निकाल्न सक्दिनँ । मेरोबारेमा सबैको यही गुनासो छ ।’
मैले फेरी कोट्याएँ ‘कुन पार्टीको राजनीति गर्नु हुन्छ तपाई ?’
‘खै के भन्ने ? एमाले समाजवादीमा छु अहिले । पहिला त एमालेमा थिए ।’ उनको यो भनाइमा उत्साह भन्दा निरासा भरिएको थियो । उनमा कुनै सन्तुष्टिको भाव मैले महसुस गर्न सकेको थिइनँ ।
‘राम्रो हो नी । मुसहर समुदाय यसै पनि राजनीतिमा कमजोरछ । सत्ता र शक्तिबाट टाढा पनि छ । तपाई जस्तो महिला यसरी राजनीतिमा लाग्नु त धेरै राम्रो हो तर किन निराश देखिनु हुन्छ ?’ प्रति प्रश्न थियो मेरो ।
‘खै के भन्ने सर, गरिबको लागि कम्युनिष्टको राजनीति भनेर लागियो तर सोचे जस्तो देखिएन । जुन पार्टी, सिद्धान्त भएन उही टाढा, बाढा, पैसावालाहरुकै रहेछ ।’ हामी त भोटको लागि मोहोरा मात्र ।’
यो निराशा उनको मात्र लागेन मलाई । उनले पुरै समुदायको प्रतिनिधित्व गरेकी थिइन् । मैले फेरि भनेँ एमाले समाजवादीमा कुन पदमा के जिम्मेदारी लिएर काम गर्दै हुनुहुन्छ त सलिताजी ?
‘म दलितको कोटाबाट सप्तरीको जिल्ला सदस्य छु तर मलाई निरन्तरता दिन मन छैन सर ।’
‘किन र त्यस्तो ?
‘खै सर कसरी भनु सर, होस् पछि कुरा गरूँला यो बारेमा । हजुरको बारेमा भन्नुहोस् न । तपाई पनि राजनीति गर्नु हुन्छ कि हुँदैन ?’
हामी कुरै कुरामा मन्दिर नजिक पुग्दै थियौं । बाटो अलि बिग्रेको थियो । मेरो सानो गाडीलाई दुख भने भइरहेको थियो । बिस्तारै गुडाउन उनको अनुरोध थियो मलाई ।
मैले फेरि कोट्याएँ । किन त सलिताजी राजनीति छोड्न मन लागेको ?
‘आफू त गरिब परिवारमा हुर्केको । पैसा छैन । आफ्ना छैनन् । दलितको कोटामा जिल्लास्तरमा छु । हेर्नु न सर कसरी भनू ?’
‘किन भन्न नसकेको केही फरक पदैन मसँग कुरा गर्दा’ उनलाई अलि सहज बनाउने प्रयास गरें ।
उनले एक सासमा भनिन् ‘सबैले गिद्धे दृष्टिले हेर्ने, डर पो लाग्छ सर ।’
उनले मेरो अनुहार हेरिन् । मेरो कार एक्कासी रोकियो । सलिता अगाडि ठोकिन पुगिन् तर उनले हातले आफूलाई बचाइन् ।
“सर के भयो ? कार ठोक्किएको त छ छैन नि सर ?
‘छैन छैन । अब कति समयमा पुगिन्छ शनिको मन्दिर ?’
‘पाँच मिनेटमा पुगिन्छ सर ।’
हामी दुवैमा सन्नटा छायो । कारमा पुरानो हिन्दी गीत बजिरहेको थियो ‘आते जाते खुबसुरद आवारा यो सडकको पे कभि कभि इस्तेफाक से कित्ने अन्जान लोक मिल जाते है उनमे से कुछ लोक भुल जाते है कुछ लोक याद रहजाते है ।’
भूमिहीन भूमि पुजकहरू
त्यो अनकन्टार जंगलको बीचमा बगेको खहरे खोलामा मैले कार पार्किङ गरें । झण्डै २० भन्दा बढी मोटरवाइक, ६ बटा गाडीहरू अनि मानिसको भीड देखेर छक्क लाग्यो ।
‘आज शनिबार हो नी सर, अझ कोरोनाको कारणले हो नत्र यहाँ कार राख्ने ठाँउ हुँदैन सर’ मेरो आश्चर्य अंकित मुहार देखेर होला सलिताले भनिन् ।
त्यो बगरमा पुजा सामाग्री बेच्ने पसल आँठवटा जति थिए । नास्ताको पसल, सेल पकाउनेहरु, झण्डै सानो तिनो मेला जस्तो भीडभाड ।
‘बजार नै पो लाग्दो रे छ त ?’
‘शनिबारमात्र हो सर, अरु बार यत्रो भीड हुँदैन ।’ सलिताको उत्तर थियो ।
पुजा सामाग्री पसलहरु मध्ये एक पसल सलिताले रोजिन् । पसलको भाइले ‘दाजु यो लोटामा पानी लिएर आउनु होला, जुत्ता यहीँ राख्नु होस ।’ सिकाउँदै थिए ।
खोलाको बगरमा थापेको पसलको छेवैमा पानी बगिरहेको थियो । मैले त्यही पानी भर्न खोजेँ । ‘दाइ यो पानी होइन, माथि धारा छ त्यहाँबाट ल्याउनु पर्छ ।’
ए हो र भाइ ? मेरो स्वीकारोक्ति थियो ।
सलिताले मलाई बाटो देखाइन्, हात खुट्टा पखालेर चोखो पानी लिएँ । पसलको भाइले पुजाको सामाग्री दिनु भयो । चोखो पानी र पुजा समाग्री बोकेर मन्दिर तर्फ बढ्यौं ।
झण्डै ५ मिनेटको उकालो पछि शनिदेबको मन्दिर पुगियो । ‘तेल, कालो धागो शनिदेवको प्यारो हो नि सर ।’
‘पहिला जल चढाउनुहोस्, अनि तेलले मालिस गर्नुहोला त्यसपछि कालो धागोले शनिको मन्दिर घुमेर बेर्नू अन्तमा फुलपातीले पुजा गर्नु है सर ।’
सलिताको निर्देशन बमोजिम मैले पुजा गरें । उनले मेरो फोटोहरु खिचिदिइन् । पुजा सकेर हामी बगरको पहिलो नास्ता पसल मै बस्यौं । झण्डै १२ बजेको थियो, बिहान चिया बाहेक केही खाएका थिएनौं, दुवै भोकाएका थियौं ।
सेल र जेरी मेरो प्यारो । सेल, तरकारी, जेरी, पुरी मैले मागाएँ । सलिताले चाँट मगाइन् । शनिदेव मन्दिरको फेदमा पानी बगिरहेको बगरको बीचमा बसेर लिएको त्यो सबै परिकारहरु अति स्वादिलो थियो ।
हामी भुइया उत्सवमा पुग्न हतारिएका थियौं । ‘कतै ढिला नहोस् है सर’ हामी सकरदहीतिर अगाडि बढ्यौं ।
झण्डै १ घन्टाको यात्राकै बीचमा सलितालाई फोन आयो । ‘सर कार्यक्रम त अझ ढिला पो होला जस्तो छ । हतार गर्नु पर्दैन, बिस्तारै कार चलाउनुहोस् ।’
‘मेरो साथी ममता पनि बसमा आउँदैछिन् । उसलाई पनि हामीसँगै लैजाऊँ है सर ?’ सलिताले मेरो स्वीकृति खोजिन् ।
‘हुन्छ नी, कति समय लाग्छ साथी आउन ?’ मैले जिज्ञासा राखेँ ।
‘३० मिनेट भन्दा बढी लाग्छ । सुन्नुन सर, हामी कुर्नु भन्दा यहीँ नजिकै माँ कंकालिनीको मन्दिर छ, तपाई दर्शन गर्न चाहानुहुन्छ भने म लिएर जान्छु ।’
म यात्राहरुमा स्थानीय मठ, मन्दिर, अस्थाको केन्द्रहरुमा जान रुचाउने । हामी माँ कंकालिनीको मन्दिरतिर अगाडि बढ्यौं ।
‘सर यो मन्दिर, गायक उदित नारायाण झाले बनाएका हुन् । त्यही भएर लोकप्रिय छ । उदित नारायणको पुर्ख्यौली घर पनि यहीँ हो ।’
‘उदित नारायणको परिवार कोही बस्छन् त यता ?’
‘पुरानो घर छ रे तर कोही बस्दैनन् । तपाई जाने भए लान्छु नी । यहाँबाट ३/४ किलोमिटर होला सर ।’ सलिताको जवाफ थियो ।
‘खाना खाएको छ, पुजा त नगर्ने होला नि होइन सर ?’ पुजा नगर्ने निर्णय सलिताले नै सुनाइन् । हामीले माँ कंकालिनीको दर्शन गर्यौं, केही फोटोहरु खिचेर भुइया उत्सव स्थलतिर अघि बढ्यौं ।
मुसहर माटो काट्ने, सम्याउने र भर्ने काममा पोख्त मानिने जाति, कूलदेवता पनि ‘भुँइयाँ’ महाराज अर्थात भुइ देवता (माटोलाई नै देउता मान्ने) । यसकारण पनि मुसहरहरु आफुलाई भुईंको नाताले परिचय गराउँदा रहेछन ।
मुसहरहरुको जीवन गुजाराको पुर्ख्यौली पेशा कृषि मजदूरी र आज पनि कृषि मजदूरी । तराइमा एक ठाउँको माटो काटेर अर्को ठाउँमा भर्न टाला (काँधमा बोक्ने) बोक्ने खास जातिको रुपमा आज पनि उनीहरु प्रख्यात रहेछन् ।
मुख्यतः घरमूली र वयस्क पुरुष बिहान उज्यालो हुनासाथ ‘गिरहत’ (आफूले काम गर्न जाने घरधनी) को घरमा मजदूरी गर्न जाने दिनचर्या । हिजो आज भने युवाहरु विदेश जाने क्रम बढेको रहेछ ।
मुसहरका सात आठ वर्ष नाघेका नानीहरु खुर्पी र कोदालो बोकेर कतै मुसाको दुलो देख्नासाथ त्यसलाई पहिल्याउँदै खन्दै गएर मुसा मारेर घर फर्कनु मुसहर बालबालिकाको पुरानो दैनिकी थियो । आज पनि मुसा मार्न मुसहर जाति माहिर मानिन्छन् ।
हिजोआज केही हदसम्म बालबालिकाहरुलाई स्कूल पठाउने क्रम बढेको देखिन्छ तर स्कुल ड्रप आउट भने अत्यधिक रहेछ । मुख्यतय गरिबीको कारण घर धान्न समस्या हुने हुँदा कलिलै उमेरमा मजदूरी गर्नुपर्ने बाध्यता रहेछ ।
घरका वयस्क महिला भने छोरीचेली लिएर घुँगी (हिलो पानीमा पाइने शङ्खे प्रजातिको किरा) मार्न जाने रहेछन् । मुसा पोलेर बनाइने चटनी र घुँगीको झोल मुसहरले खाने विशिष्ट परिकार रहेछ ।
माटोसँगको अटुट नाता भएको मुसहरहरुको माघ महिना भुँइयाँ महाराजको पूजा आराधनाको साथ उत्सव मनाउने महिना ।
नेपाल राष्ट्रिय मुसहर संघले विभिन्न मुसहर संघ संस्थाहरुसँग मिलेर मुसहर जातिको हकहित र संस्कृतिको संरक्षणको प्रमुख उद्देश्य सहित प्रत्येक वर्ष भिन्नभिन्न जिल्लामा सबै मुसहरहरु जम्मा भएर एकसाथ भुइया पर्व मनाउन शुरुवात गरेको तीन बर्ष भएछ ।
तेश्रो अन्तराष्ट्रिय भुइया दिवसको नारा ‘अपन संस्कृति अपन स्वाभिमान, तोडु विभेद के जनजीर देखु वीर पुर्खा के नजीर’ का साथ हनुमाननगर कंकालिनी नगरपालिका, वाड न. २ सकरदहिमा मनाउने तय भएको रहेछ ।
हामी झण्ढै एक घन्टामा अन्तराष्ट्रिय भुइया दिवसको लागि बनाइएको मञ्चमा पुग्यौं । उत्सवलाई औपचारिकता दिनको लागि मञ्च, माइकहरु, भुइया उत्सवमा मुसहर जातिको इस्टदेवता दिनाभद्रीको गीत, भजनको लागि कलाकारहरु समेतको व्यवस्था भएको रहेछ ।
मञ्चको अगाडि दिनाभद्री मुसहरहरुहो कुलदेवताको पुजाको लागि पुजास्थल थियो । तातो तातो दूधले पुजारीहरुले देह शुद्धिको लागि नुहाउने परम्परालाई जोगाउन पुजास्थलमा माटोको भाडाँमा दूध तातिरहेको थियो ।
नेपाल राष्ट्रिय मुसहर संघको आयोजनामा जय श्री दिनाराम भद्रिसदा सेवा समाज, अन्तराष्ट्रिय मुसहर भुईयाँ विकास समिती, दिनाभद्री बास्केट फन्ड नेपाल र हनुमाननगर कंकालिनी न.पा. वाड न. २ सकरदहीको सहयोग रहेको भुइया उत्सवमा धेरै जिल्लाबाट मुसहरहरुका प्रतिनिधिहरुको उपस्थिति थियो ।
बस्तीका झण्डै ५० भन्दा बढी महिलाहरुबाट नजिकैको नहरबाट कलसमा पानी लिएर कलस यात्राबाट उत्सव शुरु भयो । उत्सवमा कुलदेवता दिनाभद्रिको भजन गीतहरु बजिरहेको थियो । कलसलाई पुजास्थलमा स्थापित गरेपछि औपचारिक कार्यक्रम शुरु भयो ।
मलाई पनि उक्त दिवसको सभामा अतिथिको रुपमा निमन्त्रण गरियो र मञ्चमा राखियो । मलाई मञ्चमा बस्न मन नहुँदा नहुँदै पनि विशेष आग्रहमा कार्यक्रममा सहभागी भएँ । हुन त यो अवसरप्रति म कृतज्ञ पनि हुन पुगेँ ।
तर विडम्बना नै भन्नु पर्छ जन्मिँदै माटोको टीका लगाइने, काम माटोकै गर्ने र ‘भुइँ’ सँगै नाता जुटेका ‘भुइयाँ महाराज’ पुज्ने, माटोलाई देवता मान्ने र कृषि कर्मलाई नै मुख्य पेशा बनाएका तराइका आदिवासी दलित कुल मुहसर मध्ये २३.७ प्रतिशतसँग मात्रै आफ्नो जमीन रहेको छ । बाँकी सबै मुसहरहरु भूमिहीन ।
मुसहरहरुमा भुँइयाँ महाराजका नाउँले चिनिने मुसहर जातिको कूलदेवता दिनाभद्रिको वीरगाथा गाउने, दिनाभद्रिका जीवनसँग सम्बन्धित नाटक खेल्ने, पूजा अनुष्ठान गर्ने र सामूहिक भोज खाएर भुइया उत्सव मुख्य चाँडको रुपमा मनाउने परम्परा रहेछ ।
पूजा अनुष्ठानमा दिनाभद्रिको आराधनाका लागि ‘देहशुद्धि’ गर्नु पर्ने र देहशुद्धिको लागि पूजा अनुष्ठान गर्ने व्यक्तिले उम्लेको दूधले नुहाउनु पर्ने रहेछ । यस विधिलाई मुसहरहरुले ‘अपटनी’ भन्दा रहेछन् ।
बिभिन्न वक्ताहरुको वक्तव्य सहितको एक घन्टाको औपचरिक कार्यक्रमपछि तरबार सहित एक हुल पुजारीहरु बाहिरबाट पूजास्थलमा प्रवेश गर्नु भयो र मौलिक बाजा सहित पूजास्थलमा उम्लिएको दूधलाई जिउमा हाल्दै ‘अपटनी’ शुरु भयो ।
तान्त्रिक विधिबाट उम्लिएको दूधबाट गरिने स्नान मुसहर जातिको मौलिक संस्कृति हो ।
‘चरम गरिबी र अशिक्षाको भुमरीमा जोतिएका हाम्रा पुर्खाले हाम्रो इतिहास लेख्न नसके पनि वर्षौदेखि वंश परम्पराबाट सर्दै आएको भुँइयाँ महाराज दिनाभद्रि दाजुभाइको पूजा उत्सव नै हाम्रो जातिको विशेष सांस्कृतिक उत्सव हो’ नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्द्रश्वर सदाले उत्त उत्सवलाई सम्बोधन गर्दै भन्नु भयो ।
भुँइयाँ महाराजको पूजा आराधनामा तातो दूधले नुहाउँदा फोका उठ्ने वा कुनै स्वास्थ्य समस्या कहिल्यै थाहा नपाइएको समेत चन्देश्वरले बताउनु भयो ।
झण्डै आधा घन्टा दूध स्नानसँगै दिनाभद्रिको पूजा आराधाना भयो । मौलिक बाजा, संगीत र नाचसँगै पुजारीहरुले दूध स्नान गरिरहेका थिए र सहभागी सबैले दिनाभद्रिको भजनमा ताली बजाइ रहेका थिए ।
पूजा आराधाना पश्चात नजिकै बस्तीमा तयार गरेको समुहिक भोजमा सबै सहभागीहरू मिलेर कुलदेवता दिनाभद्रिलाई सम्झना गर्ने यो ‘भूईयाँ उत्सव’ ले मुसहरहरुलाई एकताको सुत्रमा बाधिरहेको थियो ।
म फोटो खिच्न मै व्यस्त थिएँ । ‘सर भोक लागेको छैन र ? हामीलाई घरमा कुरिरहेका होलान्, अब जाने कि ।’
मैले हुन्छ भनें । हामी ‘भुइया उत्सव’ को त्यो समूहिक भोज छोडेर अमाहतिर फर्कियौं ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।