(नेपाली साहित्यमा कविता, गीत र मुक्तक तीनवटै हाँगामा अब्बल आधुनिक कवि प्रतिभाको आज १५ जेठ २०७७ का दिन काठमाडौंमा देहावसान भएको छ । आधुनिक कालका यी श्रष्टासँग मेरो बसउठ खासै भएन । त्यस्तो संयोग वा सुयोग जुरेन भनौं । तर साहित्यकारको घरघर चहार्ने र साहित्यकारसँग अन्तर्वार्ता लिने शौखले मलाई २०४४ साल कार्तिक १० गते उनको निवास कमलपोखरीमा पुर्याएको थियो । मैले यौटा अन्तर्वार्ता लिएको थिएँ र नेपाल राष्ट्र बैङ्कको प्रकाशन “मिर्मिरे” मा प्रकाशित भएको थियो र उनी भेट भएको बेलामा त्यो अन्तर्वार्ताको प्रसङ्ग निकाल्थे । उनीसँग एउटा अर्को अन्तर्वार्ता लिने मेरो मनसुवा थियो, अब त्यो सदाको लागि अधूरो नै भयो । यो ३३ वर्ष अघिको अन्तरवार्ता पुन: प्रकाशन गर्दै हार्दिक श्रध्दाञ्जली अर्पण गर्दछु ।)

तपाईंले पहिलो रचना कस्तो किसिमले गर्नु भएको थियो ?
स्कूलको साहित्यिक कार्यक्रममा कविता पाठ गर्ने रहर जाग्दा र बाल्यकालदेखि नै साहित्य र संगीतमा अभिरुचि भएकोले कवितामा लाग्न पुगेको हुँ । यसरी स्कूल जीवनमा मैले पहिलो कविता लेखेको हुँ ।

त्यो कहिले तिरको कुरा हो ?
त्यो २००७।८ तिरको कुरा हो ।

शुरुशुरुमा तपाईंले लेख्दा तपाईंका लेखनका साथीहरु को थिए ?
मैले लेख्न शुरु गर्दा प्रायः मेरा लेखनका साथीहरुमा एक दुईजना मात्र थिए । जस्तो सोमध्वज विष्ट । डोरबहादुर कार्की आदि ।

तपाईंहरुको कुनै ग्रुप वा संगठन थियो कि ?
लेखनको शुरुवातमा ग्रुप थियो तर संगठन भने थिएन । त्यसबेला लेख्ने शुरुमा ग्रुपको वा संगठनको आवश्यकता नै लागेन ।

लेखकहरुले संघ संगठनमा संलग्न हुनु कत्तिको फाइदाजनक होला ?
शुद्ध साहित्यिक तथा सांस्कृतिक संगठन भए त्यस्तो फाइदाजनक होला । साहित्यबारे आपसी विचार विमर्श, छलफल भएमा साहित्यको अँकुर फस्टाउन सक्छ भन्ने मेरो धारणा छ ।

लेखनको क्षेत्रमा तपाईंका गुरु पनि कोही थिए कि ?
लेखन क्षेत्रमा मैले प्रवेश गर्दा मेरा कोही गुरु थिएनन् प्रेरणा दिने केही व्यक्तिहरु अवश्य थिए ।

कविता र गीत लेखनमा कत्तिको भिन्नता लाग्छ ?
कविता र गीतमा अवश्य भिन्नता छ । त्यो के भने कवितामा आफूले भन्न खोजेको कुरा सीमित पंक्तिमा पोख्न बाँधिनु पर्दैन तर गीतमा भने सीमित पंक्तिमा भन्न बाँधिनुपर्छ नत्र गीत पनि कविताकै एक अंग भएकोले खास फरक हुँदैन । खाली गीतमा कवितामा भन्दा लय तथा छन्दको बढी आवश्यकता पर्छ ।

कस्तो भावलाई गीत र कस्तो भावलाई कविताको रुप दिनुहुन्छ ?
कविता र गीतमा भावको कुनै फरक हुँदैन किनभने दुवै विधालाई भावको उत्तिकै आवश्यकता हुन्छ ।

कविता वा गीत एकपल्ट लेखिसकेपछि सच्याउने गर्नुहुन्छ कि हुँदैन ?
म कविता वा गीत लेखिसकेपछि सच्याउने गर्छु किनभने पहिलो लेखाइमा त्रुटि हुन जाने सम्भावना भएकोले अक्सर म लेखिसकेपछि कृतिलाई गहिरिएर हेरी सच्याउने गर्छु ।

कुनै संगीतकार वा गायकले तपाईंका गीतका हरफ वा शब्द परिवर्तन गर्न चाह्यो भने तपाईं के गर्नुहुन्छ ? त्यस्ता घटना छन् कुनै ?
कुनै संगीतकार वा गायकले मेरा गीतका शब्द परिवर्तन गर्न चाहेमा म पहिले त्यसको कारण जान्न उनीहरुसँगै सोध्छु । उनीहरुको सुझाव उचित लागेमा शब्द परिवर्तन गर्न मञ्जुरी दिन्छु वा धेरैजसो आफैँ गरिदिन्छु । फेरिने शब्द पनि गीत सुहाउँदो साथै वजनदार हुनुपर्छ । यस्ता घटनाहरु समय समयमा घटेका छन् । समयमा मिलाउन आवश्यक पर्ने हुँदा दुवैथरि साथ बसी शब्द परिवर्तन गर्छौं ।

गीतकारको नाताले तपाईं गायक संगीतकारसँग बढी नजिक हुनु स्वाभाविक हो । गायक संगीतकार लेखकभन्दा बढी घमण्डी हुन्छ भन्छन्, हो ?
मैले संगत गरेका गायक संगीतकारले मसँग खास घमण्ड नदेखाएकोले ती घमण्डी हुन्छन् भन्न सक्तिन । इगो, अहँ हो भने त्यो हुनुपर्छ भन्नेमा म विश्वास राख्छु । क्रिएटिभ आर्टिष्टहरु इगोइष्ट नै हुन्छन् ।

तपाईंभन्दा राम्रा गीत लेख्ने अरु को छन् भन्ने लाग्छ ? कि त्यस्तो लाग्दैन ?
मभन्दा पनि राम्रो गीत लेख्ने अवश्य होलान् तर यस्को लेखाजोखा मैले गर्ने गरेको छैन ।

जस्तोसुकै ठाउँ, जस्तोसुकै समय र जस्तोसुकै वातावरणमा पनि तपाईं लेख्न सक्नुहुन्छ ? कि विशेष ठाउँ, समय र वातावरणको आवश्यकता पर्छ ?
हो, म जस्तोसुकै ठाउँ, जस्तोसुकै समय र जस्तोसुकै वातावरणमा पनि लेख्न सक्छु । मलाई लेख्ने बेला केवल एकान्त भए पुग्छ । मलाई खास ठाउँ समय र वातावरणको आवश्यकता पर्दैन ।

तपाईं आफ्नो गीत फलानाकै संगीतमा होस् र फलानाकै गलाबाट गाइयोस् भन्ने चाहनुहुन्छ ? त्यस्ता संगीतकार र गायक को को हुन् ?
म आफ्नो गीत तोकिएको गायकको गलाबाट गाइयोस् भन्ने चाहन्नँ । खाली के भने, गायकले गीतको मर्म बुझी गाइदिनुपर्छ । गीतको मर्म बुझ्ने संगीतकार र गायक हुनुपर्छ । यी बुझ्ने संगीतकार र गायक कोको हुन्, यो कुरा श्रोताहरुले गीतको सफलताबाट छुट्ट्याउने कुरा हो ।

आजकाल तपाईं कविता लेखनमा प्राय निस्कृय देखिनुहुन्छ, त्यसको खास कारण केही छ कि ?
कविता लेख्न म निस्कृय भएको छैन तर आजकाल मेरा कविता त्यति प्रकाशित नभएकोले त्यस्तो लागेको होला । त्यो हुनुको कारण शुरुदेखि नै कविता छपाउन ठाउँ ठाउँ चहारी हिँड्ने बानी छैन र म खुशामद गर्न पनि ठ्याम्मै रुचाउन्न । फेरि अचेल नियमित प्रकाशित हुने पत्रिका नै कति छन् र ?

स्वतन्त्र रुपले गीत लेख्नु र फिल्मको लागि गीत लेख्नुमा भिन्नता त अवश्य नै होला । के फिल्मका सबै शर्त र बाधा ग्राह्य हुन्छन् ?
स्वतन्त्र रुपले गीत लेख्नु वा फिल्मको लाग लेख्नुमा भिन्नता त हुन्छ । जति स्वतन्त्र रुपले गीत लेख्न आनन्द आउँछ त्यति फिल्ममा लेख्न आउँदैन तर साहित्य र संगीतमा ज्ञान भएका निर्माता फेला परे फिल्ममा राम्रो र स्तरीय गीतको सिर्जना हुनसक्छ । फिल्मका अधिकांश शर्त र बाधाहरु बिल्कुलै ग्राह्य हुँदैनन् र यिनले गर्दा गीतको स्तरमा पनि प्रतिकूल प्रभाव पर्नसक्छ ।

जस्तो कुनै बेला तपाईंले भन्नुभएको थियो, संगीतको आधारमा पनि गीत लेख्नुहुन्छ । त्यस्तो अवस्थामा गीतको स्तर कायम रहन सक्छ ?
मलाई संगीतको आधारमा पनि गीत रचना गरेर पनि स्तर कायम गर्न सकिन्छ भन्ने पूरा विश्वास छ । प्रायजसो मेरा धेरै गीत संगीतकै आधारमा रचिएका हुन् ।

गीत बाहेक संगीत, गायनमा पनि कहिल्यै रुचि जागृत भएको थियो वा त्यतापट्टि आकृष्ट नै हुनुभएन ?
गीत बाहेक संगीत र गायनमा मैले रुचि राख्ने गरेको थिएँ । म तबला बजाउँथे र गाउँथेँ पनि । आफ्नो गीतमा आफैँ संगीत भरी विभिन्न सांस्कृतिक कार्यक्रममा भाग लिने गर्थें । गाउनबाहेक बजाउने रुचि अझै छ ।

गीत र संगीत बाहेक तपाईंको शौख के छ ? भन्न मिल्छ ?
गीत, संगीत र साहित्यबाहेक मेरो शौख खेलकूदमा, घुम्ने फिर्ने साथीहरुसँग हँसीठट्टा गर्ने छ ।

एउटा दुई वटा निजी वा व्यक्तिगत प्रश्न पनि गरुँ है दाइ….तपाईं लामो समयसम्म अविवाहित रहनु भयो, के कुनै घटना वा कारण थिए कि ?
म आफ्नै शौखले लामो समयसम्म अविवाहित रहेको हुँ । कुनै घटना घटेर खास कारणले होइन ।

लेखन वा तपाईंका साहित्यिक साधनाप्रति पारिवारिक दृष्टिकोण रहेको छ ?
मेरो सिर्जनाप्रति शुरुदेखि नै मेरो पारिवारिक सन्तोषजनक रहेको छ । मलाई कुनै अप्ठेरोको सामना गर्नुपर्ने अवस्था आइपरेको छैन । मेरो साहित्य साधना सुचारु रुपले चलिरहेकै छ ।

तपाईंले आफ्ना सन्तानलाई साहित्यकार बनाउने उद्देश्य राख्नु भएको छ कि ?
आफ्ना सन्तानलाई साहित्यकार बनाउने उद्देश्य राखेको छैन । त्यो तिनले नै निर्णय गर्ने कुरा हो ।

राम्रा राम्रा गीतकार वा साहित्यकारका गीत नगाई आफ्नै रद्दी गीतमा संगीत राख्ने संगीतकार वा गाउने गीतकार पनि पनि छन्, यस्तो भएपछि गीतको स्तर कसरी कायम होला ?
राम्रा गीतलाई उपेक्षा गरी सस्तो गीतमा संगीत भर्ने संगीतकार र सस्तो गीत लेखी गाउने गायकबाट स्तरीय गीत कायम हुने प्रश्नै उठ्दैन । संगीतकार, गीत र गायकको स्तर यसरी नै सबैको सामु छर्लंग हुन्छ ।

छिन्नलता गीत पुरस्कार पाउँदा कस्तो लाग्यो ?
छिन्नलता गीत पुरस्कार पाउँदा खुशी लाग्यो । मेरा गीतहरुले औपचारिक कदर पाएजस्तो लाग्यो ।

हुन त सबै सन्तान उस्तै प्यारा हुन्छन् भन्ने रेडिमेड जवाफ धेरैले दिन्छन् तर म यसमा विश्वास गर्दिंनँ । तपाईंलाई प्रिय लाग्ने, सुनुँसुनुँ लाग्ने आफ्नै गीतका बारेमा पनि बताइदिनु हुन्थ्यो कि ?
यस्ता गीतहरु त थुप्रै छन्, त्यसैले कुनै एकलाई खुट्याउन नसक्ने भएकोले केही नभनौं ।

अब अन्त्यमा यौटा कुरा सोधुँ, तपाईंले लेख्न चाहनु भएको गीत वा कविताको भावलाई तपाईंले लेख्नै सक्नु भएन, अभिव्यक्त गर्न सक्नु भएन अथवा त्यस्तो सिर्जनाको अन्त्य भयो भने तपाईं के गर्नुहुन्छ ?
आजसम्म त मैले लेख्न चाहेको गीत, कविता, नाटक लेख्न नसक्ने वातावरण मैले भोग्नु परेको छैन । यदि पछि कुनै बेला यस्तो परिस्थति आइपरे त्यसै बेला सोचेर निर्णय गरुँला ।

गीतकार थापाको स्वरमा केही मुक्तकः

 

अर्को एउटा रोचक अन्तर्वार्ताः

https://www.youtube.com/watch?v=B3PNHjX_7Sw