
मूल कवि : धूमिल
अनुवाद : जनक कार्की

धूमिल
धूमिलको पूरा नाम सदामा पाण्डेय हो । हिन्दी समकालीन कविताका अत्याधिक चर्चित कविको रूपमा धूमिललाई लिइन्छ । उनको कवितामा स्वतन्त्रताको सपना,सपनाको मोहभंगको पीडा र आक्रोसको सशक्त अभिव्यक्ति पाइन्छ ।
धूमिलको जन्म वाराणसी नजिकैको खेवली गाउँमा भएको थियो । उनी कविता लेख्दा धूमिल नाम प्रयोग गर्थे । उनको जन्म ९ नोभेम्बर सन् १९३६ मा भएको थियो र फेब्रुअरी १० सन् १९७५ मा ३९ वर्षको उमेरमा ब्रेन ट्यूमरका कारण अल्पायूमा मृत्यु भएको थियो । आज उनै कविका केही कविताहरूलाई नेपाली अनुवाद गरेर प्रस्तुत गरेका छौँ ।
कवि
कवि सुन्दर शब्दहरूको एउटा बगैंचा हो
जहाँबाट तिमीले आफूलाई मनपरेको फूल टिप्न सक्छौ
तर यो नभुल्नू, यो बगैंचालाई
मानव बन्ने उद्देश्यका साथ
आफ्नै रगतद्वारा सिँचिएको हो
अनि यो पनि नभुल्नू कि
यो चौतर्फी पर्खालको पछाडि
तीनजना अर्धनग्न बच्चाहरू
आफ्ना सुकेका हड्डीले देशको मजाक उडिरहेका छन्
तिमी सुन्छौ र खुसी छौ
तर नभुल्नू कि कवि फगत कवि होइन
भाषा र भोकको दुर्गम बाटोमा
कवि सम्बन्धको आत्महत्या हो
कवि एक रक्षा कवच हो
भाषाको मोर्चामा एउटा बलियो बंकर
जहाँ युद्ध समाप्त भएपछि
तिमी आफ्नो बन्दुकलाई लौरो बनाएर टेक्न सक्छौ
वा जुत्ता खोल्न सक्छौ
कविता जातिको जिउँदो आवाज हो
तर यो बंकरको पछाडि एउटा घर छ
अनि श्रीमती पनि
जहाँको इज्जत फाटेको कपडाले धानेको छ
भान्साको कसौंडी बासी अन्नले आश्रित छ ।
कवि एउटा आँगन हो
जहाँ जिन्दगीलाई भाषाले औंला समातेर हिँडन सिकाउँछ
कवि एक आवाजहीन आवाज हो
जसले मान्छेको जङ्गलमा
मान्छेलाई चिच्याएर बोलाउँछ
मान्छे कहाँ छन् ! मान्छे कहाँ छन् !
के मान्छे छन् ?
अनि कमी एउटै त छ जो तिमीलाई थाहा छ
कवि सफल मान्छेको भीडमा एउटा असफलता हो
पारिवारिक भूल हो
परमवीर चक्रको ठ्याक्कै पछाडि अपरिचित मृत्यु
जसको सनाखत गर्न
सहरको प्रहरी
नराम्रोसँग
व्यस्त छ !
****
हरियो क्रान्ति
यति धेरै हरियाली भएर पनि
अर्जुनलाई थाहा छैन
उसको गालाको हड्डी किन उर्वर भएर आएको छ
उसको कपाल किन सेतो भएको छ
फलामको सानो पसलमा बसेको मान्छे
सुन र यति ठूलो खेतमा उभिएको मान्छे
माटो किन बन्यो !
**
सार्वजनिक जिन्दगी
म होटलको रूमाल जस्तै
सार्वजनिक भएको छु
टन्न खाऊ र पुछ
थोरै सोच
यो पनि के जिन्दगी !
जो सधैँ अरुको जूठोले भिजेको हुन्छ
काटिएका पन्जाजस्तै घुम्छ्न्
अर्धनग्न बच्चाहरू
गल्लीमा गोलीहरू खेल्छ्न्
तर अब्बल यो छ कि
देशको मानचित्रको रेखा
यीनिहरूमा निर्भर छ
तर दोस्रो दर्जाको कुरा यो छ कि
हुँदिन होला तर मलाई असल मान्छे बन्नु छ
तर स्वतन्त्रताले मलाई यो सिकाएको छ
सार्वजनिक सूचना कहाँ टाँस्ने हो
पिसाब कहाँ फेर्ने हो
यसरी खाली हात
समय कुसमय मतदान गर्दै
हारुवालाई नजरान्दाज गर्दै
विजेतालाई सम्मान गर्दै
मलाई जनतान्त्रिक मृत्यु मर्नु छ ।
**
गरिबी
गरिबी एउटा खुल्ला किताब हो
जसलाई पढ्नको लागि हरेक समझदार र मूर्खलाई दिइन्छ
केहीले यसलाई पढ्छ्न
केहीले चित्र हेरेर
कच्याककुचुक पारेर
दराजको तल्लो घर्रामा राखिदुन्छ्न् ।
***
रोटी र संसद्
एउटा मान्छेले रोटी बेल्छ
अर्कोले रोटी खान्छ
तेस्रो व्यक्ति पनि छ
जसले न रोटी बेल्छ
न रोटी खान्छ
ऊ मात्र रोटीसँग खेल्छ
म प्रश्न गर्छु –
“यो तेस्रो मान्छे को हो ?”
र मेरो देशको संसद् मौन छ !
******



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

