12. अर्मुस सहर
माथि उल्लेखित समथर भूमिको दक्षिणतर्फको अन्तिम सिमानाबाट पाँच दिनको यात्रा गरेपछि एउटा उपत्यका आउँछ । बाटोमा लुटेराहरूको भिँडले यात्रीहरूलाई बराबर सताइरहन्छ । यसरी तलतिर झरिरहँदा दुई दिनको यात्रापछि अर्को एक सुन्दर र समथर भूमिमा पुगिन्छ । जुन ‘अर्मुसको मैदान(Plain of Ormus)’ नामले चिनिन्छ । यहाँ तपाईँले थुप्रै खोलाहरू पार गर्नुपर्ने हुन्छ । खजुरको रुखहरूले भरिएका जङ्गल प्रचुर छन्, जहाँ फ्राङ्कोलिन च्याखुराहरू, परेवा र अन्यत्रको हावापानी र वातावरणमा नपाइने चराहरू पनि देख्न सकिन्छ ।

उक्त मैदानबाट केही दूरी हिँडेपछि तपाईं महासागरको तटमा पुग्नुहुन्छ । उक्त तटको नजिकै एउटा टापू अर्मुस रहेको छ । जसको बन्दरगाह भारतका विभिन्न भागबाट आउने यात्रीहरूको आउजाउले व्यस्त रहन्छ । व्यापारीहरू यहाँ मसला, बहुमूल्य पत्थरहरू, मोति, सुनका सिक्रीहरू, हात्तीका दाँत लगायत विभिन्न वस्तुहरूको कारोबार गर्दछन् ।

वास्तवमा अर्मुस व्यापारिक महत्वका हिसाबले एक उत्कृष्ट सहरको रूपमा रहेको छ । साथै यो कियर्मन साम्राज्यको एक प्रतिष्ठित सहर पनि हो । रुक्मेदिन अचोमक नामक एक शासकले यस टापूमा निरङ्कुश शासन गर्दछन् । जब उसको क्षेत्राधिकारभित्र कुनै विदेशी व्यापारीहरूको मृत्यु हुन्छ, उक्त शासकले मृतक व्यापारीको सबै सम्पत्ति कब्जा गर्छन् र आफ्नो ढुकुटीमा सञ्चय गर्छन् ।

गर्मी याममा यहाँका बासिन्दाहरू सहरमा बस्दैनन् किनकि यहाँको अतिशय गर्मीको कारण यहाँ गर्मीयाममा हानीकारक हावा बहन्छ । बरु उनीहरू नदी किनारमा पानीमाथि अस्थायी झुपडीहरू निर्माण गर्छन् । झुपडी बनाउँदा उनीहरू सूर्यको किरण रोक्न काठको खाँवाहरूमा पातहरूले छाउँछन् र खाँवाको एक छेउ पानीमा डुबाउँछन् भने अर्को छेउ किनारमाथि अड्याउँछन् । प्रत्येक दिन बिहान नौ बजेदेखि झण्डै मध्यान्हसम्म तातो हावा (लू) बहन्छ । यसरी बहने तातो हावाको ताप र बेग यति तीब्र हुन्छ कि यसले मानिसहरूमा स्वासप्रस्वास अवरुद्ध भई निसास्सिएर मृत्युसम्म हुन सक्छ । यस मरुस्थलमा यदी कोही व्यक्ति यसप्रकारको ज्यानमारा हावाको प्रकोपमा पर्‍यो भने यसबाट उम्किन निक्कै मुस्किल हुने गर्छ । यसप्रकार उक्त तातो हावाको प्रकोपबाट बच्न उक्त हावा बहुन्जेलको समय उनीहरू यिनै नदी किनारमा निर्मित झुपडीहरूमा बिताउँछन् । जब तातो हावाको लहर सुरु हुन्छ, उनीहरू हत्पत चिउँडोसम्म डुब्नेगरी पानीमा पस्छन् र हावाको बहाव नरोकिन्जेल यही स्थितिमा रहन्छन् ।

अर्मुसका बासिन्दाहरू कालो वर्णका छन् र उनीहरू महोमेतन धर्मको अनुसरण गर्छन् । उनीहरू गहुँ, धान र अन्य बालीहरूको लागि बिउ छर्ने काम नोभेम्बर महिनामा गर्छन् र मार्चमा बाली भित्र्याउँछन् ।

मानिसहरू अन्न र फलफूलहरू मिलाएर एक किसिमको रक्सी उत्पादन गर्छन् । रक्सी पिउन बानी नपरेका मानिसहरू जब पहिलोपटक पिउँछन्, तब उक्त अवसरमा एउटा पर्व आयोजना गरिन्छ । यहाँका मानिसहरूको खानपिनको सँस्कृति हाम्रोभन्दा फरक छ । उनीहरू मुख्यतः खाद्यश्रोतको रूपमा माछालाई लिन्छन् ।

केही सीमित ठाउँमा बाहेक यस क्षेत्रमा घाँस पाइँदैन । अत्यधिक तापक्रमले गर्दा कुनै वनस्पति उम्रन र हुर्कन सक्दैनन् ।

कुलीन श्रेणीका लोग्नेमान्छेको मृत्यु भयो भने स्वास्नीहरू लगातार चार हप्तासम्म प्रत्येक दिन घोर विलाप गर्दै रुन्छन् । केही मान्छेहरूको त रुने पेसा नै हुन्छ । उनीहरू जसको मृत्युमा पनि रोइदिन जान्छन् र यसबापत केही भुक्तानीसमेत पाउँछन् ।

अर्मुसको बारेमा बोलिरहँदा भारतलाई एकछिनको लागि थाँती राख्नुपर्ने हुन्छ । जसको लागि छुट्टै चर्चा गरिनेछ । बरु अहिले अर्मुसको उत्तर अर्थात् कियर्मनतिरै फर्किनु उचित देखिन्छ । अर्मुस छोडेपछि तपाईं एउटा छुट्टै बाटो समात्नुभयो र हिँडिरहनुभयो भने एउटा सुन्दर, समथर र उर्वर भूमिमा पुग्नुहुन्छ । जहाँ च्याखुरा लगायतका चराहरू प्रचुर देख्न पाइन्छ ।

तर यहाँका मानिसहरू जो गहुँको रोटी खानको लागि बानी परेका हुँदैनन्, उनीहरूलाई गहुँको रोटी खान बिल्कुलै मनपर्दैन । तितो स्वादको पानीबाट सिञ्चित जमिनमा उब्जाएकोले होला, यहाँको गहुँमा तितोपना अस्वाभाविक रूपमा हुन्छ । सबैतिर खोलाहरूमा न्यानो र स्वास्थ्य अनुकूलको पानी छ, जसले छालासम्बन्धी समस्याहरूमा राहत दिन सहयोग गर्दछ । आरूबखडा र अन्य फलफूलहरू प्रशस्तै पाइन्छन् ।

 

13. कियर्मन र कोबियाम बिचमा पर्ने मरुभूमि

कियर्मन छोडेर तीनदिनसम्म यात्रा गरेपछि तपाईं एउटा मरूभूमिमा आइपिग्नुहुन्छ, जुन सात दिनको यात्रा गरेपछि मात्र पार हुन्छ । जब उक्त मरुभूमि पार हुन्छ, तपाईं कोबियाम आइपुग्नुहुन्छ । मरुभूमि पार गर्दैगर्दाका सात दिनमध्ये अघिल्ला तीन दिन कहिँकतै तपाईंलाई यात्रामा थोरथोरै पानीले भेटिन्छ । उक्त पानी स्वादमा नुनजस्तै नुनिलो र रङमा हरियो एवम् सिकसिको लाग्दो रहेको छ । यसैकारण कसैले पनि उक्त पानी पिउनको लागि भने प्रयोग गर्दैनन् । यदी कसैले उक्त पानी पियो भने चाहिँ यसको असरस्वरूप ऊ तुरुन्त बिरामी पर्नेछ । यसर्थ यस मरुभूमिमा यात्रा गर्ने जुनसुकैले पनि आफैँले पानीको भरपूर व्यवस्था गरेर जानु नितान्त अनिवार्य हुन्छ ।

पशुपाखरहरू, जो बाटोमा भेटिने उक्त पानी पिउन बाध्य हुन्छन्, तिनलाई पनि यसको तुरुन्त असर पर्ने गर्छ । र यी अघिल्ला तीनदिनको यात्राभरि कहिँपनि बस्ती वा घरहरू भेटिनु असम्भव छ । त्यो पूरै निर्जल र उजाड छ ।

चैथो दिनमा चाहिँ तपाईं बल्ल एउटा स्वच्छ पानी बहने नदी भेट्नुहुन्छ । तर यस नदीको पनि बढीजसो प्रवाहमार्ग भूमिगत छ । केही भागहरूमा भने पानी बाहिर आएको पाइन्छ । ती ठाउँहरूमा चाहिँ एकदमै छोटो दूरीमा बहने खोलाहरू बनेका छन् । यसर्थ यहाँ चाहिँ पानीको पर्याप्तता छ । यात्रीहरू फ्रेस हुनको लागि यहाँ केही समय यात्रा बिसाउने गर्छन् ।

यस मरुभूमियात्राका बाँकी तीन दिन चाहिँ अलि सहज छन् ।

 

14. कोबियाम

कोबियाम एक विशाल सहर हो, जहाँका बसिन्दाहरू महोमेतन धर्मको अनुसरण गर्दछन् । यहाँ फलाम र अन्य धातुको प्रचुरता छ । साथै निलोतुथो अथवा जिन्क पनि यस ठाउँमा सुलभ रहेको छ । जसको प्रयोगबाट उनीहरू गाजल (collyrium) लगायतका शृङ्गारसामाग्रीहरू समेत बनाउने गर्दछन् ।