बिउल्फ महाकाव्यको हालसम्म प्राप्त सबैभन्दा पुरानो पुस्तक अंश

पहिलो बेलायती महाकाव्य कुन हो ? कलेजमा पढ्नु भएको छैन भने तत्काल उत्तर फेला पार्नुहुन्छ, बिउल्फ !

जसरी हामी रामायणलाई आफ्नो ठान्छौँ, त्यसैगरी डेनिसहरुले पनि यसलाई आफ्नो ठान्छन् । भलै मूल रचना भने बेलायतीहरुले दाबी गर्छन् । आखिर यस्तो गञ्जागोल किन ? यस भित्रको कथा के छ ?

बेलायतमा हरेक वर्ष मे महिनामा पाँच दिने बिउल्फको महानतामाथि जात्रा चलाइन्छ । एक हजार वर्षअघि लेखिएको यसका सर्जकको कुनै नाम छैन । कसले लेख्यो, कुन नियतले लेख्यो त्यो पनि कसैलाई थाहा छैन । तर साहसको कथा सुनाउने यो महाकाव्यमा ३,१८२ पंक्तिका कविता छन् ।

दक्षिणी डेनमार्कका राजा रोथगरले एउटा लडाइँ जितेर फर्कन्छ । सो जितको खुसियालीमा उसले एउटा हेरोट नामक भोजगृह बनाउँछ । यहाँ राजाले रुचाएका सेना वा आफन्त आएर खान्थे, गफगाफ गर्थे, होहल्ला र नाचगान गर्थे ।

यसरी रमाइलो गर्दागर्दै एक पटक ग्रेन्डल नामक राक्षस आएर त्यहाँका मानिसलाई खान थाल्छ । केही समयसम्म ग्रेन्डल आउने र त्यहाँ रमाइलो गरिरहेका मान्छे खाने र जाने गर्न थालेपछि सर्वसाधारणमा आतंक मच्चिन थाल्यो । कुनै बेला यो हेरोट राजा रोथगरको विजयको प्रतीक थियो । अब भने आतंकको प्रतीक बन्न थाल्यो । यस्तो हुन थालेपछि राजा दुःखी भए । यसरी १२ वर्ष बित्यो ।

एक दिन घुम्दै बिउल्फ त्यस ठाउँमा पुग्यो । राजाले त्यही हेरोटमा भोज दिन्छन् । भोजपछि बिउल्फ र उसका साथी त्यहीँ सुत्छन् । त्यसै रात ग्रेन्डल आइपुग्छ र आक्रमण गर्न थाल्छ । तर यस आक्रमणमा बिउल्फले ग्रेन्डलको हात तरबारले काटिदिन्छ ।

हात काटिएपछि भागे पनि ग्रेन्डल मर्न पुग्छ । उसको मृत्युको बदला लिन ग्रेन्डलकी आमा अगाडि आइपुग्छे र केहीलाई मारेर भाग्छे । पछि बिउल्फले ग्रेन्डलकी आमा खोज्दै एउटा गुफामा पुग्छ र त्यहीँ उसको हत्या गर्छ ।

यो विजयबाट खुसी भएको रोथगर निकै खुसी हुन्छ तर यो समस्या सकिएपछि बिउल्फ आफ्नो काकाकहाँ पुग्छ । काका हाइजलक राजा थिए । हाइजलाइकको मृत्युपछि बिउल्फले हाइजलाकको नाबालक छोरालाई राजा घोषित गरेर आफूले शासन चलाउन थाल्छ र यो शासन ५० वर्षसम्म चल्छ ।

यतिञ्जेल बिउल्फ निकै बूढो भइसकेको हुन्छ । यत्तिकैमा एउटा चोरले ड्रयागनको खजानबाट एउटा सुनको कप चोर्छ । यसबाट रिसाएको ड्रयागनले बिउल्फको राज्य जलाउन थाल्छ । यसरी राज्य नै ध्वस्त भएको देख्न नसकी बिउल्फ ड्रयागनलाई मार्न भनी निस्कन्छ तर ऊ निकै बूढो भएकाले १० जना योद्धा र एक नजिकको साथी विगलाफलाई लिएर ड्रयागनकहाँ पुग्छ । ड्रयागन देख्नेबित्तिकै १० योद्धा भाग्छन् । यसपछि बिउल्फ एक्लै ड्रयागनसँग लडाइँ गर्न थाल्छ तर विगडलाफले सघाउँछ ।

अन्त्यमा ड्रयागनलाई बिउल्फले मार्न सफल हुन्छ । यस क्रममा बिउल्फ पनि निकै घाइते भइसकेको हुन्छ । मर्ने बेलामा बिउल्फले विगलाफलाई राज्य सञ्चालन गर्न आग्रह गर्छ ।

यसरी एउटा योद्धाको साहसको कथा सकिन्छ ।

मध्यकालमा रचिएको यो कथा यति लोकप्रिय भयो कि कयौँ वर्षसम्म यसलाई मौखिक रुपमा सुनाइन्थ्यो । पछि किताबको व्यापक प्रचलन हुन थालेपछि किताबी रुपमा छापिन थाल्यो ।

समयक्रमसँगै यसका कयौँ फिल्महरु समेत बनेका छन् । यही कथाबाट प्रेरित भएर जेआरआर टोकिनले त ‘लर्ड अफ दि रिङ’को शृङ्खला नै लेखे । उनले बिउल्फको आंग्ल–स्याक्सन भाषाबाट सन् १९२६ मा आधुनिक अंग्रेजी भाषामा अनुवाद पनि गरेका थिए ।

यो आंग्ल स्याक्सनमा लेखिएको महाकाव्यका अनेकन् संस्करणमध्ये हाल एउटा मात्र पाइन्छ । त्यो पनि अठारौँ शताब्दीताका लागेको आगोका कारण झण्डै ध्वस्त भएको थियो ।

यो महाकाव्य कहिले, कसले रचना गर्यो भन्ने अहिलेसम्म कसैले बताउन सकेको छैन । तर इतिहासकारहरुले यसको रचना १३ सय वर्ष पूर्व लेखिएको अनुमान गरिन्छ । यसले कथाकारहरुलाई यति मुग्ध बनाएको छ कि अचेल त्यसैको नक्कलमा गेम अफ थ्रोन्स, डनजियन एन्ड ड्रागन्सजस्ता प्रख्यात टेलिभिजन शृंखलासमेत बनाइएका छन् ।

पछिल्लो समय आइरिस कवि सिमस हेनीले १९९९ मा गरेको अनुवाद त्यसबेला निस्कनेबित्तिकै बेस्टसेलर बन्न पुगेको थियो । युवाहरुका लागि भनेर पछि बाल साहित्यकार माइकल मोर्पुगोले सरलीकृत बिउल्फ लेखेका थिए र त्यो पनि निकै रुचाइएको थियो ।

त्यसपछि त कमिक बुक, फिल्म, टीभी शृंखला र डकुमेन्ट्रीको बाढी नै आएको मानिन्छ ।

आखिर यो कवितामा त्यस्तो के छ ?

इतिहासकार माइकल वुड भन्छन्, ‘सेक्सपियर आउनुअघि मान्छेलाई रोमाञ्चकता दिने यही एउटा कविता थियो । यसमा दानव छ, यसमा नायक छ । युद्धहरु छन् । यसमा ड्रागनजस्तो कसैले पछार्न नसक्ने जन्तु छ र पनि मानिसले त्यसमाथि विजय हासिल गर्छ ।’

वुडको भनाइमा यो यति सशक्त कथा छ कि समय क्रममा यसलाई मानिसले आफू अनुकूल अनेकन् उपकथा जोड्दै थप्दै, नयाँ बनाउँदै जाने ठाउँ छ ।

रोचक पक्ष चाहिँ, यो उपन्यासको खलपात्र ग्रेन्डेल डेनमार्कको हो । ग्रेन्डेलबाट छुटकारा दिलाउने चाहिँ स्विडेनी नायक बिउल्फ हो । र, यसलाई लोकप्रिय भने बेलायतीहरुले बनाए ।

बिउल्फको अनुवादकर्ता लेखक तथा कवि केभिन क्रसली हल्यान्ड यो कविता सन् ६५० ताका लेखिएको अनुमान गर्छन् । त्यसअघि यो मानिसले मौखिक रुपमा वाचन गर्ने गर्थे ।

हाल यो एक मात्र ओरिजनल कपीलाई ब्रिटिस लाइब्रेरीले सुरक्षित राखेको छ । पछिल्लो पटक सन् २०१८ मा यस महाकाव्यलाई ब्रिटिस लाइब्रेरीले प्रदर्शनीमा राखेको थियो ।

यो महाकाव्य आंग्ल साक्सनबाट पहिलो पटक डेनिस भाषामा अनुवाद गरिएको थियो । बिउल्फको सबैभन्दा सशक्त पक्ष भन्नु नै यसलाई आधुनिक समाजसँग जोड्न सक्नु रहेको युनिभर्सिटी कलेज लन्डनका प्राध्यापक एन्ड्यु बर्न बताउँछन् । उनको नजरमा यसको कथा यतिञ्जेलसम्म मन पराइनुका पछाडि यसको सर्वकालीकता पनि हो ।

बिउल्फ रचना भएको हुनसक्ने आँकलन गरिएको ठाउँ बेलायतको उडब्रिजस्थित सफोकमा यहाँ बिउल्फलाई सम्झँदै हरेक वर्ष मेला लाग्ने गर्छ । तर कोभिड १९ का कारण सन् २०२० र २०२१ मा मेला आयोजन हुन सकेन । यो वर्ष भने मेलाको तयारी व्यापक रूपमा गरिँदैछ ।

यस्ता सर्वकालीक साहित्यको समय समयमा फिल्महरू बनाइने गरिन्छ । कयौँ संस्करणका फिल्महरू पनि देखिन्छन् । यहाँ भने तपाइँहरूका लागि युट्युबमा उपलब्ध एउटा फिल्मको लिंक दिएका छौँ । मन पर्यो भने तल केही लेखी टिप्पणी गर्नुस् है त ।

[embedyt] https://www.youtube.com/watch?v=dxvBgwGVtvM[/embedyt]