अनुवादबारे दुई शब्द

अनुवादक: बद्रीप्रसाद घिमिरे

अनुवाद गरेका दर्जनौँ पुस्तक र विश्वसाहित्यको अध्ययनको क्रममा आफ्नो मनमा पलाएको अनुवादप्रतिको हुटहुटीले गर्दा जन्मिएको पुस्तक हो यो । मैले अनुवादको क्रममा अनुवादसम्बन्धी सिद्धान्तको भरपुर उपयोग गर्ने प्रयास गरेको छु । अनुवादकको मुख्य जिम्मेवारी सांस्कृतिक जगेर्ना गर्नु पनि हो । यसमा शैली, सौन्दर्य र विषयवस्तु सबैको उत्तिकै ख्याल राख्नुपर्ने हुन्छ; जुन मैले यस अनुवादमा राख्ने प्रयास गरेको छु । अनुवाद गर्दै गर्दा यथाशक्य कथाको मूल भाव नखजमजियोस्‌ र सरल सरस र बोधगम्य पनि होस्‌ भन्ने अभिप्रायले मैले कतै शब्दानुवाद र कतै भावानुवादको प्रयोग गरेको छु।

(विश्वका उत्कृष्ट कथाहरू (नोबेल पुरस्कार प्राप्त लेखकहरूका उत्कृष्ट कथा) शीर्षकको यस सङ्कलनमा रहेका कथाहरू सशक्त र ओजपूर्ण रहेका छन्‌ । यस अनुवाद कार्यबाट एकातिर नेपाली भाषा-साहित्य पनि समृद्ध हुनेछ भने अर्कोतिर नेपाली पाठक पनि विश्वको उत्कृष्ट साहित्यबाट लाभान्वित हुनेछन्‌ भन्ने मैले आशा लिएको छु।

नेपाल प्रज्ञा-प्रतिष्ठान नेपाली भाषा-साहित्यको संरक्षण र सम्बर्द्धनमा क्रियाशील संस्था हो । यसै सन्दर्भमा प्रतिष्ठानको साहित्य (अनुवाद) विभागबाट Great Stories by Nobel Prize Winners लाई अङ्ग्रेजीबाट नेपाली भाषामा अनुवाद गर्ने स्वीकृति प्रदान गर्नुहुने माननीय कुलपतिज्यू, उपकूलपतिज्यू, सदस्य सचिवज्यू र विभागीय प्रमुख प्रा.डा. उषा ठाकुज्यूप्रति आभारी छु।

यसै गरी अनुवादित पाण्डुलिपि मूल्याडकनका क्रममा कमी कमजोरी औंल्याई रचनात्मक सुझाव दिनुहुने विद्वान्‌ प्रा.डा. गोविन्दराज भट्टराईज्यूप्रति आभारी छु । अनुवादको जिम्मेवारी प्रक्रियादेखि प्रकाशनसम्मको व्यवस्थापनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने प्रज्ञा परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
बदीप्रसाद घिमिरे
                                                                                                                                                                        अनुवादक

 

पिता
ब्यौन्स्तर्न ब्यौन्सर्न मार्तिनसको जन्म नर्वेको उत्तरी पहाडी भेगको क्विन्केमा ८ डिसेम्बर १८३२ मा भएको हो । नर्वेली साहित्यमा उनलाई हेनरिक इब्सेन सरह मानिन्छ । कवि, नाटककार, समालोचक, उपन्यासकार एवम्‌ आदर्श राजनेताको रूपमा प्रतिष्ठित ब्यौन्स्तर्न ब्यौन्सर्न मार्तिनस १९०३ मा नोबेल पुरस्कारद्वारा सम्मानित भए । उनका कृतिमा गाउँले जीवनको चित्रण गरेको पाइन्छ । २६ अप्रिल १९१० मा पेरिसमा उनको निधन भयो । बिट वित द ब्याटल (१८५७), अ ह्याप्पी ब्वाय (१८६०), पोइम्स एन्ड सङ्स (१८७०), द किङ (१८७७), लभ एन्ड जियोग्राफी आदि उनका प्रमुख कृतिहरू हुन्‌ ।

………………………………………………………………………….

जुन मान्छेको कथा यहाँ भनिदै छ, ती मान्छे आफ्नो इलाकाको अति धनी र प्रभावशाली व्यक्ति थिए । उनको नाम थियो थोर्ड ओभरास । निकै अग्लो र गम्भीर देखिने थोर्ड ओभरास एक दिन पादरीकहाँ पुगे । “मेरो एउटा छोरो छ, उसको बपतिस्मा(इसार्इ नामाकरण संस्कार) । गरिदिऊँ भनेको” उनले भने ।

“के नाम राख्ने हो कुन्नि ?”

“किन- मेरो बुबाको नामबाट ।”

“अनि प्रस्तावक चाहिँ कसलाई राख्ने नि ?” सबैको नाम उल्लेख भयो,

ती सबै पुरुष र महिला त्यस भेगको थोर्डका आफन्तमध्येका विशिष्ट व्यक्ति मानिन्थे ।

“अरू पनि केही भन्नु छ कि ?” यति भन्दै पादरीले उनको मुखमा हेरे ।
ती किसान अलि हच्के ।

अन्ततः थोर्डले भने- “ऊ आफैँले बतिस्मा गरोस्‌ भन्ने चाहन्छु म ।”

“यसको मतलब एक हप्ताभित्र ?”

“आउँदो शनिबार दिनको ठिक बाह्र बजे ।”

“अरू पनि केही भन्नु छ कि ?” पादरीले सोधे ।

“अहँ केही छैन” यति भन्दै ती किसान आफ्नो टोपी मिलाएर हिँड्न ठिक परेका थिए । त्यसपछि पादरी जुरुक्क उठे । “अझै एउटा कुरा भन्नु छ” यति भन्दै उनी थोर्डतिर अघि बढेर थोर्डको हात समाते अनि गम्भीरतापूर्वक उनको आँखामा हेरे, ईश्वरको अनुकम्पाले यो बच्चो तिमीलाई वरदान बनोस्‌ ।”

सोह्र वर्षपछि एक दिन थोर्ड फेरि एक चोटि पादरीसामु उपस्थित भए ।

“साँच्चै यो उमेरमा पनि तिमी पहिलाको जस्तै तन्दुरुस्त देखिन्छौ, अचम्म पो भो त !” थोर्ड पादरीले भने, किनभने उनले थोर्डमा खासै परिवर्तन आएको देखेनन्‌ ।

“मलाई पिर चिन्ता केही छैन नि त, त्यही भएर होला” थोर्डले भने ।

थोर्डको भनाइमाथि उनले टिप्पणी गर्न चाहेनन्‌ तर अलि बेरपछि उनले सोधे-

“के कति कामले आयौ त थोर्ड तिमी यस्तो साँझमा ?”

“मेरो त्यो छोरो छ नि, हो, उसैको भोलि कर्म पुर्याइदिऊँ कि भनेर आएको म त ।”

“निकै चलाख छ त्यो केटो ।”

“भोलि चर्चमा केटाको पालो कति नम्बरमा आउला त्यो नसुनुन्जेल पादरीलाई पैसा नदिने विचारमा छु म।”

“एक नम्बरमै आउँछ उसको पालो ।”

“मैले पनि त्यस्तै सुनेको छु । ल, लिनुस्‌ यो दश डलर पादरीका लागि । तिम्रा लागि मैले गर्नुपर्ने अरू केही छ ?” थोर्डतिर हेर्दै पादरीले सोधे ।

“अहँ त्यस्तो केही छैन ।”
थोर्ड बाहिर निक्ले ।

त्यसको ठिक आठ वर्षपछि एक दिन पादरीको अध्ययन कक्षबाहिर खुब खैलाबैला मच्चियो, जसले गर्दा थुप्रै मान्छेहरू ओइरिन थाले । थोर्ड जो अग्रपड्क्तिमा थिए, सुरुमै भित्र पसे ।

पादरीले टाउको उठाएर हेर्नेबित्तिकै उनलाई चिनिहाले ।

“यति बेला साँझमा आएर जाती गर्यौ तिमीले” थोर्ड पादरीले भने ।

“मेरो छोराको विवाहको सूचना पढेर सुनाइयोस्‌, भनेर आग्रह गर्न आएको म त, मेरै छेउमा अघि राख्नुभएको गड मन्डकी छोरी कारेन स्टोर्लिडेनसित उसको बिहे हुँदै छ ।”

“किन नहुनु ? उनी त यस भेगकै सबैभन्दा धनी केटी हुन्‌ भन्ने सुनेको छु मैले ।”

“सबै त्यसै भन्छन्‌” एक हातले कपाल मिलाउँदै ती किसानले सही थापे ।

गम्भीर सोचमा परेजस्तो गरी पादरी एकछिन बसे । त्यसपछि कुनै प्रतिक्रिया नजनाईकनै मान्छेको नाम लेखे । सबैले आ-आफ्नो नाम लेखेको ठाउँमा हस्ताक्षर गरे । थोर्डले तीन डलर टेबुलमा राखिदिए ।

“मलाई एक डलर भए पुग्छ बढी चाहिँदैन” पादरीले भने ।

मलाई राम्रोसित थाहा छ, तर ऊ मेरो एक्लो सन्तान हो, त्यसैले म मुठी फुकाएर खर्च गर्न चाहन्छु ।

पादरीले सबै पैसा लिए ।

“छोराका लागि तिमी यहाँ आएको तीन चोटि भैसक्यो थोर्ड ।”

“उसैले गर्दा त म यहाँ आउन पाएको छु” यति भन्दै थोर्डले पकेटबुक पट्ट्याए, अनि पादरीसित बिदा मागेर आफ्नो बाटो लागे ।

अरू मान्छे पनि उनको पछि लागे ।

चौध दिनपछि एक दिन शान्त दिन पारेर बाबुछोरा दुवै डुङ्गामा तलाउ पार गर्दै थिए । उनीहरू बिहेको तयारीका लागि स्टोर्लिडेनकहाँ जाँदै थिए । त्यो आसन त्यति सुरक्षित छैन । यति भन्दै छोरो चाहिँ आफू बसेको सिट सिधा पार्न उभियो । त्यति नै बेला जुन फलेकमा ऊ उभिएको थियो, त्यो फलेक अकस्मात्‌ मुनिबाट चिप्लन पुग्यो । उसले हतार हतार हात ठाडो पार्यो, जोडले चिच्यायो
अनि एक्कासि तलाउमा घोप्टिन पुग्यो ।

“दाबिलो राम्रोसित समात” यति भन्दै बाबु जुरुक्क उठे, अनि छोरा भएतिर दाबिलो तेर्स्याए । छोरो चाहिँले एक-दुई चोटि प्रयास त गर्यो । तर ऊ असफल भयो । एकैछिनमा अररो भो।

“एकैछिन पर्खी है ! यति भन्दै बाबुले छोरो भएतिरै डुङ्गा खियाउन थाले । त्यसपछि छोरो उत्तानो पर्यो, अलि बेर बाबुलाई टुलुटुलु हेर्यो अनि डुब्यो ।

थोर्डलाई विश्वासै भएन, एकछिन डुङ्गा रोके, अनि छोरो डुबेको ठाउँमा एकटकले हेरिरहे, मानौं उनको छोरो अवश्यमेवः फेरि फर्केर त्यही सतहमा देखापर्ने छ । छोरो डुबेकै ठाउँमा पानीका भुल्काहरू देखापरे एकपछि अर्को गर्दै । त्यसपछि तलाउ पहिले जस्तै शान्त र ऐना जस्तै चम्किलो भयो ।

लगातार तीन दिन, तीन रातसम्म छोरो डुबेको ठाउँ बरिपिर डुङ्गा खियाइरहेको देखे मानिसहरूले थोर्डलाई । न रात न निद्रा, न दिन न भोक भो उनलाई छोराको लास नभेटाउन्जेल । तेस्रो दिनको बिहानतिर मात्रै उनले छोराको लास भेट्टाए । लास काखी च्यापेर उनी डाँडातिर उक्ले, अनि जमिनमा राखे । त्यसको झन्डै एक वर्षपछि हेमन्त ऋतुको एक साँझ पादरीले ढोकाबाहिर कोही आउँदै गरेको आवाज सुने । कोही ढोका खोल्न चुकुल खोज्दै थियो । पादरीले ढोका उघार्नासाथ एक जना अग्लो, ख्याउटे, कृप्रो र सेतै कपाल फुलेको मान्छे फुत्त भित्र पस्यो । पादरीले निकै बेर उसको अनुहार हेरेपछि उसलाई चिनिहाले । उनी थिए थोर्ड ओभरास ।

“अबेला आयौ तिमी ।” यति भन्दै पादरी थोर्डसामु ठिङ्ग उभिए । “त्यही त अलि बियाँलो भो” यति भन्दै थोर्ड कुर्सीमा बसे । कसैको प्रतीक्षा गरेझैँ पादरी पनि बसे, लामै सन्नाटा छायो । अन्तत: थोर्डले भने- “मसित केही चिज छ, जुन म गरिबलाई बाँड्न चाहन्छु, त्यो पनि छोराको नाममा ।” उनी जुरुक्क उठे र टेबुलमा केही पैसा फिँजाएर फेरि थचक्क कुर्सीमा बसे ।

पादरीले पैसा गने ।

“थुप्रै पो छ त” उनले भने ।

“यो त मेरो पूरा सम्पत्तिको आधा मात्रै हो, आजैदेखि मैले बेचिदिएँ ।”
पादरी निकै बेरसम्म मौन रहे । अन्तत: उनले नरम स्वरमा सोधे- “यो पैसाले ऊ सुर छ त योर्ड ? कुनै राम्रो काम ।”

उनीहरू अलि बेर त्यहीँ बसिरहे । थोर्ड उदास आँखा लिएर झोक्राएको देखिन्थेभने उता पादरीको आँखा भने थोर्डमाथि गडेको देखिन्थ्यो । त्यसैलगत्तै मधुरो स्वरमा पादरीले भने “मलार्इ लाग्छ , तिम्रो छोराले अन्तत साँच्चिकै खुसीयाली ल्याइदियो हगि ?”

“हो, मलाई पनि त्यस्तै लाग्छ” यति भन्दै थोर्डले मास्तिर हेरे । त्यति बेला उनका आँखाबाट दुई थोपा आँसु तप्प चुहिए अनि बिस्तारै गालासम्म बग्दै गए।”