अडियो बुकलाई प्रख्यात बनाउने डुुभाल हेचको ९१ वर्षको उमेरमा अमेरिकाको क्यालिफोर्नियास्थित कोस्टा मेसास्थित आफ्नै निवासमा देहान्त भएको छ । गएको फेब्रुुअरी १० मा उनको निधन भएको हो ।

सन् १९७० को दशकमा टेलिभिजन र रेडियोमा गीतहरु लोकप्रिय भएका बेला उनले किताब पनि सुुन्न सकिन्छ भन्ने प्रमाणित गरेका थिए । अडियो बुक सुुन्ने लोभका कारण उनी ट्रक चलाउँथे कुनै बेला ।

सेयर बजारमा कारोबार गर्ने कम्पनी सञ्चालकका छोरा उनी क्यालिफोर्नियास्थित आफ्नो घरबाट काम गर्ने कार्यालयमा हरेक दिन जाँदा रेडियोमा युद्धका समाचार र दिक्कलाग्दा गीत सुन्दासुुन्दा वाक्क भएर यात्रा अवधिमा सुुन्ने किताब भए आनन्द हुने थियो भन्ने सोच जागेपछि उनले बुक्स अन टेप नामक कम्पनी सुरु गरेका थिए ।

यसपछि उनले प्रख्यात किताबहरुलाई रेकर्ड गरी बजारमा ल्याएका थिए । उनको यो प्रयास किताबी इतिहासमा एउटा सफल कथाका रुपमा मानिन्छ ।

सुरुमा उनले अडियो बुक दृष्टिहीन व्यक्तिका लागि केन्द्रित गरी निकालिएको भए पनि उनको यो प्रयासले बालबालिका, जवान तथा वृद्ध सबैले रुचाएका थिए ।

उनको यो प्रयास सुरुमा अडियो चक्कामा प्रयोग गरिएको थियो । पछि प्रविधिको विकास हुुँदै जाँदा अन्य माध्यममा समेत विस्तार गर्न थाले । उनले बुक्स अन टेपले भिडियो पनि प्रकाशन गर्ने गरेको थियो । खासगरी सेल्फ हेल्प विधाका भिडियोहरु उनको कम्पनीले बजारीकरण गर्ने गरेको थियो ।

सन् १९६५ मा बुक्स अन टेपको सोच उनको दिमागमा छिरेको भए पनि १९७५ मा उनले बुक्स अन टेप इन्कर्पोरेटेड कम्पनी स्थापना गरे ।

खासमा सन् १९३२ ताका नै अडियो बुकहरु निस्कन थालेको थियो । अमेरिकन फाउन्डेसन अफ द ब्लाइन्डले भिनाइल रेकर्डमा कयौँ किताबहरु रेकर्ड गरी वितरण गर्ने गरेको थियो । भिनाइलका दुुई साइडमा १५÷१५ मिनेटका बोलीहरु रेकर्ड गर्न सकिन्थ्यो । तिनलाई टकिङ बुुक्स भनिन्थ्यो । विश्वयुद्धमा आँखा गुमाएका कयौँ सैनिकहरुले यस्ता टकिङ बुक माग गर्न थालेपछि यसको व्यावसायिक व्यापारको सम्भावना बढेर गयो ।

त्यो बेला प्रायः सेक्सपियरका नाटकहरु, अमेरिकी संविधान तथा केही उपन्यासहरु रेकर्ड गरिएका थिए । रेकर्ड गरेर दिने कम्पनीलाई फाउन्डेसनले त्यो बेलाको १० हजार डलर बजेट छुुट्याउने गथ्र्यो । यस्ता किताब सार्वजनिक रुपमा बेच्न पाइँदैनथ्यो । सित्तैमा बाँडिन्थ्यो ।

आफ्नो सोच सफल पार्नका लागि डुुभालले त्यो बेलाको महँगो पोर्च गाडी बेचेका थिए । त्यो बेचेर जम्मा भएको पैसाले कम्पनी स्थापना गरेका थिए ।

वार एन्ड पिस उपन्यासका लागि उनले ४५ वटा क्यासेट चक्कामा स्वर भराएका थिए ।

खासगरी उनले यस्ता किताबहरु भाडामा दिने व्यापार चम्किए पनि सन् १९८० मा सोनी कम्पनीले वाकम्यान नामक सानो अडियो प्लेयर ल्याएपछि भने उनको अडियो बुकको व्यापार चम्कियो । यस्तो किताब यात्रामा गइरहने, हाइकिङ रुचाउने युवामाझ निकै लोकप्रिय भएको थियो । व्यापार चम्किएसँगै ठूलो प्रकाशन संस्था रेन्डम हाउसले सन् २००१ मा यो कम्पनी २ करोड डलरमा खरिद गरेको थियो । त्यो बेला बुुक्स अन टेपसँग ६ हजारभन्दा बढी पुस्तक अडियोमा रेकर्ड गरिएका थिए ।

यसैलाई देखाएर रेन्डम हाउसले स्कुल र सार्वजनिक तथा निजी पुुस्तकालयहरुलाई अडियो पुस्तक वितरण गर्ने गरेको थियो र यसले उसलाई निकै नाफा दिलाएको थियो ।

सन् १९३० अप्रिल २३ मा लस एन्जल्समा जन्मिएका उनले स्टानफोर्ड विश्वविद्यालयमा शिक्षा हासिल गरेका थिए । सन् १९५२ मा आयोजित ओलम्पिक खेलमा उनले सहभागिता जनाएका थिए भने १९५६ को ओलम्पिकमा त डुंगा खियाउने खेल खेलेरै स्वर्ण पदक हात पारेका थिए ।

पत्रकारितामा मास्टर्स गरेका उनले पछि कलेजमा पढाएका पनि थिए । उनले डुंगा समुदाय पनि स्थापना गरे । जीवनभर उनी डुंगा प्रेममा रहे ।

यही कम्पनीको जगमा पछि नक्कल गर्दै बुक्स इन मोसन, रेकर्डेड बुक्सजस्ता कम्पनीहरु देखापरेका थिए ।

उनैको सोचअनुसार अहिले लेखकले नै स्वर भर्ने वा प्रख्यात कलाकारहरुलाई किताब पढ्न लगाउनेजस्ता कुरा प्रयोगमा मात्र ल्याइएन, ती रणनीतिहरु अहिले पनि उत्तिकै लोकप्रिय छन् ।

उनी लामो अवधिका अडियो चक्काभन्दा पनि छोटो छोटो अवधिका धेरै चक्का निकाल्न रुचाउँथे । ‘अडियो बुकमा किताब निस्कनुु भनेको गटेनबर्गले पुस्तक छाप्नुु जत्तिकै क्रान्तिकारी कदम थियो,’ उनले एक पटक भनेका थिए ।

जीवनमा उनले प्लेन पनि चलाए । उनले हवाई जहाज पाइलटका रुपमा काम गरेका थिए ।

बुुक्स अन टेपले हरेक वर्ष आयोजना गर्ने निबन्ध प्रतियोगितामा एक पटक सहभागी हुन आएकी एन मेरी रुसोलाई देख्नेबित्तिकै मन पराएका उनले लामो समयपछि सन् २००२ मा बिहे गरेका थिए । एन र डुुभालका चार सन्तान तथा तीन नातिनातिना छन् । अघिल्ला दुुई विवाहमा उनी टिक्न सकेनन् ।

उनले आफ्नो दैनिकीमा अन्तिम पटक लेखेका थिएः जीवनबाट अन्तिम अवस्थामा पनि धेरै पाठ सिक्न सकिने रहेछ ।