योगेन्द्र तिमिल्सिना
पूर्वी चीनको गान्झाउ प्रान्तमा ४ जनवरी, १९४० मा जन्मेका उपन्यासकार, नाटककार र समालोचक गाओ झिङ्जियानले सन् २००० को नोबेल पुरस्कार जितेका थिए । उनलाई यो पुरस्कार विश्वव्यापी मान्यता, तीक्ष्ण अन्तर्दृष्टि र भाषिक कुशलताको निम्ति प्रदान गरिएको थियो ।
गाओ झिङ्जियान चीनमा भएको जापानी आक्रमणपछि जन्मी, हुर्के बढेका साहित्यकार हुन् । गाओका बाबु बैङ्क अफ चाइनामा सहायक स्तरका कर्मचारी थिए । उनकी आमा चाहिँ वाईएमसीए (योङ्गमेन्स चिल्ड्रेन एसोसिएशन)की सदस्य थिइन् । उनकी आमाले गाओको इच्छा बमोजिम उनलाई थिएटर र लेखनमा लाग्न प्रोत्साहित गरेकी थिइन् । दोश्रो चीन–जापान युद्ध अवधिमा उनी जापान विरोधी नाट्यशालामा कलाकारको रुपमा काम गर्थिन् । आमाको प्रेरणाले सानै उमेरदेखि गाओ चित्रकला, लेखन र नाट्यशालामा काम गर्न मन पराउँथे ।
सन् १९५० मा उनको परिवार नानजिङ् सरेको थियो । सन् १९५२ मा नानजिङ् युनिभर्सिटीसँग आबद्ध एक मिड्ल स्कुलमा नाउँ लेखाएर उनी अध्ययन गर्न थाले । उनले जनवादी गणतन्त्र चीनका सरकारी स्कुलबाट शिक्षा प्राप्त गरेका थिए भने सन् १९६२ मा बेइजिङको विदेशी भाषा विभागबाट फ्रेन्च भाषामा डिग्री हासिल गरेका थिए । साँस्कृतिक क्रान्तिको समय (१९६६—७६) मा उनलाई पुनर्शिक्षा क्याम्पमा पठाइयो र उनका हस्तलिपिहरू राखिएको सुटकेश नष्ट गरियो । उनलाई सरकारले विदेशी भाषा प्रेसमा काम गर्न खटाएको थियो । उनी अनुवादक भए, तर उनले आफ्ना सिर्जनाहरू भने कतै प्रकाशन गराउन सकेनन् । सन् १९७९ सम्म उनी विदेश भ्रमणमा पनि कतै निस्कन सकेनन् ।
१९८०—८७ कोे अवधिमा चीनका साहित्यिक पत्र पत्रिकामा उनले आफ्ना कथा, निबन्ध र नाटकहरु प्रकाशित गरे । सन् १९८० मा उनको लघु उपन्यास हान्ये झोङ् दे सिन्चेन (चिसो रातका ताराहरू) प्रकाशित भएपछि उनी चर्चित हुन थाले । उनले सन् १९८१ मा आधुनिक आख्यानको कला पक्ष विषयक पुस्तक प्रकाशन गरेका थिए । फ्रेञ्च भाषामा उनको दखल भएको हुँदा फ्रान्सेली साहित्यमा उनको पहुँच बढ्यो । फ्रेन्च भाषामा लेख्ने आयरेली नाटककार स्यामुयल बेकेटबाट प्रभावित भई उनले धेरै प्रयोगवादी नाटकहरु लेखे । उनले आफ्ना नाटकहरू बेइजिङको थिएटर अफ पपुलर आर्टमा प्रदर्शन गराएका थिए । उनका नाटकहरू समाजवादी यथार्थवादभन्दा भिन्न बेढङ्गी र बौद्धिक प्रदूषणले भरिएका भनी चीनमा निन्दा गरिएको थियो ।
सन् १९८१ मा लेखिएको “बस स्टप”उनको पहिलो नाटक हो । यो नाटक यथार्थवादी नभएको भनी बेइजिङ् पिपुल्स आर्ट थिएटरमा अस्वीकृत भएपछि यसलाई दुई वर्षसम्म थन्क्याएर राखियो । सन् १९८३ मा पिपुल्स आर्ट थिएटरका निर्देशक झाओहुआसँगको सहकार्यमा उनको दोश्रो नाटक “एब्सोल्युट सिग्नल” सफलतापूर्वक मञ्चन भएपछि गाओले पुनः “बस स्टप”को प्रदर्शनकोे तयारी गर्न थाले । प्रदर्शनीको शुरुमा पाश्र्वगीतको रुपमा लु सुनको लघु रचना “द पासरबाई” प्रदर्शन गरी पिपुल्स आर्ट थिएटरको बुइँगलमा “बस स्टप”का कुल १३वटा प्रदर्शन गरिएका थिए । यसलाई राजनीतिक दृष्टकोणले अस्पष्ट र समाजवादी प्रणालीलाई अस्वीकार गर्न चरित्रहरूको प्रतीकात्मक प्रस्तुति भएको नाटक भनियो । सरकारबाट स्वीकृत समाजवादी यथार्थवादको साँस्कृतिक मोडलको सीमा उल्लङ्घन गरेको र विद्यमान राजनीतिक व्यवस्थालाई अस्वीकार गरेको भनी तत्कालीन चिनियाँ सरकारले ‘एन्टी स्पिरिच्युल क्याम्पेन’ अन्तर्गत सो नाटक बन्द गराएको थियो ।
‘बस स्टप’मा चिनियाँ समाजको प्रतिनिधित्व गर्ने आठजना चरित्रहरुको सिर्जना गरिएकोे छ । सबै चरित्रहरु आ–आफ्ना भविष्यप्रति आशावादी हुन्छन्, तर शहर नपुगी कसैले पनि आ–आफ्नो सुन्दर भविष्य निर्माण गर्न सम्भव नभएको भनी उनीहरू शहरतर्फ गुड्ने बसको प्रतीक्षामा बस स्टपमा पर्खिरहन्छन् । दुर्भाग्य, बस आउँछ, तर बस स्टपमा बस रोकिँदैन । पटक–पटक बस आउँछ, तर त्यो नरोकिई अगाडि हुइँकिन्छ । दिक्क भएर उनीहरू मध्येको एउटा मौन पात्र बसको प्रतीक्षा परित्याग गरी पैदलै शहरतिर लाग्छ । विभिन्न उमेर र क्षेत्रका अरु सातजना पात्रहरू समाजका कुरीतिहरू र कुनै उपलब्धि हासिल गर्न नसकेका आ–आफ्ना गुनासाहरू आपसमा पोख्तै बस स्टपमा समय बिताउँछन् । कुनै वैकल्पिक बाटो रोज्न असफल ती पात्रहरूले दस वर्षसम्म त्यही बस स्टपमा निरर्थक छलफल गरी जीवन बिताउँछन् । नाटकको अन्त्यमा ती चरित्रहरु आ–आफ्ना वैयक्तिक विरोधाभासहरू अन्त्य गरी मौन पात्रको पदचिन्ह पछ्याउँदै शहरतिर लाग्छन् ।
युरोपेली नाटकको नौलो शैली अभान्त–गादेलाई अनुकरण गरी लेखिएको उनको नाटक चेझन (बस स्टप, १९८३) प्रकाशित भएपछि चिनियाँ कम्युनिष्ट पार्टीका पदाधिकारीहरुले त्यसको घोर भत्सर्ना गरे । त्यसपछि पनि गाओले प्रयोगवादी नाटक लेख्ने काम अगाडि बढाउँदै लगे । उनले येरो (जङ्गली मानव, १९८५) र बिअन (अर्को धार, १९८६) नाटक लेखे । यी दुवै कृति प्रतिबन्धित भएपछि गाओ आत्मिक शान्तिको निम्ति याङ्जे नदीको तिरैतिर पदयात्रामा निस्के । १० महिनासम्म निरन्तर उनी पदयात्रामा रहे । यसै पदयात्रालाई आधार बनाई उनले लिङ्शान (अङ्रेजी संस्करण सोल माउण्टेन, १९८९) नाउँको अर्को उपन्यास लेखे । गाओको उपन्यास लिङ्शान (सोल माउन्टेन)को मुख्य पात्र दक्षिण चीनमा अवस्थित सुदूर पहाडको एक शहरमा पुगेपछि उपन्यास प्रारम्भ हुन्छ । आफ्नो घर बेइजिङ्बाट त्यता जाँदैगर्दा ऊ रोगले पीडित भएको हुन्छ । चिकित्सकहरूबाट परीक्षण गराउँदा उसले आफू फोक्सोको क्यान्सरबाट पीडित भएको कुरा थाहा पाउँछ । रोगबाट उसले कष्टपूर्ण जीवन बिताइरहेको हुन्छ । उसको बाबुको मृत्युसमेत त्यही रोगबाट भएको हुन्छ । पछि पटक पटक एक्सरे गरी डाक्टरहरूबाट स्वास्थ्य परीक्षण गराउँदा उसले आफू स्वस्थ रहेको जानकारी पाउँछ । सीमान्तकृत गरिब मानिसहरुसँग घुलमिल गरी साहसी कामहरूबाट अनुभव हासिल गर्न ऊ याङ्जे नदीको तिरैतिर टाढा–टाढासम्म यात्रा गर्छ । यात्रा अवधिमा उसले आत्मिक पहाड (सोल माउण्टेन) नाउँ गरेको रहस्यमय पहाडको बारेमा सुन्छ र एक दिन त्यस ठाउँमा पुगेरै छोड्ने अठोट गर्छ ।
यात्रा अवधिमा उसले घना जङ्गल पार गर्दा जङ्गलमा विचरण गरिरहेका वन्यजन्तु अवलोकन गर्ने अवसर प्राप्त गर्दछ । ठाउँ–ठाउँका स्थानीयहरूसँग भेट गरी उनीहरूको रहनसहन र माटोसँगको सम्बन्ध, बनस्पति र जीवजन्तु, बुट्यान, पार्क तथा पुरातत्वसम्बन्धी अध्ययन गर्ने अवसर पाउँछ । पाका ग्रामीण व्यक्तित्वहरूसँग भेट हुँदा तिनका उपयोगी अनुभवहरू उसले सुन्ने अवसर प्राप्त गर्छ ।
अन्त्यमा ऊ एउटा पहाडको टुप्पोमा अवस्थित गुम्बामा पुग्छ । गुम्बामा बस्ने ताओ भिक्षुले उसले सोधेका कुनै प्रश्नको जवाफ दिँदैन, तर उसलाई त्यहाँ आफ्नो इच्छाअनुसार बस्ने सुविधा दिन्छ । भिक्षुले त्यस पात्रलाई सामान्य जनजीवनमा फर्कन सुझाव दिन्छ । उपन्यासको अन्त्यसम्म त्यो घुमन्ते पात्र सोल माउण्टेनको खोजीमा रहन्छ । अन्ततः रहस्यमय ‘सोल माउण्टेन’ खोज्दै एउटा हिउँको पहाडको टुप्पामा पुगेपछि उसले ईश्वरसँग कुराकानी भएको अनुभूत गर्छ । त्यो काल्पनिक ईश्वरले उसलाई सुझाव दिन्छ, जीवनमा त्यस्तो कुनै अद्भूत कुरा हुँदैन । त्यो पात्र अझै सन्तुष्ट हुँदैन र उसको आफूभित्रको अहंले इश्वरलाई प्रश्न गर्छ, यदि कुनै अद्भूत कुरा अस्तित्वमा छैन भने अब खोजी गर्ने कुरा के बाँकी रह्यो !
गाओ चीनमा राजनीतिक र सामाजिक रुपमा विवादास्पद बने । सन् १९८७ देखि राजनीतिक शरणार्थीको रुपमा फ्रान्समा बस्न लागे र पछि उनी फ्रान्सकै नागरिक बने । उनका नाटकहरू प्रतिबन्धित भएपछि उनका कुनै पनि नाटक चीनमा प्रदर्शन भएनन् । सन् १९८७ मा उनले चीन छाडे र राजनीतिक शरणार्थीको रुपमा पेरिस शहरमा बस्न थाले । पेरिसमा उनी पुनः साहित्यिक कर्ममा लागे । सन् १९८९ मा उनले कम्युनिष्ट पार्टी परित्याग गरे । उनका धेरै कृतिहरू विश्वका विविन्न भाषामा अनुदित छन् । उनका कयौँ नाटकहरू विश्वका विभिन्न भागमा प्रदर्शन भैसकेका छन् ।
गाओको नाटक ताओवाङ् (भगौडा, १९८९) सन् १९८९ मा विद्यार्थीहरूको प्रदर्शनमाथि तियानमेन चोकमा भएको निर्मम दमनमा आधारित छ । यस नाटकको प्रकाशनबाट तत्कालीन चिनियाँ प्रशासन गाओप्रति क्षुब्ध भयो र उनका सबै सिर्जनाहरु प्रतिबन्धित भए । त्यसपछि उनको नागरिकता रद्द गरियो । गाओ चिनियाँ र फ्रेञ्च दुवै भाषामा लेख्छन् । सन् १९९९ मा “अर्को किनाराः गाओ झिङ्जिआनका नाटकहरू” शीर्षकमा उनका कतिपय नाटकहरु सङ्कलित र प्रकाशित छन् ।
गाओ भन्छन्, ‘साहित्यले कुनै देशका नागरिक वा राष्ट्रिय संस्कृतिको प्रतिनिधित्व गर्दैन । यसले न कुनै वादलाई नै अङ्गीकार गर्दछ ।’ उनले त्यसो भनिरहेता पनि विश्व साहित्यमा उनी चीनको संस्कृति र जनजीवनलाई नै प्रतिनिधित्व गर्ने साहित्यकारको रुपमा परिचित छन् । विश्वभरका मानिसहरूको मानवीय प्रवृत्ति र स्वभाव उस्तै उस्तै हुन्छ । साहित्य राष्ट्रिय सीमाभित्र मात्र अटाउँदैन, यसले राष्ट्रिय र भाषिक सीमा भत्काउँछ । उनले चिनियाँ साहित्यलाई अन्तर्राष्ट्रियकरण गरे । हो, उनलाई तियानमेन चोकमा घटेको अमानवीय घटनाको तीतो अनुभव छ । विश्व साहित्यबाट उनी प्रभावित हुन सक्छन् र साहित्यमा नवीन शैली र शिल्पको प्रयोग गर्ने सर्जक हुन सक्छन्, तर उनी चिनियाँ माटोमा हुर्के बढेकाले उनका सिर्जनाहरू चिनियाँ संस्कार र चरित्रबाट मुक्त हुन सक्तैनन् । उनलाई विश्वमा चर्चित गराउने उपन्यास सोल माउण्टेनले पनि यस तथ्यलाई पुष्टि गरेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।