सात

भोलिपल्ट बिहान जब ऊ खाजाका लागि कालो चिया पकाउँदै थियो हसनले मलाई आफूले सपना देखेको कुरा सुनायो । उसले भन्यो, “तपाईं, म, रहिम खान, अगा साहेब र अरू हजारौँ मानिस घार्घा तालमा थियौँ । दिन घमाइलो र न्यानो थियो र ताल ऐना जस्तै सफा थियो, तर कोही पनि पौडी खेलिरहेको थिएन किनभने मानिस भन्दै थिए तालमा एउटा भूत आएको थियो | भूत तल पिंधमा पौडीखेल्दै मान्छे कुरेर बसेको थियो रे ।”

उसले कपमा चिया खन्याएर चिनी राख्यो र दुई चार पाली फुक्यो | ल मेरो अगाडि राखी दे त । “ए त्यसो भए सबै मानिस पानीमा पस्न डराएका छन्‌ , ल त्यसो भए अमीर अगा तुरून्तै जुत्ता र कमिज खोल्नुस्‌ त । “तपाईं भन्नुस्‌ कि त सबैले हेर म देखाइदिन्छु । र, कसैले रोक्नुभन्दा पहिले झ्याम्म हाम फालेर पौडिन थाल्नुस्‌ । म पछि पछि आउँछु र हामी दुवै पौडिखेल्ने हो ।”

“तर तँलाई त पौडिन आउँदैन नि ।”

हसनले हाँस्दै भन्यो, “यो त सपना हो अमीर अगा | तँपाई जे पनि गर्न सक्नुहुन्छ । सबै चिच्च्याउँदै छन्‌ “ए, निक्ल, ए निक्ल” भनेर, तर हामी चिसो पानीमा पौडिन्छौं । हामी तालको बीचमा पुग्छौं र रोकिन्छौँ । हामी किनारतिर फर्कन्छौं र मानिसहरूलाई हात हल्लाउँछौं । मानिसहरू कमिला जत्रा देखिन्छन्‌, तर तिनीहरुले ताली पिटेको हामी सुन्छौं । तिनीहरूले हामीलाई देख्छन्‌ । राक्षस त्यहाँ छैन, पानी मात्र छ | त्यसपछि मान्छेले त्यो तालको नाम फेर्छन्‌ र भन्छन्‌ “काबुलका सुल्तान, अमीर र हसनको ताल,” अनि यसमा पौडिएबापत हामीले मानिसहरूसँग कर लिनुपर्छ ।”

“अनि यो सब कुराको के अर्थ छ त ?” मैले सोधेँ ।

उसले मेरो नानमा मार्मलेड दलेर प्लेटमा राख्दै भन्यो, “मलाई त थाहा छैन । मलाई त तपाईंले बताउनु हुन्छ भन्ने आशा थियो ।”

“ए त्यसो भए यो पागल सपना हो | यसको कुनै अर्थ छैन ।”

“बुबाले भन्नुभाको सपनाको अर्थ हुन्छ रे ।”

मैले अलिकति चिया सुर्काएँ । “त्यसोभए उनलाई नै सोध न त । उनी त्यति जान्ने रैछन्‌ ।’ मैले सोचेभन्दा अलि कडा स्वरमा भने । मलाई रातभरि निद्रा परेकी थिएन | मेरो आँखा पोलिराखेको थियो र झुपुझुपु भइराखेको थियो, तर अझै म हसनप्रति निष्ठुरी हुँदै थिएँ । मैले झन्डै माफी माग्नै लागेको थिएँ, तर मागिन कि म डराएको थिएँ । हसनले सधै मेरो कुरा बुझ्थ्यो ।

माथि तलामा बाबाको बाथरूममा पानी खसेको सुनियो |
ताजा हिउँले गल्लीहरू टल्कियो र आकाश छङ्ग नीलो थियो | प्रत्येक घरको छानो हिउँले ढाकियो र हाम्रो गल्लीको दायाबायाका चिसोले ठिमुर्किएका किम्बुका रूखहरूका हाँगाहरू हिउँको बोझले लत्रिए । रातभरिमा हिउँ प्रत्येक चिरा र नालीमा भरिएको थियो । मेरो आँखा टल्केको हिउँले ट्याप्प टिप्यो जब हसन र म फलामे गेट बाहिर निस्क्यौँ । अलीले गेट बन्द गरे । अलीले बिस्तारै प्रार्थना गरेको मैले सुनेँ । अलीले उनको छोरो बाहिर निस्कँदा सधैँ प्रार्थना गर्थे ।

मैले हाम्रो बाटोमा यति धेरै मानिसहरूको भीड कहिल्यै देखेको थिइनँ | केटाकेटीहरू हिउँको डल्लाले हानाहान गर्दै, खैलाबैला गर्दै, छिलिँदै, लखेटालखेट गरिरहेको थिए । चङ्गा लडाउनेहुरू आआफ्ना लट्टाइ हातमा लिएर ठेलमठेल गर्दै अन्तिम तैयारी गरिरहेका थिए । पल्लो गल्लीको हाँसो र गफगाफ सुनिन्थ्यो । घरका छतहरू अहमद जाहिरको चक्का बजाएर, तात्तातो चिया थर्मसमा लिएर कुर्चीमा अडेस लागेर बसेका दर्शकहरूले खचाखच भरिएको थियो | ख्यातिप्राप्त अहमद जाहिरले परम्परागत अफगान संगीतमा सहनाइ, तवला र हार्मुनियमसँगै ईलेक्ट्रिक गितार र ड्रमको पनि संयोजन गरेर पुरातनवादीहरूको दिमाग खलबलाइदिएका थिए । पार्टीमा होस्‌ या स्टेजमा उनी पुराना गायकहरूको जस्तै गम्भीर र नैराश्य पूर्ण स्वरमा चिच्च्याएँथे र गाउँदा हाँस्थे । कहिलेकाहीँ त महिलाहरूतिर हरेर पनि हाँस्थे । मैले यसो रूखको टुप्पोतिर हेरेको सेतो उनीको स्वीटरमा बाबा र रहिम खान चिया पिउँदै बेन्चमा बसिरहेको देखेँ । बाबाले हात हल्लाउनुभयो । हसनलाई देखेर हो वा मलाई देखेर हो म भन्न सक्दिनँ ।

“हामीले अब सुरु गर्नुपर्छ “, हसनले भन्यो । उसले खुलिइएको बाक्लो पाइन्ट, चहकिलो हरियो चपान (chapan) माथि बाक्लो स्वीटर र कालो रबरको बुट लगाएको थियो । उसको अनुहारमा घाम पर्यो र मैले देखेँ कि उसको ओठमाथिको गुलाबी दाग सञ्चो भइसकेको रहेछ ।

अचानक म प्रतिस्पर्धाबाट पछि हट्न चाहन्थेँ । सबै पोको पन्तुरो पारेर घर जान चाहन्थे । म के सोचिरहेको थिएँ त ? किन म यसमा भाग लिँदै थिएँ जबकि परिणाम मलाई पहिल्यै थाहा थियो ? बाबा छतमा बसेर मलाई हेर्दै हुनुहुन्थ्यो । उहाँको डरलाग्दो हेराइले मलाई छाला नै डडाउने घामले जस्तै पोलिरहेको थियो । यो खेल मेरा लागि र उहाँका लागि पनि डरलाग्दो हार हुनेवाला थियो ।
“म ढुक्क त छैन, तर आज मलाई चङ्गा उडाउन मन छ”, मैले भनेँ ।

“आज साह्रै राम्रो दिन छ ।”, हसनले भन्यो ।

मैले खुट्टाको भर फेरेँ । हाम्रो रूखहरूको टुप्पोबाट नजर अन्तै लान खोजेँ र भने, “खै मलाई थाहा छैन । सायद हामी घर जानुपर्छ होला ।”

अनि हसन मतिर आयो र सानो स्वरमा केही कुरा भन्यो जसले मलाई अलिकति तर्सायो ! उसले भन्यो, ।”अमीर अगा। वाद राख्नोस्‌ । राक्षस यहाँ छैन , मात्र एउटा सुन्दर दिन छ ।” कसरी म उसका लागि एउटा खुल्ला पुस्तक हुन सक्थे जब कि आधाजसो समय त उसले के सोचिरहेको छ भन्ने मलाई थाहै थिएन । म त स्कुल जान्थेँ र लेख्न पढ्न पनि सक्थेँ | म त एउटा चलाख मान्छे थिएँ । हसनले त एक कक्षाको बाह्रखरी पनि पढ्न सक्दैनथ्यो, तर मेरो मन पढ्थ्यो । यो अलिकति असजिलो लाग्ने कुरा थियो, तर हरदम मनको कुरा बुझिदिने व्यक्तिसँगै हुनु पनि आनन्ददायी कुरा नै हुन्थ्यो ।

“राक्षस छैन रे ?”, अलि सहज मान्दै मैले भनेँ ।

“छैन ।”, ऊ मुसुक्क हाँस्दै भन्यो ।

“पक्का हो ?”

उसले ढुक्क भएर आँखा चिम्लियो र टाउको हल्लाएर ‘हो’ भन्ने इसारा गर्यो ।

मैले हिउँका डल्लाहरूले हानाहान गर्दै बाटोमा सर्याङसुरुङ हिँडिरहेका बच्चाहरूतिर हेरेँ ।

“दिन त राम्रो छ हैन त ?”

“चङ्गा उडाउँ न त हामी पनि,” उसले भन्यो ।

मलाई त्यतिबेला लाग्यो कि सायद हसनले भनेको त्यो सपनाको कुरा मनगडन्ते थियो । के त्यो सब सम्भव थियो त ? मैले निधो गरेँ त्यो सम्भव थिएन । हसन त्यति चलाख चाहिँ थिएन | म पनि त्यति चतुर थिइनँ । बनावटी थियो वा साँचो, तर त्यो बौलाहा सपनाले मेरो केही चिन्ताहरू हटाएको थियो । सायद मैले सर्ट खोल्नुपर्छ र तालमा पौडिनुपर्छ । किन नपौडनु ?

“ल ल उडाऔँ,” मैले भनेँ ।

अनुहार हसिलो पार्दै हसनले भन्यो, “ल ठीक छ ।”

रातोमा पहेलो किनारा अनि बीचको र दायाँबायाँको बाहाँहरू जोडिने ठाउँभन्दा अलि तल पटि्ट प्रष्टै देखिने गरी साइफोको दस्तखत भएको हाम्रो चङ्गा हसनले उचाल्यो । उसले औँला चाट्यो, माथि हावामा ठडायो । हावाको दिसा पत्ता लगायो र त्यतैतिर दौडियो | गर्मी बेलामा हामी चङ्गा बिरलै उडाउँथ्यौं र त्यति बेला उसले धूलो उडाएर हावाको दिसा पत्ता लाउँथ्यो । करिब ५० फिट पर हसन नरोकिएसम्म मेरो हातमा लट्टाइ घुमिरह्यो । ओलम्पिक खेलमा स्वर्ण पदक विजेताले आफ्नो पदक देखाएजस्तै गरी हसनले चङ्गा आफ्नो टाउकोमाथि उचालेर देखायो । सदाझैँ दुईपाली धागोलाई झट्का दिएर मैले इसारा गरेँ र हसनले चङ्गा हावामा हुत्याइदियो ।

स्कुलमा मुल्लाहरू र बाबाको बीचमा फसेको हुनाले मैले भगवानको बारेमा स्पष्ट धारणा अझै बनाइसकेको थिइनँ तर जब दिनीयात (Diniyat) कक्षामा सिकेको एउटा कुरानको आयात (Ayat) मेरो ओठमै आइपुग्यो र मैले यसलार्इ विस्तारै गुनगुनाएँ । लामो सास फेरेँ र धागो तानेँ । एक मिनेट भित्रै मेरो चङ्गा आकाशिँदै थियो | कागजको चराले पखेटा चलाएजस्तो फ्यार्रफ्यार्र आवाज आयो । हसनले ताली बजायो, सिठी बजायो र मतिर दौडेर आयो | मैले धागो समातेर लट्टाइ उसलाई थमाइदिएँ र उसले फटाफट धोल्लिएको धागो बेर्न थाल्यो ।

कागजका सार्क (माछा) हरू शिकारको खोजीमा डुलेजस्तै घटीमा दुई दर्जन चङ्गाहरू आकाशमा तैरिएका थिए | एक घण्टा भित्रै संख्या बढेर दोब्बर भो र रंगीविरंगी चङ्गाहरू आकाशमा घुम्न थाले । चिसो हावाले मेरो कपाल हल्लायो । हावा चङ्गामाथि उठाएर स्वीप गर्नलाई सजिलो हुनेगरी ठिक्कको चलेको थियो । धागोले काटेर रगताम्य भैसकेका हातले लट्टाइ समातेर हसन मेरै छेउमा उभिएको थियो |

यसको लगत्तै चङ्गा चट पार्ने काम सुरु भयो र पहिलो हरूवा चङ्गा नियन्त्रण बाहिर हुत्तियो । चङ्गा छोप्नेहरूका लागि उपहारको बर्षा बन्दै चट भएका चङ्गाहरू उल्कापातको बर्षा भएजस्तै चम्किला पुच्छरहरू हल्लाउँदै छिमेकमा बर्षन थाले | चङ्गा छोप्नेहरू चिच्च्याउँदै सडकमा दगुरेको सुनिन थाल्यो । कसैले दुईवटा गल्ली पर तल पट्टि लडाई सुरु भएको खबर सुनायो ।

छतमा बसिरहेका रहिम खान र बाबालाई मैले घरीघरी जुल्काइ रहेँ र “बाबा यतिखेर के सोच्दै हुनुहुन्छ होला ?’ भनेर सोचिरहेँ । के उहाँले मेरा लागि ताली पिट्दै हुनुहुन्थ्यो त ? वा म हारेको रमाइलो मानेर हेर्दै हुनुहुन्थ्यो । चङ्गा उडाउनुको एउटा मजा यो पनि थियो । दिमाग चङ्गासँगै आकाशमा उड्थ्यो ।

चङ्गाहरू जताततै खस्दै थिए, तर म भने अझै उठ्दै थिएँ, | म उडिरहेकै थिएँ । बाबा ऊनको बाक्लो स्वीटरमा बेरिएर बस्नुभएको थियो र मेरा आँखाहरूले घरीघरी उहाँलाई जुल्क्याइरहेको थिए । के त्यति बेरसम्म पनि म टिकेर बसेको देखेर उहाँ आश्चर्य मान्दै हुनुहुन्थ्यो त ? के उहाँ, “तँ आकाशतिर हेर्न छोड्दे, तँ धेरै बेर टिक्दैनस्‌” भन्दै हुनुहुन्थ्यो त ? म फेरि आकाशतिर हेर्न थालें । एउटा रातो चङ्गा मेरो चङ्गा नजिक आउँदै थियो । मैले मौकैमा त्यसलाई समातेँ । मैले त्यसलाई अलिकति बल्झाएँ र जब ऊ अलि अत्तालिएर मेरो धागो काट्ने कोसिस गर्यो, मैले त्यो असफल पारिदिएँ ।

बाटोको मास्तिर र तलतिरबाट चङ्गा छोप्नेहरू बडो विजयी मुद्रामा आफूले छोपेको चङ्गा दुई हातले उचालेर टाउको माथि देखाउँदै फर्कदै थिए । तिनीहरूले चङ्गा आफ्ना अभिभावक र साथीहरूलाई देखाउँथे, तर तिनीहरू सबैलाई थाहा थियो कि सबैभन्दा उत्कृष्ट चङ्गा आउन बाँकी नै थियो | सबैभन्दा ठूलो पुरस्कार त अझै उडदै थियो | मैले सेतो पुच्छर भएको एउटा पहेँलो चङ्गा चट्‌ पारीदिएँ । यसको लागि मैले चोर औंलामा अर्को घाउ पार्न पर्यो र रगतका थोपाहरू बगेर मेरो हत्केलामा आउन थाल्यो । मैले हसनलाई धागो समाउन लगाएँ, औँला चुसेँ र जीनको
पाइण्टमा पुछेँ ।

अर्को एक घण्टाभित्र जोगिन सफल चङ्गाहरूको संख्या पचासबाट घटेर एक भयो । तिनीहरूमध्ये एक जना म पनि थिएँ । मैले मेरो चङ्गालाई अन्तिम दर्जनसम्म पुर्याएँ । खेलको यो भाग पूरा हुन अलिबेर लाग्छ भन्ने मलाई थाहा थियो किनभने यति लामो समयसम्म टिक्न सक्ने केटाहरू सिपालु थिए ।

उनीहरू त्यही पुरानो लिफ्ट-एण्ड-डाइभको जालमा फस्नेवाला थिएनन्‌ । लिफ्ट एण्ड-डाइभ हसनको मनपर्ने चाल थियो ।

त्यसदिनको तीन बजेतिर आकाशमा बादलका भुल्काहरू देखिए र घाम, त्यसभित्र लुक्यो । छायौँ लम्बिन थाल्यो । छतमा बसेका दर्शकहरू भुत्ते कोट र स्कार्फमा बेरिन थाले | हाम्रो संख्या घटेर आधा दर्जन भयो र म अझ उडाउँदै थिएँ । मेरो गोडाहरू दुखे र घाँटी अरठ्ठ भयो । जसरी पर्खालमा हिउँ पत्रपत्र गरेर जम्छ त्यसैगरी प्रत्येक पटकको एउटा चङ्गाको हारसँगै मेरो मनमा आशाको पत्र बढ्दै गयो ।

मेरो नजर पटक पटक त्यही नीलो चङ्गामाथि परिरह्यो जसले अन्तिम समयका लागि ठूलो खतरा निम्त्याउँदै थियो ।

“उसले कतिवटा चट पारिसक्यो ?”, मैले सोधेँ ।

“मैले एघारवाट गनेको छु,” हसनले भन्यो |

“यो कसको हुन सक्छ तँलाई थाहा छ ?”

हसनले जिब्रो पडकायो र च्यापु मुसात्यो । “मलाई थाहा छैन” भनेर भन्नुपर्दा गर्ने यो हसनको ट्रेडमार्क इसारा थियो । त्यो नीलो चङ्खाले एउटा ठूलो गुलाबी रंगङ चङ्गा काटिदियो र दुईपटक ठूलो फन्को मार्यो । उसले दश मिनेटपछि फेरि अर्को दुईवटा चट्‌ पारीदियो र ती चङ्खाहरू छोप्न चङ्का छोप्नेहरूको भीड दौडिन थाल्यो अर्को तीस मिनेटपछि आकाशमा मात्र चारवटा चङ्गाहरू बाँकी बसे | म अझैसम्म उडाउँदै थिएँ । लाग्थ्यो म कुनै पनि त्रुटी गर्नेवाला थिइनँ । लाग्थ्यो हावाको प्रत्येक झोकाले मेरै साथ दिएको छ | मैले आफूलाई यस्तो भाग्यमानी र नियन्त्रि कहिल्यै महशुस गरेको थिइनँ यो लठ्याउने खालको अनुभव थियो । मैले मार छानोतिर हेर्ने साहसै गरिन । आकाशभन्दा अन्तै नजर डुल्याउने साहसै गरिन मलाई एकाग्र चित्त हुनु थियो, राम्रो खेल खेल्नु थियो । त्यस बिहान जुन कुरा एउटा हाँसोलाग्दो सपना जस्तो देखिन्थ्यो, पन्ध्र मिनेट मात्र बित्दा अचानक वास्तविकता ठहर्दै थियो । बाँकी हामी जम्मा दुईजना मात्र थियौं, म र त्यही नीलो चङ्खावाला ।
जसरी रगताम्य हातले धागो तान्दा मलाई साह्रै गाह्रो भएको थियो, आकाशमा पनि तनाव व्याप्त थियो । मानिसहरू बोबोरेस स्याबास, स्याबास्‌ त्यसलाई चट पार्दे, चट पार्दे भन्दै ताली बजाउँदै सिटी फुक्दै, उफ्रिदै थिए । मैले सोचें के त्यसमा बाबाको पनि तनाव स्वर मिसिएको छ त ? गीत चर्को बज्यो । उमालेको मान्टु (mANTU) र तारेको पकोडाका मीठो वास्ना घरका छतहरू र खुल्ला ढोकाहरूबाट हर्र बाहिर आयो ।

तर मैले मात्र सुनेको र सु्न्न चाहेको मात्र तालुमा रगत धड्किएको आवाज थियो , मैले त्यो निलो चङ्गा बाहेक अरू केही पनि देखिन | विजयको गन्ध बाहेक मैले अरू केही थाहा पाइनँ । मुक्ति प्रायश्चित । यदि बाबाले सोचेको गलत थियो र मेरो स्कुलमा भनिए जस्तै साँच्चै भगवान् छन् भने जीत मेरो नै हुनेछ । त्यो अर्को केटो किन र कसका लागि खेल्दै थियो मलाई थाहा भएन, सायद ध्वाँस देखाउँदै थियो । यो मेरा लागि एउटा मान्छे बन्ने अवसर थियो, जसलाई हेरिन्थ्यो, तर देखिन्थेन, सुनिन्थ्यो, तर बुझिन्थेन । यदि भगवान्‌ छन्‌ भने उनले हावालाई नियन्त्रण गर्नेछन्‌, मेरै लागि बगाइदिने छन्‌ ता कि मेरो डोरीको एक झट्काले मेरो सपना पूरा हुनेछ, मेरो पीडा सकिनेछ । म धेरै सहेर र खपेर टाढैसम्म पुगेको थिएँ । अचानक आशा ज्ञान भएर आयो | म जित्न जाँदै थिएँ । यो मात्र एक छिनको कुरा थियो |

यो सोचेभन्दा चाँडै नै भयो । हावाको झोँकाले मेरो चङ्गामाथि उठाइदियो र मैले त्यसको फाइदा लिएँ । धागो छोड्दै गएँ र नजिक नजिक लगेँ । नीलो चङ्गालाई त्यसको माथिबाट घेरो मारेँ । दह्रोसँग उभिएँ । नीलो चङ्गावालाले आफू समस्यामा परेको कुरा बुझ्यो । ऊ सकेसम्म फन्दाबाट फुत्किन खोज्दै थियो, तर मैले दिइनँ । मैले सही ठाउँ पक्डेँ । अन्त्य नजिकिँदै छ भन्ने कुरा भीडले थाहा पायो । जसरी रोमनहरूले ग्ल्याडियटरलाई ‘मार’ ‘मार’ भनेर चिच्च्याउँथे, त्यसैगरी एकै स्वरमा “चट पार्दे’ “चट पार्दे भनेको आवाज झन्‌ चर्को भयो ।

“अमीर अगा, तपाईंले सिध्याउँनै लाग्नुभयो ! अब त्यो नजिकै छ ! “ हसनले ठूलोठूलो सासमा भन्दै थियो । त्यो क्षण आयो । मैले आँखा चिम्लेँ र धागोलाई होलो पारेँ । हावालाई धागो लतार्दा मेरो फेरि औंला काट्यो र अनि _____ मलाई त्यो भीड चिच्च्याएको सुन्न जरूरी थिएन, न त हेर्नु नै थियो । मलाई अङ्गालो मारेर हसन चिच्च्याउँदै थियो ।

स्याबास्‌ अमीर अगा, स्याबास्‌ !

मैले आँखा खोल्दा देखेँ कि त्यो नीलो चङ्गा त तीव्र गतिमा कुदिरहेको कारबाट फुत्किएको चक्का जस्तै फनफनी घुम्दै थियो । मैले आँखा झिम्काएर केही भन्न खोजेँ । मुखबाट केही निस्केन । म अचानक आकाशमा सयर गरेर माथिबाट आफैँलाई हेर्दै थिएँ । कालो छालाको कोट, रातो स्कार्फ, फेडेड जिन्स पाइन्ट । एउटा दुब्लो, पहेँलो अनुहार गरेको केटो, बाह्र बर्ष उमेरको भन्न नसुहाउने, अलि होचो । झिनो काँध, पहेँलो कटुस रंगका आँखामा गाढा कालो घेरो | हावाले उसको फिक्का खैरो कपाल हल्लायो । उसले मास्तिर फर्केर मलाई हेर्यो र हामी मुखामुख गरेर मुस्कुरायौँ ।

अनि म खुसीले चिच्च्याउँदै थिएँ । वरिपरिका सबै चीजहरू रंगीचंगी, जीवन्त र राम्रो देखियो । मैले हसनलाई अंगालोमा डाक्दै थिएँ र हामी हाँस्दै, बुरूक्क बुरूक्क उफ्रिँदै थियौं, अनि रुँदै पनि । हसन भन्दै थियो, “‘अमीर अगा, तपाईंले जित्नुभयो, तपाईंले जित्नुभयो !”

मैले “हामीले जित्यौँ”, “हामीले जित्यौँ” भन्नुपर्थ्यो । त्यसो भइरहेको थिएन । एकैछिनमा म यो सुन्दर सपनाबाट झस्केर ब्युँझिनेछु, विस्ताराबाट झर्नेछु , खाजा खानलाई तल भान्सामा झर्ने छु र मेरो मुख बोलाउ हसन मात्र हुनेछ । ड्रेस लगाउनु, बाबालाई पर्खिनु, सबै कुरा छोडेर उही पुरानै जीवन शैलीमा फर्कनु । अनि मैले बाबालाई हाम्रो छतमा देखेँ । उहाँ छेउमै उभिएर दुवै मुठ्ठी कसेर माथि उछाल्दै हुनुहन्थ्यो | उहाँ ताली पिटेर चिच्च्याउँदै हुनुहुन्थ्यो । अन्तिममा बाबालाई मेरो बारेमा गर्व गर्दै छतमा उभिएको देख्नु नै मेरो बाह्र बर्षे जीवनको मात्र एउटा सबैभन्दा महत्त्वपूर्ण क्षण थियो ।
तर उहाँ केही गर्दै हुनुहुन्थ्यो । जरूरी काम परेजस्तो गरी हातको इसाराले हामीलाई बोलाउँदै हुनुहुन्थ्यो । अनि मैले बुझिहालें ।

“हसन, हामीले……”

“मैले देखेँ”, भन्दै उहाँ हाम्रो अङ्गालोबाट उम्किनुभयो ।

‘इन्साल्लाह, विजय उत्सव हामी पछि मनाउँला । अब तपाईंका लागि त्यो नीलो चङ्गा छोप्न जाँदै छु, ” हसनले भन्यो । ऊ लट्टाई फ्‌यात्त फालेर हरियो चपानको फेरो हिउँमा घिसार्दै ज्यान फालेर दौडियो ।

“हसन”, मैले चिच्च्याएँ । “चङ्गा लिएरै आइज है ।”

रबर बुटले हिउँ उछाल्दै ऊ पल्लो मोडमा पुगिसकेको थियो । रोकियो, पछि फर्कियो । दुवै हात मुखमा गोलो पारेर चिच्च्यायो, ‘तपाईंका लागि एक हजार पालीभन्दा पनि बढी गर्न सक्छु,“ उसले भन्यो । र फेरि त्यही हसन मुस्कान हाँस्यो र मोडबाट बेपत्ता भयो । त्यसैगरी ऊ लाजै नमानी हाँसेको मैले छब्बीस बर्ष पछि एउटा पुरानो रंगीन फोटोमा देखेको थिएँ ।

जब सबै मानिसहरू बधाइ दिनलाई मतिर हाम्फाले मैले चङ्गा तानेँ । मैले हात मिलाएँ र धन्यवाद दिएँ । ससाना भुराभुरीहरूले मलाई आश्यर्चचकित आँखाले हेरे । म ‘हिरो’ भएँ । धेरै हातहरूले मलाई धाप मारे र कपाल सुमसुम्याएँ | मैले धागो बेरेँ र मुस्कुराउँदै सबैलाई हेरेँ तर मेरा आँखाहरू भने ‘त्यही नीलो चङ्गामाथि थियो ।

अन्तिममा मेरो चङ्गा मेरो हातमा आइपुग्यो । मेरो गोडा वरिपरि लत्रिएको धागोलाई लट्टाइमा बेरेँ, फेरि अरू केहीसँग हात मिलाएँ र घरतिर लागेँ । म फलामे गेटमा पुग्दा अलीले मलाई गेटभित्र कुरिरहेका थिए | बारबाट बाहिर हात निकालेर दिँदै भने, “बधाइ छ ।”

मैले मेरो चङ्गा र लट्टाइ उनलाई दिएँ, हात मिलाएँ र भनेँ, “तासाकोर, अली जान”

“खेल अवधीभर म तिम्रै लागि प्रार्थना गर्दै थिएँ । ”

“त्यसो भए प्रार्थना गरिराख्नुस्‌ । हाम्रो खेल अझै सकिएको छैन ।”

म हतारिँदै बाटोतिर लागेँ । मैले अलीसँग बाबाको बारेमा केही पनि सोधिनँ | म अझैं उहाँसँग भेट्न चाहन्थिनँ । मैले मनमनै एउटा योजना बनाएको थिएँ-कि म रगताम्य हातमा जितेको ट्रफी लिएर एउटा हिरोजस्तै सानसँग भित्र पस्ने छु । दङ्ग परेर सबैले म तिर हेर्ने छन्‌ । रोस्तम र शोहरब | एकैछिनको मुर्दा शान्ति अनि बूढो योद्धा आएर फुच्चे योद्धालाई अंगालो मार्ने छ र उसको सामर्थ्य स्वीकार गर्ने छ | विवादको अन्त्य मुक्ति, प्रायश्चित अनि के त ?अँ__अब सधैँभरिका लागि | अरू के चाहियो त ?

वाजिर अकबर खानका गल्लीहरूको संकेत नम्बर थियो र बाटाहरू धागो ताने जस्ता सीधा थिए । यति बेला यो विकसित हुँदै गरेको, खाली जमीन पनि धेरै नै बाँकी रहेको, प्रत्येक गल्लीमा फुट अग्ला पर्खालहरूले घेरिएको१ कम्पाउण्डभित्र घरहरू बन्दै गरेको एउटा नयाँ टोल थियो । म हसनलार्इ खोज्दै प्रत्येक गल्ली चहारेँ । जताततै दिनभरिको पार्टी सकाएर मानसिहरू भाँडाकुडा र खानेकुरा पोको पार्ने र कुर्चिहरू फोल्डिङ गर्दै थिएँ । केही त अझै छतमै बसेर चिच्च्याउँदै मलार्इ बधार्इ दिँदै थिए ।