खोल्स्तोमेरः एक घोडाको कथा

म.अ. स्तोखोभिचको पुण्य स्मृतिमा (यो कथानक चाहिँ “रातको चरन” र घोडचढीहरू कथाका रचयिता म.अ. स्ताखोमिचले बताएका थिए (लेभ निकोलायेमिच तोल्यतोइको टिप्पणी)

अध्याय एक
आकाश खुल्दैगइरहेको थियो । मिर्मिरिको उज्यालो फैलिँदै थियो । टल्किरहेका शीतका रजतमय कणहरू अझ बढी चम्किरहेका थिए । हँसिया आकारको चन्द्रमा फिका र निर्जीव प्रतीत हुन थालेको थियो र वनजङ्गलमा नाना थरीका आवाजहरू घन्किन लागिरहेका थिए | मानिसहरू व्युँझदैथिए । बिर्तावालको तबेलामा चाहिँ सुकेको घाँस र परालमाथि उभिएका घोडाहरू नाकको पोरा फुलाएर घुरघुर गर्दैथिए । कहिलेकाही ती घोडाहरू एक अर्कोसित ठक्कर खान पुग्थे, अनि एक दोस्रोलाई धकेल्थे र ठूलो स्वर निकालेर हिनहिनाउन थाल्थे ।

“हैट ! अझैं समय प्रशस्तै छ ! भोकै मर्नेछैनस्‌ !”-ढोका खोलेको घ्यार्र आवाज आयो र बूढो घोडा-गोठालो ढोका खोलेर भित्र पस्यो । ढोका खुलेको देखेर ,एउटी घोडी बाहिरतिर लम्किहाली । “ए !..खबरदार॒ !”-घोडा-गोठालो हात हल्लाउँदै चिच्यायो ।

त्यस घोडा गोठालोको नाउँ थियो- नेस्तेर ! उसले काजाक ज्याकेट लगाइराखेको थियो । रुमालमा पोको पारिएको रोटी कमरपेटीमा घुसारिएको थियो । उसले चाबुक काँधमा झुण्ड्याइराखेको थियो र हातले चाहिं काँठी र लगाम समातिराखेको थियो ।

घोडा-गोठालोको आवाजमा व्यंग झल्किन्थ्यो, तर त्यसबाट घोडाहरू न त डराए, न त क्रृद्ध नै भए । बरु उनीहरू त बेवास्ताको प्रदर्शन गर्दै ढोकाबाट बिस्तारै हटेर गए । लामो लामो याल भएकी बदामी रङ्गकी एउटी बूढी घोडीले मात्र कान ठाडो ठाडो गर्दै फनक्क घुमेर गोठालोतर्फ पीठ फर्काई । यत्तिकैमा एउटी कोरली घोडी, जो चूपचाप पश्चिल्तिर उभिइरहेकी थिइ, जोडले हिनहिनाई र उसले आफ्नै बगलमा उभिइरहेको एउटा घोडालाई आफ्नो पुठ्ठाले वेसरी धकेलिदिई ।

“हो हो !” घोडा गोठालाले कड्केर झपार्यो र तबेलाको अर्को कुनातिर लम्कियो ।
तबेलामा झण्डै एक सय जति घोडाहरू थिए । त्यहाँ भउका घोडाहरूमध्ये सबभन्दा बढ्ता धैर्य त्यस टाटेपाङरे घोडाले देखायो जो खरानी रङ्गको थियो । एक कुनामा बाँधिएको त्यो घोडा एक्लै उभिएर अर्धमुदित आँखा चम्क्याउँदै तबेलाको एउटा बाँझको खम्बा चाटिरहेको थियो । त्यस खम्बाको स्वाद के कस्तो हुँदो हो त्यो त भन्न सकिदैन, परन्तु खम्बा चाट्न थाल्दा त्यो घोडा बडो गम्भीर र विचारमग्न देखिन्थ्यो ।
“पख ! नचाट् !”-त्यस घोडाको नजिकै पुगेर घोडा -गोठालोले फेरि त्यही पहिलेकै स्वरमा भन्यो र काँठीको साथै जीन पनि नजिकैको लिदीको डंगुरमाथि राखिदियो ।

टाटेपाङरे घोडाले खम्बा चाट्न छोडिदियो र हलचल नै नगरेर नेस्तेरतर्फ एकटक लगाएर हेरिरहयो । त्यो घोडा हाँस्दा पनि हाँसेन, न त उसले रीस नै झिक्यो, न त आँखिभौं नै खुम्च्यायो । किन्तु एक छिनपछि नै उसको पेटमा एक हलुका कम्प छुट्यो । उसले एक लामो सास तान्यो र मुख अर्कैतिर फर्काइहाल्यो । घोडा-गोठालाले आफ्नो हातले उसको गर्दनमा अँगालो हाल्यो र लगाम पनि लगाइदियो ।

“किन लामो-लामो सास फेर्छस्‌ हँ ?”-नेस्तेरले सोध्यो ।
टाटेपाङरे घोडाले पुच्छर हल्लायो । मानौं ऊ भनिरहेको थियो: ‘कुनै खास कुरा होइन, नेस्तेर !’ घोडा-गोठालोले उसको पिठ्यूँमा पहिले जीन-पोश राखिदियो र त्यसमाथि काँठी कसिदियो । टाटेपाङरे घोडाले आफ्नो अस्वीकृति जनाउन आफ्नो कान पछिल्तिर लग्यो, तर यसको लागि उसले घोडा-गोठालोबाट झँटाइ मात्र पायो । काँठीको पेटी बेसरी कस्न थाल्दा चाहिँ टाटेपाङरे घोडाले खूब लामो सास तान्यो, तर जब मुखमा एक घुस्सा र पेटमा एक लात पर्यो, त्यतिखेर उसले भित्र रोकिराखेको सास बाहिर निकाल्न करै लाग्यो । तर पनि नेस्तेरले दाँतले टोकेर काँठीको फीता तान्न लाग्दाखेरि घोडाले फेरि एकपल्ट कान पछिल्तिर लग्यो र घुरेर समेत हेर्न थाल्यो । यसले केही पनि लछार्न सक्तैन भन्ने त उसलाई थाहा थियो, तैपनि उसले नेस्तेरलाई के जनाउ दिन आवश्यक ठान्यो भने उसलाई यो कत्ति पनि मन परेको छैन र सधैँ नै उसले आफ्नो यो घुर्की अवश्य देखाउनेछ । जब उसमाथि काँठी कसियो त उसले आफ्नो तन्किएको दाहिने टाँग होलो पारिदियो र मुखमा कोचिएको फलामको कडी चबाउन थाल्यो, यद्यपि फलामको टुक्रो जस्तो बेस्वादको चीज अरु केही हुँदैन भन्ने त्यतिञ्जेलसम्म उसले बुझिसक्नुपर्ने थियो ।

नेस्तेरले छोटो रिकाबमा गोडा राख्यो र घोडाको पिठ्यूँमा सवार भइहाल्यो । उसले चाबुक खोल्यो, घुँडामुन्तिरबाट आफ्नो काजाक ज्याकेटको फेर निकाल्यो र यस पाराले काँठीमा बस्यो जसरी केवल कोचवान, शिकारी र गोठालाहरू मात्रै बस्नेगर्छन्‌ । अनि उसले लगाम पनि सट्ट तान्यो । जहाँ भन्छौं त्यहीँ लिएर जान तैयार छु भन्ने आसय झल्काउँदै घोडाले टाउको उचाल्यो, तर ऊ आफ्नो ठाउँबाट चाहिँ टसको मस पनि चलेन । हिंडिहाल्नुभन्दा अगाडि घोडा-गोठालो भास्कालाई उसले जरूरी निर्देशन दिनेछ ! हुन पनि नेस्तेर कराउन लागिहाल्यो : “भास्का ! ए, भास्का ! माऊ घोडीहरूलाई फुकालिस कि फुकालिनस्‌ ? कहाँ मर्न गइराख्या’ छस्‌ हँ, बदमाश ? अझै सुतिराख्या’ छस्‌ कि क्या ? ढोका खोलिदे ल ! माऊ घोडीहरूलाई झट्टै बाहिर ल्या !”- यस्तैउस्तै ऊ बडबडाउँदैथियो ।

दैलो घ्यार्र खुल्यो । रीसले चूर भएको भास्का लोलाएका आँखा मिच्दै ढोकामा ठिङ्ग उभियो । उसले एउटा घोडाको लगाम हातले समातिराखेको थियो र अरु घोडाहरूलाई बाहिर निकाल्न लाग्यो । घोडाहरू एक एक गरेर बाहिर निस्किरहेका थिए । उनीहरू खूब होशियारीका साथ सुकेका घाँसमा टेक्दै र त्यसलाई सुँघ्दै हिँडिरहेका थिए । जवान घोडीहरू, साना साना बछेडाहरू, दूध चुस्ने घोडाका बच्चाहरू र आफ्नो पेटमा कहीं ठक्कर नलागोस्‌ भनेर बडो सावधानीपूर्वक पाइला सारिरहेका गर्भवती घोडीहरू सबका सब एक एक गर्दै लाममा लागेर बाहिर निस्किरहेका थिए । यदाकदा जवान घोडीहरू कतै दुई त कतै तीन-तीन गरेर अगाडि दगु्दैथिए । उनीहरूको टाउको एक अर्काको पिठ्युँमा पर्दथ्यो र छिटो छिटो हिंड्दा खुट्टा पनि ढोकामा ठक्कर खान पुग्थ्यो । त्यसैले त घोडा-गोठालो पछिल्तिरबाट फोहोर गाली फलाक्न थाल्थ्यो । घोडाका दुधे बच्चाहरू अपरिचित घोडीहरूको टाँगमूनि यताउता दगुर्दैथिए । जब घोडीहरू हिनहिनाउँथे, त्यतिखेर यी भूरा घोडाहरू पनि कर्कश आवाज निकालेर हिनहिनाउन थाल्थे ।

एक चकचके जवान घोडी ढोकाबाट बाहिर निस्किई । शुरुमा उसले टाउको झट्कार्न थाली, अनि पछिल्ला गोडाले लात बजार्दै हिनहिनाउन लागी तर उसले दौडेर जिउमा थोप्लैथोप्ला भएको कैरो रङ्गको घोडी झुल्दीबाभन्दा अगाडि जाने आँट गर्न सकिन । झुल्दीबा उमेर गइसकेकी घोडी थिई र सधैँजस्तो सुस्त-सुस्त मगनमस्त चालले पेटलाई कहिले दायाँ त कहिले बायाँ झूलाउँदै सबै घोडाहरूभन्दा अगिल्तिर हिँडिरहेकी थिई ।

केही मिनेटपछि नै गोठ खाली भैहाल्यो र सारा चहलपहल पनि सामसुम् भैहाल्यो । जुन खम्बाहरूमा तबेलाको छाना अडिरहेको थियो ती पनि उदास र एक्लै ठिङ्ग उभिइरहेका जस्ता देखिन थाले । मूर्त र लिदीमा मुछिएका पराल र भूसबाहेक त्यहाँ अरु केही पनि थिएन । टाटे-पाङ्रे घोडालाई त यो दृश्य हेर्ने बानी नै परिसकेको हुँदो हो, तैपनि यस दृश्यले उसलाई पनि खिन्न तुल्याएको छ भन्ने प्रतीत हुन्थ्यो । बिस्तारै उसले टाउको हल्लायो, मानौं कसैलाई शिर झुकाएर अभिवादन गर्न लागेको होस्‌ । अनि उसले एक लामो सास तान्यो जुन त्यत्तिकै मात्र गहिरो थियो जतिसम्म उसको पेटमा बाँधिएको फीताले उसलाई सास फेर्ने सम्भावना दिन्थ्यो । त्यसपछि त ऊ पनि आफ्नो दुब्लो-पातले पिठ्युँमा बूढा नेस्तेरलाई चढाएर आफ्नो बाङ्ग नलीहाड भएको खुट्टा घिसार्दै घोडा-बथानको पछि पछि लागिहाल्यो ।

‘जसै हामी सडकमा पुग्नेछौँ, उसले जरुर पनि चिर्र सलाई कोर्नेछ र आफ्नो पुरानो सुल्पामा सूर्ती बाल्नेछ जुन सुल्पा पित्तलको पाटाले मोडिएको छ र जसमा एउटा सिक्री पनि झुण्डाइएको छ ।’- घोडा विचार गर्न लाग्यो । – “यसबाट मलाई खुशी नै लाग्छ, किनभने बिहान सबेरै घाँसमा शीत परिरहेको बेला यस सुल्पाको बास्ना मलाई खुबै मन पर्छ र यसबाट मेरो मनमा कैयन्‌ मृदु स्मृतिहरू पनि ब्यूँझिन्छन्‌ । हो, मलाई यत्तिकै मात्र अपसोच छकि जब यस बूढाको मुखपा सुल्पा रहन्छ त्यतिखेर ऊ आफूलाई मै हुँ भनी ठान्छ र जीउ मर्काउन थाल्छ, मजाले लेटेर तमाखुको सर्को तान्छ र जहिले पनि मेरो त्यसै ठाउँमा अडेस लिन्छ जहाँनेर मेरो ढाडमा मलाई बढी दुख्छ । मोज गर्न पाएको छ, मोज गरोस्‌ मोरो ! अरुको मोजको लगि आफूले दुःख भोग्नुपरेको के यो पहिलोपल्ट हो र आखिर घोडाको जुनी लिएर जन्मिनुपरेपछि गर्न नै के सकिन्छ र? अब त यसबाट पनि मलार्इ एक किसिमको सन्तोष अनुभव हुन थालेको छ । अलिकति आङ तन्काइहालोस्‌ न बिचरो ! जब ऊ एक्लै हुन्छ तब मात्र न ऊ यस्तरी गजक्क पर्ने आँट गर्छ ! उसको यस्तो फुर्ति कसैले देखेको हुँदैन । मेरो पिठ्युमा लेटेर नै बसोस् !’ सडकको बीचमा घोडा आफ्नो बाङ्गो टाँगले होशियारीसाथ टेक्दै यस्तो सोचिरहेको थियो ।