परिच्छेद -११

अर्को दिन सम्राट् बिसाउमा नै बसे, उनलाई हेर्न उनका निजी चिकित्सक डा.विलिअरलाई पटक पटक बोलाइयो। मुख्य सैनिक कार्यालय र वरिपरिका छाउनीमा भएका सेनाहरूबीच सम्राट्लाई सञ्चो,छैन भन्ने खबर फैलियो । त्यस रात उनले खाना पनि केही खाएनन्‌ र उनलाई रातभरि निद्रा पनि परेन । उनी नजिकको सूत्रले यही खबर प्रसार गरेको थियो । यो अस्वस्थताको मुख्य जरो उनको हृदयको सम्बेदनशीलता नै हो, जसले मृतक र घाइतेहरूलाई देखेको दृश्यका कारण उनको कोमल मनमा गहिरो प्रभाव पारेको थियो भनिन्थ्यो ।

सत्र तारिखका दिन बिहानीपख हाम्रो अग्रिम सैनिक चौकीबाट युद्धविराम सन्धिपत्र हातमा लिएर एउटा फ्रान्सेली अफिसर बिसाउ आएको थियो, जो रसियाली सम्राट्सँग भेट गर्न चाहन्थ्यो । यो अफिसरको नाम साभारी थियो । सम्राट्‌ भर्खर निदाएका थिए । अत: साभारीले निकैबेर पर्खिनु पर्यो । दिउँसोतिर उसलाई सम्राट्सँग भेट गर्न पठाइयो । त्यसको एक घन्टापछि ऊ राजकुमार दोल्गोरुकोभसँग फ्रान्सेली सेनाको अग्रिम चौकीतिर फिर्ता भयो ।

साभारीलाई सम्राट्‌ अलेक्जेण्डर र नेपोलियलाई भेट गराउने शान्ति प्रस्ताव लिएर पठाइएको थियो भन्ने हल्ला व्यापक रूपमा चलेको थियो । र सम्पूर्ण रसियाली सेनाको निम्ति यो सन्तोष र गर्वको विषय मानिएको थियो किनभने व्यक्तिगत रूपमा भेटघाट गर्ने प्रस्ताव अस्वीकार गरिएको थियो र नेपोलियनसँग वार्ता गर्न सम्राट्का ठाउँमा बिसाउ विजेता राजकुमार दोल्गोरुकोभलाई पठाइएको थियो; त्यो पनि वार्ताको उद्देश्य यथार्थ रूपमा शान्ति स्थापना गर्ने भएको खण्डमा मात्र, किनभने त्यस बारेमा धेरै कम आशा गरिएको थिएन ।

साँझपख दोल्गोरुकोभ फर्केर आयो र सोझै सम्राट्लाई भेट्न गयो । र, उ धेरै अबेलासम्म सम्राट्सँग एकान्तमा कुराकानी गरेर बस्यो ।

नोभेम्बर सत्र र अठार तारिखका दुई दिन हाम्रा सैनिक अगाडि बढ्दै गए र शत्रु पक्षको अग्रिम सेना भने सामान्य झडप हुनेबित्तिकै पछाडि हटे । उन्नाइस तारिखका दिन दिउँसैदेखि सेनाको माथिल्लो तहमा धेरै ठूलो दौडधूप र उत्तेजनापूर्ण गतिविधि सुरु भयो; जो यसको भोलिपल्ट अर्थात्‌ बीस तारिखका दिन बिहानसम्म कायम रह्यो, जहाँ अस्टरलिजको अविस्मरणीय लडाइँ लडियो । नोभेम्बर महिनाको उन्नाइस तारिखको दोपहरसम्म लडाइँसम्बन्धी सम्पूर्ण गतिविधिहरू, उत्तेजनापूर्ण वार्ता र दौडधूप तथा पार्श्ववर्ती अफिसरहरू यता र उति ओहोरदोहोर गर्ने क्रम दुवै सम्राट्हरूको मुख्य सैनिक कार्यालयसम्म सीमित रह्यो । दिन ढल्केपछि कुतुजोभ र अन्य सेनासञ्चालकहरूको मुख्य सैनिक कार्यालयमा दगुरादगुरको स्थिति कायमै रह्यो । रात पर्ने बेलासम्म पार्श्ववर्ती अफिसरहरूका माध्यमबाट सेनाको चारैतिर अथवा भनौं सेनाको भित्री तहसम्म यो उत्तेजनात्मक वातावरण फैलियो । उन्नाइस तारिखको राती मिँत्रराष्ट्रहरूको असी हजार सेनाले एउटा उपद्रो मच्चाउँदै जाग्यो र झण्डै एघार किलोमिटर जति लम्बाई भएको एउटा बिराट लस्करको रूपमा बढ्न थाल्यो ।

सम्राट्को मुख्य सैनिक कार्यालयमा बिहानैदेखि केन्द्रित तथा पछि गएर जताततै फैलिएको चहलपहल कुनै घन्टाधरको विशाल घडीको मुख्य चक्रको सबभन्दा पहिलो चालसमान थियो । घडीको पहिलो चक्र विस्तारै चल्न थाल्छ । त्यसपछि दोस्रो र त्यसपछि तेस्रो गर्दै भएभरका सबै चक्रहरू उत्तोलकहरू र दन्तचक्रहरू तेज गतिमा चल्न थाल्छन्‌ । घन्टी बज्न थाल्छ, मूर्तिहरू बाहिर आउन थाल्छन्‌ । परिणामस्वरूप सुईहरू पनि लयबद्ध र नियमित गतिमा फनफनी घुम्न थाल्छन्‌ ।

एउटा घडीको यन्त्र संरचनाजस्तै फौजी यन्त्र संरचना पति एक पटक चालु भएपछि अन्तिम परिणामसम्म चलि नै रहन्छ र फेरि त्यस्तै किसिमले ती भागहरू गतिहीत रहन्छन्‌, जुन भागलाई गतिदान दिइएको हुँदैन । दाँतीका रूपमा जकडिएका पाङ्ग्राहरू आफ्नो धुरीमा पुगेपछि चुँइकिन्छन्‌ । तेज गतिमा घुमिरहेका घिर्नीहरू आफ्नो घुमाइका गतिको चालमा ट्याकट्याक-ट्याकट्याक गर्छन्‌ । तर सँगैको एउटा चक्र भने यति शान्त र गतिहीन भएर बस्छ मानौँ त्यो सय वर्षसम्म यस्तै अवस्थामा रहको लागि तयार भएको होस्‌ । तर यस्तो बेला आउँछ, जब उत्तोलकमा दवाव पर्छ र त्यो गतिहीन चक्र पनि सामान्य गतिको अनुकरण गर्दै चुइँचुई गरेर चुइँकित थाल्छ र एउटै क्रियाको अभिन्न अङ्ग बन्न जान्छ, जसको परिणाम र लक्ष्य बुझ्न उसको शक्तिभन्दा बाहिरको कुरा हुन जान्छ ।

जस्तै घडीको असङ्ख्य चक्र घिर्नीहरूको जटिल गतिविधिको परिणाम केवल समय सूचना दिने सुइहरूको एउटा धिमा र नियमित गतिमा मात्र सीमित हुन्छ, त्यस्तै गरी यी एक लाख साठी हजार रसियाली र फ्रान्सेलीहरूका जटिल मानवीय गतिविधिहरू यिनीहरूका भाव, आवेश, इच्छा, पश्चाताप, अपमान, व्यथा-बेदना, गर्व, भय-त्रास र उल्लासका बिस्फोटक परिणाम अस्टरलिजको लडाइँ, तथाकथित तीन सम्राट्हरूको लडाइँमा भएको क्षति मात्र थियौ । अर्थात्‌ मानब इतिहासको सङ्ख्याचक्रमा भएको सुइहरुको धिमा गति थियो ।

राजकुमार आन्द्रेइ बोल्कोत्स्की त्यस दिन ड्युटीमा खटिएको थियो र निरन्तर रूपमा प्रधान सेनापतिसामु हाजिर रहनु पर्ने स्थितिमा थियो ।

साँझ ६ बजे कुतुजोभ सम्राट्को प्रमुख सैनिक कार्यालयमा गए । र केही समय आफ्ना सम्राट् जारसँग बसेपछि मार्सल काउन्ट टोल्स्टोयसँग भेट गर्न गए ।

बोल्कोस्कीले यस अवसरको फाइदा लियो र ऊ भोलिपल्ट हुने लडाइँका विषयमा विस्तृत जानकारी लिने हेतुले दोल्गोरूकोभसँग गयो । राजकुमार बोल्कोन्स्कीलाई लाग्यो कि कुतुजोभ कुनै कारणले गर्दा खुसी छैनन्‌ । त्यसैले उनको मनस्थिति ठीक छैन । कारण के भने सम्राट्को मुख्य सैनिक कार्यालयका मान्छेहरू उनीसँग खुसी छैनन्‌ र उनीहरूले कुतुजोभप्रति यस्ता मान्छैको जस्तो धारणा राखेका छन्‌, जसले यस्तो केही कुरा जानेको-बुझेको छ, जुन कुरा अरूहरूले जाने बुझेका छैनन्‌ । अतः बोल्कोत्स्कीले दोल्गोरूकोभसँग कुरा गर्नै विचार गर्यो ।

“ठीकै छ, आऊ, प्रिय मित्र,” बिलिबिनसँग बसेर चिया पिइरहेको दोल्गोरूकोभले बोल्कोन्स्कीलाई भन्यो । “भोलि त उत्सव मनाइँदै छ क्यारे । बुढाको हालखबर के छ ? उसलाई सन्चो छैन कि कसो ?”

“त्यो त म भन्न सक्तिनँ, तर मलाई लाग्छ उनले यो चाहन्छन्‌ कि उनका कुरा सबैले ध्यानपूर्वक सुनून् ।”

“युद्ध परिषद्को बैठकमा उनका कुरा सुनिएकै हो र अहिले पनि सुनिन्छ नै तर उनले पनि काम लाग्ने कुरा गर्नु पर्यो नि त ।” र अहिलेको अवस्थामा जब कि नैपोलियत निर्णायक लडाइ लड्न डराइरहेको छ भने, यसमा ढिलासुस्ती गर्दै र कुनै कुराको प्रतीक्षा गरिरहनु सम्भव नै छैन ।”

“अनि, तिमीले त उसलाई भेटेर भएका होइनौ र ?” राजकुमार आन्द्रेइले भन्यो । “तिम्रो विचारमा बोनपार्ट कस्तो लाग्यो ? तिमीप्रति उसले कस्तो प्रभाव पार्यो ?”

“हो, मैले उसलाई भेटेको हुँ र मलाई पूरा विश्वास छ- उ निर्णायक लडाइँ लड्न पनि विध्न डराइरहेको छ कि त्यसको कुरै नगर,” दोल्गोरकोभले आफ्नो कुरा फेरि दोहोर्याउँदै भन्यो । उसले नेपोलियनसँग भेटेपछि आफूले निकालेको निष्कर्षलाई ठूलो महत्त्व दिँदै थियो । “ऊ यो लडाइँसँग तडराएको भए व्यर्थैंमा भेट गर्न किन खोज्यो ?” उसले यो वार्ता गर्न किन खोज्यो ! सबभन्दा ठूलोकुरा ऊ किन पछाडि हट्यो जब कि लडाइँमा पछि हट्नु भनेको उसको लडाइँ लड्ने विधिविधानको बिल्कुल बिपरीत छ ?” साँचो कुरा गर्दै छु, मेरो कुराको विश्वास गर । ऊ डराइरहेको छ- निर्णायक लडाइँ लडन डराइरहेको छ । उसको मिति पुगिसक्यो । मेरा यो शब्दहरू लेखेर राख ।”

“तर मलाई यति भन, उ कस्तो खालको मान्छै जस्तो लाग्छ ?” राजकुमार आन्द्रेइले फेरि पनि सोध्यो ।

ऊ यस्तो मान्छे हो- खैरो रङको ओभरकोट लगाउँछ । मैले उसलाई “सम्राट् हजूर” भनेर संवोधन गरूँ भन्ने चाहान्छ, तर ऊ दुःखी अवश्य भयो हौला किनभने मबाट उसले त्यस्तो उपाधि पाउन सकेन । यसभन्दा बढी म केही जान्दिनँ,” बिलिबिनतर्फ हेरेर मुस्कुराउँदै दोल्गोरूकोभले भन्यो ।

बुढा कुतुजोभप्रति मेरो अपार श्रद्धा हुँदाहुँदै पनि, उसले आफ्नो कुरा कायम राख्दै भन्यो, “यदि हामीले साइत जुराउन र पर्खन थाल्यौँ भने हामीहरू मूर्ख सावित हुने छौँ । उ हाम्रो मुठ्ठिको झिँगो भएको बंखतमा उल्टै हाम्रा आँखामा धूलो हालेर उम्क्यो भने ! होइन, हामीले आफूप्रति आक्रमण हुन नदेऊ बरु आफैले अरूप्रति आक्रमण गर भन्ने सुभोरोभको नीति बिर्सनु हँदैन । मेरो कुरामा विश्वास गर- युद्धमा ढिलासुस्ती गर्ने बुढाखाडाको म्याद गुज्रेको अनुभंवभन्दा युवाहरूको जोस र जाँगरले नै असल बाटो “पहिल्याउन हामीलाई सहयोग गर्छ ।”

“तर कुन ठाउँमा हामीले उसलाई आक्रमण गर्ने ? म आज अग्रिम चौकीहरूमा गएको थिएँ तर मैले उसको मुख्य सैनिक बल कुन ठाउँमा केन्द्रित रहेछ भनेर निर्णय गर्न सकिनँ,” राजकुमार आन्द्रेइले भन्यो ।

ऊ दोल्गोरुकोभलाई धावा बोल्न आफैले -बनाएको योजना बताउन चाहन्थ्यो ।
“छ्या,…. यसले केही फरक पर्दैन,” दोल्गोरुकोभ हत्तपत्त उठ्यो-र टेबुलमाथि नक्सा फिजाउँदै भन्यो । “सबै सम्भावनाहरूलाई राम्रोसँग ध्यानमा राखिएको छ, यदि ऊ ब्रुनमा नै छ भने….।”

दोल्गोरुकोभले छिटोछिटो तर अस्पष्ट रूपमा बनाएको वेरोथरको पछाडिबाट अगाडि बढ्ने योजना बतायो. । राजकुमार आन्द्रेइले पनि यस योजनाका बारेमा आपत्ति जनाउँदै आफैले रचेको योजना बताउन लाग्यो, जो वेरोथरको योजनाभन्दा असल पनि हुन सक्थ्यो तर बेफाइदा के भयो भने वेरोथरको यो योजना सर्वसम्मतिबाट स्वीकृत भइसकेको थियो । राजकुमार आन्द्रेइले वेरोधथरको योजनाको दोष र आफूले रचेको योजनाको गुणहरू स्पष्ट पार्न सुरु गर्नासाथ राजकुमार दोल्गोरुकोभले उसको कुरै सुन्न छोड्यो र अन्यमनस्क भएर उसले नक्सामा होइन राजकुमार आन्द्रेइको अनुहारमा हेर्न लाग्यो ।

“जे होस्‌ आज कुतुजोभकहाँ युद्ध परिषद्को बैठक बस्नेछ, आफ्ना सबै कुरा तिमीले त्यहीँ भन्दा हुन्छ,” दोल्गोरुकोभले भन्यो ।

“ठीक छ, म त्यस्तै गर्ने छु,” नक्शाबाट एकातिर हट्दै राजकुमार आन्द्रेइले भन्यो ।

“सज्जनवृन्दहरू ! तपाईंहरू सबै के खालको चिन्तामा पर्नु भएको छ ?,” बिलिबिनले भन्यो, जो अहिलेसम्म मुस्कुराउँदै यी दुई जनाका कुरा सुनिरहेको थियो । हुन सक्छ ऊ ठट्टा गर्ने मनस्थितिमा थियो होला । भोलिको दिनले विजय हासिल गराउला वा पराजय भोगाउला तर रसियाली सेनाको कीर्तिमान सुनिश्चित छ । तपाईंहरूका बुढा कुतुजोभबाहेक हाम्रो सेनामा एक जना, पनि रसियाली कमाण्डर छैन । हाम्रा कमाण्डरहरू हुन्‌- जर्नेल विम्पफेन, ल कोम्प्टे डे लाङ्गेरोन, राजकुमार लिचटेन्स्टिन, राजकुमार गोगेनलो र अन्त्यमा प्रिसप्रिस आदि सबैको नाम पोलिश भाषामा छन्‌ ।”

“भयो, पुग्यो अब । अरूको कुरा काट्ने काम नगर,” दोल्गोरुकोभले भन्यो । “यो झूटो कुरा हो, यहाँ दुई जना रसियाली कमाण्डरहरू छँदै छन्‌, मिलोरादोभिच र दोख्तुरोभ, अझ तेस्रो कमाण्डर पनि हुने थियो काउन्ट अराकचिभ, तर उसको मुटु कमजोर भएको हुँदा हुन सकेन ।”

“कृतुजोभ काउन्ट टोल्सटोयको कोठाबाट बाहिर निस्केजस्तो लाग्छ,” राजकुमार आन्द्रेइले भन्यो । “तपाईंहरू सबैलाई मेरो शुभ कामना, छ सज्जनवुन्द । तपाईंहरूलाई सफलता मिलोस्‌,” उसले थप्यो अनि दोल्गोरुकोभ र बिलिबिनसँग हात मिलाएर बाहिर लाग्यो । घर लाग्दालाग्दै आफ्नो छेउमा चुपचाप लागेर बसिरहेका कुतुजोभसँग भोलिको दिनमा हुन लागेको लडाइँ कस्तो होला भनेर उनको विचार नसोधी रहन सकेन ऊ ।

कुतुजोभले आफ्नो सहायक रथीलाई कडा नजरले हेरे र एकछिनपछि जवाफ दिए- “मेरो विचारमा यो लडाइँ हारिन्छ झैँ लाग्छ । मैले काउन्ट टोल्सटोयलाई पनि यो कुरा भनिसकेको छु र सम्राट्लाई पनि यस्तै गरी सुनाइदिनू भनेर अनुरोध गरेको छु ।” थाहा छ, उनले मलाई के कस्तो जवाफ दिए ? “तर, मेरो प्यारो जर्नेल; म त पुलाउ र मासुमा व्यस्त छु त्यसैले सैनिक मामिलाहरूमा जे-जे गर्नु पर्छ, तिमी आफै गर । त्यो मेरो चिन्ताको विषय होइन । हो भन्या, उनले मलाई यस्तै जवाफ दिए ।”