साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

विजय हितानको ‘ब्लु प्लानेट’ : नेपाली परिवृत्तीय आख्यान साहित्यमा एक लेन्डमार्क

लेखक वुहान पुगेका छन्र, बाबुले जस्तै आजको परिवर्तित परिवेशलाई लिएर एउटा भिडिओ बनाउन चाहन्छन् । एउटा परित्यक्त भवनमा चमेराहरू ढुक्कले बसेका थिए । उनले त्यसको सुटिङ गरे ।सानो छँदा देखेको कहिल्यै नसुत्ने वुहान सहर यतिखेर चकमन्न थियो । सबै स्वच्छ, याङ्जे नदी स्वच्छ । वनजङ्गलले ढाकेको छ । कता सरे होलान् चमेराहरू ? ... लेखक सोचमा पर्छन् ।

जर्ज बर्नर्ड श्वा नाटकमा द्वन्दलाई अपरिहार्य मान्दछन । उनले भनेका छन् द्वन्द्वविना नाटक हुन सक्तैन । अलिक गहिरिएर हेर्दा के देखिन्छ भने साहित्यको समग्रतामा द्वन्द्वको नै बाहुल्य रहेको छ । प्राचीन कालका रामायण-महाभारत, इलियाड-ओडिसी प्रभृति क्लासिक महाकाव्यदेखि यतिखेरका धेरजसो कृतिमा पनि द्वन्द्व र युद्धकै कुरा पाइन्छन् । प्रेमका लागि, पावरका लागि, श्रेष्ठत्व हासिल गर्नका लागि, आफ्नो भौतिक सुखका लागि मान्छे मान्छेमा लडाइँ भएको छ । यति मात्र कहाँ हो र ? जीव-जन्तु, वनस्पति, हावा-माटो-पानी आदि तत्त्वहरूमाथि थिचोमिचो गरी मान्छेले अन्यायपूर्वक श्रेष्ठत्व जाहेर गरेको छ ।

यिनै र यस्तै कुराहरूलाई लिएर मानवको जयगान गाउने साहित्य धेरै लेखियो । हामीले बसोबास गरेको यो पृथ्वी मान्छेले मात्र दाइजोमा पाएको पेवा होइन । यसमा अरू पनि धेरै तत्त्वहरू छन् जसमा मान्छे एउटा तत्त्व हो । यस पृथ्वीमा सबै तत्त्वहरूको उत्तिकै हक छ । हावा, माटो, पानी, वनस्पति, जीवजन्तु बोल्न नसक्नेहरूको पनि उत्तिकै हक छ । बाठाले लाटालाई हेप्ने, ठग्ने दिन गए । बोल्न सकें भनेर पिठो बेचेको धेरै भयो अब नबोल्नेको चामल बेच्ने पालो । निमुखा सबल्टर्नका भएर उता अमेरिकातिर गायत्री दिदी अग्लो टावरमा चढेर लाउडस्पिकरमा ओजस्वी भाषण दिँदै छिन भने यता भाइ विजय हितान धुरीमा चडेर मानवेतर सबल्टर्नहरूको पक्षमा जोडतोडले बोल्दैछन् ।

bahulako diary small and inside post

बेल्पाली लेखक बिजय हितान दिक्क भएर प्रश्न गर्छन, मानवहरूबीचको द्वन्द्व कति लेख्नु ‘कथा’ भनेर ? विमानमा उडेर, रेलमा गुडेर, होटेलमा बसेर दरबार, संग्रहालय र गीर्जाघर घुमेका कथा कति लेख्नु ?

मान्छेको अविवेकी कर्मकाण्डले गर्दा पृथ्वीनै जोखिममा परेको कुरा हाम्रो साहित्यमा कहिले लेख्ने ?

लेखन कुनै लहडमा लेखिटोपल्ने फितलो कर्म वा चटकेको रमिता होइन । यो त अति जिम्मेदारीपूर्ण काम हो ।

विजय हितानले इकोलोजीको थिमलाई पक्रेर साहित्य सिर्जना गरिरहेका छन । उनले उल्लेख गरे अनुसार साहित्यका ख्यातिप्राप्त सर्जक-समालोचक प्रोफेसर गोविन्दराज भट्टराई उनलाई नेपाली साहित्य पर्यावरणको बाँझो फाँटमा डोर्य़ाएर ल्याउने गुरु हुन् । डा. भट्टराईको उत्तरआधुनिक विमर्श नामको ग्रन्थमा परिवृत्तीय साहित्य खण्ड पढेपछि उनका आँखा खुलेका हुन भनेर हितानले निष्कपट स्वीकार गरेका छन् । इकोलोजी भन्नाले वनस्पति र प्राणीबीच प्राकृतिक रूपले रहने अन्योन्याश्रित सम्बन्धलाई बुझाउँछ । इकोलोजीले प्राणी, वनस्पति, भूगर्भ र मौसमको प्राकृतिक तालमेलको विज्ञानलाई अध्ययन गर्दछ अनि त्यो प्राकृतिक तालमेल यथावत राख्ने प्रयत्न गर्दछ ।

सन् २०१० देखि उनी परिवृत्तीय साहित्य सिर्जनामा समर्पित भएर लागेका हुऩ अनि यो बाह्र वर्षको अवधिमा उनले पर्यावरणको थिमलाई आलम्बन गरेर पाँचवटा कृति प्रकाशित गराइसकेका छन जो निम्नप्रकार छन –

बाग्मती ब्लुज (कवितासंग्रह)
थकित पृथ्वी (कथासंग्रह)
स्वच्छन्द सुसेलीहरू भाग एक (सामूहिक कवितासंग्रह) सम्पादन
स्वच्छन्द सुसेलीहरू भाग दुई (सामूहिक कवितासंग्रह) सम्पादन
ब्लु प्लानेट (कथासंग्रह), २०७८

उल्लेखनीय के छ भने माथिका पाँचैवटा कृतिमा प्रा.डा. गोविन्दराज भट्टराईले भूमिका लेख्नुभएको छ । यसबाट के बुझिन्छ भने विजय उनका अति प्रिय अर्जुन हुन् अनि डा. भट्टराई हितानका लागि साक्षात् दोणाचार्य नभए पनि उनका फिलोसफर र गाइड श्रीकृष्ण भने पक्कै हुन्, त्यसमा कुनै शङ्का छैन ।

ज्ञानबहादुर क्षेत्री (असम)

२०७८ वि.स. मा प्रकाशित ब्लु प्लानेट (कथा संग्रह) उनको नवीनतम कृति हो । यस संग्रहमा इकोथिमका पन्द्रवटा कथा समावेश गरिएका छन ।

यस संग्रहको पहिलो कथाको शीर्षक छ पँधेरीले लुकाएको अँध्यारो कथा । यो कथा नेपाली ग्रामीण जनजीवनको एक अभिन्न अङ्ग पानी पँधेरोको सेरोफेरोमा रहेको छ । पहाडमा पानीको समस्याले गर्दा विशेष गरी नारीको जीवन धेरै कष्टकर हुन्छ । मधेसमा हुर्किएकी युवती दीपा उसले मन पराएको पहाडको प्रेमी तिलकसँग बिहे गरेर पहाड चढ्छे । पहिले त प्रेमको रमझम निशामा जीवन रंगीन लागेको थियो तर बिस्तारै उसको जीवन फुस्रिएर रङ्गहीन बन्यो । पहाडमा कुनै कामधन्धा नहुनाले श्रीमान मलेसिया हानियो । यता जलवायु परिवर्तनको असर र पहाडका प्राकृतिक बिपत्तीहरू । टाडाबाट पानी ओसार्नु झन गाह्रो भयो । पक्षाघातले सताएकी सासू बुहारीको चरित्रमा शङ्का गर्छे अनि फोनमा विदेशमा बस्ने छोरालाई पोल सुनाउँछे । पति तिलक पनि उसको मनोदशा बुझ्दैन, बरु उल्टै आमाको कुरा अनुसार मिलेर बस्ने परामर्श दिन्छ । एडजस्ट कसरी गर्ने शङ्कालु सासू र पढेलेखेकी बुहारी ? कसरी गर्ने एडजस्ट समथरको सहज जीवन बाँचेकी युवतीले पहाडको कष्टकर ? फेरि उसको यौवनका चाहनाहरूसँग कसरी एडजस्ट गर्ने कति दिन त्यसको कुनै निश्चयता छैन । त्यसैले ऊ पतिलाई टेक्स्ट मेसेज पठाउछे—मलाई अब उप्रान्त बाच्ने रहर भएन तिलक, म मर्न जाँदैछु ।

यस कथामा डायास्पोरा, इकोफेमिनिज्म, जलवायु परिवर्तन र जेनेरेसन ग्यापका समस्यालाई देखाइएको छ ।

सहरले पन्छाएकी बुहारी कथामा पनि जलवायु प्रदूषणको असर सोझै नारीमाथि परेको छ । यस कथाकी नायिकाको नाम पनि ग्रेटा थुनबर्ग थापा, स्वीडेनमा बस्दा नेपाली युवकसँग प्रेम भएर सुखी वैवाहिक जीवन बिताउन धेरै सपना बोकेर काठमाडौ आएकी । नायिकाको नाम र देशले गर्दा ती युवती कतै उनै पर्यावरण एक्टिभिस्ट ग्रेटा त होइनन भन्ने पनि पाठकलाई लाग्छ ।

कथाको शीर्षक अलिक नमिले जस्तो किनभने नायिकाको स्वदेश स्वीडेन भन्नासाथ विकसित सहरी मुलुक भन्ने लाग्छ । उनी फेरि सहरै फर्किन् त भन्ने प्रश्न पनि आउँछ । यहाँ स्वीडेनको न्यून प्रदूषण अनि काठमाडौको प्रदूषण चाहिँ खपिनसक्नु छ भन्ने कथाकारको आशय हुनुपर्छ ।

ग्रेटा बिरामी परिन् । उनको शरीरले काठमाडौंको फोहोर मैला, दूषित वायु र पानी थेग्न नसक्ने भयो । उनका पति भने गिटी-बालुवा ओसार्ने रूख ढाल्ने जस्ता काम गर्छन । आफू उच्चशिक्षित अभियन्ता भए पनि उनलाई पर्यावरणको सन्तुलन बिग्रन्छ भन्ने कुरा भन्दा धन कमाउनमा ध्येय छ । पशुलाई बलि चडाएर देवीलाई खुसी पार्नेमा विश्वास गर्छ । यसलाई ऊ संस्कार ठान्छ तर ग्रेटाका लागि अन्धविश्वास । त्यसैले उनी दशैंमा गाउँको घर जान मानिनन् । ग्रेटालाई नेपाल असाध्य मन पर्छ, मान्छेहरू पनि तर तिनीहरूको कुसंस्कार र अऩ्धविश्वास पटक्कै मन परेन ।

प्रदूषणले गर्दा उनको स्वासप्रश्वासको रोग बढ्दै गयो । पतिको घरै बस्नु, कमाएर पाल्ने म छँदैछु भनेको कुरा आजकी नारीलाई मान्य नहुनु स्वाभाविक थियो । डाक्टरले यस ठाउँमा बसिरहे उनको स्वस्थ्यमा सुधार आउनुको सट्टा झन् बिग्रँदै जानेछ, बिलम्ब नगरी कुनै प्रदूषणमुक्त ठाउँमा जानु भन्ने सलाह दिए । उनले चराहरूको जीवन शैली सम्झिन् । मौसम अनुसार सुदूर साइबेरियादेखि उडेर अनुकूल ठाउँ चयन गर्न तिनले जानेका छन । स्वास्थ्य नै धन हो भन्ने आशयको चिट्ठी लेखेर उऩी स्टकहोम फर्किन् । पतिलाई पनि उतै आउने र सुस्वास्थ्यको जीवन जिउने बिन्ती पनि गरिन् ।

यस कथामा नारी र पर्यावरणको उस्तै प्रकृति देखाइएको छ । यिनीहरूको सुरक्षा र संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता पनि बुझ्न सकिन्छ । डायास्पोरिक सन्दर्भलाई पनि कथाले छोएको छ । इको फेमिनिज्मको थिममा अडेसिएका छन् कथाहरू ।

कार्बन फुटप्रिन्ट र उत्सर्जित आशङ्का कथामा बृहत् औद्योगिक सहरहरूमा कार्बन उत्सर्जन गरी वायु र पानीमा प्रदूषण फैलाएको सन्दर्भ छ । यस कथाभित्र कार्बनलाई प्रतीकका रूपमा लिएर कथाकारले अर्को सुन्दर कथा बुनेका छन् । कार्बन उत्सर्जन कम गर्ने उद्देश्यले कुनै विवाहित युवकले कार्यालय आउँदाजाँदा सहकर्मी युवतीलाई लिफ्ट दिँदा उसकी पत्नीका मनमा सन्देहको कार्बन जमेर प्रेमको स्वाभाविक प्रवाहमा गतिरोध आउन सक्छ भन्ने कुरा छ । यस कथामा पनि पर्यावरण र नारीलाई जोडेर हेर्ने इकोफेमिनिज्म पनि छ । प्रदूषण कसरी कम गर्न सकिन्छ भन्ने उपाय पनि देखाउने यो एउटा दृष्टान्त कथा हो ।

यस संग्रहमा तीनवटा कथा वास्तव जीवनका आधारमा रचिएका पाइन्छन् । ती हुन्—गैंडालाई चार वर्ष, पर्यावरण सहिद र प्रदूषणको अनुगमन। यिनमा पहिलो र दोस्रो कथाको पृष्ठभूमि कथाकारको जन्मभूमि नेपाल हो भने तेस्रो कथाको पृष्ठभूमि उऩको कर्मभूमि बेलायत रहेको छ । हुन त विजयका अरू कथा पनि कुनै न कुनै प्रकारले वास्तव जीवनमै अडेसिएका छन् तर तिनमा स्वैरकल्पनाको बढी प्रयोग गरिएको अनुभव हुन्छ ।
गैंडालाई चार वर्ष भन्ने कथामा वन संरक्षक कमलजङ कुँवरले निकुञ्जका वन्यजन्तु संरक्षणका लागि गरेको संघर्ष र यातनाका कुरा पाइन्छन् । नेपालको वनजंगल पुरै चोरीसिकारीका कब्जामा पुगेको समय देखाइएको छ । यहाँ गैडा, हात्ती, बाघ, भालु, मृग, पान्डा कुनै पनि जन्तु पूरा आयु बाँच्न पाउँदैनन् । पर्यावरणका पक्षमा बोल्ने फट्याकफुटुट आउँछन् तर जीवजन्तु जसरी नै तिनलाई पनि हत्या गरिन्छ कि त षडयन्त्र गरी जेलमा थुनिन्छ । ज्यान गुमाउनु पर्यो दिलीप महतो जस्तो सचेत गाउँले र कमलजङ कुँवर जस्तो निष्ठावान वन अधिकृतले ।

यस कथाको सन्दर्भमा उल्लेखनीय के छ भने कमलजङ कुँवरले उनी चितवन निकुञ्जका वन अधिकृत छँदाका समस्त कुरा गैँडालाई चार वर्ष भन्ने कृतिमा वर्णन गरेका छन् भने उक्त कृतिलाई डा. गोविन्दराज भट्टराईले अंग्रेजीमा अनुवाद गरेको जान्न पाइएको छ । सोही कृतिको आधारमा विजय हितानले नयाँ कथा सिर्जना गरेका हुन् ।

पर्यावरण सहिद कथामा दिलीप–अजित–करिमा त्रिकोणीय प्रेम कथा छ । लेखक ब्रायन एकजना इञ्जीनियरिङका छात्र तथा पर्यावरण कर्मी दिलीप महतोको अन्त्येष्टि क्रियामा सहभागी हुन आएदेखि कथा अघि बढ्छ । प्रत्यक्ष भेट नभएका दिलीप महतोसँग फेसबुकको माध्यममा मित्रता भएको छ । दुवैको लक्ष्य एउटै, पर्यावरणको सुरक्षा गर्नु हुनाले लेखक दिलीपको अन्त्येष्टि क्रियामा सहभागी हुन आएका थिए । लेखकले औरही खोलाको छेउमा धेरै मान्छेको जमघट भएको देखे । गाउँमा सबैका प्रिय शिक्षित र होनहार युवक दिलीपलाई हत्या गरिएको भनेर बेनर टाँगिएका थिए । ‘दिलीप महतो तिमीलाई मारियो तर तिम्रो आवाज जिउँदै छ’, ‘पर्यावरण लुट विरुद्ध एक हौं’, ‘वातावरणीय प्रजातन्त्रलाई सुनिश्चित गर’ आदि पोस्टर चारैतिर देखिन्थे । ‘दिलीप महतोलाई पर्यावरण सहिद घोषणा गर’ भन्ने एउटा ठूलो बेनर बाटाका आरपार टाँगिएको थियो ।

दिलीप महतोलाई नेपालको सरकार अथवा कुनै जातीय संस्थाले सहिद घोषणा गरे गरेनन् थाह हुँदैन तर लेखक ब्रायनले उनको यस कथाद्वारा दिलीपलाई न्याय दिएका छन् । कथाको शीर्षकले सोही कुरालाई छर्लङ्ग पारेको छ ।

अन्त्येष्टि क्रियाको स्थलमा लेखकको एउटी युवतीसँग भेट हुन्छ । करिमा बेगम नाम गरेकी ती युवती मृत दिलीप महतोकी प्रेमिका रहिछन् । यो कुरा थाह पाएपछि लेखक पर्यावरणका सहयोद्धा दिलीप महतोको मृत्युको रहस्य़ उद्घाटन गर्ने गरी एउटा कथा लेख्ने मनसायले केही दिन त्यहीँको ढल्केबर होटलमा बस्छन् । करिमा बेगम दिउँसो उसलाई भेट गर्न आउँछे । करिमाले भने अनुसार अजित नाम गरेको एउटा युवक पनि उसलाई प्रेम निवेदन गरिरहेको थियो । पर्यावरणलाई ध्वस्त पारेर गाउँमा विकास ल्याउने ठेकेदारको छोरो अजितले करिमालाई आफ्नी पार्ने उद्देश्यले दिलीपलाई बाटोबाट हटाएको भन्ने उसलाई शङ्का भएको थियो ।

यहाँनेर लेखकले कथालाई बिट मार्न खोजेर फेरि विनिर्माण गर्दै लगेका छन ।

कथामा युवा कवि प्रज्वल अधिकारीको कविता, भावेश भुमरीको गीत, दीपक गौतमको कार्टुन चित्र र डा. गोविन्दराज भट्टराईको समीक्षालाई कथाकै अङ्गका रूपमा कथाभित्रै सजाएर कथालाई नयाँ मात्रा दिइएको छ ।

दिलीपको मृत्युपछि स्थिति सामान्य बन्दै गयो । अजितले करिमालाई आफ्नो पारें भनेर बिस्तारै सबै कुरा खोल्दै गयो । अजितले ट्रिपरले किचेर दिलीपको हत्या गरेको रहेछ । उसले मोबाइलमा फोटो पनि सेभ गरेको रहेछ । करिमाका मनमा प्रतिशोधको आगो निभेको थिएन । उसले ती जम्मै फोटाहरू आफ्नो मोबाइलमा सारेर राखी । लेखकका सहयोगमा सबै तथ्यसहित अजितमाथि मुद्दा हालियो । सजाय भयो ।

दिलीपको दोस्रो स्मृति दिवसमा करिमा भन्छे—अब दिलीपको सालिक खडा हुनेछ, म भने त्यसै दिन उसँग विवाह गरेर जीवनभर विधवा बन्नेछु ।
कथाको अन्त्य चाहिँ रुमानी चिन्तनमा गरेको होला ।

यस कथामा कथाकार हितानको कथा बुन्ने बेजोडको सिप साथै अन्तर्पाठीयताको कला पनि देखिएको छ ।

वार्षिकोत्सवमा रेड पान्डा – यो कथामा विलुप्तप्रायः हुँदै गएको रेड पान्डाको संरक्षणमा लेखकले एक अनुकरणीय तथा महत्त्वपूर्ण कदम चालेको कुराको कलात्मक अभिव्यक्ति छ ।

विवाहको पच्चीसौं वर्षगाँठ परेको हुनाले आज लेखक छिट्टै कार्यालयबाट निस्केर घरतिर लागे । विशिष्ट वातावरणविद लेखकको विवाह वर्षगाँठ उपलक्ष्यमा रेडिओ नेपालले कविता र गीत प्रसारण गरेको उनले गाडी हाँक्दै गर्दा सुने । बाटामा आज उनले खर्कमा भेडा चरेको देखेनन् । लोखर्केहरू उफ्रिँदै थिए, तिनलाई उऩले रेड पान्डा जस्तो देखे । उनी घरभित्र पस्नासाथ उनकी पत्नीले पच्चीसवटा गुलाफको एउटा गुच्छा उपहार दिइन् । छोराले पनि एउटा फूल दिँदै ह्याप्पी एनिभर्सरी भन्यो । आजको डिनर होटलमा खाने भनेर श्रीमती अर्को कोठामा पसेर तयार हुन थालिन् । त्यसै समयमा लेखकले टेबिलमा रहेको उनको डायरी पल्टाए । पहिलो पातामा विवाह वार्षिकीमा उनले पत्नीलाई जुली रिङ उपहार दिँदै अर्को वर्ष झन् दामी उपहार दिने बाचा गरेको कुरा लेखिएको रहेछ । अर्को पातोमा हीराजडित सुनको औँठी उपहार दिएको कुरा रहेछ । उनी डायरीका पाता पल्टाउँदै गए । प्रत्येक पटक उपहार दिँदा अर्को वर्ष त्यो भन्दा मँहगो उपहार दिने बाचा गरेको कुरा श्रीमतीले लेखेकी रहिछऩ् ।

आज उनलाई उपहार दिने दिन थियो । लेखकले उनको त्यो काम पूरा गरिसकेका थिए । यस पालाको उपहार नौलो र सबैभन्दा महत्त्वपूर्ण थियो । उनले श्रीमतीको नाममा रेड पान्डाको संरक्षणका लागि एक लाख रपियाँ डोनेसन दिएर त्यसको रसीद र प्रशंसा पत्र एउटा बक्समा राखेर श्रीमतीका हातमा राखिदिए ।

यस्तो विशेष र नौलो उपहार पाएर उनकी श्रीमती रमाइन् । खाना म आज आफ्नै हातले पकाएक खुवाउँछु भनेर एप्रोन बेरेर लेखक किचनमा पसे । यस कथाबाट पर्यावरण सुरक्षाका लागि गरिएको एउटा दृष्टान्त प्रस्तुत गरेका छन् ।

प्रदूषणको अनुगमन भन्ने कथा विजय हितान बेलायतमा पर्यावरण अधिकृतका रूपमा उनले खोज अनुसन्धान गरी फोहोर पार्ने व्यक्तिलाई समातेर सजाय दिलाएको कुरा छ । यसबाट के बुझिन्छ भने पर्यावरणका अपराधी बेलायतमा पनि छन् । साथै के पनि स्पष्ट हुन्छ भने विजय हितान शब्दले मात्र लडने होइनन उनी त आफ्ना सबै स्रोत र साधन लगाएर समर्पित भएका पर्यावरण एक्टिभिस्ट हुन् । बेलायतका लागि युद्धभूमिमा लडे, त्यस पछि पनि बेलायतलाई प्रदूषणमुक्त गराउनमा उनले दिएको योगदानलाई बृटिसको अदालतले सराहना गर्दा उनी उत्साहित भएका छन् । यस कथामा गोर्खा जातिको गौरव पनि झल्किएको छ ।

ब्लु प्लानेट नामको कथा यस संग्रहको शीर्षक पनि हुनाले यसको विशेष महत्त्व छ । यो कथा पहिले अनलाइन नेपालीलिङ्क पत्रिकामा मइ 2020 अङ्कमा प्रकाशित भएको थियो अनि उक्त कथा बारेमा लगत्तै सोही पत्रिकामा यस लेखकको समीक्षा पनि प्रकाशित भएको हो । नेपालीलिङ्कमा प्रकाशित कथाको शीर्षक थियो वुहान, कोरोना र ब्लु प्लेनेट’। केही परिमार्जन र परिवर्धन गरी युवा कवि अमित थेवेको अंग्रेजी कविता समावेश भएर उक्त कथा आएको छ ।

कथाको पृष्ठभूमि चीनको वुहान सहर रहेको छ । सन् २००१ मा डेभिड एटेनब्रोलाई सूत्रधारका रूपमा लिएर बीबीसीले निर्माण गरेको प्रकृति विषयक डकुमेन्ट्री द ब्लु प्लानेटको आधारमा पहिलो पटक नेपाली भाषामा आख्यान सिर्जना हुनु महत्त्वपूर्ण हुनुका साथै यसले कीर्तिमान पनि खडा गरेको छ । कथाकारका हजुरबा प्रख्यात व्रिटिस फिल्म निर्माता डेभिड एटेनब्रोले ब्लु प्लेनेट नामको डकुमेन्ट्री निर्माण गरेर टीभी सिरियलका रूपमा प्रसारित गराएका थिए । खुबै लोकप्रिय भएको थियो सिरियल । प्रकृतिमा परिवर्तनको रहस्य पत्ता लगाउने उद्देश्यले हजुरबाका पाइला पछ्याउँदै कथाकार वुहान सहर पुग्छन ।

हजुरबाले निर्माण गरेको डकुमेन्ट्रीमा पहिले गुफामा चमेराहरूको पारिस्थिति देखाइएको थियो । वायु प्रदूषणको तुँवालोमा झुक्किएर आधा जसो चमेरा सखाप भएछन् । दोस्रो श्रृङ्खलामा प्लास्टिक प्रदूषणको—– कानमा प्लास्टिकका टुक्रा अडकिएर छटपटाइरहेका डलफिन, जालले पासो लागेका सिलहरू अनि प्लास्टिकका चीज निलेर ह्वेलहरूको भयावह दृश्य थियो । तेस्रो श्रृङ्खलामा सागरको पानी अम्लीय हुँदै गएकोले कोरेल रीफहरू कसरी खुइलिँदै गए त्यसको दृश्य थियो ।

लेखक वुहान पुगेका छन्र, बाबुले जस्तै आजको परिवर्तित परिवेशलाई लिएर एउटा भिडिओ बनाउन चाहन्छन् । एउटा परित्यक्त भवनमा चमेराहरू ढुक्कले बसेका थिए । उनले त्यसको सुटिङ गरे ।सानो छँदा देखेको कहिल्यै नसुत्ने वुहान सहर यतिखेर चकमन्न थियो । सबै स्वच्छ, याङ्जे नदी स्वच्छ । वनजङ्गलले ढाकेको छ । कता सरे होलान् चमेराहरू ? … लेखक सोचमा पर्छन् ।

रात चमेरालाई दिएर मानिसले दिन आफुलाई राखेको कथनले परिवर्तनका कुरालाई सङ्केत गरेको छ । विजय हितानको कथामा पृथ्वीका हरेक तत्त्वहरू एकापसमा कसरी अडेसिएका हुन्छन अनि एउटा तत्त्वमा आएको परिवर्तनले कसरी सबै तत्त्वहरू प्रभावित हुन्छन त्यस कुरालाई साह्रै आकर्षक शैलीमा प्रस्तुत गरिएको छ ।

यस कथामा प्रदूषणका कुरालाई बडो होसियारीका र टेक्निकका साथ कोरोना महामारीसँग जोडिएको छ ।

सुटिङ थलोबाट होटलतिर फर्किँदा गाइडले सी फुड मार्केट छेउमा गाडी रोक्न लाए । उनले लेखकले बनाउन आँटेको फिल्म र यो बजारको कुनै ताल्लुक हुनसक्छ भनेर लेखक मनमा खुल्दुली लगाइदिए ।

गाइडले एउटा अनौठो कहानी सुनायो । वास्तवमा यही कल्प कहानीलाई केन्द्र गरेर अरू प्रसङ्गहरू जोडिँदै दशै दिशामा फिँजिएर कथारूप बनेको छ ।

त्यस ठाउँमा त्यो गाइडका हजुरबाको सालक, सिभेट, सर्प, भ्यागुता बेच्ने पसल थिएछ । हजुरबा पहिले रुघा खोकी त्यसपछि स्वासप्रस्वासको बिमारीले खसेछन् । अरू धेरै मान्छे सोही बिमारले मरेको कुरा गाइडले सुनायो । डा.लीले नयाँ किसिमको भाइरसको कुरा भाइरल गरेको अनि चीन सरकारले कारवाई गरेको कुरा पनि सुनायो। त्यो सुनेर लेखक झसङ्ङ झस्किए किनभने उनका हजुरबा डेभिड एटेनब्रो पनि त्यही लक्षणको कोरोना महामारीमा स्वर्गे भएका थिए । उनको मृत्यु हुँदा सबैतिर लकडाउन थियो । फेसबुकबाट श्रद्धाञ्जली दिनुपरेको थियो । गाइडले उनको नाम सुनेको रहेछ । हरितगृह ग्यासको उत्सर्जन आधा कटौति गरिएन भने मानवले अकल्पनीय क्षति बेहोर्नु पर्नेछ भनेर उनले चेतावनी दिएको कुरा उसले सुनायो ।

कोरोनालाई रोकथाम गर्न मान्छेलाई धेरै समय लाग्यो, दुइ वर्षमा खोप निकालिछाड्यो ।

त्यतिञ्जेलमा पृथ्वीको रङ्गरूप नै फेरियो। पृथ्वीको अनुहार ब्युटी पार्लरबाट निस्केकी युवती जस्तै देखियो ।

कथाकारले चीन सरकारको ढाकछोप नीति, डा. लीको रहस्यजनक मृत्यु, पर्यावरण एक्टिभिस्ट ग्रेटा थुनबर्ग, प्यारिस सम्झौता, साइबर युद्ध जस्ता सम्बन्धित प्रसङ्गहरुलाई राम्रो मिलाएर उनेका छन् ।

विजयको कथा बुन्ने सिप मान्नु पर्छ । विश्वमा प्रसिद्धि कमाएका पात्र र सत्य घटनासँग स्थानको समेत तादात्म्य राखेर स्वैरकल्पनाको संमिश्रणमा कथारुप दिने अद्भूत कौशल छ उऩमा । विजयको यो कथालाई फेक्ट र फिक्सनको केमिस्ट्री भन्न सकिन्छ । एकाध ठाउँमा कथामा उबडखाबड र अनावश्यक जस्ता लाग्ने कुरा पाइन्छन् तर ती पनि उत्तराधुनिक कथाका विशेषता देखाउने तत्त्व हुन् भन्ने ठानेको छु किनभने नदी होस या मान्छेको जीवन, कहाँ पो बगेको छ र एकनाशले ।

सारा विश्वलाई स्तब्ध पारेको कोरोना महामारी कसरी हुनगयो अनि यसका नकारात्मक सकारात्मक दुवै पक्षलाई कथामा छर्लङ्ग पारिएको छ । आफ्नो ज्यान जोगाउने बाध्यतामा लिइएका उपायहरुले गर्दा पृथ्वीको प्रकृत सुन्दर रुप फिरेको छ ।

गहिरो पहिरो कथामा भौतिक विकासका नाममा पर्यावरणलाई कसरी विध्वस्त पारिन्छ त्यसतर्फ ध्यानाकर्षण गरिएको देखिन्छ । जलवायु परिवर्तनका कारणले बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि जस्ता आपदाले मान्छेलाई चेतावनी दिँदैन्छ तर स्वार्थान्ध मान्छे टेर्दै टेर्दैन । हरियो वन नेपालको धन भन्ने कथन केवल नारामा सीमित रहेको देख्दा बेल्पाली पर्यावरण एक्टिभिस्ट हितान चिन्तित भएका छन् । एउटी निर्वाचित सदस्या जो जैविक विविधता भएको पारिस्थितिकी दिगो रहन्छ भन्ने कुरामा सचेत छिन् उनी नाङ्गा भूभागमा रूखका बिरुवा रोपेर वनलाई अझ हराभरा बनाउने ध्येयले प्रस्ताव राख्छिन। बजट आउँछ । सभामा रूख रोपेर प्रदूषण कम गर्ने, पिउने पानी, सेनिटेरी ट्वइलेट, प्लास्टिक रिसाइक्लिङ व्यवस्था जस्ता कुरा नआएका होइनन तर शेषमा सडक निर्माण गर्ने पक्षमा सभाध्यक्षले निर्णय सुनाउँछन् । सभाको सिद्धान्त अनुसार नै डोजरले खन्न शुरु गर्यो मोटरबाटो । रुखबिरुवा उखेलिए । पानीको मुहान भत्काइयो । बराहको थान तोडियो । पहरा फोरिए । निर्णाणकार्य सम्पन्न भएपछि नेताले रिबन काटेर सीतादेवी मार्गको उद्घाटन गरे ।

यसरी पर्यावरणलाई विध्वस्त पारेर विकास आयो । यस कथामा ठूलाबडाको भ्रष्टाचारलाई पनि कथाकारले सङ्केत गरेका छन।

आयामिक दृष्टिमा बाग्मती ब्लुज यस संग्रहको सबैभन्दा छोटो कथा (केवल तीन पेज) हो । कथाको पृष्ठभूमि काठमाडौं रहेको छ । फोहोरमैलाले बाग्मतीको पानी प्रदूषण, असह्य दूर्गन्ध सुधार ल्याउने प्रयत्न हुन् । वाग्मतीलाई एक नवयौवना नारीको रूपमा देख्ने कथाकारले उनका ओठ भत्केका आलुका ड्याङजस्ता देखेर दुखी हुन्छन् । प्रकृतिको सुन्दर रूपलाई बिगार्ने अहङ्कारी मान्छेको एकतर्फे स्वार्थी स्वभावले कथाकारले गहिरो वेदना अनुभव गरेका छन् । तैपनि मेरा नजरमा उनी सुन्दर देखिन्थिन्। त्यसैमा मैले माया थपिदिएँ भने उनी अझै सुन्दर बन्छिन् भन्ने पूर्ण विश्वास थियो।
अदूर भविष्यमा स्वच्छ जल र हराभरा शहरको कल्पना गरेका छन् । इको डेटिङको सन्दर्भबाट कथाकारले पर्यावरण सुरक्षामा सबैसँग सकारात्मक भूमिकाको अपेक्षा गरेको बुझिन्छ ।

भूइँचालाले भत्काएको भट्टी – यो पयोगपरक कथामा कथाकार विजयले स्वैरकल्पनाको भरपुर प्रयोग गरेका छन् । पच्चीस वर्ष पछि हुन सक्ने घटनाको यस कथामा वर्णन गरिएको छ । अक्सफोर्ड युनिभर्सिटिबाट आणविक शास्त्रमा विद्यावारिधि गरेका प्रसिद्ध विज्ञानी जोन राई भूकम्पमा भत्किएको कालिगण्डकी आणविक भट्टीको निरीक्षण गर्ने काममा ऊ नेपाल आएको छ । बेल्पाली जोन राई आफ्ना पुर्खाको देशमा पर्यावरण ध्वस्त भएको देखेर प्रश्न गर्छ । जलवायु परिवर्तनको नकारात्मक प्रभावले गर्दा नारायणीको पानी सुकेको, वन र वन्यजन्तु मासिएको कुना जान्न पाउँछ । कथाले १९८६ मा रुसको चार्नोबाइल डिजेस्टरको याद गराउँछ । यो दुर्घटनाको आधारमा श्वेतलाना एलेक्शिएभिच तथा अन्य लेखकले ग्रन्थ रचेका छन।

यतिखेर न्युक्लियर शक्तिसम्पन्न देश धेरै छन, कुन बेला के हुने हो कसैले भन्न सक्तैन दुर्घटना घटित भइसके पछि चिच्याएर, कराएर वा कसैलाई दण्ड दिएर बिग्रेको बनिने होइन । विजय स्रष्टा मात्र होइनन् भविष्यद्रष्टा पनि हुन् । नेपाल पनि भविष्यमा सूचीमा आउने सम्भावना देखेर यो कति भयावह हो भनेर सचेत गराएका छन् ।

नववर्षले जन्माएका वृक्षहरू कथामा अदूर भविष्यको पर्यावरण अनुकुल सुन्दर नेपालको कथाकारले कल्पना गरेका छऩ् । नव वर्षको उपलक्ष्यमा वृक्षरोपन मुख्य कार्यक्रम रहेको छ । बेलायतमा स्थापित नेपाल प्रकृति संरक्षण कोष भन्ने संस्थाका प्रबन्ध निर्देशक रमेश वनस्पति विज्ञानमा स्नातकोत्तर गरेको पर्यावरण एक्टिभिस्ट हो। कर्मभूमि बेलायतमा बसोबास गरे पनि उसको मन भने जन्मभूमि नेपालमा हुन्छ। शरीर बेलायतमा, मन नेपालमा यसरी ऊ डायस्पोरिक जीवन बाँचेको छ। पच्चीस वर्षको अवधि पार गरी ऊ २१०१ सम्बतको नेपाली नयाँ वर्ष मनाउन पुग्छ।

बाग्मतीको स्वच्छ पानी देखेर रमाउँछ । ऊ सोच्छ— नयाँ वर्षको उत्सवमा हिजोआज बिरुवा रोपिन्छन सबैतिर । गरिन्छ खोलानाला, तालतलैया, बाटाघाटा, मठमन्दिर, सार्वजनिक उद्यानको सरसफाइ । सबै लागेका छन लोपोन्मुख प्राणी र वनस्पति संरक्षण कार्यमा । राखिन्छन् हरित कवि गोष्ठी, पर्यावरणीय अन्तर्क्रिया जस्ता कार्यक्रम । नयाँ वर्ष मनाउँदा उहिले जस्तो काटिन्न केक, न त खोलिन्छ स्याम्पेन । ….. बरु मानवेतर जगतलाई जोगाउने कल्याणकारी कामहरू गरिन्छन्, राजनैतिक पार्टीहरूका एजेन्डामा अन्य विषयहरुका साथै पर्यावरण संरक्षण पनि हुनुपर्ने । बेलायतमा पर्यावरण संरक्षणमा गरिने कार्यहरू नेपालमा पनि हुनथालेको रहेछ । पर्यावरण विषयको एउटा सभामा भाग लिने उद्देश्यले रमेश नेपाल आएको छ । त्यसै बीचमा पत्रकारहरूलाई सम्धन गर्ने क्रममा बोल्यो— ओहो । धेरै विकास भएछ। अब हामी विदेशमा बस्ने सबै नेपाली सधैंका लागि आफ्नै देश फर्कनुपर्छ भनेर आह्वान गर्छु है त। (१४४)

बघिनीको शोकसभा वन्य जीवजन्तुप्रति लेखकको अकृत्रिम प्रेमको एक उत्कृष्ट दृष्टान्त हो । कथाको पात्र घनश्याम प्रकृतिप्रेमी । निकुञ्जका जीवजन्तुलाई ऊ आफ्नै परिवारका सदस्य ठानेर माया गर्दछ । निकुञ्जमा उसले एउटी बघिनी पालेको छ । आफ्नै छोरीका उसले खर्च पनि बेहोरेको छ । गौरी नाम गरेकी त्यो बघिनीलाई कसैले हत्या गरिदिन्छ । गौरी नरखादक भएकीले मारिएको भन्ने बहाना लेखकलाई चित्तबुझ्दो लागेन ।
ऊ बघिनी छोरीको अन्त्यष्टि क्रिया गरायो । उसको शोकसभामा पनि सहभागी भयो । मान्छेको मात्रै आवादी बढेको, अरू सबै जीवजन्तु लोपोन्मुख । मान्छेको जनसंख्य़ा वृद्धि सबै समस्याको मूल हो । त्यसैले युद्ध र प्राकृतिक दूर्योग (भूकम्प, प्लेग-कोरोना महामारी) आवश्यक जस्तो लाग्छ उनलाई ।
बाढीको घुटुक्क बाडुली कथामा बाढी, पहिरो, डढेलो, खडेरी जस्ता समस्याले जनजीवनलाई कठिन र जटिल पार्दै लगेका कुरा छन् । यो पत्नी र छोरा-बुहारीलाई बाढीले बगाएर लगेपछि जीवित रहने वृद्ध र नातिनी सुकुम्वासी भएर छाप्रोमा दिन गुजार्न विवश भएको करूण कथा हो ।

वृद्धाश्रमको कोठामा टीभी हेर्दैछन बूढाहरू । टीभीमा जलवायु परिपर्तनका कुप्रभाव भन्दै छ, देखाउँदैछ । वृद्ध अतीतका कुरा सम्झिन्छ । विकासका नाममा बाँध निर्माण गर्नाले त्यो बाँध भत्किएर कतिलाई बगाएर लग्यो । सुकुम्बासी आयोगका कर्मचारी भन्थै— जलवायु परिवर्तनले गर्दा यी समस्या आएका हुन् । तर वृद्धको चित्त बुझेनछ । उनले भने – हामीले भोग्न बाध्य यी घटना र क्षतिहरू यथार्थमा मानवीय क्रियाकलापकै उपज हुन् । विना सोच, विना योजना सरकार र शक्तिमा पुगेकाहरूको विवेकहीन र नीतिहीन विकासका परिणाम हुन् (१६७) ।

जीवविज्ञानको डिग्रीले तेर्स्य़ाएका प्रश्नहरू भाडाका सिपाही बनेर इराक र अफगानिस्तानमा अरूकै उपनिवेश बचाउन श्रीमतीको सिउँदो नङ्ग्याउने, आमाको काख उजाड पार्ने ? के त्यसैका लागि तिमीहरूले विद्या हासिल गरेका ?

आफूले धेरै कष्ट गरेर आर्जन गरेको शिक्षाको सदुपयोग गर्ने अवसर नपाउँदा रविन दुखी बन्छ । उसको शिक्षाको डिग्री देशको कुनै काममा नलाग्ने केवल कागजको खोस्टो भएकोमा निराश भएर ऊ प्रश्न गर्छ—अब के म पनि विदेशिनु बाहेक अर्को उपाय नै के छ ?

यस कथामा शिक्षित नेपाली युवा-युवती कर्मसंस्थान खोज्दै विदेशिनु परेको कुरा । देशको मानव सम्पद र प्राकृतिक सम्पदको सदुपयोग नभएरै देश अविकसित भएको भन्ने कुरा, ब्रेन ड्रेइन आयामिक दृष्टिमा बाग्मती ब्लुज यस संग्रहको सबैभन्दा छोटो कथा (केवल तीन पेज) छ भने पर्यावरण सहिद सबैभन्दा लामो (बीस पेज) रहेको छ । दुइटा कथा भविष्यमा घटित हुने कथा पनि छन नववर्षले जन्माएका वृक्षहरू, भूइँचालोले भत्काएको भट्टी ।
धानबादको चासनाला कोइला खानिको दुर्घटना (१९७५), भुपाल ग्यास ट्रेजेडी (१९८४), युक्रेनको चार्नोबिलमा १९८६ मा घटित न्युक्लियर विस्फोट, अस्ट्रेलियाको जङ्गलमा आगलागी, असमको बाघजानमा भर्खरै हुनगएको ग्यास लिक र आग्लागी(२०२०) र यस प्रकारका अरु धेरै मान्छेको गैरजिम्मेदारी र लापर्वाहीले गर्दा घटित दुर्घटनाहरुले पर्यावरणमा ठूलो क्षति पुर्याएका छन । यी र यस प्रकारका अरू कुराको विरोध गर्नु वा रोक्नु नै पर्यावरणवादको अभीष्ट लक्ष्य हो । परिवृत्तीय साहित्यमा र तिनको समालोचनामा तिनै कुरा हुन्छन भनेर भट्टराईले विषयलाई छर्लङ्ग पारेका छन । फेरि इकोराइटिङलाई छवटा दृष्टिकोणले हेरिन्छ भन्ने कुरा पनि भट्टराईको ग्रन्थमा उल्लेख छ । ती हुन—

१. इकोलोजी । यसमा इकोसिस्टम, इकोलोजिकल निस र फुड चेनका हाँगा छन् ।
२. मानवकेन्द्री तथा पर्यावरणकेन्द्री
३. इकोफेमिनिजम
४. प्रकृतिको महत्त्व
५. ग्राम्यता र अप्रदूषित परिवेश र
६. रोमान्टिकता

इकोकृटिसिजमको दृष्टिले कृतिलाई मूल्याङ्कन गर्न खोज्ने आजको समालोचकले उल्लेखित बूँदाहरु बुझेको हुनु पर्दछ। विज्ञानको सहारा लिएर पृथ्वीलाई नष्ट गर्ने काममा मानिस लागेको लाग्यै छ । त्यस कार्यको विरोधमा लेखिएको साहित्य नै पर्यावरण साहित्य हो । यस्तो प्रकारको लेखनलाई इकोक्रिटिसिज्मले मात्र मूल्याङ्कन गर्न सक्तछ। कथा, कविता, निबन्ध, नाटक आदि शून्यमा लेखिँदैनन । कुनै ठाउँ, त्यसको प्रकृति, भूगोल, इतिहास संस्कृति आदि तत्त्वहरुले व्यक्तिको दिमागमा क्रिया गरिरहेका हुन्छन अति ती सबै कुरा लेखकको सिर्जनामा आउँछन् ।

लरेन्स बुयल (१९३९)पारिस्थितिक समालोचनाका अग्रदूत हुन् । उनको द इन्भाइरनमेन्टल इमाजिनेशन (१९९५) कृति परिवृत्तीय समालोचनाको महत्त्वपूर्ण मानक ग्रन्थ हो । यस ग्रन्थमा बुयलले केही महत्त्वपूर्ण कुराको उठान गरेका छन् ती हुन् —

१. मानवेतर वातावरण भनेको एक प्रकारको सीमाक्षेत्र मात्र होइन, तर यो एउटा यस्तो उपस्थिति हो जसले बताउँछ—प्रकृतिको इतिहासभित्रै मानवइतिहास अन्तर्निहित वा निर्मित छ । मानव र मानवेतरको कुनै भेद हुँदैन ।

२. मानवको इच्छामात्र अन्तिम र वैध इच्छा हो भन्ने ठान्नु हुँदैन।

३. वातावरणप्रति मानिसको उत्तरदायित्व भन्नु नै उसका कृतिभित्र आउनुपर्ने नैतिक दायित्वबोध हो।

४. वातावरण भनेको मानवलाई दान गरिएको कुनै वस्तु होइन, यो एउटा परिवर्तनशील, कमजोर र सधैं संरक्षण चाहने प्रक्रिया (अस्तित्व ) हो।
यी कुरालाई अनुधावन गरेपछि मानिस उसका पहिलेका अविवेकी कर्मदेखि तर्सिन्छ र आफ्नो मुर्खताका लागि पश्चाताप गर्छ । योग्यभोग्या वसुन्धरा भनेर धरालाई बलात्कार गर्न खोज्नेलाई पनि बाधा दिन्छ । यसरी ऊ जिम्मेदारीपूर्ण आचरण गरेर सही अर्थमा जीवश्रेष्ठ बन्न सक्तछ । परम्परित शास्त्र रटेको समालोचकले नयाँ कुराहरू देख्तैन, देखे पनि बुझ्दैन । अबको समालोचकले इकोप्रति लेखक सजग छ कि छैन, उसको कृतिमा कुन तरिकाले इकोलोजीलाई प्रस्तुत गरेको छ ती कुराहरुलाई हेर्नुपर्दछ।

सन्दर्भ ग्रन्थ
१. भट्टराई, डा. गोविन्दराज, उत्तरआधुनिक विमर्श २०६४, वि.स., मोडर्न बुक्स, काठमाडौ ।
२. बुयल, लरेन्स, द इन्भाइरन्मेन्टेल इमाजिनेसन १९९५ हावार्ड युनिभर्सिटि प्रेस, लन्डन ।
३. छेत्री, ज्ञानबहादुर, उत्तरआधुनिक सिर्जना र समालोचनाका आधारहरू २०२० असम नेपाली साहित्य सभा ।

प्रतिक्रिया
Loading...