कहाँ छ गणतन्त्र ?
के हो गणतन्त्र ?
मैले बुझिनँ या बुझ्न सकिनँ
कस्तो हुन्छ, के हुन्छ गणतन्त्रमा
राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्र रे
तन्त्रै तन्त्रको मन्त्र छ यहाँ
कुन तन्त्रमा के हुन्छ कुन्नि ?
कुन तन्त्रमा गाँस, बास, कपास पाइन्छ ?
कुन तन्त्रमा खुसी साथ बाँच्न पाइन्छ ?
थाहा छैन मलाई ।
कुर्सी फेरिनु, सत्ता फेरिनु या शासन फेरिनु
के हो गणतन्त्र ?
म मेरो बोली बोलेको छैन
बोल्दैछु म नदी किनारको माझी
बोल्दैछु म विकट गाउँको एक नेपाली
पहाड, कन्दराका बस्ती, बाटो उस्तै छ
माझीका दिनचर्या अनि घरमा लिपिएको माटो उस्तै छ
गाउँघरका पछौटेपन, गरिबीपन उस्तै छ
जमिनदारका जमिन अनि धन उस्तै छ
गाउँघरमा दिइने पढाइ अनि शिक्षा उस्तै छ
गरिबले बाँच्न पाउने खुसी अनि इच्छा उस्तै छ
खै के भयो परिवर्तन ?
गरिबका झन् गरिब, धनीका झन् धनी
शासनमा केही छैन फरक राजतन्त्र गए पनि
हजारौंको बलिदान
हजारौं शहिदको सपना
लाग्दैन त्यही थियो ।
केवल राष्ट्रपति, प्रधानमन्त्री अनि मन्त्री
र उनका आसेपासेलाई
आयो होला गणतन्त्र
तर हिजो गणतन्त्र जन्माउन हिँडेका हजारौं युवाहरू
लाखौं जिजिविषाका सपना सहित
मर्न र मार्न तयार भएका योद्धाहरू
घर, परिवार अनि आफ्नो मुटु छोडेर
आफ्नो छातीमा सङ्गीन रोपिदा पनि
नडग्बगाई, नहड्बडाई
नेपाल आमाका निम्ति प्राण आहुती गर्न तयार भए ।
तर ती योद्धाका सपनामाथि तुषारापात भयो
सपना अधुरै रह्यो ।
आज त्यही योद्धाहरू
खाडी मूलकमा सपना बुनि रहेका छन्
के यही हो गणतन्त्र ??
जो हिजो गणतन्त्र विरोधी थिए
आज तिनै हिमायती छन्
हात्तीका देखाउने दाँत गणतन्त्र
भित्र त अर्कै दाँतले काम गर्दाेरहेछ ।
एउटा चोर फेरिएर के भो ?
सयौं चोर थपिएका छन् ।
बढ्दैछ भ्रष्टचार, दलाल अनि महँगी
बढ्दैछ गरिब र धनीका खाडलहरू
बढ्दैछ झन् उत्पीडन र भेदभाव पनि
अनि भनूँ कसरी गणतन्त्र छ यहाँ ?
त्यसैले म भन्दैछु
खै गणतन्त्र ??
कहाँ छ गणतन्त्र ??
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।