डा. विष्णु सुवेदी

 

म सोच्छु
मान्छे गँड्यौला जस्ता भैदिएको भए
मुटु बिनाका ती मान्छेहरू
बल्ल निस्फिक्री
माटो मात्रै खाएर बाँच्थे होला
धर्तिमा लुप्त भएर
एकनाशका घरभित्र
एक्ला एक्लै
न त दुःख न त सुख
जिउनुमै जीवन हाँक्थे होला ।

फेरि म सोच्छु
गँड्यौला जस्तो नभएर पनि
मान्छे मान्छे जस्ता छैनन्
मुटु पाएर पनि
जीवन जिवन्त छैन
धर्ती चिरा पारेर देश परदेश भनेर
भाग लगाउँदा पनि
धर्तिप्रेमी बन्न सकेन मान्छे
जन्मेर बिस्तारै माटो खानु र
मरेर माटो नै भएर जानुको
कुनै अर्थ भेटेन मान्छे

आजकल त बरु
मान्छे धर्ति छुन घिनाउँछ
धर्तिमै बसेर
ब्रमाह्ण्डको उता कुनाको अर्को
चन्द्र सूर्य चिनाउँछ
जमिनमा दुई खुट्टाले उभिन सिकेर
पुर्खाको अस्तु खोतलेर झिकेर
बिज्ञानका अनेक गणना गर्छ र भन्छ
सुन ए मान्छेहरु हो !
मान्छे त पहिले गँडयौला झैं थियो रे
अनाम अनाकार
तन्तुविहीन सुडौला थियो रे
यसरी मान्छेहरूको बिज्ञान
गँड्यौलाझैँ अगाडि तनक्क तन्किन्छ
तर छिनछिनमा आफैँमा अल्झेर
एकान्त समु्द्रको तटभित्र
लेगुनका लेऊ तिर थन्किन्छ ।
म सोच्छु
ती लेगुनका अवयवहरू कुनै दिन
धर्तिसँगै पग्लिएर
प्राण भर्दै पल्टिएर
अणु अणुमा सग्लिएर
सल्बलाउन थाल्दै थिए होलान्
अनि
बिस्तारै गँड्यौला झैं बनेर
चल्मलाउन थाल्दै थिए होलान्
त्यसपछि बिस्तारै
बिरानो हुन थाल्दै थियो होला
माटोको गन्ध
अनि मन्द मन्द
बिस्तार भयो होला
धर्तिमाथि बस्ने प्रबन्ध
तर
आज त्यै गँड्यौले मान्छे
धर्तिमाथि उड्न सिकेर
बर्षातपछि मग्मगाएको
धर्तिमाथि नाचेको जूनकीरीलाई
माटोमा सुतेको झ्याउँकीरीलाई
सोध्छ धर्तिको बासना

म अनि यताउति हेर्छु
सोच्छु र भन्छु
आजको धर्तिमाथि बस्ने मान्छेभन्दा
धर्तिमुनि लुक्ने गँडयौला जाती
धर्ति बिगार्ने मान्छेभन्दा
धर्ति सपार्ने गँडयौला जाती
त्यसैले
कहिलेकाहीँ लाग्छ
मान्छे सबै गँड्यौलाजस्ता भैदिएको भए !

भरतपुर
दन्तचिकित्सक