भरत रानाभाट

भरतबहादुर रानाभाट

दिनभरि ज्याला मजदुरी
भोक, अभाव र गरिबीसँग
लड्दालड्दै
थकित भएको ज्यान
भट्टीमा पसेर
एक बोतल
तनक्क पारेपछि
मदिरामा लठ्ठीएको बेला
मैले सबै दु:ख हराएको
महसुस गरेको हुन्छु
त्यसैले
म जँड्याहा
भट्टी पसल धाउने गर्छु
एक बोतल मदिरा पिएपछि
मैले केही क्षणका लागि
आफ्नो
गरिबीको पर्खाल
गर्ल्याम्म भत्काउछु
साहुको ऋणबाट
मुक्ति पाउँछु
मेरा भागमा परेको
अभावलाई डाँडो कटाउँछु
कैयौं दिन देखि
निभेको चुलोमा
आगो बलेको देख्छु
श्रीमतीको
टालेको धोती नयाँ देख्छु
केटाकेटीको फाटेको
झोला नयाँ देख्छु
साहुको
कचकचबाट मुक्ति पाउँछु
सडकमा लतारिँदै
बिजुलीको पोलमा
लात्ती बजार्दै घर जादा
प्रहरीलाई देखेपछि
उल्टो थर्काउछु
घरको ढोकामा लात्ती हान्दै
मातेको साँढेझैँ
श्रीमतीलाई झम्टिन पुग्छु
म जँड्याहा
हो
यही समयमा हो
मैले गरिबी भोकमरी र
सबै अभावै अभावलाई
चटक्कै भुल्ने गरेको
जब बिहान उज्यालो हुन्छ
अनि
फेरि
मेरो जिन्दगीको
यथार्थ धरातलमा टेक्न पुग्छु
बिहान उठ्दा
हिजो मातेको त्यो साढे
एकाएक आफैँ लत्रक्क परी
झोक्राएको देख्छु
श्रीमती र
छोराछोरीको मलिनो
अनुहार देख्दा
म आफैँलाई धिक्कार्छु
भुन्टेकी आमाले
मायालाग्दो तरिकाले
मेरा मुखमा हेरेर
भुन्टेका बा !
भो मलाई धोती चाहिँदैन
टालेर काम चलाउँछु
दशैमा खाएको
मासुको पैसा
अझै तिरेको छैन
छोराछोरीको झोला
टालो हालेर स्कुल पठाउँछु
घरमा एक दाना अन्न छैन
हाम्रो भागमा परेको
अभाव र गरिबीसँग
जुध्न नसकेर
तिमी सधैँ यसरी
पिउने नगर न है ?
तिम्रो स्वस्थ जिन्दगी
मेरो र छोराछोरीको
खुसीको लागि
अति आवश्यक छ
त्यसैले
गरिब नै भए पनि
यसरी हरेस नखाऊ न है ?
बरु तिमीले सधैं
मदिरा खाने पैसाले
हरेक दिन
दुई किलो आलु किनेर
सबैले त्यसैको तातो
झोल खाउँला नि हुँदैन ?