धेरैले महिला लेखकले इतिहासका गम्भीर ठेली, अनुसन्धानात्मक कृति लेख्न सक्दैनन् भन्ने लाग्छ । यो काम चाहिँ पुरूषहरूकै हो भन्ने मान्नेको कुनै कमी छैन । महिलाहरूमा हुने अथोरिटी (प्राधिकार)को अभावका कारण उनीहरूले गरेको काम त्यति विश्वसनीय हुँदैन भन्ने ठान्नेहरूको बाहुल्य छ । त्यसैले पनि बेस्टसेलर लेखकहरूको सूची हेर्ने हो भने त्यहाँ बढीजसो पुरूषकै नाम देखिने दाबी सुजाना लिप्सकम्बको टिप्पणी छ ।
यो टिप्पणी सुजानाले किन गर्नु पर्यो भने उनी एउटा प्रतिभासम्पन्न इतिहासकार र प्राध्यापक भइकन पनि उनले बनाएका टेलिभिजन वृत्तचित्रमा जहिले पनि एउटा पुरूषलाई बोकेरै हिँड्नुपर्ने बाध्यता बोक्नु पर्यो । ४३ वर्षीया सुजानाले प्रायः अर्का साथी डान जोन्ससँग मिलेर इतिहासका डकुमेन्ट्री बनाउने गर्छिन् र यी दुवैले ती डकुमेन्ट्रीमा टिप्पणी गर्ने गर्छन् । उनी एक्लैले टिप्पणी गरेका कुरालाई दर्शकहरूले नपत्याएको भनी टेलिभिजनहरूले प्रतिक्रिया दिएपछि र बजारको तथ्याङ्कले पनि सोही किसिमको परिणाम देखिएपछि उनी चकित परेकी हुन् ।
संसारका सबै जसो ठाउँमा महिलाहरूले गरेको काममा प्रश्न उठाइन्छ । सुजानाकै काममा पनि प्रश्न नतेर्स्याइएको भए पनि गतिलो काम भएको छैन कि भन्ने शङ्का जताउनेको कुनै कमी भएन । पुरूषले गरेको त्यै काम गज्जबको हुने र त्यै काम महिलाले गर्दा शङ्का गर्ने बानी हटाउनका लागि उनले टेलिभिजन तथा लेखनमा अझ बढी महिलाहरूको सहभागिता हुनुपर्ने आग्रहका साथ गैरआख्यान लेखनमा महिला सहभागिता बढाउन एउटा पुरस्कार स्थापना गर्ने भएकी छन् ।
गएको साता मात्र बजार अनुसन्धान गर्ने नेल्सन नामक कम्पनीले एउटा तथ्याङ्क सार्वजनिक गरेको थियो । जसमा २०२१ का सर्वोत्कृष्ट एक सय इतिहास पुस्तकहरूको सूची जारी गरिएको थियो । ती पुस्तकमध्ये ८१ जना पुरूषहरू परेका थिए । महिला लेखक जम्माजम्मी १९ जना मात्र थिए ।
पत्रकार सतनाम संघेराले लेखेको पुस्तक ‘एम्पायरल्यान्ड’ सबैभन्दा बढी बिक्री हुने महिला लेखकको पुस्तक बन्न पुगेको थियो । उनको किताब २०२१ भरि ४३ हजार २ ७१ प्रति बिक्री भएको थियो । टप टेनमा पर्ने महिला लेखक जम्मा दुई जना थिए ।
बेलायतमा इतिहासका लेखिकाहरूको संख्या बढाउन सुजानाले अर्की लेखिका केट मोससँग सल्लाह गरेकी छन् । केट मोसले विमेन्स प्राइज फर फिक्सन पुरस्कारको प्रायोजन गर्दै आइरहेकी छन् । उनले सन् १९९१ देखि ओरेन्ज प्राइज शीर्षकमा महिलाहरूलाई मात्र पुरस्कार दिने परिपाटी बसालेकी हुन् । उनले त्यसताका बुकर पुरस्कारमा महिला लेखकहरूका पुस्तकहरू छोटो वा लामो सुचीमा नपरेको देखेपछि महिला लेखकको अभाव नखड्कियोस् भनी ओरेन्ज प्राइजको स्थापना गरेकी थिइन् । त्यस्तै कमेडी अभिनयबाट चर्चामा आएकी अभिनेत्री हेलेन लेडररले हास्य क्षेत्रमा महिला लेखकको अभाव पूरा होस् भनी कमेडी विमेन इन प्रिन्ट पुरस्कार स्थापना गरेकी छन् ।
यी पुरस्कारको स्थापनापछि फिक्सनमा महिलाहरूको उपस्थिति निकै बाक्लिएको अनुभव ती लेखिका तथा पुरस्कार संस्थापकहरूको छ । तर क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक सर रिचर्ड इभान्स भने यो कुरालाई त्यति महत्व दिँदैनन् । उनी भन्छन्, ‘महिला लेखकहरूलाई पाठक तथा सर्वसाधारणले महत्व वा विश्वास नगर्ने भन्ने कुरामा कुनै पनि सत्यता छैन । उनीहरूलाई गम्भीरतापूर्वक लिइन्छ पनि । तर सत्य के हो भने सैन्य इतिहासका क्षेत्रमा भने महिला अनुसन्धाता छैन बराबर नै छन् । जुन क्षेत्रमा लेखक छैनन्, त्यसतर्फ आकर्षित गर्ने परिपाटी बसाल्नु उपयुक्त हुन्छ ।’
‘त्यसका लागि इतिहास लेखनमा महिला लेखक पुरस्कार स्थापना गर्नु निकै राम्रो कुरा हो,’ इभान्स भन्छन्, ‘यस्ता पुरस्कारहरू जति बढी स्थापित भए, उति नै बढी प्रेरणा जाग्छ । यसमा कुनै शङ्का छैन ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।