केही समयअघि केट क्लान्सीको संस्मरणात्मक पुस्तक सम किड्स आई टट एन्ड ह्वाट दे टट मी निकालेकी थिइन् । पुस्तकलाई बेलायती प्रकाशक पिकाडोरले बजारमा ल्याएको थियो । पुस्तक प्रकाशन लगत्तै उनको संस्मरणमा वर्तमान समाजको सचेतना प्रतिकूलका केही धारणा व्यक्त गरिएको भन्दै विरोधका आवाज उठ्न थालेपछि प्रकाशकले उनका पुस्तक वितरण नगर्ने र उनको पुस्तक प्रकाशन गरेर अल्पसंख्यकहरूको भावनामा चोट पुगेकामा क्षमायाचनासमेत व्यक्त गर्यो ।

यसबाट लेखिका क्लान्सी क्रुद्ध मात्र भइनन् उनले हिटलरको संस्मरण मैन काम्फकै दाँजोमा आफ्नो पुस्तकलाई हाराहारीमा राखेको भन्दै आक्रोश व्यक्त गरेकी थिइन् । उनले सामाजिक सञ्जालमा टिप्पणी गरेकी थिइन्, ‘मेरो पुस्तकलाई हिटलरको आत्मकथा ‘मेन काम्फ’ जत्तिकै आपत्ति जनाएर प्रकाशनै रद्द गर्नु दुःखद् कुरा हो ।

लेखिकाको आक्रोश जायज भएको भन्दै एउटा सानो प्रकाशक स्विफ्ट प्रेसले उनको किताब बजारमा ल्याउने भएको छ । गएको वर्ष मात्र स्विफ्ट स्थापना भएको थियो । सन् २०२२ मै मात्र यसले २० देखि २५ वटा पुस्तक निकाल्ने अपेक्षा गरेको छ ।

लेखिका क्लान्सीको नयाँ संस्मरणात्मक पुस्तकसँगै उनका अघिल्ला पुस्तकहरू पनि यो प्रकाशनले बजारमा ल्याउने घोषणा गरेको छ ।

मार्क रिचर्ड्सले यो संस्था स्थापना गरेका हुन् । उनी यसअघि ठूला प्रकाशकहरूको सम्पादकीय निर्देशकसमेत रहिसकेका छन् । उनले भने, ‘कयौँ कारणहरूले राम्रा पुस्तक ठूला प्रकाशकले छाप्दैनन् र सबैभन्दा ठूलो समस्या चाहिँ त्यहाँ चाँडै निर्णय गरिँदैन । लामो प्रक्रिया पूरा गर्नुपर्छ । यसले कहिलेकाहीँ किताबको सान्दर्भिकता नै हराउन पुग्छ ।’

सदियौँ पुराना प्रकाशकको यस्तो समस्या हुनु स्वाभाविक रहेको रिचर्ड्सको धारणा छ । केट क्लान्सीकै सन्दर्भमा पनि, उनका किताबहरू सान्दर्भिक र बजारमा पढिनुपर्ने भएकाले बजारमा ल्याउन आफू नहिच्किचाउने बताए ।

उनी भन्छन्, ‘किताबका बारेमा पाठकलाई नै जिम्मेवारी दिनुपर्छ । पाठकलाई विश्वास गर्नुपर्छ । अहिलेको अवस्थामा केही मुद्दा निकै जटिल छन् । त्यस्ता जटिल मुद्दाहरूलाई पाठकसम्म पुग्न नदिई, पाठकलाई त्यसबारे सचेत नगराई किताबै बजारबाट गायब गराउनु उचित हुँदैन ।’

र, प्रकाशकले के छाप्ने र के वितरण गर्ने भन्ने कुरा एउटा स्वार्थ समूहको धारणा वा आन्दोलनले रोकिनु नहुने पनि रिचर्ड्सको धारणा छ ।

अचेल बेलायती किताब बजारमा आन्दोलनको पछि लागेर पुस्तक नछाप्ने कि वा छापिइसकेका किताबलाई गोदाममा थन्काउने कि त्यसविरूद्धका पुस्तकहरू निकालेर विद्रोह गर्ने भन्ने दुविधामा प्रकाशकहरू पर्न थालेका छन् । यसमा ठूला प्रकाशकहरूले विवादमा नपरी बरू पुस्तकलाई नै बजारबाट गायब गराउन तत्पर हुन थालेका छन् ।

यस्तोमा साना स्वतन्त्र पुस्तक प्रकाशकहरूले भने बजार हल्लाविरूद्ध उभिएर पुस्तक निकाल्ने र तिनलाई बजारमा पठाउने जोखिम मोल्न थालेका छन् । यस्ता साना प्रकाशकले सेयरहोल्डरहरूको स्वार्थ वा नाफालाई ध्यान दिनु नपर्ने हुनाले तिनलाई काम गर्न सजह हुनेसमेत केहीको धारणा छ ।

द बुक सेलर पत्रिकाका प्रबन्ध सम्पादक टम टिभ्नान भन्छन्, ‘ठूला प्रकाशकहरू यतिबेला दबाब र स्वार्थ समूहका कारण तनावमा छन् । उनीहरू ठूलो लगानी गरेर विवादास्पद पुस्तक निकाल्न चाहँदैनन् । यस्तोमा साना प्रकाशकहरूले जोखिम मोल्दै पुस्तक निकाल्ने माहोल सिर्जना हुन थालेको छ ।’

उदाहरणका रूपमा उनले ग्यालरी बेगर प्रेसलाई उभ्याउँछन् । लुसी एलम्यानको ‘डक्स, न्युबरीपोर्ट’ उपन्यास पूरै एक हजार पृष्ठको छ र पूरै उपन्यास एउटै सिङ्गो वाक्यमा सकिएको छ ।

टम टिभ्नान भन्छन्, ‘ठूला प्रकाशकहरूले यस्तो प्रयोग र जोखिम मोल्छन् भन्ने मलाई बिल्कुलै लाग्दैन । उनीहरूका लागि यो कडा ओखर हो ।’

बेलायतको रोयल सोसाइटी अफ लिटरेचरकी पूर्व अध्यक्ष म्यागी गीका उपन्यासहरू हार्पर कोलिन्सजस्तो प्रख्यात प्रकाशकले प्रकाशन गरेको थियो । अचेल उनी आफ्ना उपन्यास अरूलाई दिन्नन् । उनले लेबनानबाट भागेर आएका अन्य दुईजना साथीहरूसँग मिलेर खोलेको साकी बुक्समार्फत आफ्ना सिर्जना बजारमा ल्याउने गरेकी छन् । यसले हरेक वर्ष १५ वटा पुस्तक मात्र बजारमा ल्याउने गरेको छ ।

‘मेरो लेखनी अनौठै हुन्छ भन्दा पनि हुन्छ,’ म्यागी भन्छिन्, ‘त्यस्ता लेखनीहरू मूलधारका प्रकाशकका लागि त्यति रोचक हुँदैनन् । तिनले त्यो लेखनीको मर्म पनि बुझ्दैनन् । अनि उनीहरू नै भन्छन्, यो त तपाईंको बिक्री नै हुँदैन । बरू अलि बिक्री हुने कुरा लेख्नू न भनी सम्झाउन थालेपछि मैले प्रकाशक फेर्न बाध्य भएँ । सबैले उनीहरूको सुझावअनुसार त्यस्तै लेखिरहेका छन् भने मेरो के काम ? हैन त ?’

अल्पसंख्यकका आवाजहरू ठूला प्रकाशकहरूले ननिकालेको भन्दै आलोचना पनि हुने गरेको छ । यस्तोमा गएको वर्ष मात्र अमेरिका र बेलायतका ठूला प्रकाशकहरूले अल्पसंख्यकहरूको आवाजलाई मूलधारमा ल्याउन वा बढीभन्दा बढी ठाउँ दिन विज्ञप्ति नै जारी गरेका थिए ।

म्यागी भन्छिन्, ‘जुन कुरा बुझ्न ठूला प्रकाशकलाई यत्तिका समय लाग्यो, हामीले त यो काम २० वर्षदेखि गरिरहेका छौँ । साना प्रकाशकहरूले पहिलेदेखि नै यसमा ध्यान दिइरहेका छन् । बल्ल उनीहरूलाई चेत खुलेको छ ।’

साना प्रकाशकहरूले त यतिबेला जोखिम मोलेर विरोधी आवाज पनि बजारमा ल्याउने गरेका छन् । ठूला प्रकाशकले जोखिम मोल्न नचाहेका, प्रकाशन गरेर पनि बजारमा नपठाएका पुस्तकहरू तिनले बजारमा ल्याउने गरेका छन् ।

अमेरिकी फिल्म निर्देशक उडी अलेनको संस्मरण एप्रोपोस अफ नथिङलाई ठूला प्रकाशकहरूले छाप्न मानेनन् । अरू बेला भएदेखि उनको संस्मरण छाप्न लाइन लाग्ने प्रकाशकहरू तर्किएको देखेर स्काई हर्स नामक प्रकाशन संस्थाका टोनी लाइओन्सले उनको उपन्यासलाई बजारमा ल्याएका हुन् । ह्याचेटले अलेनको पुस्तकलाई छापेर पनि चर्को विवादपछि बजारमा ल्याउन अस्वीकार गरेको थियो । खासगरी उनकी सौतेनी छोरीले आफूलाई अलेनले बालखैमा बलात्कार गरेको आरोप लगाएपछि उनको पुस्तक ह्याचेटले बजारमा नलैजाने निर्णय गरेको थियो ।

स्काई हर्सले फिलिप रोथको जीवनी पनि प्रकाशन गरेको छ । ब्लेक बेइलीद्वारा लिखित सो जीवनी डब्लुडब्लु नर्टनले छाप्न नसक्ने भनी लेखक बेइलीलाई सूचित गरेको थियो । बेइलीमाथि बलात्कार र यौन दुर्व्यवहारको आरोप लगाइएको थियो । बेइलीले सो आरोपलाई प्रमाणित गर्न चुनौतीसमेत दिएका थिए ।

‘अचेल आरोप लगाउने, आन्दोलन मच्चाउने र मान मर्दन गरी पुस्तक बजारमा आउन नदिने एउटा प्रक्रिया नै शुरू भएको छ,’ लाइओन्स भन्छन्, ‘म चाहिँ त्यस्ता किताब छानीछानी प्रकाशन गर्छु । उडी एलेनको किताब राम्रोसँग लेखिएको छ । उनी देशका एक सम्मानित व्यक्ति हुन् । उनले गलत गरेका होलान्, तर त्यही गल्तीका कारण उनको आवाज नै प्रतिबन्ध लगाउनु कहाँसम्मको न्याय हो ? उनी गलत छन् भने सजाय पाउँछन् । सजाय दिलाइयोस् । होइन भने, उनका भावना र अक्षरहरू रोकिनु हुन्न ।’

लेखिका केट क्लान्सी, अमेरिकी सिनेटर जोस हउली र फिलिप रोथका जीवनीकार ब्लेक बेइली

यस्ता विवादास्पद पुस्तक प्रकाशन गर्दाका बेला प्रकाशन क्षेत्रका वरिष्ठ अधिकारीहरू प्रत्येक काममा नजिकबाट गाँसिनु पर्छ । साना प्रकाशन संस्थाका निर्णायक अधिकारीहरू भने किताबको प्रक्रियाकै क्रममा, सम्पादनका बेला, छापिँदा, वितरण हुँदा र मार्केटिङ र सेल्सका बेलामा पनि सहभागी हुन सक्छन् । अमेरिकाका ठूला पाँच प्रकाशकहरू (पेइन्गुइन रेन्डम हाउस, सिमोन एन्ड सुस्टर, ह्याचेट, हार्पर कोलिन्स र म्याकमिलन)का प्रमुख कार्यकारी वा वरिष्ठ अधिकारीहरूका लागि यो सम्भव हुँदैन ।

गएको वर्ष अमेरिकाका सिनेटर जोश हलीको पुस्तक द टाइरेनी अफ बिग टेकलाई सिमोन एन्ड सुस्टरले छाप्न अस्वीकार गर्यो । किताबमा अनावश्यक आरोप लगाइएको प्रकाशकको धारणा थियो तर अस्वीकृत पुस्तकलाई अर्को सानो कम्पनी रेग्नेरीले छाप्यो । यो प्रकाशकले वर्षमा मुस्किलले ५० देखि ६० वटा किताब बजारमा ल्याउने गर्छ जबकि सिमोन एन्ड सुस्टरले वर्षमा दुई हजारभन्दा बढी शीर्षकका पुस्तक प्रकाशन गर्ने गर्छ ।

रिग्नेरी प्रकाशनका अध्यक्ष थोमस स्पेन्स भन्छन्, ‘पछिल्लो समय हामीजस्ता रूढिवादी पुस्तक प्रकाशकका लागि खेल्ने ठाउँ फराकिलो हुन थालेको छ । पहिला पहिला रूढिवादी लेखक, रूढिवादी विषयवस्तुहरू छाप्नका लागि ठूला प्रकाशनले एउटा बेग्लै शाखा बनाउँथे । ती किताब छापिएपछि राम्रै पैसा कमाउँथे तर अचेल तिनलाई विभिन्न पेशेवर संस्था र आन्दोलनकारीहरूले भुत्ते बनाइदिएका छन् । त्यसको फाइदा हामीले उठाउन थालेका छौँ ।’

हुन पनि अचेल कुनै पुस्तकको प्रकाशन रोक्न कुनै गाह्रो छैन । कुनै व्यक्ति विशेष वा विषयविशेषको किताब आउँदैछ भन्ने थाहा भएपछि दुई चार जना आन्दोलनकारीहरूले धर्ना दिने र विज्ञप्ति जारी गर्दै आफ्ना मागपत्र प्रकाशन संस्थामा परेपछि किताब निकाल्न गाह्रै हुन्छ । तर अटेरी गर्ने प्रकाशकहरूले भने त्यस्ता किताब मज्जैले प्रकाशन गरिरहेका हुन्छन् र ती राम्रै बिक्री पनि भइरहेका छन् । यस्ता किताब भने प्रचलित, प्रतिष्ठित र राम्रो लेखकस्व दिने प्रकाशकहरूले निकाल्दैनन् र त्यसबाट उछिट्टिएको भाग यस्ता स्वतन्त्र प्रकाशकको पोल्टामा पर्ने गरेको छ ।

यस्ता साना प्रकाशकका पनि आफ्नै दुःख छन् । किताब छापिएर आए पनि वितरणका लागि ठूला प्रकाशककै भर पर्नुपर्ने र तिनले यो पुस्तक आफूहरूले अस्वीकार गरेको भेउ पाएका खण्डमा भने उनीहरूले वितरण नगर्ने सम्भावना पनि उत्तिकै हुन्छ । यस्तोमा पुस्तक प्रकाशन भए पनि बजारमा राम्रोसँग नपुग्ने जोखिम पनि रहने गरेको छ ।