तर मैले एक साल जति पनि लडाइँमा भाग लिन पाइनँ ,..। दुई पल्ट घाइते भइयो, तर दुबै पल्ट हलुका चोटपटक मात्र लागेको थियो। एक पल्ट पाखुरामा त अर्को पल्ट गोडामा । पहिलो पल्ट एउटा हवाईजहाजबाट चलाइएको गोली लागेको थियो भने दोस्रो पल्ट चाहिँ बमको एक टुक्रा उछिट्टिएर चोट लाग्न गएको थियो । जर्मनहरूले मेरो ट्रकको छतमा र अगल-बगलमा प्वालैप्वाल पारिदिएका थिए। तर भाइ: शुरू शुरूमा मलाई भाग्यले साथ दिएकै हो। भाग्य भए भूते कमारा भन्दाभन्दै आखिर भूतैको कमारो भइयो… । बयालीस सालको मई महीनामा म लोजोभेन्कीनेर दुश्मनको हातमा परेँ र कैदी बनाइएँ । असाध्यै नै अपठ्यारो परिस्थितिमा यो सब कुरा भयो । जर्मनहरू जौड्तोडले हमला गर्दै थिए। हाम्रो १२२ मिलिमीटरवाला तोपहरूमा चाहिं गोलाहरू नै खतम भए । मेरो ट्रकमा माथिसम्म चुलिने गरी गोलीगट्ठाहरू भरिए। मैले स्वयं नै यसरी खटिएर काम गरेँ कि मैले लगाइराखेको कमीज पसीनाले भिजेर आङमा टाँस्सिएको थियो । ज्यादै हतारो गर्नु परेको थियो, किनकि दुश्मनहरू झन् झन् हाम्रो नजीक गराइरहेका थिए। देब्रेतिर कसैका ट्याँकहरू गडगडाहट : गर्दै थिए त दायाँतिर र अगिल्तिर चाहिँ गोलीको पर्रा छुटिरहेको थियो । बेलामौका उति राम्रो थिएन…।
“यी सबैको बीचबाट सुरूक्क जान: सक्छौ त, सोको-लोभ ? ”-हाम्रो मोटर कम्पनीका कम्याण्डरले सोधे। तर त्यहाँ त यस्तो प्रश्न सोधिरहनु पर्ने कुनै जरूरत नै थिएन। सोच्नु पर्ने कुरा त के थियो भने सके त्यहाँ मेरा साथीभाइहरू ज्यानको बाजी लगाउँदै होलान् । यस्तो बेला म कसरी हात बाँधेरे बस्न सक्थें र? त्यसैले मैले तुरून्त जवाफ फर्काएँ- “यो पनि कुनै सोध्नु पर्ने -कुरा हो र? मैले बीचबाट छिचोलेर जानै पर्छ, बस् ! ” कम्याण्डरले तुरून्तै भने “लौ त, हावा गतिले झट्टै गइहाल ! हाँक ट्रक बेतोडसंग ! ”
म हावा गतिले दौडिहालें। त्यस किसिमले मोटर हाँकेको मैले जीवनमा पहिलो पल्ट नै हो। मलाई राम्रो थाहा थियो, म आलु-प्याज ओसारिरहेको छैन। ट्रकमा यस्तो सामान लादिएको छ जसलाई ओरोसार्नमा हेलचक्याइँ गर्नु हुन्न भन्ने पनि.. मलाई ज्ञान नभएको होइन । तर त्यहाँ होशियारी पो कसरी गर्ने सकिन्थ्यो र! त्यहाँ हाम्रा मान्छेहरू रित्तो हात लिएर लडिरहेका थिए र पुरै बाटोभरि नै -तोपबाट गोलीको वर्षा भइरहेको थियो। जे होस्, मैले छ किलोमीटर जति बाटो पार पनि गरेँ र त्यो ठाउँनेर पुगें जहाँबाट तोपखाना राखिएको ट्रेन्चसम्म पुग्न मूलसडक छोडेर मोडिनु पर्थ्यो ! तर मैले के देखें? मैले देखें कि चारैतिरबाट गोलीको अविरल वर्षा भइरहेको थियो। हे भगवान् ! हाम्रो पैदल फौजका जवानहरू सडकको दायाँबायाँ दुबै तर्फको खुला मैदानबाट पछिल्तिर भाग्दै गइरहेका थिए र ठाउँ ठाउँमा गोलाहरू पनि पड्किरहेका थिए । अब मैले के गर्ने? पछिल्तिर फर्किने त? अहँ, अबश्य होइन! मैले आफ्नो ट्रकलाई बेतोडसंग अगाडि नै गुडाएँ। तोपखानासम्म पुग्न एक किलोमीटर जति मात्र बाँकी रहन गएको हुँदो हो। मैले सडकबाट टक पनि चाहिने दिशातिर मोडिसकेको थिएँ। तर भाइ, मैले आफ्नो तोपखानासम्म पुग्न पाइनँ पक्कै पनि कुनै सुदूरभेदक तोपले भारी गोला फ्याँकेको हुनु पर्छ। मेरो ट्रकनेरै त्यो गोला खस्यो। मैले न कुनै विस्फोट सुनें, न त अरू कुनै आवाज नै ! सिर्फ कुनै चीज गरो मथिंगल छेडेर वारपार भयो ! त्यसपछि के भयो, मलाई केही थाहासुद्दी नै रहेन । त्यस बेला म कसरी बाँचे?) यसको पनि मलाई अत्तोपत्तो छैन। टरेन्चबाट करीब आठ मीटर जति पर म कतिन्जेलसम्म बेहोश अवस्थामा इन्तु न चिन्तु भएर पडिरहेँ? त्यो पनि बताउन सक्दिनँ। होश फर्केर आराएपछि जब मेरा आँखा खुले, मैले आफूलाई हलचल नै गर्ने नसक्ने अवस्थामा पाएँ। उठ्न खोजें, गोडा नै चलेन। टाउको चसक्क दुख्थ्यो र काम्दथ्यो, कामज्वरोले समातेको जस्तै ! आँखा अगिल्तिर अँध्यारो टाटो मात्र थियो । देब्रे काँधमा भित्नबाट कुनै चीजले चस्स घोचेको र सियोले कोट्टयाएको जस्तो लाग्थ्यो। जीउ पनि यस्तरी दुखिरहेको थियो, मानौं कसैले मलाई दुई दिनसम्म लगातार जै पायो त्यही उठाएर: मारसित थिल्थिलो पारिदिएको होस् । भुइँमा म निकै बेरसम्म भुँडीको बलले घिस्नँदै रहे र आखिरमा बल्लतल्ल उभिएँ। तैपनि मलाई सम्झना भइरहेको थिएन कि म कहाँ छु र मलाई के भएको छ? मेरो स्मरणशक्ति नै उडिसकेको थियो। फेरि भुइँमा पल्टिन पनि असाध्यै डर लागिरहेको थियो। “पल्टिनु त पल्टिउँला , तर फेरि कहिल्यै उभिन पो सकिने हो कि होइन? मरेर पो गइने हो कि? “-मेरो मनमा यस्तो विचार उठिरहेको थियो। यसैउसले म त्यसरी नै लड्खडाउँदै एकै ठाउंमा उभिइरहेको थिएँ जसरी चिनारका रूख ठुला आँघीवरी चल्दा यताउति हल्लिँदै उठिरहेको हुन्छ ।
जब म होशमा आएँ र झल्यास्स आफ्नो स्थिति सम्झेर चारैतर्फ नजर दौडाएँ, कसैले मेरो मुटु नै सनासोले बेसरी च्यापिरहेको जस्तो मलाई अनुभव भयो । मैले ट्रकमा लादेर ल्याएका गोलीगट्ठाहरू चारैतिर तितरबितर भएर छरिएका थिए । नजीकै मेरो ट्रक पडिरहेको थियो — ट्रक भन्नु के थियो, थोत्रो फलामको डंगुर बनिसकेको थियो त्यो। ट्रक पल्टिएर पांग्रा आकाशतिर उत्तानो फर्केका थिए। अनि लडाइँ त मेरो पछिल्तिर पो चलिरहेको थियो…। यो कसरी हुन गयो?
कुरा लुकाउनु किन र? मेरा तिघ्राहरू थरथर ‘ काम्न थाले र म त्यसरी नै बुंग लडे जसरी बन्चरोले काटेको रूख ढल्छ। कुरा प्रष्टै थियो। मैले आफूलाई चारैतिरबाट दुश्मनहरूद्वारा घेरिएको पाएँ। साफ साफ भन्ने हो भने म फासिष्टहरूको पंजामा परिसकेको थिएँ। यस्तो बिजोक पनि भैदिन्छ लडाईमा…. ।
अहँ, यो सबै बुझ्नु सजिलो हुन्न, भाइ! तँ आफ्नो ईच्छाले त अवश्य पनि बन्दी बनाइएको होइनस् । अनि जसले स्वयं आफैँले यी सब कुरा भोगेको हुँदैन उसले हतिपति यो कुरा बुझ्ने पनि सक्तैन र यदि यसको तात्पर्य बुझ्न नै चाहने हो भने पनि खूबै समय लाग्ने छ।
यसरी म त्यहाँ पल्टिरहेको थिएँ र छिटै नै ट्याँकहरूको गडगडाहट पनि सुनियो। चारवटा मझौला खालका जर्मन ट्याँकहरू मेरै बगलबाट त्यस दिशातिर दौडिए जताबाट म गोलाहरू लिएर आएको थिएँ…। त्यस बेला मैले के सोचे ऐना ? त्यसपछि तोपहरू तान्दै ट्रयाक्टरहरू पनि पार भएर गए । अनि रणक्षेत्रको एउटा घुम्ती भोजनालय पनि त्यतैतिर लाग्यो । सबभन्दा पछिल्तिर थियो पैदल फौज । त्यो फौज उतिसारो ठूलो त थिएन। एक कम्पनीका बचेखुचेका जवानहरू मात्र थिए त्यसमा । म उनीहरूलार्इ कर्के नजर लगाएर हेर्न गर्थे र तुरून्त नै भुइँमा गाला जोडेर आँखा चिम्लन्थे । जर्मनहरूलाई देख्नासाथ मलाई घृणा जागेर आउँथ्यो र च्वास्स च्वास्स मन पनि कुढिन्थ्यो…।
सके सबै गइसके होलान् भन्ठानेर जब मैले टाउको उचालेर हेरें, त्यतिखेर सय कदम जति पर ६ जवान ब्रेनगन चालकहरू कवाज खेल्दै आइरहेको देखें। मैले हेर्दाहेर्दै उनीहरू सडक छोडेर सीधै मतिर नै लम्किए। ती ६ जवान नै चूपचाप अगाडि बढिरहेका थिए । मैले सोचेँ, “लौ, अब त मेरो मृत्यु पनि नजीकै आइपुग्यो ! ‘ भुइँमा पल्टिएको पल्टियै मलाई मरेर जान मन लागेन र म पहिले भुइँमा थुचुक्क बसे, अनि जुरून्त उठेँ। ती ६ जवानमध्ये एउटाले मनिर पुग्न केही कदम बाँकी छँदै काँधको ब्रेनगन हातमा लियो । मान्छे कुन्नि कति अनौठो किसिमले बनेको हुन्छ! त्यस बेला म अलिकति पनि हतास भइनँ, न त मेरो मुटुमा नै कुनै चस्को पस्यो। म त्यस जर्मनतर्फ हेरेर सोच्दै थिएँ, ‘अब यसले गोली छोड्न बेर लगाउने छैन ! बरू कहाँनेर निशाना लगाउने हो कुन्नि उसले – मेरो कन्चटमा कि छातीमा ? ‘ मानौं मेरो शरीरको कुन ठाउँमा गोली दागेर प्वाल पारिने हो, त्यसले मेरो निम्ति ,केही फरक परिहाल्छ।
त्यो,,जर्मन जवान थियो , हट्ठाकट्ठा थियो , केशको रंग कालो थियो, तर ओठ चाहिं धागो जस्तै तिनिक्क परेको पातलो थियो, अनि आँखा पनि अलि चिम्से नै थियो। म विचार गर्दै थिएँ, ‘ यसले कत्ति सोचविचारै नगरीकन मलाई गोलीले उडाइदिने छ! ‘ साँच्ची नै यस्तै भयो पनि। उसले ब्रेनगन मतिर तेर्स्याएर तयार पाग्यो। मैले उसको आँखामा आँखा गाडेर सोझै हेरेँ, मुखले चाहिँ केही बोलिनेँ । यत्तिकंमा हवल्दार हो वा यस्तै कुनै सानोतिनो सैनिक अफिसर हौ, अर्को चाहिँ उसभन्दा केही पाको उमेरको मान्छेले कड्केर केही भन्यो, अनि उसलार्इ केही पल्तिर घचेटिदियो र मेरो नजीकै आयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

लेभ तोल्सस्तोइका विश्व-प्रसिद्ध उत्कृष्ट कथाहरूः खोल्स्तोमे- एक घोडाको कथा १
