गुरुजी
आमरूपमा कुनै पनि सम्प्रदाय वा संगठनले आफ्नो मूल संगठनको विचारधारालाई नै अगाडि बढाएको हुन्छ र संस्थापक पछिको पिँढीको लागि संस्थापक भन्दा राम्रो गर्न त परको कुरा संस्थापनको जस्तो प्रभावशाली हुन असम्भव हुन्छ । तर राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) कुनै आम संगठन पनि त होइन । यस मामिलामा पनि यो अन्य संगठनहरू भन्दा अलग छ । यस संघको स्थापना सन् १९२५ मा डा. केशव बलिराम हेडगेवारले गरेका थिए तर यसमा उनका उत्तराधिकारी माधव सदाशिव गोलवलकरको छाप ज्यादा रहेको छ । संघभित्र हेडगेवारलाई डाक्टरजी र गोलवलकरलाई गुरुजी भनी सम्बोधन गरिन्छ ।
सन् १९४० मा हेडगेवारको मृत्यु भएपछि गोलवलकर सन् १९७३ सम्म, संघका चालक अथवा प्रमुख रहे । जब गोलवलकर संघचालक बने, त्यस समयमा संघले आफूलाई स्थापित गरिरहेको थियो । महाराष्ट्रको विदर्भ क्षेत्रबाट बाहिर यसको निकै नै थोरै प्रभाव रहेको थियो । उनको नेतृत्वमा संघ बडो उथलपुथलको अवस्थाबाट गुज्रिएको थियो । विभाजनको समयको हिंसामा यस संघको भूमिका रहेको थियो तथा मोहनदास गान्धीको हत्यापछि त्यस संघमाथि प्रतिबन्ध लगाइयो । यसको अलावा पनि गोलवलकरको नै नेतृत्व रहेको थियो । जसमा आरएसएसले आफ्नो लिखित संविधान बनायो तथा आफ्ना शाखाहरूलाई स्थानीय निकायहरू भन्दा बाहिर विस्तार गर्यो । उनको नेतृत्वमा संघका खुला संगठन, जस्तो राजनीतिको लागि जनसंघ, छात्रको लागि अखिल भारतीय विद्यार्थी परिषद, हिन्दु धर्मको लागि विश्व हिन्दु परिषद, तथा औद्योगिक मजदुरहरूको लागि भारतीय मजदुर संघको गठन भयो ।
‘विचार गुच्छा‘को ‘भागवत गीता‘
गोलवलकरको निधन हुँदासम्म संघ सम्पूर्ण भारतमा विस्तार भइसकेको थियो । तथा यससँग सम्बन्धित संगठन वा संघ परिवारको सञ्जालले भारतीय समाजको सबै स्तरसम्म आफ्नो पकड जमाइसकेको थियो । उनको वैचारिक प्रभाव उनको मृत्युसँगै समाप्त भएन । आज पनि गोलवलकरका लेख तथा भाषणहरुको संकलन ‘बन्च अफ थट्स’ (विचार गुच्छा) संघको भागवत गीता हो । सन् २००४ मा आरएसएसका प्रमुख विचारक एमजी वैद्यले बोलेको कुरालाई हामी गोलवलकरको बारेमा आरएसएसको आधिकारिक दृष्टिकोण मान्न सक्छौं । आरएसएसको मुखपत्र ‘अर्गनाइजर’का अनुसार वैद्यले श्री गुरुजीलाई बीसौं शताब्दीमा हिन्दु समाजको लागि सबैभन्दा ठूलो कोसेली भनी परिभाषित गरे । वैद्यका अनुसार राष्ट्रिय राजनीतिमा जुन संघको महत्व आज रहेको छ, त्यसको श्रेय श्री गुरुजीलाई दिनुपर्छ । जसको अथक प्रयासको कारण संघ देशका कुनाकाप्चामा पुग्यो ।
जुन महिनाको आरम्भमा नागपुरमा रहेको उनको आवासमा मैले वैद्यसँग भेटघाट गरें । आफ्नो बैठक कक्ष, जसमा किताबहरूको चाङ लागेको थियो, मा उनले मसँग लगभग एक घण्टासम्म वार्तालाप गरे । कुराकानीको बीचबीचमा उनी अक्सर जुरुक्क उठ्थे र आफ्ना कुराहरूमा जोड दिनको लागि कुनै किताब निकालेर मलाई अनुच्छेद पढ्न लगाउँथे । उनी सन्तानब्बे वर्ष पुगेका छन् तर उनको ऊर्जा देख्दा उनको उमेर ठ्याक्क यकिनका साथ भन्न सकिने अवस्था छैन । जब हाम्रो वार्ता समाप्त भयो, उनी एक मोटरसाइकलमा बसेर अस्पतालमा भर्ना भएका आफ्ना एक मित्रलाई भेट्न निस्किए । कुराकानीको क्रममा वैद्यले मलाई बताए, ‘सन् १९४१ मा जब म आरएसएसमा भर्ती भएको थिएँ, तब मैले भारतलाई स्वतन्त्र बनाउने प्रण लिएको थिएँ ।’ वैद्य अगाडि थप्छन्, सन् १९४७ मा जब यो लक्ष्य पूरा भयो तब, ‘हाम्रा सामुमा एक दुविधा देखा पर्न गयो; हामी सोच्न थाल्यौं, अब हामीले के गर्ने ?’ वैद्य के सुसूचित गर्छन् भने, गोलवलकरले संघलाई ‘नवउद्देश्य प्रदान गरेर प्रेरित गरे । उनले भने, हामीले समाजको एक पक्षको नभएर सम्पूर्ण समाजलाई संगठित गर्ने प्रयत्न गर्नुपर्दछ । जीवनमा शिक्षा, उद्योग, कृषि, धर्म जस्ता धेरै नै महत्वपूर्ण क्षेत्र छन् । हामीले यी सबै क्षेत्रका मानिसहरूलाई प्रेरित र संगठित गर्नुपर्दछ ।’
‘राष्ट्रका लागि‘ अटल ‘मोदी‘
भारतीय जनता पार्टी (भाजपा) का दुई प्रधानमन्त्रीले जुन प्रकारले गोलवलकरलाई सम्मान दिए, त्यसलाई हेर्दा गोलवलकरको प्रभाव कहाँसम्म छ भन्ने कुरा थाहा हुन्छ । सन् २००६ मा गोलवलकरको शतवार्षिकीको उपलक्ष्यमा अटल बिहारी वाजपेयीले सन् १९४० मा गोलवलकरसँग भएको आफ्नो पहिलो भेटको सम्झना गरे । उक्त समयमा उनी कक्षा दसमा अध्ययन गरिरहेका थिए । त्यो भेटको उनको अनुभव ‘अर्गनाइजर’को सन् २००६ को एक अंकमा प्रकाशित भयो, जसको भाषा लगभग आध्यात्मिक रहेको छ । वाजपेयी लेख्छन्, ‘गुरुजी ग्वालिएर स्टेशनमा आएका थिए । हामी उनको स्वागत गर्नको लागि स्टेशनमा पुगेका थियौं । जब म त्यहाँ पुगें, तब उनले मलाई यसरी हेरे मानौं उनी मलाई राम्रोसँग चिन्छन् । सत्य त के हो भने मलाई चिन्नुको कुनै तुक थिएन । किनकि त्यो हाम्रो पहिलो भेट थियो । तर त्यस भेटघाटले मलाई गहिरो प्रभाव पार्यो । त्यो दिन मैले पहिलो पटक निश्चय गरें, अब मैले राष्ट्रका लागि काम गर्नुपर्छ ।’
सन् २००८ मा नरेन्द्र मोदीले ‘ज्योतिपुञ्ज’ नामको किताब लेखे । जसमा आरएसएसका ती सोह्र व्यक्तिहरूको जीवनी छ, जुन व्यक्तिहरूबाट मोदी प्रभावित भएका छन् । त्यस किताबमा मोदीले गोलवलकरको बारेमा सबैभन्दा बढी खर्चेका छन् । केही समयपछि लेखक तथा पत्रकार आकार पटेलले यस किताबलाई अंग्रेजीमा अनुवाद गरे । त्यस किताबमा मोदीले गोलवलकरको तुलना बुद्ध, मराठाका योद्धा शिवाजी तथा स्वतन्त्रता संग्रामका नेता बाल गंगाधर तिलकसँग गरेका छन् । लेखको अन्तमा मोदीले अपवाद स्वरूप कृतज्ञता पनि प्रकट गरेका छन्, ‘हामी गुरुजीलाई बुझ्न तथा उनको बारेमा विश्लेषण गर्न असक्षम छौं । यी पंक्तिहरू उनको जीवनका सुन्दर क्षणहरूको स्मरण गर्ने एक विनम्र प्रयत्न मात्र हो ।’
जन्मले चौथो एकमात्र जीवित सन्तान
तर गोलवलकरका आलोचक यस्तो कुरा मान्दैनन् । लेखक तथा इतिहासकार रामचन्द्र गुहाले उनलाई ‘घृणाका गुरु’ भनेका छन् भने राजनीतिकशास्त्री ज्योतिर्मय शर्माले गोलवलकरको विचारधारामा आधारित आफ्नो किताबलाई ‘टेरिफाईंग भिजन’ (भयानक दृष्टि) नाम दिएका छन् । आज जब आरएसएस भारतीय समाज तथा राजनीतिमा सायद काँग्रेसको सबैभन्दा सुन्दर दिनहरूको बराबर वा त्यो भन्दा पनि बढी प्रभाव राख्दछ; जुन भारतको हामी कुरा गरिरहेका छौं, गलत वा सही, त्यसलाई गोलवलकरलाई नबुझेसम्म जान्न सकिँदैन ।
गोलवलकरको जन्म सन् १९०६ फेब्रुअरी १९ मा महाराष्ट्रको रामटेक शहरका एक ब्राह्मण परिवारमा भएको थियो । उनी नौ सन्तान भएको त्यस परिवारको चौथा सन्तान थिए । उनी एक मात्र यस्ता सन्तान थिए जो वयस्क हुने बेलासम्म जीवित रहन सके । गोलवलकरको जन्मको केही समयपछि उनका पिता, आजको छत्तीसगढको एक दुर्गम भागमा स्थित विद्यालयका अध्यापक बने । गोलवलकरका पिताले आफ्ना सन्तानको शिक्षाको जिम्मा लिए; आरम्भबाट नै सन्तान अंग्रेजी र हिन्दी भाषामा दक्ष होओस् भनेर ख्याल गरे ।
यद्यपि गोलवलकर त्यस उच्च वर्णको माहोलमा हुर्किए जहाँबाट केही समयपछि आरएसएस आफ्नो नेतृत्व तथा विचारधारा हासिल गर्दै थियो । तर उनको प्रारम्भिक शिक्षा र पेशाले उनलाई सिधै संघतर्फ लिएर गएन । विज्ञानका छात्रको रूपमा उनले आफ्नो विद्यालय शिक्षा नागपुरमा पूरा गरे । उनी उच्च शिक्षा हासिल गर्नको लागि बनारस हिन्दु विश्वविद्यालय (बीएचयू) आए । जहाँबाट सन् १९२८ मा जीवविज्ञानमा एमएससी पूरा गरे ।
आजको समयमा गोलवलकरको जीवनको सही तस्वीर उतार्न कठिन छ, किनभने संघ परिवार हेगिओग्राफिक फिल्टर वा आँखामा भावपूर्ण चस्मा लगाएर उनीलाई हेर्दछन् र यसै रूपमा हामीलाई उनीसँग जोडिएका अधिकांश जानकारीहरू प्राप्त हुन्छन् । सी. पी. भिषीकरद्वारा मराठीमा लेखिएको गोलवलकरको जीवनी ‘श्री गुरुजी: नव युगका अगुवा’ यस्तो पुस्तक हो जसलाई आरएसएस मान्यता दिन्छ । बीएचयूमा गोलवलकरद्वारा व्यतीत चार वर्षको बारेमा यस ग्रन्थमा लेखिएको छ, ‘उनले मेहनतका साथ पढाइ गरे, तर आध्यात्मिक जीवनतर्फ अत्यधिक आकर्षित हुँदै गए । त्यो समयमा गुरुजीभन्दा धेरै अन्य कुनै पनि छात्रले पुस्तकालयको प्रयोग गरेनन् । उनको अध्ययन एकाग्रचित्त तथा विस्तृत थियो । उनी संस्कृत, पश्चिमी दर्शन, रामकृष्ण परमहंस र स्वामी विवेकानन्दका प्रेरणादायी विचार, विविध धर्म तथा मान्यताहरूका ग्रन्थ र विज्ञान विषयका किताब पढ्ने गर्दथे ।’ मद्रास एक्वेरियम (जलजीवशाला) मा एक वर्षसम्म शोध गरेपश्चात सन् १९३० मा, गोलवलकरले बीएचयूमा लेक्चररको पदभार ग्रहण गरे । यसै दौरानमा उनी पहिलो पटक आरएसएसको सम्पर्कमा आए, जसको स्थापना पाँच वर्ष पहिले नै भएको थियो ।
आरएसएसको सपना महान, हिन्दुवादी अतीतको पुनर्निर्माण
आरएसएसको सपनाले कैयौं दशकबाट तयार हुँदै गरेका विविध बौद्धिक तथा ऐतिहासिक धाराहरूलाई मिलन गराइदियो । उपनिवेशवादका साथै आधुनिक प्रौद्योगिकी, सरकार तन्त्र र शिक्षाले प्रवेश गर्यो । साथसाथै यसले उपमहाद्वीपका जनताको सामुन्ने विदेशी शक्तिको परजीवीपन वा परनिर्भर चरित्रको कारणलाई बुझ्नुपर्ने आवश्यकता पैदा गर्यो । यसको लागि धेरै जनाले आफ्नो आफ्नो तरिकाले इतिहासको व्याख्या गरे । अक्सर अनुभवसिद्ध तरिकाबाट गरे । स्वयंको तर्कबाट अनुभवसिद्ध तर्क पद्धति स्वयं उपनिवेशवादको देन थियो ।
धेरै व्याख्याहरूको माझ विवेकानन्ददेखि दयानन्द सरस्वती जस्ता व्यक्तिहरूको गौरवशाली हिन्दु अतीतदेखि वर्तमानसम्म आउँदाआउँदै भारतको क्षय भयो भन्ने निष्कर्ष थियो । आफ्नो अतीतलाई बिर्सँदैमा हिन्दु सहज तवरले विदेशी मुसलमान वा बेलायती आक्रमणकारीहरूको गुलाम बन्यो । इतिहासको यस धारामा विश्वास गर्ने धेरै जस्तो मान्छेहरूको मान्यता प्राचीन इतिहासको पुनर्जीवित गरी भारतको वर्तमान क्षयलाई ठीक गर्न सकिन्छ भन्ने छ । उपमहाद्वीपका मुसलमानहरूले पनि यसै तरिकाले तर्क पेश गरे । जसमा के छातीठोकुवा गरिएको छ भने उनीहरूको शासन बर्बाद हुनुको पछाडि इस्लामको आधारभूत मान्यताबाट भट्कनु थियो । इस्लामको मामिलामा यसका आधारभूत सिद्धान्तलाई कुरानमा खोज्न सकिन्थ्यो तर हिन्दू अतीतलाई खोज्नको लागि अतीतको निर्माण गर्नु बाध्यता थियो ।
जुन हिन्दू समूहले यस सिद्धान्तमाथि काम गरे, उनीहरूमा प्रमुख सन् १९१५ मा स्थापित अखिल भारत हिन्दु सभा थियो । सन् १९२१ मा यसको नाम बदलेर हिन्दु महासभा बनाइयो । सन् २००२ मा प्रकाशित प्रलय कानूनगोको किताब ‘आरएसएस ट्रिस्ट विद पोलिटिक्स’ मा के भनियो भने सन् १९२३ को हिन्दू महासभाको बनारस सत्रले ‘काँग्रेस नेताहरूसहित हिन्दु समूहका अलगअलग वर्गहरूलाई एकै ठाउँमा ल्याइदियो ।’ पार्टीका अध्यक्ष मदन मोहन मालवीयले आफ्नो सम्बोधनमा के सुझाव दिए भने हिन्दुहरू स्वयंले आफूलाई मजबुत बनाउन जरुरत छ, फलस्वरूप मुस्लिमहरूको ‘गुण्डा तप्का’ ‘हिन्दुहरूलाई भयरहित भएर दादागिरी गरी लुट्ने र बेइज्जत’ गर्ने बारेमा कहिल्यै सोच्न पनि नसकुन् । कानूनगोले के लेखेका छन् भने मालवीयले ‘सबै केटाकेहीहरूलाई शिक्षित गर्ने अखडा बनाउने र हिन्दु महासभाको निर्णयलाई पारित गर्नका निमित्त स्वयंसेवकहरूको दल बनाउने सुझाव’ दिएका छन् ।
हिन्दु कौन है ?
त्यही वर्ष वीडी सावरकरले – जो पहिले क्रान्तिकारी थिए र धेरै दयायाचिकाहरू दिएपछि सशर्त जेलबाट छुटेका थिए – विचारधारात्मक समस्याको त्यस अन्तरलाई व्याख्या गरे जसमा हिन्दुको परिभाषा के हो सो तय भएको थिएन । सावरकरको किताब ‘हिन्दुत्वः हिन्दु कौन है ?’ ले यस प्रश्नको जवाब दिने प्रयत्न गर्यो । त्यो किताब आउने पछिल्ला दिनहरूमा हिन्दुहरूलाई संगठित गर्ने प्रयासको विचारधारात्मक आधार बन्यो ।
यस बौद्धिक असमञ्जसको स्थितिको बीचमा हेडगेवारले आरएसएसको कल्पना गरे । उनी नागपुरका ब्राह्मण समुदायका थिए जो भोंसले राजाहरूको शासनमा फलेफुलेको थियो र मुगलहरूको विरुद्धमा लडेको थियो । तथापि यो समुदाय ब्रिटिस शासनलाई बाहिरिया मान्दथ्यो तर उपनिवेशकालीन शासकको शिक्षाको अवसरबाट लाभान्वित भएको थियो । हेडगेवारले सबैभन्दा पहिला नागपुरको एक मिशनरी स्कुलमा शिक्षा प्राप्त गरे, फेरि आफ्ना मेन्टर बीएस मोनजेको आज्ञा अनुसार कलकत्तामा पढाइ गरे । बीएस मोनजे काँग्रेसका नेता थिए जसले केही समयपछि महासभामा नेतृत्वकारी भूमिका निर्वाह गरे । कलकत्तामा रहने समयमा हेडगेवार त्यो समयमा बंगालमा चल्दै गरेको क्रान्तिकारी आन्दोलनमा सामेल भए । उनी अनुशीलन समिति नामको संगठनमा सामेल भए । उनी माथि बंकिमचन्द्र चटर्जीको लेखाइको गहिरो प्रभाव पर्यो ।
श्मसानको शपथ तथा मुस्लिम विरोधी राष्ट्रिय गीत ‘वन्दे मातरम‘को पकड
चटर्जीको अधिकांश लेखन, खास गरेर ‘आनन्दमठ’, जसको गीत ‘वन्दे मातरम’ राष्ट्रिय गीत हो, त्यो उग्र रूपले मुस्लिम विरोधी हो । यस विषयमाथि कुनै पनि किसिमको हैरानी हुनु भएन भन्ने कुरालाई ध्यानमा राखेर नै हेडगेवारलाई हिन्दु प्रतीकसँग जोडिएका ती संस्कारको माध्यमबाट समितिमा प्रवेश गराइयो जो प्रभावशाली तरिकाबाट मुस्लिम संगठनमा प्रवेश गर्न नपाउने सुनिश्चित गर्थ्यो । बीवी देशपाण्डे र एसआर रामास्वामीद्वारा लिखित र एचवी शेषाद्रिद्वारा सम्पादित हेडगेवारको जीवनी ‘युग निर्माता डा. हेडगेवार’का अनुसार, ‘प्रत्येक सदस्यले दश वा बाह्र व्यक्तिहरूको सामुन्नेमा काली मन्दिरमा अथवा श्मशानमा शपथ लिनुपर्थ्यो ।’
कलकत्ताबाट नागपुर आएपछि हेडगेवार काँग्रेस र महासभा दुवैका सक्रिय सदस्य बने । त्यो समयसम्म दुवै संगठनको बीचमा विभाजन रेखा देखा परेको थिएन र मालवीय जो काँग्रेसका दुई पटक अध्यक्ष रहिसकेका थिए र महासभाको दुई वार्षिक सत्रको अध्यक्षता खाए र मोनजे (वरिष्ठ काँग्रेस नेता बाल गंगाधर तिलकका निकट सहयोगी) दुवैले नै महासभालाई बौद्धिक तथा व्यावहारिक समर्थन दिए ।
पहिला मुस्लिम हुँ, त्यसपछि भारतीय
जब गान्धीले काँग्रेसमाथि आफ्नो नियन्त्रण बढाउन सुरु गरे तब यो सहअस्तित्व असहज हुन थाल्यो । खिलाफत आन्दोलनको समयमा जब गान्धीले मुस्लिम समुदायप्रति आफ्नो ध्यान केन्द्रित गर्न थाले तब हेडगेवार काँग्रेससँग टाढिए । खिलाफत आन्दोलनको उद्देश्य धेरै देशहरूमा खिलाफतलाई बहाल गर्नु थियो, जसको धेरै हिन्दुहरूले के तर्कले विरोध गरे भने, भारतमा यस आन्दोलनमा भाग लिनेहरूले आफ्नो मातृभूमिभन्दा बढी आफ्नो धर्मप्रति बफादारी देखाए ।
देशपाण्डे र रामास्वामीले के लेखेका छन् भने, भारतीय मुसलमानले यस आन्दोलनको क्रममा ‘स्वयंलाई पहिला मुस्लिम र पछि भारतीय हुँ भन्ने देखाए’ भनेर हेडगेवार रिसाएका थिए । दुवैले लेखेका छन्, ‘हिन्दु मुस्लिम भाइ भाइको नारा आकाशमा गुञ्जिरहेको थियो तर वास्तविकतामा यसको सम्भावना कमभन्दा कम हुँदै गएको थियो । डाक्टरजी कुनै आधारभूत प्रश्नहरूको उत्तर खोज्नमा लागे । यति धेरै वर्षको हाम्रो संरक्षणपछि के मुसलमानले कहिल्यै सकारात्मक भएर प्रतिक्रिया दिए त ? के उनीहरूले हिन्दुहरूको सहिष्णुताको परम्पराको बदला दिए ? के भारत माताप्रति हाम्रो सम्मानमा उनीहरू सहभागी भए त ? हेडगेवार मुस्लिमहरूलाई यवन सर्प भन्ने गरेको भिषिकरले लेखेको दोस्रो जीवनीमा बताइएको छ । यो शब्द विदेशीहरूको लागि प्रयोग गरिन्थ्यो र के तर्क राखियो भने मुसलमान ‘राष्ट्र विरोधी’ हुन् ।
कानूनगोले के लेखेका छन् भने, नागपुरमा सन् १९२३ मा भएको हिन्दु मुस्लिम दंगापछि हेडगेवारले आरएसएसको स्थापना गर्ने निर्णय लिए । दंगाको कारणमा प्रमुख थियो मस्जिदको सामुन्नेबाट हिन्दुहरूको धार्मिक झाँकी लैजाने अधिकार । सन् १९२३ अक्टोबर ३० मा यो विवाद त्यो समयमा चरम अवस्थामा पुग्यो जब नागपुरका कलेक्टरले हिन्दुहरूको झाँकीलाई प्रतिबन्ध लगाइदिए । काननूगो लेख्छन्, ‘प्रभावशाली हिन्दू नेताहरूले प्रतिबन्धको विरुद्धमा जुलुस निकाल्ने आह्वान गरे । जसमा बीस हजार हिन्दुहरूले भाग लिए ।’ ‘हिन्दुहरूको संगठित परिलाचनको सम्भावित शक्तिलाई हेडगेवार र अन्य हिन्दू नेताहरूले तुरुन्त प्रशंसा गरे ।’
‘भजन‘को जीत, ‘नमाज‘को हार
कानूनगो भन्छन्, ‘त्यसपछि नागपुरमा राष्ट्रिय महासभाको शाखाको रूपमा हिन्दु सभाको स्थापना भयो जसका उपाध्यक्ष मोनजे र सचिव हेडगेवार भए । पछि मुसलमानमाथि विजयको उद्घोषको सुरुवात गरियो ।’ देशपाण्डे र रामास्वामी लेख्छन्, ‘सार्वजनिक स्थानमा भजन गाउने परम्पराको प्रचार जोशका साथ गरियो ।’ ‘पूरै शहरमा जय विट्ठल जय जय विट्ठलको मन्त्र गुञ्जिरहेको थियो । मानिसहरूको अवस्थालाई देखेर सरकारले हिन्दुहरूलाई नमाजको समयको पाँच अवस्थालाई छोडेर कुनै पनि मस्जिद नजिकैबाट हिँडेर भजन गाउने अनुमति दियो ।’
दुवै लेखकका अनुसार ‘यस हारपछि मुसलमान रुष्ट भएका थिए । हेडगेवार र मोनजेलाई धम्कीपूर्ण पत्र मिले । तर मानिसहरूको इच्छाशक्तिलाई जोगाइराख्नको लागि दुवै नेता शहरका सबै भागमा विना हिचकिचाहट घुमिरहेका थिए । किनभने मुसलमानबाट हिन्दु भित्र भय थियो । यसकारण मस्जिदको सामुन्ने पुग्नेबित्तिकै बाजाहरू बिस्तारै बजाउन थाल्थे । तब डाक्टरजी स्वयं बाजा थामेर हिन्दुहरूको पुरुषत्वलाई हाँक दिने गर्थे ।’
यस आक्रामक परिचालनमा आधारित भएर सन् १९२५ अक्टोबर २७ मा नागपुरमा दशहराको दिन आरएसएसको स्थापना गरियो । उद्घाटन बैठकमा पाँच जनाले भाग लिएः हेडगेवार, मोनजे, वीडी सावरकरका भाइ गणेश दामोदर सावरकर, एलवी परांजपे र बीबी थोलकर । हुन त यी पाँच जनाले एक प्रकारले आरएसएसको स्थापना गरेका थिए र मोनजे र सावरकरले यसको स्थापनामा अहं भूमिका निर्वाह गरेका थिए । संघले निरन्तर यी मानिसको भूमिकालाई नजरअन्दाज गरिरह्यो । हेगडेवारको भूमिकामाथि जोर दियो ।
देशपाण्डे र रामास्वामीले सन् १९२७ सेप्टेम्बर ४ मा ‘हजारौँ मुसलमान’को जुलुसको जवाफमा ‘संघको पहिलो क्रान्ति’को बारेमा विस्तारपूर्वक लेखेका छन् । उनीहरूले लेखेका छन्, ‘जुलुस निकाल्नेहरू लठ्ठी, तरवार र घातक हतियारले पूर्ण रुपमा सुसज्जित थिए ।’ ‘अल्लाह हो अकबर,’ ‘दीन दीन’ जस्ता नारा हावामा गुञ्जिरहेका थिए । ‘मुसलमानको जंगको मुद्राले हिन्दुको दिलमा डर व्यापक गरिदिएको थियो । तर एक सयको आसपासमा संघका योद्धा हिन्दु समाजको रक्षाको लागि दृढ संकल्पित थिए ।’ ‘एक समय यस्तो आयो’ उनी लेख्छन्, ‘मुस्लिम गुण्डाहरूले हिन्दुहरूलाई गाली दिन र उनीहरूमाथि हमला गर्न सुरु गरिदिए । तथापि यो एक भयानक झट्का थियो तर सतर्क स्वयंसेवकले तुरुन्त हमलाको प्रतिकार गरे । समूहको बीच यो मुठभेड तीन दिनसम्म चल्यो र अन्तिममा हिन्दुहरूको जीत भयो ।’ सैकडौं मुस्लिम गुण्डाहरूलाई अस्पतालमा भर्ना हुनुपर्यो । दस-पन्ध्र जनाको मृत्यु भयो । चारपाँच हिन्दुहरू पनि मारिए जसमा एक स्वयंसेवकको नाम धुंधिराजा लेहगांवकर थियो ।’
संघले यस घटनालाई आफ्नो विकासको लागि महत्त्वपूर्ण मान्यो । सेना आएपछि शान्ति स्थापित भयो । लेखक लेख्छन्, ‘त्यस दिनपछि इतिहासले एक नयाँ मोड लियो । हिन्दुहरूको पछाडि हट्ने समय समाप्त भइसकेको थियो ।’
राष्ट्रिय आन्दोलनको गैरराजनीतिक शाखा
हिन्दु महासभाले आफ्नो ध्यान राजनीतिक गतिविधिमा केन्द्रित गर्यो र आरएसएस एक काडर सामाजिक आन्दोलन जसरी देखापर्यो जो हिन्दु माजभित्र रहेर काम गर्ने छ । यो विचार नयाँ थिएन । बीसौं शताब्दीको पहिलो दशकमा विवेकानन्दका आयरिश चेला मार्गेट नोबलले काँग्रेस पार्टीलाई ‘सम्झौतामा आउन नसक्नेहरू ठूलो तर कम संगठित पक्ष- राजनीतिक पक्ष’हरूको पार्टी भनेका थिए । उनले राष्ट्रिय आन्दोलनका गैरराजनीतिक शाखा पनि हुनुपर्ने कुरामा जोड दिएका थिए ।’ नोबलले मिशनरीको भूमिका निभाउनको लागि छात्रहरूलाई आह्वान गरे र जादुयी लालटिन, पोस्टकार्ड, भारतको नक्शा र हृदयमा किस्साहरू तथा गीतहरूलाई टन्न भरिदिएर भूगोलको विवरण लिएर यात्रा गर्नुपर्ने आह्वान गरे । उनको कल्पना के थियो भने यो मिशनरी, ‘भारत ! भारत ! भारत ! का कहानी, गीत र विवरण’ पेश गर्नेछ । यिनको माध्यमबाट ‘हाम्रो मातृभूमि यही हो, अरू कहीं हैन । हामी सबै भारतीय हौं ।’ भन्ने सन्देश सञ्चार हुन्छ । यस प्रकारको विचारले सुरुवाती स्वरुप सन् १९२० मा नै लिइसकेको थियो जब परांजपे र हेडगेवारले वर्दीधारी एक हजार काँग्रेस स्वयंसेवकको सेना गठन गरेका थिए । जो भारत स्वयंसेवक मण्डलको रूपमा चिनियो । जसले पार्टीको नागपुर सत्रमा आएका पन्ध्र हजार सहभागीहरूलाई बस्ने–खानेको व्यवस्था गर्यो ।
यो सत्रको एक सालपछि हेडगेवारको हातमा एक किताब पर्यो जसमा एक यस्तो विचारधारा पेश गरिएको थियो जो उनको मुस्लिम विरोधी झुकावलाई वैचारिक जामा प्रदान गर्दथ्यो । देशपाण्डे र रामास्वामीले लेखे, ‘वीर सावरकरको ऐतिहासिक किताब हिन्दुत्व डाक्टरजीको हात लागिहाल्यो ।’ सावरकरले यस किताबलाई अंडमानमा लेखेका थिए र धेरै मुस्किल तथा चलाखीपूर्ण तवरले बाहिर पठाएका थिए । हिन्दुत्वको विचारलाई सावरकरले जुन प्रेरणादायक तथा शानदार तवरले प्रस्तुत गरेका थिए त्यसमा तार्किकता र स्पष्टवादिता थियो, यस कुराले डाक्टरजीको मनमा ठाउँ बनाएको थियो ।’ किताबमा सावरकरको दावा मुस्लिमहरूप्रति सन्देहले भरिएको थियो, जसले गर्दा उनी कहिल्यै हिन्दुत्वको अवधारणाहरूको राष्ट्रवादको हिस्सा हुन सक्दैनथे । यस किताबले हेडगेवरको पूर्वाग्रहलाई विचारधारात्मक आधार दियो ।
संघले सुरुवाती समयमा बाह्र देखि पन्ध्र वर्षका स्कूलका बच्चाहरूको भर्ती गर्यो । जब उनीहरूको कलेज जाने समय आयो तब हेडगेवारले उनीहरूलाई नागपुरभन्दा बाहिर अध्ययन गर्न र आरएसएसको पहुँचलाई विस्तार गर्नको लागि प्रोत्साहित गरे । युवा भर्ती शाखाहरूमा दिने प्रशिक्षणको आवश्यकतालाई प्रतिबिम्बित गर्छ जसलाई हेडगेवारले पहिलो पटक आकर्षित गरेका थिए तर भर्तीको उमेरमा वृद्धिको बाबजुद बदलाव आएन । हेडगेवारको जीवनीका लेखक आरएसएसमा भर्तीका लागि सुरुवाती प्रशिक्षणको वर्णन गर्दछन् जसमा ‘शारीरिक प्रशिक्षणसँग सम्बन्धित गतिविधिहरू’ जस्तो ड्रिलिंगको प्रशिक्षण, मार्चिंग र राष्ट्रीय मामिलामाथि प्रशिक्षण समावेश छन् । हेडगेवारले दैनिक गतिविधिहरूको सुरुमा भगवा ध्वजलाई प्रणाम गर्ने र अन्तिममा प्रार्थना गर्ने परम्पराको सुरुवात गरे ।
संगठनको संरचना बन्नमा केही वर्षको समय लाग्यो । कतिसम्म भने संगठनको नाम पनि गठनको एक वर्षपछि तय गरियो । देशपाण्डे र रामास्वामीका अनुसार, भारत स्वयंसेवक मण्डललाई राष्ट्रिय स्वयंसेवक संघको नाम ‘डाक्टरजीको लामो र गहन विचार–विमर्शपछि विकसित भयो । विशेष रूपमा, हिन्दुहरूलाई संगठित गर्नको लागि ‘राष्ट्रिय’ शब्दको चयन कुन तथ्यमाथि जोर दिनु थियो भने हिन्दु नै भारत राष्ट्रको मेरुदण्डको हड्डी हो र हिन्दूहरुलाई संगठित गर्नु सर्वोच्च राष्ट्रिय महत्त्वको कार्य हो ।’ अर्को वर्ष एक प्रक्रिया सुरु गरियो जसको माध्यमबाट संघका स्वयंसेवकले निरन्तरता दिनको लागि ‘गुरुदक्षिणा’को रूपमा दान दिन आरम्भ गरे । यो अभ्यास आज पनि निरन्तर चलिरहेको छ ।
संघको सुरुवाती भर्तीमा एक व्यक्ति प्रभावकर दानी पनि थिए, जसले देशको शैक्षिक परिसरमा संघका शाखाहरू खोल्ने हेडगेवारको विचारका अनुसार बीएचयूमा स्नातकको अध्ययनको लागि भर्ना लिए । गोलवलकर त्यस समय विश्वविद्यालयमा काम गरिरहेका थिए । सन् १९२८ मा दानीले बीएचयूमा विश्वविद्यालयका संस्थापक मदन मोहन मालवीयको आर्शीवादबाट एक शाखा खोले । जब गोलवलकर प्राणीशास्त्रका लेक्चरर थिए, उनको जीवनी लेखक भिषिकरका अनुसार उनी ‘अङ्ग्रेजी, अर्थशास्त्र, गणित र दर्शनशास्त्र जस्ता विषय पनि आफ्ना छात्रहरू र साथीहरूलाई पढाउनमा सक्षम थिए ।’ दानीले जति सम्भव हुनसक्यो श्री माधवराव गोलवलकरलाई शिक्षकको रूपमा गुणहरूले लाभान्वित गर्ने प्रयास गरे । यसकारण माधवराव गोलवलकर बीचबीचमा शाखा आउन जान लागे । ती युवकले माधवरावको मद्दत केवल अध्ययनमा मात्र लिएनन् यद्यपि शाखामा उनको भाषणको पनि आयोजना गरे ।’
कस्तो लाग्छ भने शाखा कार्यकर्ताहरूले गोलवलकरको नेतृत्व क्षमतालाई तुरुन्त महसुस गरिसकेका थिए । भिषिकर लेख्छन्, ‘स्वयंसेवक माधवरावसँग कसरी व्यवहार गर्थे भने मानौं उनी विश्वविद्यालय शाखाका संरक्षक र प्रमुख हुन् ।’
सन् १९३२ मा हेडगेवारले संघको विजयादशमी समारोहको लागि गोलवलकरलाई नागपुरमा बोलाए । ‘यस प्रवासका दौरान आफ्नो व्यक्तिगत सम्पर्कमा, डाक्टरजीले श्री गुरुजीलाई संघको कामको स्पष्ट जानकारी दिए ।’ भिषिकरले लेखे । ‘नतीजतन, श्री गुरुजी बनारस गएपछि विश्वविद्यालयका शाखामा अधिक रूचि लिन थाले ।’
सन् १९३३ मा गोलवलकर नागपुर फर्केर आए । हेडगेवार गोलवलकरलाई महत्वपूर्ण जिम्मेवारीहरू सुम्पनको लागि तयार थिए । उनीलाई नागपुर शाखाको जिम्मेवारी सुम्पियो, जो सदैव आरएसएसको कामको लागि केन्द्रीय रह्यो । र उनीलाई मुम्बईमा संघको विस्तार गर्ने काम दिइयो । हेडगेवारको लगभग अन्य सबै सहयोगीको विपरीत, गोलवलकरको काँग्रेस वा महासभासँग कुनै पनि सम्बन्ध थिएन । जसले हेडगेवारलाई सायद के विश्वास दिलायो भने उनी आरएसएसको लागि पूर्णरूपमा समर्पित हुनेछन् ।
गोलवलकरले यिनै जिम्मेवारीहरुलाई सम्हाल्न सुरु गरे तर साथै उनी नागपुरका रामकृष्ण मिशन आश्रममा लामो समय बिताउन लागे । कस्तो लाग्छ भने संघको काम, स्पष्ट रूपमा राष्ट्रलाई समर्पित र आश्रमका गतिविधिहरूको बीच कुन चयन गर्ने उनी वास्तवमा एक दुविधाको सामना गरिरहेका थिए । सम्भवतः आध्यात्मिक आत्मप्राप्तिको उदेश्यले सन् १९३६ मा गोलवलकरले पश्चिम बंगालको सारगाचीमा रामकष्ण मिशन आश्रमको लागि नागपुर छोडे । जहाँ अखण्डानन्दद्वारा सुरु गरिएको आध्यात्मिक मार्गको यात्रा आरम्भ गरे । अखण्डानन्द रामकृष्ण परमहंसका शिष्य थिए । एक वर्षपछि अखण्डानन्दको मृत्युपछि नै गोलवलकर संघसँग आफ्नो काम फेरि सुरु गर्नको लागि नागपुर फर्केर आए ।
गोलवलकरमाथिको मोदीको निबन्ध
गोलवलकरमाथिको आफ्नो निबन्धमा मोदीले एक वाक्य सुनाएका छन् जहाँ गोलवलकरबाट उनको विभाजित विचारहरूको बारेमा सवाल गर्ने कुरा छ । ‘दैनिक तरुण भारतका सम्पादक भूसाहेब मदकहोल्करले श्रद्धेय गुरुजीसँग लामा कुरा गरेका थिए । त्यो समयमा डाक्टरजी पनि उपस्थित थिए । मोदीले लेखे, ‘एक सवाल यो थियो ‘मैले सुनेको छु, हजुर संघलाई बीचमा छोडेर बंगालको रामकृष्ण आश्रम जानुभएको थियो । त्यहाँ हजुरले स्वामी विवेकानन्दका गुरुबन्धु, वा साथी शिष्यको अधीनमा शिक्षा ग्रहण गर्नुभयो । यसो हो भने हजुर संघमा कसरी फर्केर आउनुभयो ?’
मोदीले भने, ‘गोलवलकर प्रश्न सुनेर चकित हुनुभयो । उहाँले यसमाथि आधा खुलेको आँखाले विचार गर्नुभयो । थोरै समयपछि बिस्तारै बिस्तारै कुरा गर्न सुरु गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईंले एक अप्रत्याशित प्रश्न सोध्नुभयो । आश्रम र संघको भूमिकाको सम्बन्धमा केही अन्तर छ, छैन, डाक्टरजी धेरै नै आधिकारिक रूपबाट भन्न सक्छन् । मेरो सुझाव सँधै नै राष्ट्र निमार्णको कार्यसँगै अध्यात्मको विषयमा रह्यो । यो काम म संघमा धेरै राम्रो तरिकाले गर्न सक्छु । यो कुरा मैले बनारस, नागपुर र कलकत्ताको आफ्नो यात्राको क्रममा बुझें । यसकारण मैले स्वयंलाई संघको लागि समर्पित गरिदिएँ । मलाई के लाग्छ भने, यो स्वामी विवेकानन्दको सन्देशको अनुरुप छ । म अरू कोही भन्दा धेरै उनीबाट प्रभावित छु । मलाई लाग्छ, म केवल संघमा उनका लक्ष्यलाई अगाडि बढाउन सक्छु ।’
बौद्धिक उत्पादनको सन्दर्भमा हेडगेवार र गोलवलकरको बीचमा धेरै हदसम्म अन्तर थियो । हेडगेवारको जीवनीमा उनका आधारभूत मान्यताहरूको सवाल एक अनुच्छेदमा समेटियो । जसमा भनिएको थियो, ‘अविश्वसनीय तर्क र स्पष्टताको आधारमाथि सावरकरको ‘हिन्दुत्व’को अवधारणाको प्रेरणादायक र शानदार प्रदर्शनले डाक्टरजीको मनलाई छोएको थियो ।’ पुस्तकमा दावा गरिएको छ , ‘हेडगेवार पनि आफ्नो स्पष्ट ऐतिहासिक अन्तर्दृष्टि र व्यवहारिक अनुभवले हिन्दु राष्ट्रवादको उस्तै सत्यतामा पुगेका थिए ।’ यसको विपरीत, गोलवलकरका लेखन र भाषणहरूलाई उनको मृत्युपछि बाह्र भोल्युमको सेटमा छापियो ।
हिन्दुत्वमा सावरकरको पुस्तकको केन्द्रीयताका अलावा, जब आम स्वयंसेवक विचारधारात्मक मुद्दाहरूमा चर्चा गर्छन्, तब उनका अधिकांश प्रतिक्रियाहरू ‘बन्च अफ थट्स’ (विचार गुच्छा) मा निहित हुन्छन्, जो सन् १९६६ मा प्रकाशित भएको थियो । तथापि स्वयंसेवकले व्यक्तिगत रुपमा किताबलाई नपढेका किन नहुन् । बौद्धिकहरूका उपदेशहरूका माध्यमबाट घना रूपमा विचारधारात्मक प्रवचन-शाखा प्रशिक्षणको दौरान ऊ बारम्बार यसमा जो कोही पनि सामेल हुने सुनेको हुनुपर्छ ।
‘दाहिने हात‘बाट फुत्केको नेतृत्व र ‘हृदय‘को एउटा अर्को पुस्तक
तर गोलवलकरको एक अर्को किताब छ, जसमा संघले आधिकारिक तरिकाबाट स्वयंलाई टाढा राख्यो । यो किताब हो, सन् १९३६ मा प्रकाशित ‘वी, अर अावर नेशनहुड डिफाइन्ड’ । गोलवलकर आरएसएस बन्नुभन्दा एक वर्ष अगाडि तर निर्विवाद रूपमा संगठनको महत्वपूर्ण व्यक्ति बनिसकेपछि यो किताब आएको थियो ।
त्यस समयमा, के लाग्छ भने गोलवलकरको किताब र संघको विकासमा कुनै मतभेद थिएन । सन् १९३९ फेब्रुअरीमा महाराष्ट्रको सिंदीमा आरएसएसका कार्यकर्ताहरूको बैठकमा सामेल हुनेहरूमा गोलवलकर पनि एक थिए । उनको जीवनीमा भनेअनुसार, बैठकको आयोजना ‘विविध विषयहरू’माथि चर्चा गर्नको लागि गरिएको थियो । चर्चामा ‘शाखाको कार्यप्रणाली, त्यसमा प्रयोग हुने कमाण्ड, प्रार्थना आदि विषय समावेश थिए ।’ यद्यपि गोलवलकरलाई ‘नवसहयोगी’को रूपमा निम्त्याइएको थियो । यो वर्णनले के बताउँछ भने, बैठकका क्रममा नै हेडगेवारले पहिलो पहल गोलवलकरलाई आफूपछि सरसंघचालक बनाउने विचार बनाएका थिए ।
गोलवलकरको जीवनीमा अप्पाजी जोशीद्वारा बैठकको एक विवरणको बारेमा लेखिएको छ । अप्पाजीलाई हेडगेवारको ‘दाहिने हात’ मानिन्थ्यो, जो स्वयं संघको नेतृत्व गर्नेहरूमा सम्भावित उम्मेदवार थिए । जोशीले हेडगेवारलाई के भनेर याद गरेका छन भने, ‘श्री गुरुजीलाई भविष्यमा सरसंघचालकको रुपमा कस्तो देखिन्छ ?’ बैठकमा चर्चाको क्रममा मेरो अनुभवका अनुसार मैले निसंकोच भएर जवाब दिएँ, ‘उत्तम हुन्छ ! अति उत्तम छनौट,’ किताबमा जोशीलाई यस्तो भनेर उद्धृत गरिएको छ । पुस्तकमा थप भनिएको छ, हेडगेवारको मृत्युपछि गोलवलकरको नेतृत्वको बारेमा संघभित्र नै आशंका थियो । जोशीका प्रशंसक एक वकिलले उनलाई बोलाए र भने, ‘अप्पाजी, हजुर डाक्टरजीको दाहिने हात हुनुहुन्थ्यो । तब त हजुरले संघको कामको पूर्ण जिम्मेवारी लिनुपर्छ । श्री गुरुजी यसलाई सम्हाल्नमा सक्षम नहुन सक्छन् ।’ यस कुरामा जोशीले जवाफ दिए, ‘यदि म डाक्टरजीको दाहिने हात थिएँ भने गुरुजी उनका हृदय थिए ।’
सिंदीको बैठक भएको एक महिनापछि गोलवलकरले ने ‘नेशनहुड’ प्रकाशित गरे । यकिनका साथ के भन्नु सकिन्छ भने, यदि उनलाई उनीद्वारा अभिव्यक्त विचार र संघको विचारधारामा अन्तरविरोध छ भन्ने ज्ञान हुन्थ्यो भने उनी यसलाई प्रकाशित गर्ने साहस गर्न सक्ने थिएनन् । अर्को कुरा, उनी सरसंघचालक एक वर्षपछि बने र उनको विचार संगठनभन्दा अलग छ भन्ने संघलाई लागेको भए सायद उनी सरसंघचालक बन्न पाउने थिएनन् । तार्किक तवरले मान्न सकिन्छ, हेडगेवार र संघ दुवैले गोलवलकरका विचारहरूलाई सहज तवरले स्वीकार गरे ।
नेशनहुड: अनागरिक हुनुपर्ने राष्ट्रको वकालत
केही समयपछि नै संघलाई पुस्तकबाट दूर हुनुपर्ने कुराको महसुस भयो । सन् १९४८ मा गान्धीको हत्या भएपछि जब भारत सरकारले संघमाथि प्रतिबन्ध लगाइदियो, तब कैयौं संघ आफ्नो भाषा र छविमाथि धेरै नै ध्यान दिन लागे । तर सन् १९३८ र १९३९ मा लेख्ने समयमा गोलवलकरलाई सावधानी अपनाउनु पर्ने आवश्यकता महसुस भएन ।
‘नेशनहुड’मा गोलवलकर विना हिचकिचाहट हिन्दु संस्कृतिलाई फैलाउने प्रोजेक्टको तुलना जर्मनीको यहूदी विरोधीसँग गर्दछन् । उनी लेख्छन्, ‘नस्ल र संस्कृतिलाई शुद्ध बनाइराख्नको लागि जर्मनीले यहूदीहरूको सफाया गरेर दुनियाँलाई चकित तुल्यायो ।’ ‘सर्वोत्तम रूपमा नश्लीय गौरव त्यहाँ प्रकट भयो । जर्मनीले यो पनि देखायो, भिन्न-भिन्न जरा भएका नश्ल र संस्कृतिहरू एक हुन असम्भव छ । यो हिन्दुस्तानको लागि एक राम्रो पाठ हो, आश्चर्यजनक प्रहार हो ।’
गोलवलकर यस विचारलाई आफ्ना तार्किक निष्कर्षमा पुर्याएर भन्छन्, ‘हिन्दुस्तानमा विदेशी जातिलाई यो त हिन्दु संस्कृति र भाषालाई अपनाउन, हिन्दू धर्मको सम्मान गर्न र आदरपूर्ण स्थान दिन सिकाउनुपर्छ । हिन्दु जाति र संस्कृति माने हिन्दु राष्ट्र तथा हिन्दु जातिमा विलय हुनुपर्छ वा उनीहरूलाई ती मनुष्य हिन्दु राष्ट्रको अधीनमा रहेर, कुनै पनि अधिकारको दावा नगरेर, कुनै पनि विशेषाधिकार नलिएर, कतिसम्म भने नागरिकको रूपमा अधिकारबाट वञ्चित भएर देशमा बस्नुपर्छ ।’ आज, आरएसएसको मात्र के कुरा अन्य साना हिन्दुत्व संगठन पनि जुन गोलवलकरलाई आफ्नो आदर्श मान्छन्, यो विचार स्वीकार गर्न सक्दैनन् ।
राजनीतिक वैज्ञानिक शमशुल इस्लामले ‘नेशनहुड’को आफ्नो शानदार आलोचना, जसमा ‘नेशनहुड’को समग्र पाठ पनि समावेश छ, मा के बताएका छन् भने संघको यस प्रकारको विष ओकल्ने विचारधारामा आफ्नो उत्त्पति अस्वीकार गर्ने प्रयासहरूको कारण यसका समर्थकहरूलाई अनौठो रूप धारण गर्न बाध्य गरेको छ । आफ्नो पुस्तक ‘श्री गुरुजी र भारतीय मुसलमान’मा आरएसएसका विचारक राकेश सिन्हाले राष्ट्रवादमाथि आरएसएसको आधिकारिक अवस्था बताएका छन् । उनीले के लेखेका छन् भने गोलवलकरको विचारहरूलाई ‘चुनिएको र सन्दर्भबाट हटाएर उद्धरण गर्नु भारतीय एकेडेमी (प्रज्ञा) जगतमा अभूतपूर्व कार्य हो ।’ उनले बडो शानले एक ग्रन्थ ‘वी, अर आवर नेशनहुड डिफाइन्ड’लाई उद्धृत गरेका छन्, जुन सन् १९३९ मा प्रकाशित गरिएको थियो । एक विवश र छद्म घरेलु र तथा अन्तर्राष्ट्रिय राजनीतिले निश्चित रूपबाट पुस्तकको सामग्रीलाई प्रभावित पार्यो ।’ सिन्हाले तर्क राखेका छन्, ‘तथ्य के हो भने, पुस्तक न गुरुजी र न आरएसएसका विचारहरूलाई प्रतिनिधित्व गर्दछ । उनले स्वयं पनि स्वीकार गरेका थिए, पुस्तकमा उनको विचार होइन, वास्तवमा त्यो ‘जीडी सावरकरको पुस्तक ‘राष्ट्र मिमांसा’को एक संक्षिप्त संस्करण’ थियो ।
प्लेजिअरिस्ट ?
पाँच आरएसएस संस्थापकहरूमध्ये एक वीडी सावरकरका दाजुलाई अलगअलग नाम जोडी सावरकर, बीएस सावरकर वा बाबाराव सावरकर भनेर चिनिने गरिन्छ । गोलवलकरले आफ्नो किताब ‘नेशनहुड’को प्रस्तावनामा लेखेका छन्, ‘यो कामलाई पूरा गर्नमा मलाई कैयौं मानिसहरूबाट मद्दत मिल्यो, जसको यहाँ उल्लेख गर्न पनि सम्भव नहुन सक्छ । म ती सबैलाई मनबाट नै धन्यवाद दिन्छु । तर म देशभक्त जीडी सावरकरलाई स्मरण र कृतज्ञता व्यक्त नगरी बस्न सक्दिनँ । मराठीमा प्रकाशित उनको किताब ‘राष्ट्र मीमांसा’ मेरो लागि प्रेरणा र सहयोगको प्रमुख स्रोतहरूमध्ये एक थियो । त्यस किताबको अङ्ग्रेजी अनुवाद शीघ्र प्रकाशित हुँदैछ । यस अवसरमा म पाठकहरूलाई यस विषयको विस्तृत अध्ययनको लागि पुस्तकको अध्ययन गर्नको लागि प्रेरित गर्दछु ।’ यो सत्य हो, गोलवलकर जीडी सावरकरको किताबको बारेमा जान्दथे र त्यसमा प्रस्तुत गरिएका विचारहरूको समर्थन गर्दथे । तथा उनी के पनि स्पष्ट गर्छन् भने, उनको पुस्तक सावरकरको पुस्तकको अनुवाद नभएर मौलिक पुस्तक हो ।
गोलवलकरले प्रस्तावनामा पनि लेखेका छन्, ‘म गहिरो राहतका साथ यो किताब पाठकहरूको हातमा सुम्पिरहेको छु, अगाडिका पृष्ठहरूमा सबथोक लेखिएकै छ, मेरो लागि यहाँ केही लेख्न शेष छैन । तर पनि म यस प्रस्तावनालाई यस कर्तव्यका सीमाहरूको बारेमा पाठकहरूलाई भन्नका लागि अवसरको रूपमा ग्रहण गर्छु ।’ उनको किटानले यस तथ्यको बारेमा कुनै पनि शंका रहँदैन, उनी नै पुस्तकका लेखक थिए । वास्तवमा गोलवलकरको त्यो बयानपछि सिन्हाको दावा एकप्रकारले यो निष्कर्ष प्रस्तुत गर्छ, गोलवलकरले आरएसएसका संस्थापकहरूमध्ये एकको पुस्तकलाई आफ्नो नाउँमा प्रकाशित गराएका थिए । जसको मतलब यही हुन्छ, उनी यस पुस्तकसँग, यसका एकएक हरफसँग सहमत थिए ।
जब मैले पुस्तकको बारेमा एमजी वैद्यसँग कुरा गरें, तब उनले भनेअनुसार उनले यसलाई कहिले पनि पढेका छैनन् र के पनि सुसूचित गराए भने यदि सो पुस्तक उनको भए तापनि त्यो उनको सरसंघचालक बन्नुभन्दा पहिला लेखिएको किताब हो । उनले प्रधानताका साथ भने, ‘बन्च अफ थट्स’ (विचार गुच्छा) आरएसएसको लागि केन्द्रीय किताब हो । तर तथ्य के हो भने, गोलवलकरले ‘नेशनहुड’मा सार्वजनिक रूपमा जब यो विचार प्रकट गरेका थिए, तब उनी आरएसएसका वरिष्ठ कार्यकर्ता थिए ।
संघभित्र स्वयंसेवकहरूको माझमा किताब कसले लेखेको हो भन्ने बारेमा कुनै प्रकारको भ्रम छैन । नागपुरदेखि करिब पचास किलोमिटर दूर रामटेक शहरमा गोलवलकरको पैतृक घरलाई पुनर्निर्मित गरी उनको स्मारक बनाइयो र यो संघको जिल्ला मुख्यालय पनि हो । पितृ देवताको मन्दिर प्रवेशद्वारमा बनेको छ र भुइँ तलाको बैठकमा छोटो ठाउँमा भारतको त्यो मानक चित्र छ जसमा भारतलाई भारतमाताको रूपमा देखाइएको छ । पछाडिको भित्तामा हेडगेवार, गोलवलकर र गोलवलकरका मातापिताका तस्बिर झुन्ड्याइएको छ । मलाई पहिलो तलामा घुमाएपछि, जसमा गोलवलकरको पुरानो तस्बिरले भित्ताको शोभा बढाइरहेको थियो, स्वयंसेवक राहुल वांकहाडेले भने, ‘मैले सुनेको छु, यो त्यो ठाउँ हो जहाँ ‘वी’ लेखिएको थियो । गुरुजीले एक रातमा एकै बैठकमा त्यसलाई लेखेका थिए ।’
सरसंघचालक
सन् १९४० मा सरसंघचालक बनेपछि गोलवलकरले संगठनात्मक विस्तारलाई निरन्तरता दिए । विशेष रुपमा विदर्भ क्षेत्र र केन्द्रीय प्रान्तहरुमा, जसलाई आफ्नो जीवनको अन्तिम तीन वर्षसम्म हेडगेवारले देखेका थिए । यद्यपि उनको नेतृत्वमा संघले शक्तिशाली भइरहेको स्वतन्त्रता आन्दोलनमा आफ्नो हिस्सेदारीको सवाललाई अलग रूपले नियाल्यो ।
हेडगेवारले काँग्रेसको नेतृत्वमा स्वतन्त्रता संग्रामको धेरै हदसम्म समर्थन गरेका थिए । सन् १९३० मा, जब पार्टीले सम्पूर्ण रूपमा स्वतन्त्रताको आह्वान गर्यो, तब हेडगेवारले यसको समर्थन गरे र भने, ‘यो लक्ष्यको लागि काम गरिरहेका कुनै पनि संगठनको साथ र सहयोग गर्नु हाम्रो कर्तव्य थियो ।’ त्यसै वर्ष जब गान्धीले ‘नमक सत्याग्रह’ (नुन सत्याग्रह) को घोषणा गरे, तब हेडगेवारले घोषणा गरे, संगठनको रूपमा संघ यस आन्दोलनमा भाग लिने छैन, ‘जो मानिस आफ्नो व्यक्तिगत क्षमतामा हाजिरी दिन चाहन्छन् उनीहरू आफ्ना संचालकहरूको अनुमति लिएर यस्तो काम गर्नमा स्वतन्त्र छन् ।’ उनले ‘हिन्दु धर्म र हिन्दु संस्कृतिको रक्षा गर्ने बारेमा कुनै विचार नदिएको काँग्रेसको आलोचना गरे तर यो पनि भने संघ ‘स्वतन्त्रता प्राप्त गर्ने प्रयासमा काँग्रेसलाई तबसम्म सहयोग गर्नेछ, जबसम्म यो हाम्रो राष्ट्रिय संस्कृतिलाई संरक्षित गर्ने बाटोमा आउँदैन ।’ यो स्पष्ट छ, यो इमानदार घोषणा थियो । किनभने त्यस वर्ष स्वयं हेडगेवारले सरसंघचालकको पदबाट राजिनामा दिए र त्यस सत्याग्रहमा सामेल भए, जसबमोजिम केन्द्रीय प्रान्तहरूमा वन कानुनको उल्लंघन गर्नु थियो । उनलाई गिरफ्तार गरेर नौ महिनाको लागि जेलमा पठाइयो ।
यसको विपरीत, गोलवलकरको राजनीतिक गतिविधिको लगभग कुनै पनि प्रत्यक्ष सम्पर्क थिएन । जब काँग्रेसले सन् १९४२ मा ‘भारत छोडो आन्दोलन’को घोषणा गर्यो, तब गोलवलकरले भने, ‘सुरुवातबाट नै संघले केही विषयमा केही नियमहरूको पालन गर्ने फैसला गरेको छ ।’ उनले तर्क दिए, ‘काँग्रेसका नेता पर्याप्त तयारीविना आन्दोलनको नेतृत्व गरिरहेका छन् ।’ काँग्रेसको तयारीको स्वतन्त्रता आन्दोलनसित दूरी राख्नुपर्ने उनको तर्क थियो । उनले भने, ‘सावधानीपूर्वक विचार गरेपश्चात मलाई महसुस भयो, हामी आफ्नो सम्पूर्ण शक्तिका साथ यसमा सहभागी नै किन नहोऔं, हामी आफ्नो लक्ष्यसम्म पुग्न सक्दैनौं ।’ उनले थपे, ‘यस्तो स्थितिमा मलाई के लाग्छ भने, आन्दोलनमा संघको भूमिकाले कुनै पनि उद्देश्य पूर्ण हुँदैन ।’
हेडगेवारको विपरीत, गोलवलकरले आन्दोलनमा भाग लिनको लागि कुनै पनि व्यक्तिगत झुकाव देखाएनन् । केही मानेमा आरएसएसलाई यस फैसलाबाट फाइदा भयो । किनभने यो ती प्रमुख संगठनमा एक थियो जसको नेतृत्व यी वर्षहरुमा सफल रह्यो । राष्ट्रिय आन्दोलनमा भाग नलिने फैसलाको कारण त्यसका सदस्यहरूमा वितृष्णा त पैदा भयो तर सायद यही कारणले गर्दा यसलाई विस्तार गर्ने महत्वपूर्ण अवसर मिल्यो । एक पुस्तकमा वाल्टर के एन्डरसन र श्रीधर डी दामलेले आरएसएसको प्रारम्भिक वर्षहरूको बारेमा भनेका छन्, ब्रिटिश सरकारको गृह विभागका अनुसार ७६००० पुरुष नियमित रूपले ब्रिटिश भारतमा संघका शाखाहरूमा भाग लिने गर्थे ।
अभियुक्त फरार
आरएसएस सदैव के कुरामा गर्व गर्छ भने, स्वतन्त्रता र विभाजनपछि उत्पन्न संकटको समयमा यसका स्वयंसेवकले पीडित शरणार्थीहरूको मद्दतमा धेरै योगदान दियो । यद्यपि संघ कुन कुरालाई पनि सावधानीपूर्वक लुकाउँछ भने, यस भीषण समयमा गोलवलकरले ‘नेशनहुड’मा व्यक्त आफ्ना ती विषालु विचारहरूलाई, जसको हेडगेवारले पनि मौन समर्थन गरेका थिए, उजागर गरेका थिए । दुई उदाहरण विशेष रूपले ध्यान दिन योग्य छन्, जसको विस्तारका साथ दस्तावेजीकरण गरिएको छ । दुवै एक अपरिहार्य तथ्यलाई इंगित गर्छन्, गोलवलकरले व्यापक स्तरमा नै साम्प्रदायिक हिंसाको योजना बनाउने र भड्काउने कोसिस गरे ।
पहिलो उदाहरणलाई राजेश्वर दयालले रेकर्ड गरेका थिए । दयाल विभाजनको समयमा संयुक्त प्रान्तका गृह सचिव थिए । पछि उनी युगोस्लावियामा भारतीय राजदूत नियुक्त भए । उनीलाई पद्मविभूषणबाट सम्मानित पनि गरियो । आफ्नो जीवनकथा ‘ए लाइफ अफ आवर टाइम्स’मा उनले लेखे, भारत स्वतन्त्र भएको केही समयपछि ‘जब साम्प्रदायिक तनाव चरम अवस्थामा थियो, पश्चिमी सीमाका अनुभवी र सक्षम पुलिस महानिरीक्षक बीबीएल जेटली धेरै नै गोपनीय रूपमा मेरो घरमा आए । उनको साथमा दुई इस्पातका बक्स उठाएका उनका दुई अधिकारी थिए । जब सन्दुक खोलियो, तिनमा प्रान्तका पश्चिमी जिल्लामा साम्प्रदायिक उन्माद फैलाउने अकाट्य प्रमाण हात लाग्यो ।
दयालका अनुसार, सन्दुकमा त्यस क्षेत्रका हरेक शहर र गाउँका सटिक प्रतिलिपी थिए । मुस्लिम बस्तीहरू र उनीहरू हिंड्ने बाटाहरूलाई स्पष्ट रूपमा चिह्नित गरिएको थियो, ‘र यस्ता अन्य चीजहरू पनि थिए जो ती मानिसहरूका भयानक षड्यन्त्रलाई उजागर गर्दथे ।’ उनीले यस मामलाको बारेमा प्रान्तीय प्रमुख, जो आजको समयको मुख्यमन्त्रीको समान पद थियो, जीबी पन्तलाई सूचित गरे । दयालले लेखका छन्, ‘समय हुँदै आरएसएस परिसरमा मारिएको छापाले ठूलो षड्यन्त्रको खुलासा गर्यो।’ ‘पूरै षड्यन्त्र संगठनका सुप्रिमोको दिशानिर्देश र पर्यवेक्षणमा बनाइएको थियो । जेटली र मैले मुख्य आरोपी श्री गोलवलकरलाई तत्काल गिरफ्तार गर्नको लागि भारवहन गर्यौं, जो अहिले पनि क्षेत्रमा नै थिए ।’
यद्यपि, पन्तले यस मामिलामा हट्दै यसलाई क्याबिनेटमा प्रस्तुत गरे । दयालले भने, यो राजनीतिक रूपबाट संवेदनशील मामिला थियो । किनकि ‘आरएसएसको जरा राजनीतिमा गहिरो गरी फैलिसकेको थियो ।’ उनी लेख्छन्, आरएसएसका शुभचिन्तक, ‘छिपेका र खास तरिकाले काँग्रेस पार्टीमा र कहाँसम्म भने मन्त्रीमण्डलमा पनि सामेल थिए ।’ क्याबिनेटले केवल यो फैसला गर्यो, पन्त गोलवलकरलाई पत्र लेखेर प्राप्त प्रमाणको बारेमा उनीसँग स्पष्टीकरण मागुन् । दयाल लेख्छन्, ‘गोलवलकरलाई जासुसी गरियो, सूचना चुहावट भयो र उनी फरार भए ।’ उनी दक्षिणतिर जान लागेको देखियो तर जो मानिस उनलाई खोज्न गएका थिए उनीहरूका आँखा छल्नु उनी सफल भए ।’
पहेंलो पृष्ठको बकपत्र
दोस्रो घटनाको सम्बन्ध सन् १९४७ डिसेम्बरका दिल्लीका घटनाहरूसँग छ । यी घटनाहरूको विवरण नेहरु मेमोरियल संग्रहालय र पुस्तकालयको अभिलेखागारको सेक्सनमा पाउन सकिन्छ, जसमा दिल्ली पुलिसको रेकर्डको पहेंलो रंगको पृष्ठ छ, जसले स्वतन्त्रताको सालमा राष्ट्रिय राजधानीमा आरएसएस गतिविधिहरूको बारेमा बताउँछ । अपराध जाँच विभागका इन्स्पेक्टर करतार सिंहले दाहिनेतिर झुकेको सफासुग्घर हस्तलिपीमा शुद्ध अंग्रेजीमा संघको दिनप्रतिदिनका गतिविधीहरूलाई विस्तारपूर्वक लेखेका छन् । उनका टिपोट-नोट गोलवलकरका सार्वजनिक भाषणहरू र आरएसएसका गुप्त तयारीहरूको भेदको पर्दाफास गर्दछन् ।
सन् १९४७ डिसेम्बर ७ मा करतार सिंहले लेखे, ‘आरएसएसको दिल्ली शाखाको वार्षिक सम्मेलन आज दिउँसो ३ देखि ५ बजेर ३० मिनेटसम्म दिल्लीको रामलीला मैदानमा सम्पन्न भयो ।’ सिंहको रिपोर्ट छ, ‘कार्यक्रममा पचास हजार स्वयंसेवकहरू र त्यति नै सङ्ख्यामा आम मानिसले भाग लिए ।’ एम एस गोलवलकर, संघका ‘गुरु’ तीन बज्नुभन्दा केही समयपछि आए ।’ सिंहका अनुसार, गोलवलकरले नब्बे मिनेटसम्म भाषण दिए, जसमा उनीले आरएसएसको विस्तार र त्यसको आलोचनाको बारेमा चर्चा गरे । गोलवलकरले स्पष्ट रूपमा बताए, संघ, ‘राजनीतिक दल हैन र कैयौं संगठनको अनुरोधका बाबजुद संघले तिनीहरूसँगै विलय हुन वा सहयोग गर्न अस्वीकार गर्यो ।’ संघका आलोचनाहरूको बारेमा गोलवलकरले बताए, ‘यी कुराहरूमा कुनै बुद्धिमानी छैन ।’ उनीले थपे, ‘संघलाई एक आतंककारी संगठन भनिएको छ । यो बडो दुःखको कुरा हो, वर्तमान सरकार पनि अङ्ग्रेज नोकरशाहीको जस्तै अज्ञानताको प्रदर्शन गरिरहेको छ ।’ गोलवलकरले यस कुराको खण्डन गरेका छन्, संघ हिन्दू राष्ट्र बनाउनको लागि काम गरिरहेको छ । सिंहले गालेवलकरले यो कुरा भन्दै गर्दा रेकर्ड गरेका छन्, ‘कैयौं पक्षमा यो भनिएको छ, संघ ‘हिन्दु राज’ चाहन्छ । तर हेडगेवारले कहिल्यै यस्तो कुरा भनेनन् र जहाँसम्म उनीलाई याद छ, संघको आपसी वार्तालापमा पनि उनले यस किसिमको कुरा सुनेनन् ।’
अर्को साँझ, करतार सिंहले रोहतक रोडमा एक अर्को बैठकको सम्बन्धमा रिपोर्ट दायर गरे । सिंहले सुनाए, ‘यस बैठकमा कुनै पनि बाहिरी व्यक्तिलाई आउन दिइएको थिइएन ।’ गोलवलकरले यस कार्यक्रममा आफ्नो सम्बोधनमा एक विशेष भिन्न स्वरमा कुरा गरे, जसमा ‘लगभग पच्चीस सय स्वयंसेवकहरू’ले भाग लिएका थिए । ‘हामीहरूले शिवाजीको धार र रणनीति जस्तै छापामार युद्धको लागि तयार रहन पर्छ ।’ ‘संघ तबसम्म सन्तुष्ट हुनेछैन, जबसम्म पाकिस्तानलाई खतम गर्दैन । यदि कोही हाम्रो बाटोमा आउँछ भने हामीले उसलाई पनि खतम गर्नुपर्छ, चाहे त्यो नेहरु सरकार होस्, वा अरू कुनै सरकार । संघलाई खरिद गर्न सकिँदैन । स्वयंसेवकहरूले आफ्नो काम जारी राख्नुपर्दछ ।’ मुस्लिमहरूको बारेमा गोलवलकरको भनाइलाई सिंहले यस प्रकार दर्ज गरेका छन्, ‘दुनियाँको कुनै पनि शक्ति उनीहरूलाई हिन्दूस्तानमा राख्न सक्दैन । उनीहरूलाई यस देशबाट बाहिर जानु नै पर्छ ।’ गोलवलकरले आरोप लगाए, ‘गान्धी मुसलमानहरूलाई भारतमा राख्न चाहन्छन् फलस्वरूप चुनावको समय काँग्रेसलाई उनीहरूको भोट मिल्न सकोस् । तर त्यो समय आउनु भन्दा पहिले नै भारतमा एक पनि मुसलमान बच्ने छैन । यदि उनीहरूलाई यहाँ बस्न दिइयो भने त उनीहरुको लागि सरकार जिम्मेवार हुन्छ, हिन्दु समुदाय होइन ।’ गोलवलकरले भने, ‘गान्धी अब उनीहरूलाई पथभ्रष्ट गर्न सक्दैनन् ।’ फेरि उनले एक अशुभ चेतावनी दिए, ‘हामीलाई थाहा छ, यस्ता मानिसलाई कसरी एकैपटकमा शान्त गर्नुपर्दछ । तर हाम्रो परम्परा छ, हिन्दूहरूलाई केही हुनुहुँदैन । तर यदि हामीलाई बाध्य पारियो भने हामी ‘त्यो’ पनि गर्न सक्छौं ।’
गान्धीलाई शान्ति: हामी ‘त्यो‘ पनि गर्न सक्छौं
सन् १९४७ मा दुई दिनको समयमा गोलवलकरले सार्वजनिक रूपमा नै घोषणा गरे, आरएसएस आतंककारी संगठन होइन र स्वयंसेवकहरूलाई छापामार युद्धको लागि तयार रहनको लागि आह्वान पनि गरे, र यो दावा पनि गरे, आरएसएसले कहिल्यै पनि हिन्दु राज्यको कुरा गरेको छैन । साथै धम्की दिए, भारतमा एक पनि मुसलमानलाई बस्न दिइने छैन । बन्द कोठाको बैठकमा, तर सार्वजनिक रूपमा कहिल्यै पनि होइन, गोलवलकर, विशेष रूपले गान्धीको नाम लिए र धम्की दिए, जो व्यक्ति पनि आरएसएसको सामुन्ने आउँछ उसलाई शान्त पारिने छ ।
एक महिनापछि सन् १९४८ जनवरी ३० मा दिल्लीमा नाथूराम गोडसेले गान्धीलाई गोली हानेका थिए ।
हत्याको चार दिनपछि तीन फरवरीमा गोलवलकरलाई गिरफ्तार गरियो । एक दिनपछि आरएसएसमाथि प्रतिबन्ध लगाइएको थियो । सरकारले यस प्रतिबन्धलाई न्यायसंगत मान्दै भनेको थियो, ‘संघका सदस्यहरूद्वारा अवाञ्छित तथा कहाँसम्म भने खतरनाक गतिविधिहरू पनि गरियो ।’ विवरण भयावह थिए । नोटिसमा भनियो, देशका कैयौं हिस्सामा आरएसएसका अलगअलग सदस्यहरूले आगो लगाउने, चोरी, डकैती र हत्यासँग जोडिएका हिंसाका कार्यहरूमा भाग लिएको पाइयो । अवैध हतियारहरू र गोलाबारुद जम्मा गरेको भेटाइयो ।’ ‘यी मानिसहरूले सरकारको विरुद्ध असन्तुष्टि पैदा गर्ने, पुलिस र सेनालाई आफ्नो पक्षमा पार्ने, हतियार एकीकृत गर्ने आतंकवादी तरिकाको सहारा लिने जस्ता कार्यको लागि पर्चा बाँडेका छन् ।’
सरकारको कारबाहीबाट आरएसएसको अस्तित्वमाथि संकट उत्पन्न भयो तर पछिल्लो एक वर्षमा गोलवलकरले आरएसएसलाई संकटबाट निकालिहाले । यस्तो गर्नको लागि गोलवलकरले खुला र लुकेर परिचालन गरे, सार्वजनिक वक्तव्य र बहस तथा राजनैतिक लबिङको सहारा लिए । उपप्रधानमन्त्री वल्लभ भाई पटेलले यस संगठनलाई बचाइराख्नमा प्रमुख भूमिका खेले ।
आरम्भमा प्रतिबन्धको एक दिनपछि गोलवलकरले सतर्क शब्दमा लगभग कुटनैतिक वक्तव्य जारी गरे । ‘आरएसएसको नीति सधैंभरि कानुनको पालन गर्ने सन्दर्भमा रह्यो र उसले कानूनको दायरामा रहेर काम गर्यो ।’ ‘र सरकारले आरएसएसलाई गैरकानूनी संस्था घोषित गर्यो । यस कारण यो उचित हुन्छ, जबसम्म त्यसमाथि प्रतिबन्ध लागिरहन्छ त्यसलाई भङ्ग गर्नुपर्दछ, साथै संघ सबै आरोपहरूलाई खण्डन गर्दछ ।’
प्रतिबद्ध पार्टी प्रतिबन्ध
एन्डरसन र दामलेका अनुसार, ‘प्रतिबन्ध र उपरोक्त निर्देशनहरूका बाबजुद ठूलो संख्यामा स्वयंसेवक नियमित रूपले आपसमा भेटघाट गरिरहे ।’ किताबमा लेखिएको छ, संगठनका हरेक स्तरका आरएसएस पदाधिकारीहरूको गिरफ्तारीको बाबजुद ‘संगठनका युवा कार्यकर्ताहरूले गोपनीय ढाँचा तयार गरे र यसलाई निरन्तरता दिइरहे ।’
आउने दिनहरूमा यो कुरा स्पष्ट भयो, हत्या र हत्याको षडयन्त्र हिन्दु महासभाका हिस्साले बनाएको थियो । तर यस्तो वातावरण बनाउनमा जसमा यो अपराध भयो आरएसएसको प्रमुख भूमिका थियो । सन् १९४८ जुलाई १८ मा, हिन्दू महासभाका पूर्व अध्यक्ष श्यामा प्रसाद मुखर्जीलाई गृहमन्त्री रहेका वल्लभ भाई पटेलले गान्धीको हत्यामा आरएसएस र हिन्दु महासभाको भूमिकालाई पत्रमा लेखे, ‘यी दुई संगठनको गतिविधिहरूको परिणामस्वरूप, खास गरेर आरएसएसका गतिविधिहरूको कारण देशमा यस्तो वातावरण बन्यो जसले गर्दा यो त्रासद अवस्थाको सिर्जना भयो । मेरो दिमागमा यस कुराको लागि कुनै शंका छैन, हिन्दु महासभाको उग्र हिस्सा यस षड्यन्त्रमा सामेल थियो । आरएसएसका गतिविधिहरू सरकार र राज्यको अस्तित्वको लागि स्पष्ट तवरले खतरा छ । हाम्रो प्रतिवेदनअनुसार प्रतिबन्धको बाबजुद यी गतिविधिहरू बन्द भएका छैनन् ।’ हिंसा भड्काउनको लागि आरएसएसको भूमिकालाई माने तापनि सरकार गान्धीको हत्याको लागि यसको विरुद्ध प्रत्यक्ष रूपमा प्रमाण जुटाउन सकेन जसको कारण अधिकांश कार्यकताहरू रिहा भए ।
अगस्तमा गोलवलकरलाई पनि रिहा गरियो, तर केही सर्तहरूको साथमा । उनलाई सार्वजनिक सभा गर्न नपाइने र केही पनि प्रकाशित गर्नुभन्दा पहिले सरकारको अनुमति लिनुपर्ने कुरा भनियो । त्यसै वर्ष पटेलले आरएसएसका गतिविधिहरूमाथि आफ्नो चिन्ता व्यक्त गर्दै गोलवलकरलाई पत्र लेखे, ‘हिन्दुहरूलाई एक गर्नु र उनीहरूलाई मद्दत गर्नु एउटा कुरा हो र उनीहरूका समस्याहरूको लागि निर्दोष र विवश पुरुषहरू, महिलाहरू र बच्चासँग बदला लिनु दोस्रो कुरा हो ।’ पटेलले काँग्रेस पार्टीमाथि आरएसएसको विरोधको विषयमा भने, ‘त्यो पनि विषालु जसमा व्यक्तित्वको शिष्टता र मर्यादासम्मको ख्याल राखिएको छैन,’ निन्दा गरे र तर्क राखे, ‘यसले मानिसहरूभित्र एक प्रकारको अशान्ति उत्पन्न गरेको छ ।’
पटेलले अगाडि जोडे, संघका नेताहरूका ‘भाषण साम्प्रदायिक जहरले भरिएका छन् । हिन्दुहरूलाई संगठित गर्ने र उनीहरूमा उत्साह भर्नको लागि विष फैलाउनुपर्ने कुनै आवश्यकता छैन । त्यस विषको अन्तिम परिणामको रूपमा देशले गान्धीजीको अमूल्य जीवनको आहुति दिनुपर्यो ।’ पटेलले जोर दिए, सरकार र जनता अब आरएसएसको विरोध गर्दछन् । उनले लेखे, ‘यो विरोध तब अझ ठूलो भयो जब आरएसएसका मानिसहरूले गान्धीजीको मृत्युको उत्सव मनाए र मिठाई बाँडे ।’ ‘यस्ता अवस्थाहरूमा सरकारको लागि के जरुरी भएको थियो भने, सरकारले आरएसएसमाथि प्रतिबन्ध लगाओस् । सरकारलाई यो आशा थियो, आरएसएस आफ्नो तौरतरिकालाई बदल्नेछ । तर छ महिनापछिको रिपोर्टहरुमा के देखिन्छ भने आफ्ना पुराना गतिविधिहरूलाई नवजीवन दिने प्रयत्न जारी छ ।’
अक्टोबरमा गोलवलकरमाथिको यात्रा प्रतिबन्धलाई हटाइयो । उनले सरकारसँग कुराकानी गर्नको लागि दिल्लीको यात्रा गरे तर उनलाई सफलता मिलेन । गोलवलकरलाई फेरि गिरफ्तार गरियो र उनी नागपुर फर्केर आए ।
यस अनिश्चित र भ्रमको स्थितिमा गोलवलकरले संघको भविष्यको रूपरेखा तयार पारे । आरएसएसको भित्रबाट उठिरहेका मागहरूको प्रत्युत्तरमा गोलवलकरले घोषणा गरे, ‘एक अर्को सुझाव दिइयो, आरएसएसलाई स्वयं राजनीतिक दल बनाउनु पर्छ, यसको अर्थ हुनेछ, राजनीतिका अतिरिक्त बाँकीका कामहरूलाई, सांस्कृतिक कार्य जस्ता पवित्र कामहरू पनि अस्तित्वमा रहने कुनै पनि अधिकार हुनेछैन । यो कथन असोचनीय छ र जुन मानिस यो भनिरहेका छन् उनीहरुलाई पनि राम्रो छविमा राख्दैन ।’ उनले तर्क दिए, सांस्कृतिक काम सत्ताको लागि गर्ने राजनीतिक कार्यभन्दा अलग रहनुपर्छ र यसको जिम्मा कुनै राजनीतिक दललाई दिनुहुँदैन । यसकारण मलाई भन्नु परिरहेको छ, उनीहरूको सुझाव जनताको सर्वोत्तम हितहरूको विपरीत छ ।’
गोलवलकरले सत्याग्रह गरेर आरएसएसमाथि लागेको प्रतिबन्धलाई चुनौती दिने प्रयास गरे । यो सत्याग्रह दिल्लीमा ९ डिसेम्बरमा आरम्भ भयो । जुन समय यो सत्याग्रह प्रारम्भ भयो त्यो समय गोलवलकर अझै पनि कैदमा थिए । तर यसका बाबजुद आरएसएसको सूत्रहरूका अनुसार साठी हजार मानिसहरूले सहभागिता जनाए ।
केही मानिसहरूका अनुसार, आरएसएसको विषयमा आफ्नो चिन्ता व्यक्त गर्दागर्दै पनि पटेल संगठनको साथमा नजिकबाट नाता राख्ने पक्षमा थिए । एन्डरसन र दामलेले लेखेका छन्, ‘आरएसएसको केन्द्रीय कार्यकारिणीका सदस्य एकनाथ रानाडे, सरकारसँग गुप्त सौदाबाजी गरिरहेका थिए, ले उनलाई बताएबमोजिम पटेलले आरएसएसका कार्यकर्ताहरूलाई काँग्रेस पार्टीमा सामेल भएर पार्टीको सांगठनिक आधार बनाउन भनेका थिए ।’ लेखक द्वयको भनाइ छ, ‘सौदाबाजीको नजिक रहेका आरएसएस नेताहरूको भनाइ थियो, पटेल आरएसएसका काडरको प्रयोग नेहरुका केही नीतिहरूका विरुद्ध गर्न चाहन्थे ।’
यी आरोपहरूमा केही सत्यता हुनसक्छ । गोलवलकरले पटेललाई बारम्बार पत्र लेखेर उनले आरएसएसको विरुद्धमा बनाएको कुरालाई प्रमाणहरूमार्फत प्रमाणित गर्न आग्रह गरे । उपप्रधानमन्त्री र गृहमन्त्री भएको नाताले पटेललाई ती प्रमाणहरूको बारेमा थाहा होला नै, जुन जेटलीले पन्तलाई दिएका थिए र दिल्ली पुलिस रेकर्डमा उपलब्ध जानकारीको बारेमा पनि थाहा होला । किन पटेलले यी प्रमाण गोलवलकरलाई देखाएनन् वा सार्वजनिक गरेनन्, सो स्पष्ट हुन पाएन ।
त्यस वर्ष आरएसएसमाथि प्रतिबन्ध हटेपछि पटेलको आरएसएसप्रति झुकाव स्पष्ट भयो । जब नेहरु देशभन्दा बाहिर गएका थिए त काँग्रेसले आरएसएसका सदस्यहरूलाई काँग्रेसको सदस्यता लिने अनुमति दिए । नेहरु फर्किएपछि यस निर्णय, जसको पटेलका समर्थक समर्थन गरिरहेका थिए र नेहरुका समर्थकले विरोध, संशोधित गरिदिए । संशोधनका अनुसार आरएसएसका ती सदस्य पनि कांग्रेसमा सामेल हुन सक्थे जो संघको सदस्यता त्याग गर्थे ।
नवदल गठन
आरएसएसमाथि लागेको प्रतिबन्धलाई हटाउनको लागि सरकारका शर्तमध्ये एकको पालन गर्दै गोलवलकरले संघको संविधान तयार गर्ने कुरा माने । यस संविधानमा सरकारप्रति समर्थनको भाव थियो । यसको एक मुख्य धारामा लेखिएको छ, ‘संघ राजनीतिदेखि दूर छ र यो केवल सामाजिक र सांस्कृतिक क्षेत्रहरूको लागि समर्पित छ ।’ ‘अलावा यस कुराको संघका स्वयं सेवक व्यक्तिगत तरिकाले राजनीति अथवा अन्य प्रकारका कुनै पनि पार्टी, संस्थान वा मोर्चामा सामेल हुनको लागि स्वतन्त्र छन् । तिनीहरू यस्ता कुनै पनि पार्टी, संस्थान वा मोर्चामा सामेल हुन सक्दैनन् जसको निष्ठा वा विश्वास राष्ट्र इतर वा देशको विरुद्धमा छ । तिनीहरू हिंसा र संदिग्ध गतिविधिहरूद्वारा लक्ष्य हासिल गरेर विश्वास गर्ने दलहरू र मोर्चाहरूमा पनि आबद्ध हुन असमर्थ छन् र अन्य समुदायहरू वा पन्थहरू अथवा धार्मिक समूहहरूप्रति प्रतिद्वन्दी वा शत्रुतालाई प्रोत्साहन दिने प्रयास गर्ने दलहरू र मोर्चाहरूमा पनि उनीहरूको सहभागिता हुनेछैन ।’ गोलवलकरले जोर दिए, ‘उपरोक्त खण्डित कुराहरू वा तरिकाहरुसँग सम्बन्ध राख्नेहरूको लागि संघमा कुनै पनि स्थान छैन ।’
आरएसएसका सदस्यहरूलाई काँग्रेस पार्टीको सदस्यता नदिने फैसलाले संघभित्र हंगामा खडा भयो, यसका धेरै नेता राजनीतिक महत्वाकांक्षा पाल्दथे । एडरन्सन र दामलेका अनुसार यस फैसलाले संघभित्र नै विभाजनकारी बहसहरूलाई जन्म दियो जसमा रणनीति र लक्ष्यका सवाल सामेल थिए ।’ अन्ततः परिणाम के भने संघ गोलवलकरको मूल सोचभन्दा अधिक मात्रामा राजनीतिक रूपबाट सक्रिय भयो । यस बहसको एक अर्को परिणाम के निक्ल्यो भने संघले सम्बद्ध संगठनहरूको स्थापनालाई मञ्जुर गरिदियो ।’
यी सम्बद्ध संस्थाहरूमा सबैभन्दा पुरानो संस्था हो, अखिल भारतीय विद्यार्थी परिषद वा एबीवीपी । एन्डरसन र दामेलका अनुसार जुलाई सन् १९४८ जुलाईमा यस्ता धेरै नै छात्र संगठन दिल्लीमा भेटिए जो संघमाथि प्रतिबन्ध लागेपछि स्वायत्त रूपबाट काम गरिरहेका थिए । यी छात्र अखिल भारत स्तरको संगठनको संविधान बनाउने उद्देश्यले भेटिएका थिए । यस संस्थालाई छिटै नै कानुनी रूपबाट पञ्जीकृत गराइयो ।
सम्बद्ध संस्थाहरूको सम्बन्धमा गोलवलकरको दृष्टिकोण एकदमै स्पष्ट थियो । उनको जीवनी लेखकले लेखेका छन्, ‘यी सबै संगठनहरूलाई आफ्नो निर्धारित कामका अतिरिक्त विचारधारात्मक रूपबाट संघका कार्यकर्ता भर्ती गर्ने केन्द्रको रूपमा काम गर्नुपर्नेछ ।’ ‘उदाहरणको लागि विद्यार्थी परिषदमा काम गर्नेहरूलाई अन्य विद्यार्थी पनि प्रतिबद्ध स्वयमसेवक बनुन् भनेर सुनिश्चित गर्ने जिम्मेवारी दिइएको हुन्छ ।’ यद्यपि यी संगठन अरू काममा जोर दिन्थे तर गोलवलकरको मान्यता थियो, ‘यसका सदस्यहरू अन्य क्षेत्रहरूमा वैचारिक पकड बनाउँदै तिनीहरूबाट प्रभावित हुनुबाट जोगिनुपर्छ ।’
पहिला गोलवलकरले राजनीतिमा आरएसएसको प्रवेशको विरोध गरेका थिए । तर संगठनमाथि प्रतिबन्ध हटेपछि ‘अर्गनाइजर’मा यस्ता लेखहरूको एक शृङ्खला प्रकाशित भयो जो यसको पक्ष लिन्थे र गोलवलकरको अनुमति बिना यी लेख छापिनु असम्भव थियो । तर पनि अगाडि गएर जो पार्टी आरएसएसको राजनीतिक शाखा हुँदै थियो त्यसको स्थापना आरएसएसका सदस्यले होइन, नेहरु क्याबिनेटका मन्त्री र हिन्दु महासभाका पूर्व सदस्य श्यामा प्रसाद मुखर्जीले गरे ।
एबीवीपीको गठनमा प्रमुख भूमिका निर्वाह गरेका पञ्जाबका आरएसएस प्रचारक बलराज मधोक सन् २००८ मा प्रकाशित एक लेखमा लेख्छन्, नेहरु क्याबिनेटबाट राजिनामा दिएपछि मुखर्जीले ‘हिन्दु समुदायका सबै पक्षहरू, खास गरेर आर्य समाज र आरएसएससँग आफ्नो प्रस्तावित पार्टीको लागि समर्थन मागे ।’ मधोक अगाडि भन्छन्, ‘नयाँ पार्टीप्रति आर्य समाजको समर्थन उत्साहबर्द्धक थियो तर आरएसएसको तर्फबाट कुनै प्रतिक्रिया आएन ।’ तर पनि मुखर्जीले आफ्नो योजनालाई व्यावहारिक जामा पहिर्याउँदै इन्डियन पीपुल्स पार्टी नामबाट नयाँ पार्टीको घोषणा गरे ।
भाजपा विचारधारा
मधोक स्मरण गर्छन्, संघ प्रतिक्रिया दिने विषयमा अहिले विचार गरिरहेको थियो तर ‘नयाँ पार्टीको घोषणाले आरएसएस भित्र खलबली मच्चाइदियो । गान्धीको हत्यापछि यसमाथि लागेको प्रतिबन्धको परिप्रेक्ष्यमा संघको नेतृत्व राजनीतिक समर्थनको जरुरत महसुस गरिरहेको थियो । यसकारण संघले मसँग डाक्टर मुखर्जीलाई गएर आरएसएस इन्डियन पीपुल्स पार्टीलाई समर्थन दिन इच्छुक रहेको कुरा सूचना दिन अह्रायो ।’
तुरुन्त नै आरएसएस यस नयाँ पार्टीका प्रमुख पक्षहरूमाथि आफ्नो हक जमाउन लाग्यो । मधोकले लेखे, ‘आरएसएसका नेताहरूले नयाँ पार्टीको लागि केशरी ध्वज र हिन्दु नामको सुझाव दिए ।’ संघले भारतीय लोक संघ र भारतीय जन संघको सुझाव दियो । मुखर्जीले भारतीय जन संघको चयन गरे, किनभने ‘लोकको अर्थ भीड हुन्थ्यो, जनको अर्थ जनता र यस शब्दको मातृभूमिका साथ अधिक नजिकको सम्बन्ध थियो ।’ यहींबाट एक राष्ट्रिय दलको रूपमा भारतीय जन संघको सुरुवात भयो ।
मुखर्जीका साथ आफ्नो कुराकानीको बारेमा गोलवलकरको कथनबाट के पत्ता लाग्छ भने, दुवै पार्टी र आरएसएसको सम्बन्धलाई लिएर सतर्क थिए । तर अन्ततः मुखर्जी यस कुराको लागि तयार भए, पार्टी संघको विचारधारामा चल्नेछ । गोलवलकर भन्छन्, ‘संघसँग डा. श्यामा प्रसाद मुखर्जीका अपेक्षाहरुलाई देख्दा मलाई लाग्छ, उनीलाई सतर्क गराइदिऊँ ।’ मैले उनीसँग भने, आरएसएसलाई राजनीतिमा तान्न सकिँदैन । संघ कुनै पार्टीका छहारीमा काम गर्न सक्तैन । किनकि कुनै पनि संगठन कुनै राजनीतिक दलको तल रहेर राष्ट्रिय जागरणको कार्य गर्न सक्तैन ।’ गोलवलकर भन्छन्, ‘मुखर्जीले उनको कुरा माने ।’ गोलवलकर भन्छन, पुनः दुवै जना यो कुरामा सहमत भए, ‘यदि नयाँ पार्टी संघसँग सहयोगको अपेक्षा राख्छ भने यसले संघका विचारहरूलाई मान्नुपर्छ ।’
के कुरा घामझैं छर्लङ्ग छ भने आरम्भबाट नै जन संघ र त्यसपछि निर्माण हुनलागेको बीजेपीको विचारधारा संघको विचारधारा नै थियो । व्यवहारमा पनि आरएसएसको पार्टीको नियन्त्रण अटुट बनिरह्यो । एन्डरसन र दामेलका अनुसार, ‘नयाँ पार्टीको सांगठनिक स्वरूप आरएसएससँग लगभग मिल्दोजुल्दो थियो ।’ प्रान्तीय एकाइमा कुनै गैरआरएसएस पृष्ठभूमिका स्थानीय चिरपरिचित व्यक्तिलाई अध्यक्ष चुनिन्थ्यो । यसका सचिव स्वयंसेवक प्रचारकहरूलाई बनाइन्थ्यो । यी सचिवहरूको जिम्मा जिल्ला, नगर र वार्ड इकाइहरूको स्थापना र विधानसभा तथा संसदीय चुनावहरूका उम्मेदवारहरूका लागि प्रचार अभियान चलाउनु हुन्थ्यो ।’ मधोक लेख्छन्, ‘साथै पार्टीको संगठन ती स्थानहरूमा आकार ग्रहण गर्न थाल्यो जहाँ आरएसएसका शाखाहरू थिए ।’
सन् १९६६ मा विश्व हिन्दु परिषदको स्थापना गर्नु गोलवलकरको अन्तिम प्रमुख संस्थागत काम थियो । यस समयसम्म संघको श्रमिक संगठन भारतीय मजदुर संघ बनिसकेको थियो । साथै संघलाई एक प्रकारको सम्मान प्राप्त भइसकेको थियो जसको कल्पना यसले सन् १९४८ मा गर्न सकेको थिएन । चीनसँग भएको युद्धको समयमा आरएसएसले जुन प्रकारको भूमिका नागरिक प्रशासनमा खेलेको थियो त्यसको कारण नेहरु पनि एक हदसम्म नरम भएका थिए । यसको एक टुकडीलाई सन १९६३ को गणतन्त्र दिवस परेडमा भाग लिन दिइयो । सन् १९६५ मा भारत पाकिस्तान युद्धको समयमा गोलवलकर ती गिनेचुनेका व्यक्तिहरूमा पर्थे जससँग तत्कालीन प्रधानमन्त्री लाल बहादुर शास्त्रीले परामर्श गरेका थिए ।
भाजपाको विकासमा जरुरी भूमिका
एबीवीपी, जन संघ र बीएमएसको स्थापना पछि गोलवलकरले आफ्नो ध्यान आफ्ना सबैभन्दा उत्तम उद्देश्यतर्फ खिचे जसको मतलब एक यस्तो संगठनको स्थापना जो हिन्दु धर्मगुरुहरूको समर्थनबाट हिन्दु धर्मसँग जोडिएका मामिलाहरूमाथि प्रत्यक्ष हस्तक्षप गर्न सकिन्थ्यो । भिषिकरले लेखेको जीवनीका अनुसार यस संस्थाको औपचारिक गठन सन् १९६६ मा इलाहाबादको कुम्भ मेलामा भयो । त्यस अवसरमा गोलवलकरको भाषण र त्यसपछिका उनका भाषण ती चिन्ताहरूले भरिएका छन् जसले आगामी दशकहरूमा वीएचपीका कार्यलाई निर्देशित गर्दै थिए- आदिवासीहरूलाई हिन्दु धर्मभित्र ल्याउनु, मुसलमानहरूको जनसङ्ख्या वृद्धिको भय तथा प्रवासी हिन्दुहरूसम्म पुग्नुपर्ने आवश्यकता । यिनै ती महत्वपूर्ण चिन्ताहरू हुन् जो जन संघको उत्तराधिकारी संगठन बीजेपीको विकासमा जरुरी भूमिका निभाउने वाला थियो ।
गोलवलकरको सन् १९७३ मा भएको मृत्युसम्म त्यस संघ परिवारले आकार लिइसकेको थियो जुन रूपमा आज हामी यसलाई देख्दछौं । संघसँग सम्बद्ध संगठनद्वारा आम जनलाई सामेल गर्नाले संघ तीव्रगतिमा फैलन पायो । यदि यसले सदस्यहरूलाई सिधै संघमा भर्ती गर्थ्यो भने यस्तो विस्तार सम्भव हुने थिएन ।
यस प्रकार संघको विचारधारा, सिद्धान्त र अनुशासन सहज रूपबाट यी संगठनहरूलाई सम्प्रेषित हुन्छन् । संघको विचारधाराको स्रोत सावरकरका काममा छन् तर ती सिद्धान्तहरूलाई विस्तार गोलवलकरले दिए र संघलाई यस किसिमको रंग दिए । यी सिद्धान्तहरूको जाँच गर्नाले हामीलाई संघका ती विश्वदृष्टिकोणको बारेमा थाहा भयो जसले त्यो मान्छ र समाजमा प्रचार गर्दछ ।
हिन्दू ती हुन् जो हिन्दू हुन्
संघका संस्थापकहरूले जुन प्रश्न माथि सबैभन्दा धेरै विचार गरे त्यो थियो, हिन्दू को हुन् ? यो प्रश्नलाई मानिसहरूको बहिष्कारको सिद्धातले उनीहरू हल गर्छन् । सावरकर ‘हिन्दुत्व’मा लेख्छन्, ‘हिन्दु ती हुन् जो सिन्धु नदीबाट सिन्धु (समुद्र) प्रान्तमा फैलिए । यस देशलाई आफ्नो पितृ–भू मान्छन् जो रक्त सम्बन्धले त्यो जातिको वंशधर छ जसको प्रथम उद्गम वैदिक सप्त–सिन्धुहरूमा भयो र जो पछिबाट बराबर अगाडि बढ्दो अन्तर्भूतलाई पचाउँदै र त्यसलाई महनीय रूप दिँदै हिन्दु जातिको नामबाट विख्यात भयो, जो उत्तराधिकार सम्बन्धसँग त्यही जातिको त्यो संस्कृतिलाई आफ्नो संस्कृति मान्छन् जो संस्कृति संस्कृत भाषामा सञ्चित र जातिको इतिहास, साहित्य कला, धर्मशास्त्र, व्यवहारशास्त्र, रीति नीति, विधि, संस्कार, पर्व र उत्सवलाई मानोस् ।’ यो परिभाषा गोलमटोल छ । सावरकर हिन्दु सभ्यताको कुरा त गर्छन् तर ‘हिन्दू ती हुन् जो हिन्दू हुन्’ को अलावा धेरै अर्थोक भन्न सक्दैनन् ।
‘हिन्दु को होइनन् ?’ भनेर ‘हिन्दु को हो ?’ को परिभाषा
अन्ततः सावरकर हिन्दु को होइनन् भनेर हिन्दुलाई परिभाषित गर्न लाग्दछन् । उनले लेखे, हाम्रा मुस्लिम र इसाई देशवासी हिन्दु होइनन् र तिनीहरु हिन्दु हुन सक्तैनन् । उनीले तर्क दिए, ‘भारत उनीहरूको लागि पूण्यभूमि होइन ।’ किनकि उनीहरूको ‘पूण्यभूमि अरब वा फिलिस्तीनमा हो ।’ उनीहरूको पुराण र उनीहरूका देवता, विचार र नायक यस भूमिका सन्तति होइनन् । परिणामस्वरूप उनीहरूका नाम र भेषभूषा विदेशी उत्पत्ति दर्शाउँछन् । सावरकरले तर्क झिके, गैरहिन्दुहरूका मान्यताहरूले स्वाभाविक रूपमा यस राष्ट्रका प्रति इमानदार हुनबाट उनीहरूलाई रोक्छ । उनले लेखे, ‘उनीहरूसँग यस कुरा बाहेक अन्य कुनै विकल्प हुन सक्तैन जसको लागि उनीहरू आफ्नो पूण्यभूमिलाई आफ्नो पितृभूमिभन्दा माथि राखून् । यो एकदमै नैसर्गिक कुरा हो । हामी उनीहरूको निन्दा गर्दैनौं र यसमा हामीलाई रोएर कोकोहोलो मच्चाउनु छैन । हामी मात्र तथ्य भनिरहेका छौं ।’
हिन्दूको परिभाषा: मानव आत्माको महान आशा
गोलवलकर हिन्दुलाई परिभाषित गर्नु एक चुनौती हो भन्ने कुरालाई राम्रोसँग बुझ्दथे । ‘बन्च अफ थट्स’ (विचार गुच्छा) मा गोलवलकरले लेखे, ‘सबै पन्थ, विभिन्न जातिहरूलाई परिभाषित गर्न सकिन्छ । तर हिन्दू शब्दलाई होइन, किनकि यो सर्वग्राही हो ।’ यसपछि उनी शब्दलाई परिभाषित गर्ने प्रयास गर्दछन् । गोलवलकरले आफ्नो परिभाषालाई एक विचारमा संकुचित गरे । ‘असङ्ख्य मानवतामा केवल हिन्दू नै हुन् जो अन्तिम सत्यसँग एकाकारको लागि पुनर्जन्मको सिद्धान्तलाई मान्छन् र त्यो मानव आत्माका लागि महान आशा हो ।’ सत्य त के हो भने, यो सबै तरिकाले अपर्याप्त परिभाषा हो, किनकि यो चार्वाक जस्तो भारतीय दर्शनशास्त्रको भौतिकवादी परम्परा र विज्ञानसम्मत विचार राख्ने आधुनिक भारतीयलाई हिन्दु धर्मबाट बाहिर गरिदिन्छ ।
क्रमशः गोलवलकर पनि बहिष्कार आधारित परिभाषामा नै सीमित हुन पुग्दछन् । उनको भनाइ छ, भारतीय शब्द आदिम समयबाट हामीसँग जोडिएको छ र यो हिन्दु समाजका लागि अपर्याप्त छ । किनकि यसलाई आमरूपमा अंग्रेजी शब्द इण्डियनको अनुवादको रूपमा प्रयोग गरिन्छ, जसमा मुस्लिम, इसाई, पारसी र अन्य समुदाय पनि सामेल छन् । ‘यसकारण यो शब्द हाम्रो खास समाजलाई भन्ने समयमा हामीलाई भ्रमित गर्न सक्छ ।’ उनले तर्क दिए, ‘केवल हिन्दू नै त्यो शब्द हो जो हाम्रो विचारलाई सम्पूर्णतामा दर्शाउँछ ।’
गरिब आवश्यक, महिला असमानता आवश्यक
आफ्ना लेखहरूमा गोलवलकरले पुराना हिन्दु ग्रन्थहरूबाट उत्पन्न संस्कृतिका कैयौं सवालहरूको बचाउ गरेका छन् । जसमा जाति व्यवस्थाको असमानता वा आधुनिक भारतमा महिलाहरूको पराधीनता सामेल छ । संघ आज पनि गोलवलकरको पूजा गर्दै उनका यी टिप्पणीहरूको खण्डन गर्दैन ।
यद्यपि गोलवलकरले अस्पृश्यता (छुवाछुत) का विरुद्ध कुरा गरेका छन् तर उनी यो जारी रहेको कुरालाई स्वीकार गर्दैनन् । भारतीय समाजलाई विदेशी प्रभावहरूको विरोध गर्नको लागि एक अन्तर्निहित ऊर्जा दिएको भनेर उनी वर्ण व्यवस्थाको बचाउ गर्छन् । यद्यपि उनले जातिको आधारमा भोट माग्ने कुराको निन्दा पनि गरे । उनले लेखे, ‘यी जातिमा आधारित विभाजनलाई राज्यहरूले गलत तरिकाले प्रयोग गरिरहेको छ । अलगाववादी चेतना भयंकर रूपले बढिरहेको छ र हाम्रा मानिसलाई हरिजन, अनुसूचित जाति, अनुसूचित जनजाति र अन्य नाम दिएर द्वन्द्वलाई बढावा दिइरहेका छन् तथा उनीहरूलाई विशेष प्रकारको हक दिएर दास तुल्याउनु धनको लोभ देखाइरहेको छ ।’
यसको विरुद्ध उनको सामुन्ने एक समाधान थियो, जसलाई आरएसएस आज पनि सही मान्छ । तर चुनावी कारणहरूले मौन रहन्छ । गोलवलकरले लेखे, ‘जातिका आधारमा विशेषाधिकार, अलगअलग जातिहरूमा बाँडिरहने कुराले निहित स्वार्थहरूलाई बल दिन्छ ।’ ‘यसले समाजका बाँकी हिस्साहरूका साथ उनीहरूको एकीकरणलाई क्षति हुन्छ ।’ यो तर्क दिँदै ‘प्रत्येक जातिमा आवश्यकता भएका र गरिब मानिस छन् ।’ उनले सल्लाह दिए, ‘विशेषाधिकार आर्थिक स्थितिका आधारमा दिनुपर्छ ।’ यस प्रकारको समाधानले अन्य मानिसहरूभित्र व्याप्त जलन कम हुन्छ र मामिला सहज हुन्छ तथा ती मानिस तथाकथित हरिजन भनिएका मानिस विशेषाधिकारहरूको आनन्दभोग गरिरहेको बुझ्ने छैनन् ।’
गोलवलकरको जातिमाथि अत्याचारहरूको विश्लेषण आजभोलिका सामाजिक सञ्जालका दक्षिणपन्थी लडाकुका तर्कभन्दा अलग छैनन् । उनको मान्यता के थियो भने यस मुद्दालाई धेरै नै अतिरञ्जित गरिँदैछ । उनले लेखे, ‘पछिल्ला केही वर्षहरूमा अचानक, हिन्दुहरूद्वारा हरिजनहरूमाथि आक्रमणका रिपोर्ट समाचारपत्रहरूमा देखिन थालेका छन् । मलाई पक्का विश्वास छ, यस प्रकारका रिपोर्टिङको उद्देश्य केही अर्थोक नै हो । कति पटक त खबर नै गलत हुन्छन् ।’ उनले अगाडि भने, ‘मलाई शंका छ, यो कुनै बाहिरी षडयन्त्र हो, अन्यथा यस्ता कुनै कारण छैनन् जसले गर्दा यस्ता किसिमका समाचारहरूलाई यति धेरै प्राथमिकताले प्रकाशित गरियोस् ।’
अङ्गप्रदर्शन, ‘ममी‘ र ‘सेक्सवाद‘
महिलाहरूको बारेमा उनको विचार के थियो भने उनीहरू आधुनिकताका कारण भ्रमजालमा, जञ्जालमा फँसिरहेका छन् । एक श्लोकको उदाहरण दिँदै उनी भन्छन्, ‘एक पवित्र महिला आफ्नो शरीरलाई ढाक्छिन् ।’ उनी दुःखी हुन्छन्, ‘आधुनिक’ महिलाहरू के मान्छन् भने ‘धेरै भन्दा धेरै मानिसहरूका अगाडि अङ्गप्रदर्शन गर्नु आधुनिकता हो । कति तल गिरेको कुरा हो यो ।’ (उनले एक विचित्र तर्क पनि दिए । उनले आधुनिक भारतीयहरूले पश्चिमको नक्कल गर्दै आमालाई मम्मी भन्ने कुराको मजाक उडाउँदै भने, ‘के मानिसहरूलाई यति पनि थाहा छैन, मम्मी शब्दको अर्थ के हो । मिस्रमा ठूला ठूला चिहान छन् जहाँ, मुर्दा राजाहरूलाई राखिन्छ । ती चिहानहरूलाई पिरामिड भन्छन् । पिरामिडमा राखिएका लासहरूलाई मम्मी भनिन्छ र यहाँ हामी आफ्नी जीवित, प्रेमकी प्रतिमूर्ति आमाहरूलाई मम्मी भनिरहेका छौं ।’)
‘शिक्षित आमाहरू’लाई ‘फेशनेबल क्लबहरूको गफसफमा समय बर्बाद गरेको भनेर उनी कराए । उनले यस्ता आमाहरूका बारेमा भने, ‘म उनीहरूलाई एक आवश्यक जन्तर दिन्छु । उनीहरूका छिमेकमा बस्ने साना बच्चा जो विद्यालय जाँदैनन् आफ्ना घरहरू वा अन्य सुविधाजनक स्थानहरूमा सँगै राखेर खेल, कथाहरू र गीत इत्यादिमा उनी आफूलाई व्यस्त राख्न सक्छिन् ।’
समानताको माग उनलाई मजाक लाग्दथ्यो । उनी लेख्छन्, ‘अब महिलाहरूका लागि समानता’ र ‘पुरुषबाट स्वतन्त्रता’को हल्ला पिटिन थालेको छ । अलगअलग पदहरूमा लैंगिक आधारमा आरक्षणको माग गरिँदैछ र यस प्रकार जातिवाद, सम्प्रदायवाद, भाषावादको सूचीमा एक अर्को शब्द जोडिएको छ ‘सेक्सवाद’ ।
शिरमा विराजमान कुविचार
भारतमा बस्ने गैरहिन्दुहरूको सवालमा, गोलवलकरले सावरकरका ती विचारहरूलाई प्रभावकारी तरिकाले कसरी दोहोर्याए भने उनको धर्मले उनलाई राष्ट्रको लागि आवश्यक इमानदारीबाट रोकिरहेको छ । उनले महत्व दिएर सुझ्याए, ‘महत्वपूर्ण कुरा उनलाई याद छ, उनी यस माटोका सन्तति हुन् । केवल हामीले याद गर्नुले के फाइदा ? उनीहरूले पनि यस भावनाको मान राख्नुपर्दछ । हामी कति पनि खराब छैनौं भने, पूजापाठका तरिकाहरूका प्रकारले मानिस यहाँको हुनसक्दैन भन्न लागौं । हामीले ईश्वरलाई कुनै पनि नामबाट पुकार्नुले के हर्जा हुन्छ ।’ उनको माग छ, ‘जुन मानिसहरूले इस्लाम वा इसाई धर्म अपनाइसकेका छन्, उनीहरूको आदर्श के हो ? ती मानिस यस धरतीमा जन्मिएका हुन्, यसमा एकरत्ति सन्देह छैन तर के तिनले यहाँको नुनको सोझो गरेका छन् ? यस धरतीले उनीहरूलाई पालनपोषण गरेको कुरालाई उनीहरूले महसुस गरेका छन् ? के उनीहरू स्वयं आफूलाई यस भूमि र संस्कृतिका सन्तति मान्छन् र यसको सेवा गर्नु अहोभाग्य ठान्छन् ? के यसको सेवा गर्नलाई आफ्नो दायित्व मान्छन् ? होइन ! धर्म परिवर्तन गरे लगतै देशप्रतिको प्रेम र समपर्णको भावना पनि खरानी हुन्छ ।’
गैरहिन्दुहरूको देशप्रतिको इमानदारीमाथि सवाल उठाउनु उनीहरुलाई देशद्रोही भन्ने दिशामा पहिलो कदम थियो । गोलवलकरले ठोकुवा गरे, ‘देशभित्र कति धेरै मुस्लिम अड्डा छन भने यति धेरै साना पाकिस्तान छन् जहाँ देशको कानुनलाई संशोधन गरेर लागू गरिन्छ र उपद्रो गर्नेहरूलाई मनोमानी गर्न छुट हुन्छ ।’ विना साक्षी-प्रमाण उनको कथन छ, ‘यस्ता मुस्लिम बस्ती, क्षेत्र देशभित्र पाकिस्तान समर्थक तत्वहरूको सञ्जाल बनेका छन् ।’
सन् १९६३ मा उनलेे महाराष्ट्रको माले गाउँमा भएको एक दंगाको उदाहरण दिए । गोलवलकरले के दावा गरे भने यो घटना राति करीब नौ बजे भएको थियो र ‘भोलिपल्ट बिहान पाकिस्तान रेडियोले के प्रसारित गर्यो भने त्यस विशेष शहरमा मुसलमानहरुको ठूलो नरसंहार भयो ।’ यति कम समयमा पाकिस्तानलाई यस घटनाको बारेमा कसरी थाहा भयो ? त्यहाँ कुनै पाकिस्तान समर्थक महानुभाव रहेको थियो होला जो ट्रान्समिटरका साथ पाकिस्तानसँग लगातार सम्पर्कमा रहेको थियो होला ।’ यो विचित्र तर्क जसलाई उनी ‘एक मात्र सम्भावना मान्दथे,’ मार्फत उनी कुन निष्कर्षमा पुगे भने वास्तवमा हरेक ठाउँमा यस्ता मुस्लिम छन् जो ट्रान्समिटरबाट पाकिस्तानसँग लगातार सम्पर्कमा छन् । यिनीहरू केवल नागरिकको अधिकार मात्र भोगचलन गर्दैनन्, खास गरेर अल्पसंख्यकको रूपमा केही अतिरिक्त विशेषाधिकारहरूको आनन्दभोग पनि गर्दछन् ।’
यो त्यो समयमको तर्क र विश्लेषण थियो जसले हेडगेवारको संगठनात्मक संरचनाको निर्माण तथा त्यसलाई परिष्कृत गर्यो । संघभित्र गोलवलकरलाई जुन प्रकारको आभामण्डलमा राखिन्छ त्यसलाई सूक्ष्म तवरले हेर्दा उनका यी वक्तव्य बीसौं शताब्दीको सुरुमा माथिल्लो मध्यम वर्गका मराठी ब्राह्मण मर्दका गौरवान्वित पूर्वाग्रहरू र कट्टरपन्थी विचार लाग्छन् । गोलवलकरले आफ्ना यी पूर्वाग्रहहरूलाई राष्ट्रवाद र फासीवादको भाषाको चास्नीमा लपेटेर प्रस्तुत गरे । भयावह कुरा के छ भने, हास्यास्पद जस्ता लाग्ने यी विचार आज भारतीय राजनीति र संस्कृतिको शिरमा विराजमान छन् ।
(द कारवांको सन् २०१७ जुलाई अंकमा प्रकाशित)
हरतोष सिंह बल कारवांको पोलिटिकल एडिटर तथा वाटर्स क्लोज ओवर अस : ए जर्नी अलन्ग द नर्मदाका लेखक हुन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।