साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

म्याक्सिम गोर्कीको “आमा” शृङ्खला ५३

Chovar Blues Mobile Size

“छिटो गर, हिँडौं !” – आमाले रुमालले उसको मुख पुछिदिँदै भनिन् ।
“तपाई मेरो धन्दा नलिनोस् – मलाई दुखेको छैन ।” – उसले रगत थुक्दै भन्यो – “उसले मलाई तरबारको बिँडले हिर्कायो, मैले पनि उसलाई हुनसम्म मजा चखाएँ ! यति जोडले लौराले हिर्काएँ कि ऊ भयङ्कर तरिकाले चिच्याएको थियो – पर्खलास्, म तिमीहरुलाई मजा चखाउनेछु !” – उसले रगतमा लटपटिएको आफ्नो मुठी हल्लाउँदै भन्यो – “यो त केही पनि होइन, अगाडि गएर हेरौंला ! एकपलट हामी सबै मजदुरहरु ब्युँझिसकेपछि तिमीहरुलाई केही कुराले बचाउन सक्दैन !”
“छिटो हिँड !” – आमाले मसानको पर्खालमा भएको सानो ढोकातिर हतारिँदै भनिन् । उनलाई लाग्दै थियो, पर्खालबाहिर खुला खेतमा पुलिस उनीहरुलाई पर्खेर बसेको छ र उनीहरु निस्कनासाथ झम्टिनेछन् र खुब कुट्नोछन् । तर पर्खालनेर पुगेर जब उनले बिस्तारै ढोका खोलेर बाहिर चियाइन् – वरिपरिको निस्तब्धता र निर्जनताले उनमा साहस बढायो । वातावरण शरद् ऋतुको गोधुलीकालीन झिसमिसेले ढाकेका थियो ।
“आऊ, म तिमीलाई पट्टी बाँधिदिन्छु !” – आमाले भनिन् ।
“भैहाल्यो पर्दैन । मलाई के लाज र यो घाउको !” – केटाले भन्यो – “उसले मलाई हिर्कायो, मैले पनि उसलाई हिर्काएँ, यसमा लाज मान्ने कुरा के छ र ?”
आमाले छिटोछिटो घाउमा पट्टी बाँधिदिइन् । केटाको मुखमा रगत देखेर उनको हृदय संवेदनाले भरियो र जब उनले अनुभव गरिन्, उसको घाउ कति तातो र गाढा छ, त्रासले उनको पूरा शरीर काँप्यो । आमाले केटाको हात समातेर हतारहतार खेत पार गरिन् ।
“कमरेड, तपाई मलाई कता लैजाँदै हुनुहुन्छ ?” – केटाले आफ्नो मुखबाट पट्टी हाटाउँदै बडो ढिपी कस्दै भन्यो – “म एक्लै जान सक्छु … !”
तर आमाले अनुभव गरिन्, केटाको शरीर काँप्दै छ र खुट्टा लडखडाउँदै छन् । उसको स्वर कमजोर हुँदै गैरहेको थियो, तैपनि ऊ कुरा गर्दै थियो र उत्तरको प्रतीक्षा नगरिकन एकपछि अर्को प्रश्न सोध्दै गैरहेको थियो ।
“म लोहार हुँ, तपाई नि ? मेरो नाम इभान हो । एगोर इभानोभिचको अध्ययन मण्डलीमा हामी तीन जना थियौं । तीनै जना लोहारहरु, जम्मा गरेर एघार जना थियौं । हामी उहाँको असाध्यै आदर गथ्र्यौ । हुन त मलाई ईश्वरमाथि विश्वास छैन, तैपनि म प्रार्थना गर्छु – ईश्वरले उहाँको आत्मालाई शान्ति दिऊन् … ।”
एउटा सडकमा पुगेपछि आमाले भाडाको गाडा रोकिन् र इभानलाई गाडामा बसालिसकेपछि बिस्तारै कानमा भनिन् –
“केही नबोल्नू !” – यति भनेर बडो होशियारीसाथ उसको मुखमा पट्टी बाँधिदिइन् ।
उसले आफ्नो हात उठायो र मुखतिर लग्यो, फेरि बिस्तारै आफ्नो हात काखमा राख्यो । अब उसमा पट्टी फुकाल्ने शक्तिसम्म पनि थिएन । मुखमा पट्टी बाँधिए पनि ऊ बड्बडाउँदै थियो –
“भाइ हो , यो नठान्नू म कहिल्यै तिमीहरुको यो मार बिर्सनेछु … उहाँ आउनुभन्दा अगाािड तीतोभिच नामक एक विद्यार्थीले हामीलाई पढाउने गथ्र्यो… ऊ राजनीतिक अर्थशास्त्र पढाउँथ्यो … पछि समातियो … ।”
आमाले इभानको हात आफ्नो गर्धनमा राखिन् र उसको टाउको आफ्नो छातीमा टाँसिन् । केटो बेहोस भैसकेको थियो र चुप थियो । आमाले अत्तालिँदै चारैतिर हेरिन् । उनलाई डर लाग्दै थियो, कुनै कुनाबाट पुलिसहरु निस्कनेछन् र उनीहरुको नजिक आउनेछन्, अनि इभानको टाउकोमा पट्टी बाँधिएको देखेर उसलाई समातेर पिट्न थाल्नेछन् ।
“रक्सी लागेछ ? – गाडावालले आफ्नो ठाउँमा बसीबसी पछाडि पर्केर हे¥यो र सहानुभूतिपूर्वक मुस्कुरायो ।
“हो, जुत्ता बनाउने काम गर्छ । म भान्सेनीको काम गर्छु … ।”
“बडो कठिन जिन्दगी छ तिम्रो पनि … ।”
गाडावालले कोर्रा हललाउँदै फेरि पछाडि फर्केर हे¥यो ।
“सुन्यौ तिमीले, भर्खर मसानमा गजबको घम्साघम्सी भएछ नि !–एक ाजना राजनीतिक व्यक्तिलाई गाड्न गउका रहेछन् – त्यही के, जो ठूलाबडा हाकिमहरुका विरोधी हुन्छन् – के हो झगडा छ भन्छन् यिनीहरुबीच । भन्छन्, उसको अन्त्यष्टिक्रिया गर्न आएका अरु सब मान्छे पनि उजस्तै थिए, उसैका साथीहरु थिए । खुब नारा लाउन थालेछन् । ‘सरकार मुर्दावाद ! जनताका लुटेराहरुको नाश होस् !’ पुलिसले पिट्न थालेछ । भन्छन् केही मानिसहरु त तरबारले काटिएका पनि छन् रे । तर पुलिसलाई खुब गोदेछन् … ।” – ऊ एकछिन चुप लाग्यो ।
“मुर्दालाई पनि यसरी सताउँछन् !” – उसले दुःखित हुँदै टाउको हल्लायो र बडो अनौठो स्वरमा भन्यो – “यिनीहरुले मुर्दालाई पनि ब्युँझाउन ाबेर लाउने छैनन् !”
सडकमा पत्थरहरुमा गाडा खड्खडाउँदा इभानको टाउको आमाको छातीमा ठोकिन्थ्यो । गाडावाल पछिल्तिर आफ्नो टाउको अलिकति घुमाउँदै बड्बडाइरहेको थियो –
“जनतामा हलचल मच्चिँदै छ – गडबडी बढ्दै छ । हिजो राती हाम्रो एक जना छिमेकीकहाँ राजनीतिक पुलिस आइपुगेको थियो । उनीहरु बिहानसम्म एकएक कुरा उल्टाइपल्टाइ खानतलासी लिँदै थिए र हिँड्दा ाएक जना लोहारलाई आफूसँग लिएर गए । मान्छेहरु भन्छन्, आधा रातमा उसलाई लगेर नदीमा डुबाइदिनेछन् । त्यो लोहार बडो भलादमी मान्छे थियो … ।”
“के नाम थियो उसको ?” – आमाले सोधिन् ।
“कसको ? त्यो लोहारको ? साभेली एभचेन्को हो । अझ कलिलै उमेरको छ, तर धेरै कुरा जान्दछ । लाग्छ, यहाँ मान्छेले जान्न सुन्न थाल्नु नै उसको अपराध हो । ऊ हामीकहाँ आएर सोध्ने गथ्र्यो – “तिमीहरु गाडावालहरु कस्तो जिन्दगी बिताउँदै छौ हँ ?” हामी भन्थ्यौं – “के जिन्दगी हुनु र, कुकुरको भन्दा पनि गएगुज्रेको छ !”
“लौ, यहीँ रोक्नोस् !” – आमाले भनिन् ।
एक्कासि गाडा थामिँदा इभानका आँखा खुले र ऊ पीडाले बिस्तारै चिच्यायो ।
“कस्तरी लागेछ त केटालाई !” – गाडावालले भन्यो – “धत्तेरी, यो भोद्काले के मात्र गर्दैन … ।”
इभान बडो कठिनाइपूर्वक भुइँमा टेक्दै चोकतिर लाग्यो । उसको पूरा शरीर लड्खडाउँदै थियो ।
“ठीक छ, म आफैं जान्छु ।” – ऊ भन्दै थियो ।
१३
सोफिया घर पुगिसकेकी थिइन् । दाँतले चुरोट च्याप्दै उनले आमालाई ढोका खोलिदिइन् । सोफिया निकै हडबडाएकी थिइन् ।
घाइते केटालाई कौचमा पल्टाएर उनले छिटोछिटो उसको टाउकामा बेरिएको पट्टी खोलिदिइन् र चुरोटको धुवाँ परेकाले आँखा चिम्लँदै एकपछि अर्को आदेशहरु दिन थालिन् ।
“इभान दानीलोभिच, उसलाई ल्याइपु¥याए ! नीलोभ्ना, तपाई थाक्नुभो ? डराउनु भो कि क्या हो ? लौ अब आराम गर्नोस् । निकोलाइ, नीलोभ्नालाई एक पेग रक्सी ल्याइदेऊ त !”
आमाको हृदयबाट आजको घटनाहरुको बोझ हटिसकेको थिएन । उनलाई सास फेर्न मुश्किल परिरहेको थियो र छातीमा चर्को वेदना अनुभव गर्दै थिइन् ।
“मेरो पीर नगर्नोस् ।” – उनले अस्पष्ट स्वरमा भनिन् । तर उनको नशानशाले एउटै चित्कार गर्दै थियो – कसैले उनलाई शान्त्वना देओस्, माया गरोस् र प्रेमपूर्वक उनका आवश्यकताहरुबारे सोधपुछ गरोस् ।
अर्को कोठाबाट निकोलाइ आयो, उसको हातमा पट्टी बाँधिएको थियो । ऊ सँगसँगै डाक्टर इभान दानीलोभिच पनि भित्र पस्यो । उसको जिङाग्रिङ्ग परेको कपाल दुम्सीको काँढाजस्तो ठाडठाडो परेको थियो । ऊ सिधा इभानतिर लाग्यो र उसलाई जाँच्दै भन्न थाल्यो –
“पानी ल्याउनोस् । धेरै पानी, अलिकति कपास र सफा कपडा !”
आमा भान्साकोठातिर लागिन् । तर निकोलाइले उनको हात समाएर खाने कोठातिर लैजाँदै बडो प्रेमपूर्वक भन्यो –
“यो काम तपाईको होइन, सोफियाले गर्नेछिन् । तपाईलाई कति हैरानी सहनुप¥यो त आज !”
उसको साहनुभूतिपूर्ण तीखो दृष्टिका अगाडि आमा आफूलाई वशमा रोक्न असमर्थ भइन् ।
“कस्तो भयङ्कर दृश्य त !” – उनले सुँक्कसुँक्क गर्दै भनिन् – “कति निष्ठुरतापूर्वक मान्छेहरुलाई हिर्काउँदै थिए, तरबारले काट्दै थिए !”
“हो मैले सबै देखेँ !” – निकोलाइले आमालाई रक्सीको गिलास दिँदै भन्यो । दुवैतिरका मान्छेहरु ापागल बनेका थिए । तर तपाई पीर नगर्नोस् । उनीहरु चौरसपट्टिबाट हान्दै थिए । लाग्छ, खालि एक जना मान्छे मात्र नराम्ररी घाइते प¥यो । मेरै आँखाअगाडि उसलाई हिर्काएका थिए र मैले उसलाई भीडबाट तानेर ल्याएँ … ।”
निकोलाइको कुरा सुनेर अलिक शान्त भइन् । कोठाको न्यानो वातावरण र प्रकाशले उनको हृदय अब निकै शान्त भइसकेको थियो । उनले बडो कृतज्ञतापूर्वक निकोलाइलाई हेरिन् ।
“तपाईलाई पनि हिर्काए ?” – आमाले सोधिन् ।
“होइन, आफ्नै दोषजस्तो लाग्छ । आफ्नै लापरवाहीले कता हो हात बज्रियो र अलिकति छाला उप्किएछ । लौ, अलिकति चिया पिउनोस् । बाहिर चिसो छ, तपाईले चाहिँ लुगा पनि राम्ररी लाउनुभएको छैन … ।”
आमाले चियाको कप टिप्न हात अगाडि बढाइन् र देखिन् – आफ्ना औंलामा लागेको रगत पनि सुकिसकेका छ । उनले झट्ट आफ्नो हात तानेर काखमा राखिन् । स्कर्ट पनि भिजेको थियो । उनका आँखीभौं तन्किए र आँखा फैलाउँदै आफ्नो औंलाहरुतिर हेरिरहिन् । उनको मुटु बेस्सरी काँप्दै थियो र टाउको घुम्दै थियो । आमाले मनमनै सोच्न थालिन् –
“पाभेललाई पनि यसरी नै हिर्काउन सक्छन् ।”
इभान दानीलोभिच कोठाभित्र पस्यो । उसले इस्टकोट लगाएको थियो र कमीजको बाहुला माथि सारेको थियो । उसले निकोलाइको मुक प्रश्नको जवाफमा ठूलठूलो स्वरले भन्न थाल्यो –
“मुखको घाउ त खास त्यति गहिरो छैन, तर खप्परको हाडचाहिँ भाँचिएको छ, त्यति साह्रो त होइन । फेरि केटो निकै मजबुत छ । हो, रगतचाहिँ निकै निस्किसकेको छ । अस्पताल पठाउने होइन उसलाई ?”
“किन र ? यहीँ बसोस् !” – निकोलाइले भन्यो ।
“आज त ठीकै छ । हुन सक्छ, भोलि पन सकूँला तर पर्सिदेखि चाहिँ ऊ अस्पतालैमा भैदिए मलाई सजिलो पथ्र्यो । बिरामीलाई घरघरमा गएर हेर्ने फुर्सद हुँदैन मलाई । आज मसानमा घटेको घटनाबारे एउटा लेख त लेख्छौ होला, होइन ?”
“लेखूँला !” – निकोलाइले जवाफ दियो ।
आमा चुपचाप भान्साकोठातिर लागिन् ।
“कता जान लाग्नुभयो, नीलोभ्ना ?” – निकोलाइले चिन्तित हुँदै सोध्यो – “पर्दैन जानु, सोफिया एक्लैले सबै कुरा भ्याइहाल्छिन् !”
आमाले निकोलाइतिर हेरिन् र काँप्दै अनौठो तरिकाले हाँसिन् ।
“जताततै रगतको दाग लागोछ … ।” – उनले भनिन् ।
आफ्नो कोठामा पुगेर लुगा फेर्दै उनले सोच्न थालिन् – कसरी यी मानिसहरु यति निश्चिन्त भएर यस्ता भयानक कुराहरु पनि हाँसीहाँसी सहन सक्दा रहेछन् । यस विचारले उनको उद्धिग्नता शान्त भयो र हृदयबाट त्रास हट्यो । आमा घाइते केटो राखिएको कोठामा आइन् । सोफिया केटाको बिछ्यौनामा झुकेर ऊसँग कुरा गर्दै थिइन् ।
“कमरेड, बेकारको कुरा नगर्नोस् !” – उनी भन्दै थिइन् ।
“मैले गर्दा तपाईहरुलाई दुःख हुन्छ ।” – उसले कमजोर स्वरमा जवाफ दियो ।
“लौ अब कुरा नगर्नोस् । चुप लागे तपाईलाई बढी फाइदा हुन्छ … ।”
आमा सोफियाको काँधमा हात राखेर उनको पछाडि उभिइन् र केटाको मलिन अनुहारतिर हेर्दै मुस्कुराइन् । उनले सोफियालाई बताइन्, कसरी गाडामा बसेर ऊ प्रलाप गर्दै थियो र कस्ता खतरनाक कुराहरु बड्बडाउँदै थियो, उनलाई कस्तो डर लागेको थियो । इभानका आँखा पीडाले चम्किन थाले । उसले लज्जित हुँदै भन्यो –

प्रतिक्रिया
Loading...