
बेलायतमा पुस्तकालय जाने पाठकहरूको संख्या आश्चर्यजनक रूपमा कमी आएको एउटा अध्ययनले देखाएको छ । तर कोभिड १९ रोगको महामारीका कारण यस्तो भएको चार्टर्ड इन्स्टिच्युट अफ पब्लिक फाइनान्स एन्ड अकाउन्टिबिलिटी (सिफा)ले गरेको अध्ययन निष्कर्ष जारी गरेको छ ।
पुस्तकालयमा जानेहरूको संख्या कोभिड १९ पहिला २१४.६ मिलियन थियो । सन् २०२१ को मार्चमा घटेर संख्या ५९.७ मिलियनमा झरेको हो । यसरी ७२% ले पुस्तकालय छिर्नेहरू घटेको हो । यसमा भने सरकारले जारी गरेका विभिन्न प्रतिबन्धले भूमिका खेलेको सिफाको धारणा छ ।
सन् २०२० मा कोभिडकै अवस्थामा पनि ५६% ले घटेको थियो । १६५.९ मिलियन पाठकहरू पुस्तकालय छिरेका थिए ।
यस अवधिमा भने अनलाइन पुस्तकालय छिर्नेहरूको संख्या भने स्वाभाविक रूपमा बढेको थियो । अघिल्लो वर्षको तुलनामा १८% ले अनलाइन पुस्तकालय भिजिट गर्नेहरू बढेका थिए । सो अवधिमा १५४.७ मिलियन पाठक अनलाइन पुस्तकालयमा छिरेका थिए ।
‘कागजी किताबबाट पाठकहरू विद्युतीय पुस्तकतिर बसाइँ सरेका हुन् कि होइनन् भन्ने अबका केही वर्षमा मात्र टुङ्गो लाग्छ, अहिले नै यसबारे निष्कर्ष निकाल्नु हतार हुनेछ,’ सिफाका प्रमुख कार्यकारी रब ह्वाइटम्यानले भने, ‘पुस्तकालय छिर्नेको संख्या ह्वात्तै घटेको र अनलाइन पुस्तकालय छिर्नेको केही बढेको कुरा कत्तिको स्थायी हो भन्ने कुरा बुझ्न अझै केही समय लाग्छ । र, यो तथ्याङ्कले भने अबको पुस्तकालयहरूले के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा पनि इङ्गित गर्नेछ ।’
पुस्तकालय शुल्कबाट हुने आम्दानी पनि यस अवधिमा निकै घटेको छ । ५ करोड ६६ लाख पाउन्डबाट घटेर २ करोड पाउन्डमा झरेको छ ।
बेलायतको पुस्तकालय तथा सूचना संघका प्रमुख कार्यकारी निक पूलले भने पुस्तकालयले भौतिक रूपमा दिनसक्ने विविध सुविधाहरूको दाँजोमा अनलाइन सुविधा निकै कम हुने भएकाले अहिले नै भौतिक पुस्तकालयको सन्दर्भ र महत्त्व कम नहुने बताएका छन् ।
‘पुस्तकालयहरूले समुदाय र सर्वसाधारणको जीवन बदल्न ठूलो भूमिका खेलेका छन्,’ पूलले भने, ‘महामारीका बेला पनि यी पुस्तकालयले सर्वसाधारणको तनाव मेट्न गरेको प्रयास साँच्चिकै लोभलाग्दो छ । यस्तोमा स्थानीय जनतालाई स्तरीय स्थानीय पुस्तकालय सेवाको महत्त्व अझ बढेको छ । स्थानीय निकायहरूले पुस्तकालयको सेवा अझ वृहद् रूपमा बढाउन आवश्यक छ ।’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

