युवराज घलेभाइ (सिक्किम)

मान्छेहरू मैले रङ फेर्छ
भनेर सम्बोधन गर्ने गर्छन्
हेर अचेल मैले भन्दा
मान्छेहरूले धेरै रङ फेर्ने गर्छन्
मान्छेहरुले रङ फेरेको देखेर
‘म’ नै छक्क पर्छु
छिनछिनमा रङ फेर्छन् ।

मान्छेहरूले फेर्ने
अब कुनै रङ नै बाँकी छैन
सबै सबै रङहरू फेरेर मान्छेहरूले
सबै रङको अस्तित्वमाथि
प्रश्नचिह्न लगाइसके
मैले रङ फेर्छ भनेर औंल्याउँदै
किन मान्छे समयको ऐनामा
आफ्नो पल प्रतिपल फेरिरहने
रङको वास्तविकतादेखि
बेखबर छन् ?

जीवनमा सधैं-सधैं रङ फेर्दाफेर्दै मान्छेहरू
रङहीन हुँदै गइरहेछन्
नीलो/ रातो/ कालो कोलाजमय
रङहरूको जुलुसले यी रङ फेर्ने
मान्छेहरूको विरुद्धमा विरोधाभास पोखिरहेछ ।

मेरो अस्तित्वलाई कहिले परिभाषाहरूमा
व्याख्या गर्दै –
– कहिले बिम्ब/ प्रतीकहरूमा बहस गर्दै
– कविताको कठघरामा उभ्याइन्छ
– मेरो आफ्नै रङ छ
– कहिले फेरिंदैन मेरो रङ
– मान्छेहरूको दृष्टिकोण फेरिएको हो
– स्वयं मान्छेहरू
– घरिघरि रङ बदल्न
– अभ्यस्त छन् ।

सावधान / होशियार
तपाईंको शहरमा पनि रङ बदल्ने
मान्छेहरू छन्
तपाईंलाई पनि
कतै धोका हुनसक्छ ।
*****************

गान्तोक, सिक्किम