म पछिल्लो समयदेखि केही साहित्यिक पुस्तकको यात्रामा बरालिएको थिएँ । यस यात्राको क्रममा म सूब सेनका केही कृतिहरू, रामकुमार पण्डित क्षेत्रीको कथासङ्ग्रह आधुनिक माधवी, महेशविक्रम शाहको भुईँखाट र अफ्रिकन ओमिगो, कृष्ण अविरलको करिया, रवीन्द्र समीरको एकलव्य दृष्टि, ऋषिराम भुसालको नूतन, नयनराज पाण्डेको जियरा हुँदै भर्खर वसन्त बस्नेतको महाभारासम्मका करिब एक दर्जनभन्दा बढी पुस्तकहरूको यात्रा पूरा गर्ने मिठो अवसर जुरेको थियो ।

यस यात्रको क्रममा म कथासँगै हिमालदेखि तराईका बस्ती-बस्ती छिरेको थिएँ । मेचीदेखि महाकालीसम्मका पहाडहरूमा फिरेको थिएँ । कैयौँपटक विदेशका ठुला सहरहरूमा डुलेको थिएँ । समाजका विभिन्न वर्ग र समुदायसँगको सुखदुःखदमा उनीहरूसँगै रमाएको थिएँ उनीहरूसँगै रोएको पनि थिएँ । कहिले क्रान्तिको झन्डा बोकेको थिएँ त कहिले शासकको डन्डा समेत भेटेको थिएँ ।

मेरो यो विशुद्ध साहित्यिक यात्रापछि ( कथा/उपन्यास ) केही विश्राम लिएर यस यात्राका क्रममा मैले पुस्तकमा देखेभेटेका केही कुराको सङ्क्षिप्त संस्मरण गर्न गइरहेको छु । यो कुनै पुस्तकको समीक्षा/समलोचना नभएर एउटा पाठकको दृष्टि/संस्मरण मात्र भएको कुरा बुझिदिनुहुन सबैमा अनुरोध गर्दछु ।

मेरा यस यात्राको सुरुवात प्रतिष्ठित लेखक/वरिष्ठ साहित्यकार, मेरा प्रेरक व्यक्तित्व तथा आदरणीय बुबा सूब सेनको निवासबाटै गरेको थिएँ । उहाँको साहित्यप्रतिको लगाव, सिर्जना र लेखनको कलम ८२ वर्षसम्मको उमेरसम्म पनि अझै रोकिएको छैन । उहाँका अहिलेसम्म प्रकाशित भएका विभिन्न विधाका करिब पाँच दर्जन कृतिहरूले नेपाली साहित्यिक र बौद्धिक जगत्‌को क्षितिज फराकिलो पारिरहेका छन् । मेरो पछिल्लोपटकको भेटमा पनि उहाँबाट मलाई साहित्य सिर्जनातर्फ अग्रसर रहन अभिप्रेरित गरिरहनुभएको थियो ।

नेपालको प्रशासनको क्षेत्रको उच्चतहको अनुभव समेत सङ्कलन गर्दै संविधानसभाको सदस्यसम्मको यात्रा पार गरिसक्नुभएका आदरणीय व्यक्तित्व सूब सेनले साहित्यका हरेक विधामा उत्तिकै सशक्त रूपमा कलम चलाउनुभएको छ । उहाँका थुप्रै उपन्यास, कथासङ्ग्रह, कवितासङ्ग्रह, निबन्धसङ्ग्रह, नाटक, संस्मरण लगायत इतिहास, राजनीति, संस्कृति, अनुसन्धानात्मक कृतिहरू निरन्तर प्रकाशन भइरहेका छन् ।

डोरबहादुर केसी

सूब सेनका धेरै कृतिहरू मैले अध्ययन गर्ने अवसर पाएको छु । ती सबै कृतिहरूको सम्झना अहिले गर्न सम्भव छैन तापनि लेखनको विशेषता हेर्दा उहाँको कृतिहरूमा राष्ट्रप्रतिको अगाध प्रेम, देशभक्तिपूर्ण अभिव्यक्ति (नेपालवादको मान्यता), समाजमा अन्याय र अत्याचार विरुद्धको आवाज, परिवर्तनप्रतिको तीव्र चेत रहेको पाएको छु । उहाँका कृतिमा आएका पात्रहरू समाजमा अन्याय र अत्यचारको विरुद्ध निरन्तर लडिरहेको पाइन्छन् । ती पात्रहरूमा नेपाली माटाको गन्ध भेटिन्छ । नेपाली मनको आवाज भेटिन्छ । साथै, बाल्यकालमा उहाँले भोगेको परिवेश र लामो राष्ट्र सेवाको क्रममा देखेभोगेका अनुभवहरूको यथार्थ झझल्को उहाँको लेखनमा प्रस्ट देखिन्छ ।

सूब सेनका प्रकाशित सातओटा उपन्यासमध्ये यसपटक मेरो यात्राको बाटामै परेको शिखर उपन्यासले मलाई मेरो जन्मस्थल गुल्मी पुरकोटको वनपाखा (टोप्रेरे), रिडी आसपासको परिवेशको याद दिलाइदिएको छ । गुल्मेली लवजको एकपटक पुनरावृत्ति गराइदिएको छ । यस उपन्यासले नेपालको एक कालखण्डको समाज र शासन व्यवस्थाको स्पष्ट झझल्को समेत उपन्यासले मलाई गराइदिएको छ । २०४५ सालमा पहिलोपटक प्रकाशन भएको शिखर उपन्यासको २०७८ सालमा दोस्रो संस्करण समेत आएको छ । यसै यात्राको क्रममा मैले नेपाली साहित्य आकाशका चम्किलो तारा एवं युवा स्रष्टा श्री रामकुमार पण्डित क्षेत्रीको आधुनिक माधवी कथासङ्ग्रहलाई पनि भेटेको छु । चौधओटा कथाहरू समावेश भएको आधुनिक माधवीका हरेक कथाहरू पठनीय र सन्देशमुलक रहेछन् । कथामा समाजमा गुप्त रूपमा रहेर विसङ्गतिको जड बनेका पात्रहरूलाई कथाकारले पात्रका रूपमा खडा गरेर उनीहरूको मुकुन्डो खोलिदिएका रहेछन् । समाजमा लुकेर बसेका यस्ता कुपात्रहरूलाई विभिन्न रूपमा कथाकारले दण्डित समेत गरेको मैले भेटेँ । उता, समाजका असल र कर्मयोगी पात्रहरूलाई प्रेरणाको संवाहक समेत बनाएर समाजमा उभ्याएका रहेछन् । जेहोस्, कथाकारले कथाको माध्यमबाट समाजलाई सत्कर्मतर्फ अथिप्रेरित गर्न खोजेको मैले आभास पाएको छु । यस खण्डको मेरो यात्रा पनि निकै रोमाञ्चक र फलदायी भएको थियो ।

आधुनिक माधवी पछि मेरो यात्रा नयनराज पाण्डेको जियरातर्फ मोडिएको थियो । जियरा मधेसको पृष्ठभूमिमा लेखिएका लामा कथाहरूको सङ्ग्रह रहेछ । यस खण्डको यात्राले मलाई मधेसका अत्यन्त निम्न वर्गका झुपडीभित्रको जीवनभोगाइ देख्ने अवसर जुराइदिएको थियो । मधेसका गरिब जनतामाथि भएको उपेक्षाको विरुद्धमा कथाकारले सशक्त आवाज उठाएको महसुस मलाई भएको छ । नयनराज पाण्डेको कथालेखनको छुट्टै खालको प्रयोगको स्वाद समेत जियरासँगै मधेस झर्दा मैले चाखेको छु । लेखक मधेसको जनजीवनसँग यसरी कसरी नजिकए होलान् ? मेरो मनमा एक खालको कौतुहलता समेत उब्जिएको छ ।

जियरापछि मेरो यात्रा करिब एक सय वर्ष पुरानो दासदासी प्रथाको प्रसङ्गमा लेखिएको कृष्ण अविरलको उपन्यास करियासँग जोडिएको थियो । यो उपन्यासभित्रको यात्रापछि मान्छे-मान्छेबिच कोरिएको वर्गविभाजनको खाडलले स्वयं आफू पनि मान्छे हुनुको हीनताबोध मलाई गराएको थियो । एउटा मान्छेले आफ्नो आवश्यकता र सुख प्राप्तिको खातिर अर्को आफूजस्तै मान्छेको आत्म र शरीरमाथि कतिसम्म निर्लज्ज उपभोग गर्न सक्छ ? म आफैँभित्र एउटा प्रश्नचिह्न समेत खडा गराएको थियो ।

मेरो यस यात्रामा महेशविक्रम शाहका दुई कथासङ्ग्रहहरू पनि मूलबाटोमा नै परेका थिएँ । भिन्न-भिन्न परिवेशमा लेखिएका उनका कथा पनि पठनीय र उत्कृष्ट लाग्यो । कथाका पात्रसँगै कहिले म थाक्पासँगै च्पाङ्ग्रा चराउन मुस्ताङ उक्ले त कहिले तराईमा हुने डुबान तथा शीतलहरको राहत थाप्न निरीह बन्दै मधेस झरेँ । त्यस्तै, कहिले म कथासँगै अफ्रिकी मुलुक पुगेँ त कहिले न्युयोर्कको म्यानहटन सहरमा । कथाले विविध परिवेश र पात्र समेटेको भए पनि महेशविक्रम शाहका कथाहरू पनि अधिकांश मधेस केन्द्रित भएको पाएँ । त्यसकारण यसपटकको मेरो यात्रा पनि मधेसी जनताले भोग्नुपरेको गरिबी र पछ्यौटेपनमा बढी केन्द्रित रह्यो ।

लघुकथा विधाका एक सशक्त हस्ताक्षर मानिएका अग्रणी तथा प्रतिष्ठित साहित्यकार रवीन्द्र समीरको लघुकथा एकलव्य दृष्टिले मेरो यात्राको बिसौनीमा यात्राको प्यास मेटाउने र थप ऊर्जा नवीकरण गर्ने काम गरेको थियो । समाजमा लुकेका विसङ्गति विशेषतः स्वास्थ्य क्षेत्रका विसङ्गतिका छिद्रहरूमा यस लघुकथाले चोटिलो प्रहार गर्न सफल भएको मैले पाएँ ।

उपन्यासको पाण्डुलिपि पाएर भूमिकालेखनको सौभाग्य समेत जुटेको ऋषिराम भुसालको नूतन उपन्यास पनि प्रकाशन भएर आएपछि पुनः एक दृष्टि लगाउन सकियो । नूतनको पैदलमार्ग निर्माणको क्रममा एक इँटा भए पनि थप्ने अवसर जुरेको ठाउँको यात्रा दौडिएर हिँड्न पाउँदा आनन्दको अनुभूति समेत भयो । नूतनको यो द्रुत र रमाइलो यात्रासँगै मदाने लेकबाट निस्कने बाङ्गग्रा खोलाको चिसो पानी पिएर उपन्यास कस्तो भएर आउला भनेर लागेको प्यास समेत मेटियो । यस खण्डको मेरो यो छोटो यात्रामा एक सङ्घर्षशील नारी नूतनलाई पुनः एकपटक भेटेर थप उत्साहित भई अगाडिको यात्रा तय गरियो ।

अन्त्यमा, मेरो यात्रा वसन्त बस्नेतको महाभारा उपन्यासमा केन्द्रित भएको थियो । प्रेम, धर्म र राजनीतिको त्रिकोणत्मक सङ्गम र द्वन्द्वमा रचेको महाभारा उपन्यास पूर्वी पहाडी भेगको परिवेशमा लेखिएको उपन्यास रहेछ । डुक्पा र सुक्मतीबिचको रोचक प्रेम प्रसङ्ग, डुक्पाले बोल्ने ठट्यौली थेगो, उसको माओवादी द्वन्द्वसँगको आबद्धता, महाभारा क्षेत्रमा धर्मको नाममा घुस्न खोजेको राजनीति तथा हिंसा आदिको कथाले उपन्यासलाई सजीव, यथार्थपरक र पठनीय पनि बनाएको रहेछ । माओवादी द्वन्द्व उत्सर्गमा पुगेको समयमा पूर्वी पहाडी भेगको महाभारा क्षेत्रको यात्रा सकेर भर्खर फर्केको अनुभूति आफूलाई अहिले भएको छ ।

यस यात्राका सम्पूर्ण मेरा रोमाञ्चक सारथि सर्जकहरूलाई एकमुस्ट बधाइ दिँदै हार्दिक आभार समेत प्रकट गर्दछु ।