6. ताउरिस सहर (इराक) र यहाँको व्यापारी तथा अन्य बासिन्दाहरू

इराकमा पर्ने ताउरिस सहर एउटा विशाल र विद्वत सहरको रूपमा रहेको छ । इराकमा अन्य थुप्रै सहर र सैन्य किल्लाहरू रहेको भए पनि ताउरिस सबैभन्दा उत्कृष्ट र प्रख्यात सहरको रूपमा रहेको छ । यहाँका बासिन्दाहरू व्यापार र अन्य उत्पादनशील क्रियाकलापबाट जीविका चलाउँछन् । रेसम र बुनेका कपडा तथा अन्य उच्च मूल्यका कपडाहरू उत्पादित हुन्छन् । ताउरिस व्यापारयात्राको लागि उपयुक्त रहेको छ, जहाँ भारत, बौदास, मोसुल, क्रेमेसर तथा युरोपका विभिन्न स्थानबाट व्यापारीहरूको आवतजावत भइरहन्छ । यहाँ मोति र अन्य बहुमूल्य पत्थरहरूको प्रचुर कारोबार हुन्छ । विदेशी व्यापारीहरू यहीँबाट उल्लेख्य सम्पत्ति आर्जन गर्ने गर्दछन् । उनीहरूमा नेस्टोरियन, अर्मेनियन, ज्याकोबाइट, जिअर्जियन, पर्सियन तथा मोहेमेतका अनुयायीहरू समेत रहेका छन् ।

हरेक सम्प्रदायका मानिसहरूमा अनौठो भाषिक बिशेषता रहेको छ । ताउरिस सहर अनेक आनन्ददायी बगैँचाहरूले घेरिएको छ । मोहेमेतका अनुयायीहरू फटाह र बेइमान चरित्रका छन् । उनीहरूको सिद्धान्त अनुसार अन्य धर्मका मानिसहरूबाट जे चोरेर वा खोसेर ल्याइन्छ, त्यो जायज हुन्छ । अर्थात् अन्य धर्म मान्ने मानिसमाथि उनीहरूले जे गरे पनि अपराध मानिँदैन । लुटको क्रममा जो जो ख्रीस्टियनहरूको हातबाट मर्छन्, उनीहरूलाई सहिद घोषणा गर्ने प्रचलन यिनीहरूको छ । सेरासिनहरू(सिरिया र अरबको बिचमा घुमन्ते जीवन बाँच्ने आदिवासीहरू)को लागि त्यस्ता नियमहरू सामान्य हुन् ।

जब उनीहरू मृत्युको बिन्दुमा पुग्छन्, एकजना धर्मगुरु आएर उक्त बिरामीले महोमेत भगवान्‌का प्रचारक हुन् भन्ने विश्वास गरे नगरेको बारे प्रश्न गर्छन् । यदि उनीहरूले जवाफमा ‘महोमेत इश्वरका दूत हुन् भन्ने विश्वास गरेको छु’ भनेमा उनीहरूको मुक्ति निश्चित मानिन्छ । अन्यथा मुक्ति नपाउने विश्वास गर्दछन् ।

ताउरिसबाट पर्सिया पुग्न 12 दिनसम्म यात्रा गर्नुपर्ने हुन्छ ।

७. पर्सिया

पर्सिया प्राचीनकालदेखि नै एक विशाल र विद्वत प्रान्तको रूपमा रहेको थियो । तर हाल यसको एक विशाल भाग तार्तारहरूले नष्ट गरेका छन् । पर्सियामा एक साबा नामक सहर छ, जहाँबाट तीन जना मागी (बाइबलमा वर्णित तीनजना बुद्धिमान राजाहरू) जिसस क्राइस्ट जन्मिनसाथ उनको पूजा गर्न बेथलेहम आएका थिए र उनीहरू मृत्युपछि पनि त्यही सहर(साबा)मै गाडिएका थिए । तीमध्ये एकको नाम बेल्थासर, अर्काको जास्पर र अर्काको मेल्कियर थियो । ती तीन मागीहरूको कारणले पनि उक्त सहर विशेष भएको हुनाले मार्कोले साबाको विशेष अध्ययन गरे । तर उनलाई प्राचीन समयमा साबामा ती तीनजना मागीहरू गाडिएको किंबदन्तीभन्दा बढी कसैले बताउन सकेन ।

साबाबाट तीन दिन हिँड्नुभयो भने तपाईं एउटा भव्य दरबार क्याला एटापेरिस्तान आइपुग्नुहुन्छ । क्याला एटापेरिस्तान अर्थात् अग्नीभक्तहरूको दरबार(The Castle of the Fire-worshippers) । यस दरबारमा बस्नेहरूले अग्नीको पूजा गर्दछन् । उक्त दरबारनिवासीहरू बताउँछन् कि- ‘प्राचीन समयमा त्यस देशका तीनजना राजाहरू एकजना भविष्यवक्ता (जिसस), जो भर्खरै जन्मेका थिए, को पूजा गर्न गएका थिए रे । साथै उनीहरूले उक्त भर्खर जन्मेका व्यक्ति भविष्यमा भगवान्, राजा वा एक भौतिकशास्त्री मध्ये के होलान् भन्नेबारे निश्चय गर्न आफ्नो साथमा तीन चिज: सुन, धूप र अत्तर लिएर गएका थिए । उनीहरूको विश्वास थियो कि यदि उक्त बालकको सामू उनीहरूले ती तीन चिजहरू प्रस्ताव गर्दा उसले सुन रोज्यो भने सांसारिक राजा, धूप रोज्यो भने इश्वर र अत्तर रोज्यो भने एक भौतिकशास्त्री बन्नेछ । यसरी उनीहरू भर्खर जन्मेका जिससका सामू उक्त तीन चिज लिएर गए । उनीहरूमध्ये सबैभन्दा कम उमेरका जो थिए, उनले उक्त चिजहरू बालक जिसससामु प्रस्ताव गरे, तब अनौठो भयो । उक्त बालक (जिसस) ले उही प्रस्तावक व्यक्तिकै जिउडाल र उमेर ग्रहण गरे । अब अर्का व्यक्तिले सोही तीन चिजहरू लिएर बालकसामु राखे । यसपटक पनि उक्त बालकले दोस्रो प्रस्तावककै उमेर र जिउडाल ग्रहण गरे । यसरी नै तेस्रो व्यक्तिले पनि सोही गरे, र बालकले पनि सोही बमोजिमको जिउडाल र उमेर ग्रहण गरे ।

यसपछि उनीहरूले एक अर्काको परीक्षणको नतिजा एकआपसमा तुलना गरे र तीनैजनाले एकैचोटि पूजा गरे । तब उक्त बालक आफ्नै उमेर र जिउडालमा रहे ।

जब ती तीनजना राजा बिदा हुन खोजे, उक्त बालकले उनीहरूलाई एउटा बन्द बाकस दिए, जसलाई उनीहरूले आफैँसँग ल्याए । केही दिनसम्म उक्त बाकस खोलेनन् । तर केही दिनपछि उनीहरूले त्यस बाकसमा बालकले के दिएको रहेछ भन्ने उत्सुकताले उक्त बाकस खोले । यसभित्र एउटा ढुङ्गा थियो । उक्त ढुङ्गाको अभिप्राय थियो कि- ‘तिमीहरू त्यो बालकको भक्तिमा ढुङ्गाजस्तै अटल हुनू ।’

जब उनीहरूले बाकसभित्र केवल ढुङ्गोमात्र पाए, उनीहरू चकित भए । आफूलाई बालकले भ्रमित पारेको ठान्दै उनीहरूले उक्त ढुङ्गो एउटा खाल्टोमा फ्याँकिदिए । तब उक्त खाडलबाट भर्भराउँदो आगो निस्क्यो । जब उनीहरूले यो देखे आफूले गरेको कर्मप्रति कटु पश्चाताप गर्दै उक्त आगोमध्येको केही आगो कसैगरी घरसम्म ल्याए । पछि उक्त आगो एउटा चर्चमा स्थापित गरे । त्यसपछि उनीहरू उक्त आगोलाई इश्वर ठानेर पूजा गर्न थाले । यसरी उनीहरू आगोप्रति समर्पित हुन थाले । यदि उक्त आगो कहिल्यै निभ्न पुग्यो भने उनीहरू त्यही खाल्टो, जहाँ ढुङ्गो फालेका थिए, मा जान्छन् र त्यहीँबाट ल्याएर चर्चमा निभेको आगोलाई पुनर्जीवित गर्छन् । त्यस खाल्डोको आगो कहिल्यै निभ्दैन ।

यसप्रकार यस देशका मानिसहरू आगोको पूजा गर्दछन् । अनि नवजात जिससलाई भेट्न गएका राजामध्ये एकजना साबा सहरका राजा थिए, अर्का Dyava सहरका र अर्का त्यही दरबारका राजा थिए, जुन दरबारका निवासीहरू आजपर्यन्त अग्नीभक्त मानिन्छन् ।’

८. पर्सियाका आठवटा अधिराज्यहरू

पर्सिया आठवटा अधिराज्यहरू मिलेर बनेको छ । ती अधिराज्यहरू: १) क्यासिबिन अधिराज्य, २) कर्डिस्तान, ३) लोर, ४) सुओलिस्तान, ५) स्पान, ६) साइरास, ७) सोनकारा, र ८) टिमोचेन हुन् । टिमोचेन पर्सियाको उत्तरी भागमा छ भने टिमोचेन बाहेकका अरू सबै अधिराज्यहरू दक्षिणमा पर्छन् । घोडाको उत्कृष्ट प्रजातिहरूको उपलब्धताले पर्सियाको पृथकता देखाउँछ । यहाँबाट घोडाहरू बिक्रीको लागि भारतसम्म ल्याइन्छ । अरू ठाउँमा पाइने घोडाका प्रजातिभन्दा यहाँका घोडाहरू बढी वजन बोक्न सक्ने र धेरै दिनसम्म यात्रा गर्न सक्ने भएकाले यिनको मूल्य उच्च रहेको छ ।

विशेषत: व्यापारीहरू एक प्रान्तबाट अर्को प्रान्तसम्मको यात्रा गर्दा कुनै वनस्पति वा पानीको उपलब्धताशून्य विशाल मरुक्षेत्र पार गर्नुपर्ने हुँदा ती लामा यात्राहरूमा छिट्टै दूरी पार गर्न सक्ने र खाना धेरै खपत नगर्ने यिनै उँट, घोडा र गधा उपयोगी सिद्ध हुन्छन् । घोडा र गधाले भन्दा बढी वजन बोक्न सक्ने र कमै मूल्यमा पाइने भएकोले उँट अझ विशेष उपयोगी रहेको छ । व्यापारीहरू आफ्ना सामानहरू उक्त घोडा र उँटकै मद्दतबाट किसी, अर्मुस लगायत हिन्द सागरका अन्य तटहरूसम्म पुर्‍याउने गर्दछन्, जहाँबाट उनीहरूका मालवस्तु भारतीय व्यापारीले खरिद गर्दछन् । त्यहाँको अतिशय गर्मीका कारण उनीहरू धेरै समय त्यहाँ बिताउन सक्दैनन् र अनुकूल हावापानीसँगै यात्रा गरिरहन्छन् ।

पर्सियाका केही स्थानहरूमा मानिसहरूको लागि एकअर्काको हत्या गर्नु वा घाइते बनाउनु सामान्य हो । उनीहरूलाई उक्त ठाउँमा पूर्वी तार्तारहरूको डर नहुन्थ्यो भने त्यहाँ आवतजावत गर्ने सबै व्यापारी र यात्रीहरूलाई लुट्न र हत्या गर्न हच्किँदैनथे । तार्तरहरूबाट एउटा के नियम पनि स्थापित छ भने यदि बाटोमा हिँड्ने कुनै यात्रीलाई खतरा महसुस भयो भने उक्त यात्रीको निवेदनअनुसार केही विश्वासिला परिचालकले उक्त यात्रीहरूलाई अर्को प्रान्तमा नपुगुन्जेल यात्रामा अनिवार्य रूपमा सघाउनुपर्नेछ ।
। जसको बापत उनीहरू व्यापारीको साथमा रहेका पशुचौपाया र दूरीको हिसाबले तीन वा चार ग्रोट प्रत्येक एक पशुको हिसाबले पाउँछन् । (१ ग्रोट= ३ पेन्स । पेन्स= बेलायती पैसा)

सहरका व्यापारी एवम् कारीगरहरू सुन र रेसमका विभिन्न उत्पादनहरूमा आफूलाई व्यस्त गरिरहन्छन् । सुतीको प्रचुर उत्पादन हुनुका साथै गहुँ, जौँ, कोदो र अन्य विभिन्न प्रकारका अन्नबाली एवं अंगुर र अन्य फलफूलहरू पनि प्रचुर उत्पादित हुन्छन् । यहाँका मानिसहरू मदिरामा यतिधेरै आशक्त छन् कि कसैले यहाँ मदिरामाथि प्रतिबन्ध लगाउने नियम बनायो भने उनीहरू बौलाउनेछन् ।

पर्सियनहरूको धार्मिक आस्था महोमेतमाथि छ ।