“पर्सि तपाई पाभेललाई भेट्न जनुहुँदा उसलाई एउटा चिट दिनुहोला ।” – निकोलाइले आमाको नजिक गएर भन्यो । आमा चियाका कपहरु माझ्दै थिइन् । “कुरा के हो भने हामीले थाहा पाउनुपर्छ … ।”

“बुझेँ, बुझेँ !” – आमाले हतारहतार भनिन् – “हुन्छ, म उसलाई चिट दिऊँला … ।”

“लौ त,ा म पनि हिँड्छु !” – सासाले भनिन् र छिटोछिटो सबैसँग हात मिलाएर बाहिर निस्किनँ । उनी तन्किएर हिँड्दै थिइन् र अहिले उनको कदममा एक असाधारण दृढता थियो ।

सासा निस्केपछि सोफियाले आमाको काँधमा हात राखिन् र बसेको मेच हल्लाउँदै सोधिन् –
“निलोभ्ना, यदि तपाईकी यस्ती बुहारी भएकी भए माया गर्नुहुन्थ्यो ?” – सोफिया मुस्कुराउँदै थिइन् ।
“हे भगवान् ! एक दिन मात्र भए पनि मैले उनीहरु दुवै जनालाई सँगै देख्न पाए !” – आमाले निराश स्वरमा भनिन् । उनको घाँटी अठिठ्यो ।

“हो अलिकति खुसीले कसैलाई हानि हुँदैन … !” – निकोलाइले बडो कोमलतासाथ भन्यो – “तर अलिकति सुखले कसैलाई सन्तोष पनि हुँदैन, अनि जब कुनै कुरा धेरै हुन थाल्छ, तब त्यसको महत्व घट्न थाल्छ … ।”

सोफिया पियानोअगाडि बसिन् र एक उदासा धुन बजाउन थालिन् ।

१२
भोलिपल्ट बिहान सबेरै तीस–चालीस जना मान्छे अस्पतालको ढोकानेर उभिएर आफ्नो साथीको लास राखिएको कफन पर्खदै थिए । भीडमा केही जासुसहरु पनि थिए र बडो ध्यानपूर्वक उनीहरुका कुरा सुन्दै थिए । उनीहरुको अनुहार, चालढाल र शब्दहरु याद गर्दै थिए । सडकपारि कम्मरमा पिस्तोल भिरेका केही पुलिसहरु उभिएका थिए । जासुसहरुको यस धृष्टता र कुनै पनि बेला आफ्नो शक्ति प्रदर्शन गर्न तयार भएर उभिएको पुलिसको व्यङग्यपूर्ण मुस्कुराहट देखेर मानिसहरु रिसले मुरमुरिँदै थिए । केही मानिसहरु आफ्नो यो रिस ठट्टाले लुकाउने कोसिस गर्दै थिए । कोही चाहिँ गम्भीर अनुहार लिएर आफ्ना आँखा झुकाउँदै उभिएका थिए, मानौं उनीहरुले यो अपमानजनक व्यवहार देखेकै छैनन् । केही त्यस्ता पनि थिए, जो आफ्नो भावना लुकाउन असमर्थ थिए । त्यसैले पुलिस अफिसरहरुको हाँसो उडाउँदै थिए – “हेर, आफ्नो शब्दबाहेक अरु कुनै हतियार नभएका साधारण जनतासँग यो पुलिस कति तर्सन्छ ।” माथिबाट शरद् ऋतुको निर्मल आकाश पहेँला पातहरुले ढाकिएका सडकहरुतिर हेर्दै थियो । हावाले ती पातहरु उडाउँदै सडकमा उभिएका मानिसहरुको खुट्टानेर पु-याउँदै थियो ।

आमा भीडमा उभिएकी थिइन् ।
“धेरै कम मान्छे छन्, धेरै कम ! मजदुरहरु त पटक्कै देखिन्नन् ।” ती परिचित अनुहारहरुतिर हेरेर आमा दुःखित हुँदै सोधिरहेकी थिइन् ।

ढोका खुल्यो र मानिसहरु रातो फित्ताले बाँधिएको फूलले सजाइएको कफनको बिर्को लिएर निस्के । त्यहाँ पर्खेर बसेका मानिसहरुले खुट्टानेर पु¥याउँदै थियो ।

आमा भीडमा उभिएकी थिइन् ।
“धेरै कम मान्छे छन्, धेरै कम ! मजदुरहरु त पटक्कै देखिन्नन् ।” ती परिचित अनुहारहरुतिर हेरेर आमा दुःखित हुँदै सोधिरहेकी थिइन् ।

ढोका खुल्यो र मानिसहरु रातो फित्ताले बाँधिएको फूलले सजाइएको कफनको बिर्को लिएर निस्के । त्यहाँ पर्खेर बसेका मानिसहरुले तुरुन्तै आफ्नो टोपी फुकाले । यस्तो लाग्थ्यो, मानौं अकस्मात् कालाकाला चराहरुको एक बथान उनीहरुको टाउकामाथिबाट उडेर जाँदै छ । एक अग्लो पुलिस अफिसर, जसको रातो अनुहारमा कालो बाक्लो जुँगा थियो, छिटोछिटो भीडभित्र घुस्यो र उसको पछाडिपछाडि सिपाही आफ्नो फौजी बुट बजाउँदै, मान्छेहरुलाई धकेल्दै अगाडि बढे । अफिसरले कड्किँदै भन्यो –

“यो फिता हटाउनोस् !”
लोग्नेमान्छे, आइमाईहरु उसलाई घेरेर उभिएका थिए र हात हल्लाउँदै, एक–दोस्रालाई घचेट्दै उत्तेजित स्वरमा कुरा गर्दै थिए । आमाका आँखाअगाडि मानिसहरुका उत्तेजित अनुहारहरु घुम्दै थिए, मान्छेहरुका ओठ फडफडाउँदै थिए, एउटी आइमाईको गालामा आँसुका थोपाहरु झर्दै थिए ।

“दमननीति नाश होस् !” – कुनै युवकले चिल्लाएको आवाज सुनियो, तर उसको यो आवाज हल्लामा डुब्यो ।
आमाको हृदय दुःखित भयो । उनले आफूसँग उभिएको झुत्रेझाम्रे लुगा लगाएको एक युवकलाई सम्बोधन गर्दै भनिन् –
“हामीलाई आफू चाहेजस्तो अन्त्येष्टि संस्कारसम्म पनि गर्न दिँदैनन् ! कस्तो अन्याय त !”

मान्छेहरुको उत्तेजना बढ्दै गयो । उनीहरुको टाउकामाथि कफनको बिर्को डगमगाउँदै थियो, रातो फिता हावामा लहराइरहेको थियो र मान्छेहरुको टाउको र अनुहार छुँदै थियो र सुकेको रेसमको सरसराहट सुनिँदै थियो । यस्तो लाग्थ्यो, मानौं त्यो रेसमको फितासमेत उत्तेजित छ ।

आमालाई डर लाग्न थाल्यो । कहीँ गडबढ त हुने होइन ? उनी आफ्नावरिपरि उभिएका मानिसहरुलाई सम्बोधन गर्दै भन्दै थिइन् –

“ईश्वरले यिनीहरुलाई दण्ड दिनेछन् । यदि चाहन्छन् भने हटाउन् फिता भैगो बाबु हो, हामी नै सहिदिऊँ … !”
यस सोरगुलबीच कसैको चर्को स्वर सुनियो –

“हामी माग गर्छौ, हामीले आफ्नो त्यस साथीलाई चिहानसम्म बिदा गर्ने अधिकार पाउनुपर्छ, जसलाई तिमीहरुले सताईसताई मारेका छौ … ।”

कसैले चर्को सुरिलो स्वरमा गाएको सुनियो –
“बलिदान तिम्रो उच्च महान् … ”
“फिता हटाऊ ! याकभलेभ काटिदेऊ फिता !”

कसैले तरबार निकालेको आवाज सुनियो । आमाले आँखा बन्द गरिन् । उनी सोच्दै थिइन्, अब मान्छेहरुले हल्ला गर्न थाल्नेछन् । तर उनीहरु जिस्क्याइएका ब्वाँसाहरुजस्तो रिसले चुरमुरिँदै बडबडाइ मात्र रहेका थिए । उनीहरु चुपचाप टाउको झुकाएर अगाडि बढ्न थाले । उनीहरुको खुट्टाको आवाज वातावरणमा गुन्जिन थाल्यो ।

मान्छेहरुको टाउकामाथि कफनको बिर्को हल्लँदै थियो र त्यसमा सिँगारिएका कच्याककुचुक परिसकेको फूलको माला हावामा लहराउँदै थियो । भीडको छेउछेउमा घोडचढी सिपाहीहरु बडो शानले जाँदै थिए । आमा पेटीपेटी भएर जाँँदै थिइन्, त्यसैले त्यो भीडमा उनी शवपेटिका देख्न सक्दैनथिन् । हेर्दाहेर्दै भीड बढ्न थाल्यो र छिट्टै पूरा सडक मान्छेको भीडले खचाखच भरियो । घोडचढी पुलिसहरुका खैरा आकृतिहरु पछि पर्दै थिए र जुलुसको दुवैतिर पुलिसहरु तरबारको बिँडमा हात राखेर अगाडि बढ्दै थिए । आमा जताजतै जासुसहरुका चिरपरिचित आँखाहरु देख्दै थिइन् । उनीहरु बडो ध्यानपूर्वक मान्छेहरुका अनुहारमा हेर्दै थिए ।

दुई जना मानिसहरुले शोकपूर्ण मीठो आवाज गाउन सुरु गरे –
“बिदा, साथी, बिदा …”

“गाउने जरुरत छैन ।” – कसैको चर्को स्वर सुनियो – “महानुभाव हो, हाम्रो जुलुस चुपचाप अगाडि बढ्नेछ !”
यो आवाज निकै काडा र रोबिलो थियो । शोकपूर्ण गीत बन्द भयो । अब मान्छेहरु सानो स्वरमा कुरा गर्दै थिए । सडकका ढुङ्गाहरुमा मानिसहरुका निर्जीव कदमहरुको एकनासे आवाज मात्र सुनिन्थ्यो । त्यो आवाज भीडबाट माथि उड्दै निर्मल आकाशमा गुन्जिन्थ्यो, मानौं टाढाबाट आउन थालेको आँधीबेहरीको पहिलो गर्जनले वातावरण काँप्दै छ । झन्झन् चर्किन थालेको हावाले सहरका कुडाकरकट र धुलो उडाएर बडो निष्ठूरतापूर्वक त्यस भीडमाथि बर्षाउँदै थियो । हावाको झोक्काले उनीहरुको कपाल र लुगाहरु फरफराउँदै थिए । आँखा खोल्नसम्म मुस्किल थियो । हावाका झोक्काहरुले उनीहरुको छाती र खुट्टाहरुमा हिर्काउँदै थिए … ।

त्यो अन्त्येष्टि जुलुस, जसमा न त पादरी नै थिए, न त शोकपूर्ण मर्मस्पर्शी गीत नै । ती विचारमग्न अनुहारहरु, ती खुम्चिएका आँखीभौंहरुले, ती सबै कुराले आमाको हृदय भयभीत तुल्याउँदै थिए । उनको दिमागमा फेरिफेरि एउटै विचार घुमिरहेको थियो र तिनै उदास शब्दहरु गुञ्जिरहेका थिए –

“सच्चाइका लागि सङ्घर्ष गर्न तिमीहरुकोा सङ्ख्या असाध्यै थोरै छ … ।”

उनी टाउको निहुराएर हिँड्दै थिइन् र उनलार्य यस्तो लाग्दै थियो, मानौं उनी एगोरको अन्त्येष्टि गर्न होइन, अरु नै कुरा, कुनै अति अभ्यस्त, अति प्यारो र अति आवश्यक कुरासँग सधैंका लागि बिदा हुन गैरहेकी छिन् । आमा एक गहन खिन्नता अनुभव गर्दै थिइन् । एगोरको अन्त्येष्टिक्रिया गर्न गइरहेका यी व्यक्तिहरुप्रति उनको हृदयमा एक मौन विरोधको भावना उर्लदै थियो ।
“एगोर ईश्वरमाथि विश्वास गर्दैनथे ।” – उनी सोच्दै थिइन् – “फेरि यिनीहरु पनि त ईश्वरमाथि विश्वास गर्दैनन् नि … ।”
उनी यसबारे अरु बढी सोच्न चाहँदैनथिन्, त्यसैले सुस्केरा हाल्दै यो गह्रौं बोझ आफ्नो हृदयबाट उतार्ने कोसिस गरिन् ।
“हे भगवान् ! हे ईसामसीह ! के यस्तो हुन सक्छ, मलाई पनि एगोरलाई जस्तै … ।”

उनीहरु मसानमा आइपुगे र एकछिनसम्म चिहानहरुबीचमा साँघुरा बाटोहरु हुँदै एक खुल्ला ठाउँमा पुगे, जहाँ चारैतिर होचाहोचा क्रसहरु ठड्याइएका थिए । भीड चुपचाप चिहानअगाडि जम्मा भयो । चिहानहरुबीच उभिएका ती जीवित मानिसहरुको गम्भीर मौनता कुनै भयङ्कर घटनाको चेतावनीजस्तो लाग्थ्यो र त्यस घटनाको प्रतीक्षामा आमाको हृदय नै थामिएजस्तो भयो । क्रसहरुबीच हावा सुसेल्दै, गर्जदै दौडिरहेको थिए र कफनको बिर्कोमा किचमिच परेका फूलका मालाहरुसँग लडिबुडी खेलदै थियो … ।

पुलिसहरु आफ्नो अफिसरतिर हेर्दै टक्क उभिएका थिए । फिका अनुहार, बाक्ला आँखीभौं र लामो कपाल भएको एक नवयुवक चिहानको छेउमा गएर उभियो ।

“महानुभाव हो !” – पुलिस अफिसरले धोत्रे स्वरमा चिच्याउँदै भन्यो ।
“साथीहरु !” – युवकले चर्को सुरिलो स्वरमा भन्न सुरु ग¥यो ।
“पर्खनोस् !” – अफिसरले चिल्लाउँदै भन्यो – “यहाँ भाषण गर्न पाइन्न … ।”

“म दुई–चार शब्द मात्र बोल्न चाहन्छु !” – युवकले शान्त स्वरमा जवाफ दियो – “साथीहरु, आउनोस् हामी आफ्ना कामरेड र गुरुको चिहानअगाडि किरिया खाऔं – उहाँले हामीलाई जेजति पनि कुरा सिकाउनुभएको थियो, हामी त सबै कुरा कहिल्यै बिर्सनेछैनौं र हामीमध्ये हरेकले जिन्दगीभर त्यस शक्तिका लागि चिहान खन्दै जानेछ, जुन हाम्रो मातृभूमिका सारा कठिनाइहरुको मुख्य स्रोत हो – त्यही पापी शक्ति, जसले हाम्रो शोषण गर्दैछ – त्यही निरङ्कुश जारशाही शासन ।”
“गिरफ्तार गर यसलाई !” – पुलिस अफिसर चिल्लायो, तर उसको आवाज अरु थुप्रै आवाजहरुबीच बिलायो –
“जारशाही मुर्दावाद !”

भीडलाई धकेल्दै पुलिसहरु त्यस वक्तातर्फ बढे, तर चारैतिरबाट साथीहरुले घेरिएको त्यो युवक अझै पनि हात हल्लाउँदै चिच्याइरहेको थियो –

“स्वतन्त्रता जिन्दावाद !”
त्यस धक्काधक्कीमा परेर आमा एकातिर हुत्तिइन् । उनी भयभित हुँदै एउटा क्रसको सहारा लिएर उभिइन् । उनले आफ्ना आँखा बन्द गरिन् । उनी सोच्दै थिइन्, कुनै पनि बेला उनमाथि प्रहार पर्न सक्नेछ । कोलाहल कति चर्को थियो भने उनलाई आफ्ना कान फुट्लाजस्तो लाग्दै थियो । खुट्टामुनिको जमिन भासिएजस्तो लाग्यो, चर्को हावा र त्रासले गर्दा उनलाई सास फेर्नसम्म मुस्किल पर्दै थियो । पुलिसहरुको सिटीको आवाजले खतराको सङ्केत दिँदै थियो, पुलिस अफिसर कर्कस स्वरमा अर्डर गर्दै थियो, आइमाईहरु आतङ्कित हुँदै चिल्लाइरहेका थिए, काठको बार चरमराउँदै थियो र सुख्खा जमिनमा गह्रौं बुटले टेकेको आवाज सुनिँदै थियो । यी सबै कुरा कति लम्बिँदै थियो भने आमा आँखा बन्द गरेर त्यहाँ उभिइरहिन् । यातना अरु बढी खप्न असमर्थ भइन् ।

आमाले आँखा खोलेर हेरिन् । हात फैलाउँदै एक चिच्याहटसहित अघिल्तिर दौडिन् । केही पर चिहानहरुबीचको एउटा साँघुरो बाटामा पुलिसहरुले त्यस युवकलाई घेरेर उभिएका थिए र उसलाई छुटाउन अघि बढ्ने मान्छेहरुलाई पछाडि धकेल्दै थिए । नाङ्गा र बार लागेका काठहरु हतियारका रुपमा प्रयोग गरिँदै थिए । मान्छेहरु चिच्याउँदै, कराउँदै पागलजस्ता यताउता दौड्दै थिए । यी सबै दौडधुपबीच युवकको फुस्रो अनुहार देखा प¥यो र भीडको यस क्रूद्ध फुँकारलाई चिर्दै वातावरणमा युवकको दृढ स्वर गुञ्जियो –

“साथीहरु, बेकारमा आफ्नो शक्ति नगुमाउनोस् !”
मान्छेहरुमाथि युवकका यी शब्दहरुको प्रभाव प¥यो । उनीहरु आफ्ना डन्डा फाल्दै एकपछि अर्को गर्दै भाग्न थाले, तर आमा कुनै अदम्य शक्तिले प्रेरित भएर अगाडि बढ्दै थिइन् । उनले देखिन्, निकोलाइ उत्तेजित भीडलाई पछाडि धकेल्दै थियो । उसको टोपी पछाडितिर ढल्केको थियो र चिच्याउँदै थियो –

“पागल हुनुभो तपाईहरु ? शान्त हुनोस् … !”
आमालाई लाग्यो, उसको एउटा हातमा रगतको दाग लागेको छ ।
“निकोलाइ इभानोभिच ! हिँड्नोस् यहाँबाट !” – आमाले उसतिर हुत्तिँदै भनिन् – “तपाई कता ? त्यहाँ तपाईलाई हिर्काउनेछन् … ।”

कसैले आमाको काँध समात्यो । उनले फर्केर हेरिन् । उनको अगाडि बिनाटोपी कपाल जिङ्ग्रिङ परेकी सोफिया उभिएकी थिइन् । उनले एक जना युवकको हात समाएकी थिइन् । त्यो युविक अझ केटै थियो, उसको मुखभरि घाउ थियो र हातले रगत पुछ्दै थियो ।

“मलाई छाडिदिनोस् … मलाई केही भएको छैन … ।” – ऊ काँप्दै बडबडाइरहेको थियो ।
“लौ यो केटालार्य समाउनोस् । उसलाई हाम्रो घर पु¥याइदिनोस् ! यो रुमाल लिनोस् र उसलाई पट्टी बाँधिदिनोस् … !” – सोफियाले छिटोछिटो भनिन् र केटाको हात आमाको हातमा राखेर त्यहाँबाट दौडिन् – “छिटो जानोस्, नत्र पक्डिनुहुनेछ … !” – उनले पछिल्तिर फर्केर आमालाई चिच्याउँदै भनिन् ।

मसानमा जम्मा भएको त्यो भीड यताउता छरियो । पुलिसहरु आफ्नो गह्रौं बुट बजार्दै चिहानहरुबीचबाट दौड्दै थिए । उनीहरुका ओभरकोटहरु लत्रिन्थे, खुट्टा अल्झिन्थे र आफ्ना तरबारहरु चम्काउँदै गाली गर्थे । केटो उनीहरुतिर खाउँलाजस्तो गरेर हेर्दै थियो ।