बाइस सालको ग्रनिकालताका म कुबान प्रदेशतिर लागें र त्यहाँ कुलाकहरूको(धनी किसान) निम्ति गधा जोतिए जस्तै गरी जोतिएँ। यसैले गर्दा बाँचियो पनि। मेरा बाबु, आमा र एउटी बहिनी घरमा बसेका थिए र भोकभोकै मरेर गए। यसरी म एकलो बन्न पुर्गेँ। अ्ररू नाताकुटुम्बको कुरा गर्ने हो भने यस संसारमा मेरो आफन्त भन्नु कोही छैन। अँ त, एक वर्षपछि म कुबान प्रदेशबाट फर्केर आएँ र आफ्नो घरबार पनि बेचिदिएँ। आफू चाहिँ भोरोनेजतिर हिंडेँ। त्यहाँ शुरू शुरूमा मैले सिकर्मीको काम गरें, अनि एउटा कारखानामा भर्ना भएँ र कालीगढको काम सिकेँ। त्यसपछि छिटै नै मेरो बिहेबारी पनि भयो। मेरी स्वास्नी बालगृहमा हुर्केकी थिई। उ टुहुरी थिई। मैले स्वास्नी त राम्री नै पाएको हुँ। ज्यादै शान्त, सुशीला र हँसमुख थिई उ। सधैं अरूलाई खुशी पार्न उत्सुक रहन्थी । अनि चनाखी पनि थिई मभन्दा त कता हो कता बढी चलाक थिई। बचपनदेखि नै दुःख भनेको केहो भन्ने थाहा पाएकी थिई उसले। हुन सक्छ , यसले गर्दा पनि उसको स्वभावमा असर परेको होस्‌ ! सरासर हेर्दा त उसमा कुनै खास कुरो देखिंदैनथ्यो। तर म त उसलाई सरसर्ती माल् हेर्ने गर्दैनथे, बरू सोझै हेर्ने गर्थे । मेरो निम्ति त उसभन्दा बढी राम्री र हिसी परेकी स्वास्नी- मान्छे न त्यत्तिखेर अरू कोही थियो, न त पछि नै हुने छ।

कामबाट लस्त थाकेर घर गइन्थ्यो। कहिलेकाही त यति थाकिन्थ्यो कि मभित्रको भूत नै जाग्न र मुर्मुरिन थाल्थ्यो । तर ऊ कठोर शब्दको जवाफ कहिल्यै पनि कठोर शब्दले दिने गर्दिनथी । जहिले पनि ऊ शान्त रहन्थी, मायालु देखिन्थी , मलाई कुनै तकलीफ नहोस्‌ भन्ने चाहन्थी । आयस्ता थोरै भए तापनि मलाई सकभर मीठो खाना खुवाउने कोशिश गर्थी । उसलाई देख्नासाथ मन नै हलुका हुन्थ्यो र एक छिनपछि नै म उसलाई अँगालोमा कसेर भनिरहेको हुन्थें – “मेरी प्यारी इरीना , मैले तिमीसंग यति रूखो व्यवहार गरेँ । मलाई माफ गरिदेऊ ! बुझ्यौ, आज काममा ज्यादै लस्त भइयो ! ” अनि त हाम्रो बीचमा मेलमिलाप भइहाल्थ्यो र मेरो चित्त स्थिर भएर आउँथ्यो । भाइ , तिमीलाई थाहै होला, एउटा परिश्रमी मान्छेको लागि यसको मतलब के हुन्छ ? बिहान सबेरै जर्याकजुरूक बिछ्यौनाबाट उठ्छु, कारखाना जान्छु र जस्तोसुकै काम पनि मेरो हातमा पर्ने बित्तिकै ठीकठाक भैहाल्छ। बुद्धिमती स्वास्नीको रूपमा एक जना समझदार संगिनी पाउनुको माने यही नै त हुन्छ।

कहिलेकाहीं यस्तो पनि भैहाल्थ्यो कि तनखा पाइएको दिन साथीभाइहरूसंग बसेर केही पिइन्थ्यो पनि। कतिपल्ट त लड्खडाउँदै र ढलमलिंदै पति घर पुगिएको थियो। अरूले देख्दा कति डरलाग्दो देखिंदो हुँ म त्यस :बेला। यस्तो बेला-बखतमा त गल्लीगल्छेडोको त कुरै छोडौं, सडक समेत मेरो निम्ति साँगुरो लाग्थ्यो । त्यसताका म हट्ठाकट्ठा लक्का जवान थिएँ, काँचै खाइहालुँला जस्तो। खूब रक्सी धोक्न सक्थेँ र रक्सीको मात लागेको भए पनि कसैको आड तलिईकनै म आफ्नै गोडाले हिंडेर घर पुग्थेँ । तर कहिले कहिले त गाडीको वेग निकै बढी हुन्थ्यो र दुई खुट्टा टेकेर मात्रै नपुग्ने हुँदा चारै हातगोडाले टेकेर हिड्नु पर्ने हुन्थ्यो, अर्थात्‌ घिस्नेर-पस्नेर घर पुगिन्थ्यो। यस्तोमा पनि स्वास्नीको चर्को स्वर, ‘डाँट-फटकार , खैलाबैला सुन्नु पर्दैनथ्यो । मेरी इरीना माल हाँसि- दिन्थी। त्यो पनि यति होशियारीका साथ कि कतै म मात लागेको बेला जरंग रिसाइ नहालुँ! उ मेरो बूट पनि आफैं फुकालिदिन्थी र खुसखुसाउँदै भन्थी – “आन्द्रेइ, आज त तिमीले भित्तापट्टि सुत्नु पर्ला जस्तो छ, कतै नींदमा पलङबाट तल गुल्टनबाजी लगाउन नपरोस्‌ ! ” अनि म जौंको बोरा ढले जस्तै गरी पलङमा पल्टिन्थें र मेरो सामुन्नेका सबै चीजबीज चक्कराइरहेको देख्न थाल्थें। अनि म झपक्क निदाइ- हाल्थे र उसले बिस्तार-बिस्तार मेरो टाउको मुसारिरहेको अनुभव हुन्थ्यो। उ सुस्त सुस्त केही मायालु शब्द पनि गुन-गुनाइरहेकी हुन्थी। मेरो निम्ति नै उसकी, मन दुखित छ भन्ने पनि मलाई भान हुन्थ्यो… ।

बिहान उ मलाई काममा जानुभन्दा दुई घण्टा जति अगाडि नै ब्युझाइदिन्थी, ताकि म आफ्नो सामान्य होशमा गराउन सकूँ । रक्सीले मातेपछि म खानेकुरो मुखमा पनि हाल्दिनँ भन्ने जानेर उ अमिल्याइएको काँक्रो वा यस्तै केही खोजेर ल्याउँथी र रक्सीको मात छिटै गैहालोस्‌ भनेर सानो गिलासमा भोट्का टन्न भरेर मलाई दिँदै भन्थी ) आन्द्रेइ, यत्ति घुट्क्याइहाल ! बरू यस्तो कुरा फेरि नदोहोरियोस्‌ हँ, मेरा प्यारा | ” के त यस किसिमले गरिएको विश्वासलाई ठुकराउन हुन्छ र? म तुरून्तै गिलास स्वाट्ट रित्त्याइदिन्थे र मनमन स्वास्नीलाई धन्यवाद दिन्थे , उसतर्फ लाडिलो नजर लगाउँथे, म्वाँइ खान्थे र कामतर्फ डौडिहाल्थे । यदि मात चढेको बेला उसले मेरो विरोधमा एक शब्द पनि बोल्दी हो, चर्को स्वर झिक्ती हो वा हल्लाखल्ला मच्चाउँदी हो त म दोस्रो दिन पनि रक्सीले चर भएर मात्न घर आउथेँ हुला। धरोधर्म, यस्तै गर्थे हुँला । ईश्वर साक्षी छ, जुन परिवारमा स्वास्नी , बेकूफ हुन्छे त्यहाँ यस्त हुन्छ पनि मैले आफ्नै आँखाले कतिपल्ट यस्तो देखिसक्या छु र मलाई राम्रै थाहा छ यो कुरा!

अँ त, हाम्रा बालबच्चाहरू पनि जन्मिँदै गए। पहिलो छोरो जन्म्यो , त्यसपछि दुइटी छोरी . . .। त्यसपछि त आफ्ना साथीभाइहरूसंग मेरो सम्बन्ध नै टुट्यो। पूरै तलब म घर ल्याउँथें र स्वास्नीलाई सुम्पिदिन्थेँ । हाम्रो परिवार निकै बढिसकेको थियो र मैले पनि रक्सी घुड्क्याउने कुरा त सोच्न समेत छोडिसकेको थिएँ। बिदाको दिन एक गिलास बियर पिउँथे । बस्‌, यत्तिकै हो !

उन्तीस सालमा मोटर चलाउने मलाई सोख चढ्यो। मैले मोटर हाँक्न सिके र एउटा ट्रक चलाउन थालें। एक पल्ट यस बाटोमा लागेपछि मलाई फेरि कारखानामा फर्केर जाने मन भएन । ट्रक चलाउँदा नै म बढी रमाइलो अनुभव गर्न थालेँ। यसरी ठ्याम्मै दश वर्ष बितेको त मलाई अत्तोपत्तो नै भएन। समय आउँथ्यो, जान्थ्यो, मानौं यो सबै एउटा रमाइलो सपना थियो। तर दश वर्ष भनेको कम हो र; जुनसुकै अधर्बैंसे मान्छेलाई सोधी त हेर कसरी तिम्रो जीवन बित्यो, तिमीले चाल पायौ? उसले कत्ति पनि चाल पाएको
हुँदैन भन्ने पक्का हुने छ। बितेर गएको अतीत बेला त धुवाँले गुस्म ढाकिएको उ त्यो परको स्तपीमदान जस्तै हुन्छ। आज बिहान, जुन बेला म त्यसलाई पार गर्दै थिएँ, सब कुरा मेरो सामुन्ने प्रष्ट थिए। तर अहिले बीस किलोमीटर पार गरिएपछि धुवाँको एउटा पर्दा लागेको छ त्यहाँ। अबत म न रूख र झाडी छुट्याउन सक्छु, न त जोतिएको खेत र घाँसको मैदान नै !

ती दश वर्षे मैले दिनरात जोतिएर काम गरेँ। कमाई पनि राम्रै थियो र हाम्रो जीविका पनि अरूको भन्दा नराम्रो थिएन । बालबच्चाहरू पनि खुशी नै थिए। तीनै जना छोरा-छोरीहरू स्कूलको पढाइमा प्रवीण थिए र जाँचमा “उत्कृष्ट-तम ” अंक ल्याउँथे। जेठो छोरो आनातोली त गणितमा यति-सम्म प्रतिभाशाली निस्कियो . कि उसको नाउँ एउटा केन्द्रीय अखबारमा समेत छापियो। गणितमा उसको प्रतिभा यसरी किन चम्कियो? कहाँबाट उसले त्यो प्रतिभा पायो? यो सबै त म बताउन सक्तिनँ। तर भाइ, मेरो निम्ति यो ज्यादै खुशीको कुरा थियो र म उसको गर्व गर्थे, ज्यादै ठूलो गर्वले नाक फुलाउँदै ।

दश वर्षमा हामीले केही पैसा बचायौं र युद्ध छिड्नुअघि एउटा सानो-तिनो घर पनि खडा गरियो – दुई कोठा , भण्डार-कोठा र बरण्डा ! इरीनाले दुइटा बाख्य्रा पनि किनेर पाल्न थाली । यसभन्दा बढी हामीलाई के पो चाहिया थियो र? केटाकेटीहरूको निम्ति खीर पकाउने दूध, आत लाग्नको निम्ति छाना, आङ ढाक्ने लुगाफाटो र गोडामा जुत्ता! यी सबै कुरा थियो र सबै ठीकै थियो। केही गुनासो थियो त त्यो घर बनाइएको ठाउँको बारेमा नै थियो। मैले घर बनाउन भनेर जुन जग्गा पाएको थिएँ त्यो हवाइजहाज बनाउने कारखानाबाट ज्यादा टाढा थिएन। यदि मेरो कुटिया त्यहाँ नभएर अरू कतै हुँदो हो त शायद मेरो जिन्दगीले अर्कै मोड लिन्थ्यो होला… ।

यत्तिकैमा लडाइँ मच्चिइहाल्यो । दोस्रो दिन नै सैनिक सेवा-को निम्ति डाँकिएको पुर्जी पाइयो र तेस्रो दिन त… रेलको स्टेशन पछाडि छुटिहाल्यो। मेरो परिवारका चारै जनाले मलाई बिदा गरे। इरीना , आनातोली र दुबै छोरीहरू – ना- स्तेन्का र ओल्यूश्कासित म बिदाबारी भएँ! बालबच्चाहरूले धैर्यको प्रदर्शन गरे। अवश्य नै छोरीहरूको आराँखामा आँसु टल्पलाइरहेको देखिन्थ्यो ।