३० सेप्टेम्बर सन् २०१४ मा धेरै समाचार प्रकाशित भयो होला । ती समाचारमा सबैभन्दा कम ध्यान गएको र पढिएको समाचार चिनियाँ कवि सू लिझीको आत्महत्याको खबर हुनुपर्छ । सू लिझीले आत्महत्या नगरेको भए आजसम्म पनि यिनी को हुन् भन्ने कुरामा दुनियाँ अनभिज्ञ रहन्थ्यो । खुकुलो पेच-किलालाई कस्ने, स्क्रु-ड्राइभर हातमा लिएर १२ घन्टा काममा खटिने र इलेक्ट्रोनिक्सका पाटपूर्जासँग खेल्ने मान्छेलाई यो संसारले कहिले पो चिनेको छ र ?
यो समाजबाट बारम्बार प्रसिद्ध साहित्यकार, कवि तथा लेखकले आफूले आफैँलाई मार्ने घटना घटिरहेकै हो । नेपालमै पनि हास्यव्यङ्ग्य साहित्यका सम्राट भैरव अर्यालले यस्तै अकल्पनीय निर्णय लिएर हामीबाट टाढिए । विश्व सन्दर्भमा हेर्ने हो भने सिल्विया प्लाथ, व्लादिमीर मायाकोवसिकी, एरनेस्ट हेमिंग्वे, सीजर पावेस, युकियो मिसिमा, एन्ने सेक्सटन, गोरख पाण्डे आदि छन् । आजको यस आलेखमा मैले उनका कवितालाई नेपालीमा अनुवाद गरेर यहाँहरू समक्ष प्रस्तुत गर्ने जमर्को गरेको छु । एउटा कविता लेख्ने प्रयास गरिरहेको म र कविता लेखिरहेका मजस्ताका लागि यो विशुद्ध साहित्यिक सम्मान र सेवाको रुपमा यो कर्म गरेको छु ।
****
मजदुरको सबैभन्दा ठूलो समस्या नै सुत्ने कोठाको हुने गर्दछ । म आफैँ पनि १२ वर्ष युएईमा मजदुरी गर्दा एउटा सानो कोठामा ८-१० जनासम्म बस्नु पर्ने बाध्यता हुन्थ्यो । दुई तले खाटमा सुत्दा बिजुलीको स्वीचबटन जस्तै जब अफ हुन्छ निदाउनु पर्ने र अन भएपछि उठ्नु पर्ने बाध्यता हुन्थ्यो । १० जनाले रुम सेयर गर्दा आफ्नो मर्जीअनुसार न सुत्न पाइन्छ, न उठ्न । सायद यही समस्या शूले भोगेकाले यो कविताको जन्म भयो होला ।
भाडाको कोठा
दस वर्ग मिटरको कोठा
कोप्चेरो र चिसो
जहाँ घामका किरण प्रवेश गर्दैनन् वर्षभर
जहाँ म खान्छु, सुत्छु, हग्छु
र सोच्दछु।
खोक्छु र टाउको दुखाइ सहन्छु
बूढो हुन्छु, बिरामी हुन्छु
तर मर्न सक्दिनँ।
एउटा धमिलो पहेलो प्रकाश मुनि बस्छु
भावशून्य भएर मूर्खजस्तै हाँस्छु ।
यो ठाउँको चक्कर लगाउँछु
गुनगुनाउँछु
पढ्छु कविता लेख्छु ।
प्रत्येक चोटि जब म
जीर्ण झ्यालबाट नियाल्छु
एउटा मुर्दाले कफनको ढक्कन
खोलिरहेको हुन्छ ।
****
आत्महत्याको प्रमुख कारण डिप्रेसनलाई मानिन्छ । डिप्रेसनको लागि यो व्यवस्था र समाजिक मान्यताले ठूलो भूमिका खेलेको देखिन्छ । कवि शू लिझीको आत्महत्याको मुख्य कारण पुजीँवादी व्यवस्था हो । एउटा कम्युनिस्टको देशमा पुजीँवादी व्यवस्थाका कारण कविले आत्महत्या गर्नु जस्तो लज्जास्पद अरु के नै पो होला र ?
अन्तिम चिहान
यन्त्रले पनि बिदाइको हात हल्लाउँदै छ
बन्द ग्यारेजमा रोगी फलाम जमेर बसेको छ
मजदुर नेपथ्यमा छ
त्यो प्रेमजस्तै जसलाई श्रमिकले आफ्नो मनमा दबाएर राखेको हुन्छ
व्यक्त गर्ने अवसर मिल्दैन, उमङ्ग माटोमा मिल्छ ।
उनीहरूको पेट फलामले बनेको हुन्छ
तेजाबाले भरिएको- सल्फरिक र नाइट्रिक
उद्योगले उनीहरूको आँसु खोसिरहेको छ, झर्नु अगावै ।
समय चलिरहेको छ
तुषारोले निलिरहेको छ, मुहारलाई
दिनरात ओभरटाइम गर्दागर्दै
उनीहरूको उमेर उदासीले उत्पादनभन्दा गह्रौँ भएको छ
काम समापन हुनुपूर्व
चक्कर लागेर ढल्दै छन्
छाला काडिदै छ्न्
आल्मुनियमको तहतह उक्किएका छन्
केहीले सहिरहेका छन्
कोही रोगले ढलिसके
यी सबैको माझमा
उँग्दै मैले रखवाली गरिरहेको छु
युवास्थाको अन्तिम चिहानको ।
श्रमिकवर्गका लागि धेरै कविता लेखिए तर श्रमिक कवि कमै छन् । जति छ्न् उनीहरूलाई यो व्यवस्थाले जिउन दिएन भने अबको हाम्रो साहित्य प्लास्टिकको फूल बन्ने सम्भावना प्रवल छ ।
लडाइँ
मान्छेहरू भन्छन्
म एकदम कम बोल्छु
यो कुरालाई अस्वीकार गर्दिनँ
वास्तवमा
म बोलूँ वा नबोलूँ
यो समाजसँग
लडिरहने छु ।
***
शू लिझी बहुराष्ट्रिय कम्पनी फाक्सकन नामक इलेक्ट्रोनिक समान बनाउने फ्याक्ट्रीमा काम गर्थे । एकदिन अचानक उनी श्रमिक छात्रावासबाट हामफालेर प्राण त्याग गरे । चीनमा श्रमिकवर्गको मृत्यु कुनै नयाँ समाचार भने होइन । चीनको विकास र श्रमिक लाशमा नङ-मासुको सम्बन्ध छ भनेर जानकारहरू समीक्षा गर्छन् । मजदुरको लाशको वृद्धिले नै चीनको विकास भएको आलोचना पनि गर्छन् । यसको तथ्याङ्क हेर्ने हो भने गुगलले प्रष्ट देखाउँछ ।
चीनको फाक्सकन कम्पनीमा करिब १२ लाख श्रमिकले काम गर्दछ्न् । यस कम्पनीका मालिक टेरी गाउले आफ्ना मजदुरप्रति राखेको सोच कुरुप देखिन्छ । उनको बयानको धेरै आलोचनासमेत भएको थियो ।
एउटा बोर्ड मिटिङमा टेरी गाउले भनेका थिएँ, `१२ लाख मजदुर १२ लाख जनावरसरह हुन् । जनावरलाई सम्हाल्नु अत्यधिक टाउको दुखाइको काम हो । यो सत्य हो कि फक्सकनमा श्रमिकलाई पशुसरह व्यवहार गरिन्छ ।´
एउटा कम्पनीका मालिकको श्रमिकप्रति यस्तो घटिया सोच हुनु भनेको हाम्रो समाज व्यवस्था कति तल्लो स्तरमा छ भन्ने दृष्टान्त हो । यस कम्पनीमा श्रमिकको आत्महत्या बढ्न थालेपछि छात्रावासमा नेट लगाइएको थियो, जसको उद्देश्य आत्महत्याको प्रयास गर्नेहरू नेटमा गएर अल्झिऊन् भन्ने थियो । श्रमिकले किन आत्महत्या गरिरेहका छन् भन्ने कुरालाई नजरअन्दाज गरेर यो नेट लगाउने निर्णयले हाम्रा मालिकहरूको नाङ्गो मानसिकताको चित्रण गरेको छ ।
मेरो जिन्दगीको यात्रा अझै बाँकी छ
यस्तो अपेक्षा थिएन
मेरो जिन्दगीको यात्रा बाँकी नै छ
संकोच छ यात्रामा
आँधीबेहरी पहिले पनि आएको हो
तर विगतमा यति तेज र घातक तुफान आएका थिएनन्
लगातार संघर्ष गरिरहेको छु
तर सबै अर्थहीन छन्
म उभिन चाहन्छु
तर खुट्टाले साथ दिइरहेका छैनन्
पेटले साथ दिएको छैन
मेरा शरीरका सम्पूर्ण हड्डीले असहयोग गरिरहेछ
त्यसैले लम्पसार छु
यो अँध्यारोमा
सम्प्रेषण गरेको मेरा व्यथाका सन्देश
बारम्बार
र सुनिरहेछु
निराशाको प्रतिध्वनि ।
फक्सकन कम्पनीले शू लिज्जीको मृत्युपछि मिडियामा यो खबरको सूचना नदिइयोस् भनेर परिवारलाई धम्कीपूर्ण हस्ताक्षर गराएको थियो । यो खबर त्यतिबेला बाहिर आयो जब शू लिझीलाई लिएर एउटा डकुमेन्ट्री बनाइयो ।
शू लिझीको जीवनमा आधारित भएर एउटा डकुमेन्ट्री बनेको छ । आइरन मून ( Iron Moon) नामको सो वृत्तचित्र उनकै कविताको शीर्षक मैले फलामले बनेको जून निलिदिएँबाट जुराइएको हो ।
मैले फलामको जून निलिदिएँ
उनीहरू यसलाई किल्ला भन्छन्
मैले यो औद्योगिक ढलमा अवस्थित
बेरोजगारीको दस्ताबेजलाई निलिदिएँ
यन्त्रको अधिनमा बस्ने युवा, समयभन्दा अगावै मर्छन्
मैले होहल्ला र विवशतालाई निलिदिएँ
मैले पैदलमार्गको पुल र खिया लागेको जिन्दगीलाई निलिदिएँ
बस् अब सक्दिनँ अरु निल्न
जे निलेँ
मेरो घाँटीबाट फुटेर
मेरा पू्र्खाको धर्तीमा फैलँदै छ
एउटा लज्जास्पद कविताको अनुहारमा ।
***
शू लिज्जीका कवितामा काँडाले घोचेको जस्तो तीखो यथार्थ छ । उनका कविता विश्वसाहित्यको प्रचारबाजीबाट ओझेल छ । चमकधमकभन्दा बाहिर उनका सिर्जना ओझेलमा परेका छन् । उनका कविता अस्तित्वमा नभए पनि शूले आफ्ना सिर्जनमा संघर्षको चेतनालाई जीवित राखेका छन् ।
उनका कविता पाठ गर्दा लाग्छ, शूसँग एउटा गुनासो हुन्छ, शू तिमीले गलत गर्यौ, तिमीले आत्महत्या गर्न हुन्थेन्, कवितालाई यसरी अपुरो छाडनु हुन्थेन, संघर्षलाई यसरी अपूर्ण बनाउन हुन्थेन ।
फेरि पनि फुटेका केही कुरा जोड्न सकिन्छ । कविता कहिले फुट्दैनन्। प्रतिरोधको यो परम्परा सधैँ अगाडि बढिरहन्छ । कविले आत्महत्या गर्ला तर कविताले कहिले देहत्याग गर्दैन ।
चाहन्छु फेरि समुद्रसँग भेटूँ
आँसुको विशालतालाई
आधा बाँचेर हेर्ने मन छ
चाहन्छु थप एउटा पर्वत चढूँ
बोलाउन चाहन्छु त्यो आत्मालाई, जो कतै हराएको छ
छुन चाहन्छु त्यो आकाश
हल्का नीलिमालाई स्पर्श गर्न चाहन्छु
थाहा छ, केही गर्न सक्ने छैन
त्यसैले जाँदै छु
दुनियाँ छाडेर
जसले मेरा बारेमा सुनेका छन्
मेरो मृत्युले उनीहरूलाई दुःखी बनाउने छैन
तिमी पनि शोक नमनाउनू
म जब आएको थिएँ
सबै ठीक थियो
जब जाँदै छु, सबै ठीक छ ।
***
शी लिजीका कविताका विशेष गुण संरचना हो । उनका कवितामा कारखानाको विम्बलाई भरपूर प्रयोग गरिएको छ । कवि कहिले फलामजस्तै उभिएको देखिन्छ, कहिले पेच-किल्लाजस्तै धर्तीमा लड्छन्, निराशाजनक अवस्थामा पनि द्वन्द्वको आह्वान गर्छन्, बेरोजगारी, तलब र ओभरटाइमको आवाज बन्छ, युवाको समस्या र संघर्षसँग सरोकार राख्छ, नाफामुखी संस्था र व्यवस्थाको मारमा परेको श्रमिकवर्गको सामूहिक विद्रोहको चित्कार पाइन्छ ।
एउटा पेच-किल्ला भुइँमा खस्यो
एउटा पेच-किल्ला भुइँमा खस्यो
त्यो अँध्यारो रातको ओभरटाइममा
सिधै जलाशयमा डुबुल्की लगाउँदै
मधुरो आवाजमा
यसले कसैको ध्यान भङ्ग भएन
पछिल्लो पटक जस्तैः
जब यस्तै सुनसान रातमा
कसैले जमिनमा डुबुल्की मारेको थियो ।
***
सन् १८४३ मा कार्ल मार्क्सले लेखेका थिए- आधुनिक उद्योगमा कसरी आफ्नो काम र प्रकृतिबाट एकाअर्कासँग विच्छेद हुँदै जान्छन् । शू लिझीका कविताले यही विरक्तिसँग जुधेको पाइन्छ । यन्त्रको ध्वनि, आल्मुनियमको स्वाद, र ग्रीजको गन्धको सम्राज्यमा श्रमिकले गर्ने अनुभूति र निराशाका विम्ब उनका कवितामा बारम्बार दोहोरिएका छन् । यो द्वन्द्व शू लिज्जीका अन्तिम कवितामा आएर सकिन्छ । जहाँ उनले धेरै मार्मिक ढंगबाट आफ्नो दर्दनाक अवस्थासँग हार मानेको देखिन्छ । यो कविता `मेरो मृत्युशैयामा´ उनको सुसाइड नोट पनि मान्न सकिन्छ ।
उभिदा उभिदै उँग्न थालेँ
मेरो आँखाको सामुन्ने राखेको कागज धमिलो हुँदै छ
फलामको कलमले जसमा मैले खोजिरहेको छु –
मेहनतको शब्द
कारखाना, असेम्ब्ली लाइन, यन्त्र, ओभरटाइम, र तलब
यिनीहरूले सिकाएका हुन् मलाई
गुलाम बन्न
मलाई थाहा छैन
चीत्कार के हो ?
विद्रोह के हो ?
आरोप-प्रत्यारोप के हो ?
बस् मौन भएर सहन जानेको छु
जब पहिलो पटक म यहाँ आएँ
१० तारिखको आशामा
ढिलै भए पनि सही
मल्हमको लागि तलब पाउँथेँ
यो आशाको लागि मैले
किनाराकृतको शब्दहरूको साथ छोडिदिएँ
आराम अस्वीकार गरेँ
विसञ्चोलाई अस्वीकार गरेँ
बिदालाई अस्वीकार गरेँ
ढिलो गरी पुग्नु र छिटो फर्किनु अस्वीकार गरे
असेम्ब्ली लाइनमा फलाम जसरी उभिएर बसेँ
हातहरू वृक्षको हाँगाजस्तै उडान भराएर
कयौँ दिन
कयौँ रात
म बस् यसरी
उठी-उठी निदाएँ ।
***
उनका साथीहरूले उनको डायरी भेट्टाए, जसमा शू लिजीले आफ्ना कविताहरूलाई संग्रहित गरेर राखेका थिए । शूका साथीहरूद्वारा त्यसलाई अङ्ग्रेजीमा अनुवाद गराएर इन्टरनेटमा राखिदिए । इन्टरनेटले उनका कवितालाई लाखौं कविता प्रेमीको मन मस्तिष्कमा पुर्याउन सफल भयो । एकाएक एकदिन त्यहीँ इन्टरनेटमा खबर फैलियो कि एउटा मजदुरको मात्र होइन कविको पनि मृत्यु भयो । फक्सकनले विश्वप्रसिद्ध ब्रान्ड एप्पलका लागि ग्याजेटहरू पनि निर्माण गर्ने गर्थ्यो । त्यही मजदुरको हातले निर्माण गरेको एप्पलका ग्याजेटमा उसैको आत्महत्याको समाचार पढ्नु पर्ने यो जत्तिको कुरुप क्षण अरु के नै पो हुन्छ होला र ?
मेरो जिन्दगीको यात्रा अझै बाँकी छ
यस्तो अपेक्षा थिएन
मेरो जिन्दगीको यात्रा बाँकी नै छ
संकोच छ यात्रामा
आँधीबेहरी पहिले पनि आएको हो
तर विगतमा यति तेज र घातक तुफान आएका थिएनन्
लगातार संघर्ष गरिरहेको छु
तर सबै अर्थहीन छन्
म उभिन चाहन्छु
तर खुट्टाले साथ दिइरहेका छैनन्
पेटले साथ दिएको छैन
मेरा शरीरका सम्पूर्ण हड्डीले असहयोग गरिरहेछ
त्यसैले लम्पसार छु
यो अँध्यारोमा
सम्प्रेषण गरेको मेरा व्यथाका सन्देश
बारम्बार
र सुनिरहेछु
निराशाको प्रतिध्वनि ।
***
उनको आत्महत्याको ठीक एकवर्ष पहिले भविष्यवाणी शीर्षकमा एउटा कविता लेखेर आफ्ना हजुरबालाई स्मरण गरेका थिए । जसरी उनका हजुरबालाई जापानीद्वारा जलाएर मारियो, ठीक एक वर्षपछि उनी यो व्यापारिक व्यवस्थाको निराशाले आफैँलाई मारे ।
भविष्यवाणी जस्तो केही
गाउँका वृद्धले भन्छ्न्
म आफ्नो युवा हजुरबा जस्तो देखिन्छु
मलाई थाहा छैन
तर उनीहरूको कुरा बारम्बार सुनेर
विश्वास लाग्न थालेको छ
मेरा हजुरबासँग
मिल्छ मेरो, हाउभाउ, मेरो अनुहारको भाव, आनीबानी
यस्तो लाग्छ म र मेरा हजुरबा
एउटै गर्भका सन्तान हौँ
हजुरबालाई मान्छेहरू बाँसको खम्बा भनेर बोलाउँथे
मलाई कपडाको ह्याङ्गर भन्छन्
उनी अन्तर्मुखी थिए
म थोरै चाप्लुसीको कला जानेको मान्छे हुँ
उनी समस्यालाई सुल्झाउन जान्दथे
मलाई पूर्वाभास मनपर्छ
१९४३ को पतझरमा जापानी पशुले
उनीमाथि आक्रमण गरेर जिउँदै जलाए
त्यतिबेला उनी २३ वर्षका थिए
यो वर्ष म पनि २३ वर्षको भएँ ।
****
शी लिझीको आत्महत्याको खबर सुनेर उनका सहकर्मी ज्हौं कीजाओले लेखेको कविता । शू लिझीले आफैँले आफूलाई मारे तर जन्माएर गए कयौँ श्रमिक कवि । यान्त्रिक शहरमा एउटा कवि मर्नु कुनै सफ्टवेयर डिलिट हुनुभन्दा पनि कम पीडा हुनसक्ला तर इलेक्ट्रोनिक्स पाटपूर्जामा खिया लागे पनि कविका कविता कहिले ओइलाउने छैनन् । यन्त्रले जतिसुकै फड्को मारे पनि शू लिझीजस्ता कवि हृदय बनाउन पक्कै सक्ने छैन ।
सबै हराएका जिन्दगी
मेरो थप अर्को मृत्यु हो
एउटा नयाँ पेंच खुकुलो हुनु
थप अर्को प्रवासी मजदुर लड्नु हो
तिमी मेरो सट्टामा मर्छौ
तिम्रो सट्टामा लेख्ने छु
यसैगरी कस्छु यो खुकुलो पेंचलाई
आज हाम्रो देशको पौसठ्ठीऔँ जन्मदिन हो
मलाई आशा छ, तिमीले उत्सव मनाउने छौ
यहाँ एउटा चौबीस वर्षको युवा मटमैलो रङको तस्बिरमा मुस्कुराइरहेको छ
पतझरको बतासमा
पतझरको वर्षातमा
चामलझैँ सेतो कपाल बोकेको पिता
तिम्रो खरानी भरिएको कलश बोकेर
घर फिर्दै छन् ।
आलेख/ अनुवाद : जनक कार्की
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।